Friday, April 26, 2024

-->

अन्धकारतर्फ फुटबलः अनिश्चित बन्यो ‘बी’ डिभिजन, पिरामिड संरचना भत्कने जोखिम

लिग संरचनाअनुसार तल्लोदेखि माथिल्लो ‘डिभिजन’का क्लबले सम्बन्धित श्रेणीमा प्रतिस्पर्धा गरेपछि मात्र एउटा लहरो पूरा हुन्छ, तर प्रतिस्पर्धाको यो लहरो बीचमै चुडाएर एन्फाले लिगको पिरामिड नै भत्काउँदैछ।

अन्धकारतर्फ फुटबलः अनिश्चित बन्यो ‘बी’ डिभिजन पिरामिड संरचना भत्कने जोखिम

काठमाडौँ– लिग फुटबलको दुई मुख्य विशेषता हुन् ‘प्रमोसन’ र ‘रेलिगेसन’, अर्थात् बढुवा र घटुवा। लिग ‘पिरामिड’ शैलीको हुन्छ र यसमा केही टोली बढुवा भइरहेका हुन्छन् त केही घटुवा। तर, नेपालमा भने घटुवा र बढुवा नै नगरी पनि लिग हुने गरेको छ भने, कहिले लिग नै हुँदैन। यस वर्ष ‘ए’ डिभिजन लिग भइरहे पनि तल्लो तहका लिगहरूको आयोजना अन्योलमा छ।

यद्यपि, अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्षको उम्मेदवारी घोषणा गर्दा पंकजविक्रम नेम्वाङको पहिलो प्रतिबद्धता नै लिगहरूको निरन्तरता र व्यवस्थापन थियो। उनले भनेका थिए, “हामीसँग १० महिना लिग गर्नसक्ने क्षमता छ। अब कुनै बहानामा ‘ए’ डिभिजन मात्रै होइन, ‘बी’ र ‘सी’ पनि रोकिँदैन। रोकियो भने लिग पिरामिडलाई असर गर्छ।”

उनले फुटबल विकासको योजना सुनाउँदै यस वर्ष साफ जित्ने र सन् २०२७ सम्ममा एशिया कप खेल्ने लक्ष्य सुनाएका थिए। यसका लागि करिब ५०० खेलाडी ग्रासरूटबाट उत्पादन गर्ने योजना पनि सुनाएका थिए।

तर, ग्रासरूटबाट आउने र शीर्ष डिभिजनमा पुग्नसक्ने खेलाडीको स्तर जाँच गर्ने तल्लो डिभिजनका लिग नै नहुने जोखिम बढेको छ। दुईपटक मिति तोकेर पनि रोकिएको ‘बी’ डिभिजन लिग कहिले हुन्छ भन्ने यकिन उत्तर एन्फा अध्यक्ष नेम्वाङसँग पनि छैन। उनी भन्छन्, “प्रवक्ता सुरेश शाहले कार्यसमितिले टुंग्याउछौँ भन्नुभएको छैन र?”

एन्फाले शुरूमा चैत १५ गतेदेखि लिग हुने जनाएको थियो। तर, फागुन १७ गते बसेको बैठकले लिगको समय सार्दै चैत २९ गतेबाट गर्ने जनायो। गत चैत २९ मा न लिग शुरू भयो, न त एन्फाले नयाँ मिति नै तोक्यो। एन्फा महासचिव किरण राईको जवाफ छ, “हामी क्लबहरूसँग छलफलमा छौँ, चाँडै टुंगो लगाउछौँ।”

एन्फाले यसअघि नै जारी ‘ए’ डिभिजन लिगबाट दुई टोली घटुवा हुने बताइसकेको छ। तर, ‘बी’ डिभिजन लिग भएन भने ‘ए’ डिभिजनको रिक्तता पूर्ति हुँदैन। घटुवामा परेका टोली पनि कहिले ‘ए’ डिभिजनमा फर्किने हो निश्चित हुँदैन। यस्तो परिस्थितिमा ‘ए’ डिभिजन क्लबहरूले रेलिगेसनमा परे ‘बी’ डिभिजनमा नजाने एन्फालाई मैखिक जानकारी दिइसकेका छन्।

यता, लिग नै अनिश्चित भएपछि ‘बी’ डिभिजन क्लबका प्रतिनिधिहरू दबाबमूलक कार्यक्रम गरिरहेका छन्। उनीहरू कहिले एन्फा मुख्यालय पुग्छन् त कहिले ‘बी डिभिजन खोइ?’ लेखिएका ‘प्ला कार्ड’सहित ‘ए’ डिभिजनका खेल भइरहेको स्थान पुग्छन्।

एन्फाले गत वैशाख ५ गते ‘बि’ डिभिजनका १४ क्लबहरूलाई वार्तामा बोलाएको थियो। तर, एन्फाका पदाधिकारीहरूले अध्यक्ष नेम्वाङ देशबाहिर रहेको भन्दै वार्ता नगरी क्लब प्रतिनिधिलाई फर्काइदिए। जबकि, वार्ताका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह र सदस्य पुरुषोत्तम थापा एन्फा परिसर पुगिसकेका थिए।

‘बी’ डिभिजनको सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली एन्फाको गैरजिम्मेवारीले लिगको ‘पिरामिड’ बिग्रिने अवस्था भएको बताउँछन्। “राष्ट्रिय फुटबलको मेरूदण्ड भनेकै लिग हो। लिग आयोजनाको विषयलाई यति हचुवा रूपमा लिएर एन्फाले फुटबलप्रति रत्तिभर जिम्मेवार नरहेको प्रमाणित गरेको छ,” पराजुली भन्छन्, “बी डिभिजन लिग रोकियो भने ‘ए’ र ‘सी’लाई पनि असर गर्छ भन्ने हेक्का राख्नुपर्दैन?”

यी हुन् चार संरचनाका फुटबल क्लब
सरस्वती क्लबका अध्यक्ष पराजुलीले भनेजस्तो फुटबल ‘पिरामिड’ पदानुक्रमित संरचना हो। नेपालमा फुटबलका चार संरचना छन्, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग तथा ‘सी’ डीभीजन छनोट।

शीर्ष डिभिजन शहीद स्मारक ‘ए’ डिभिजन हो। यसमा मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी, थ्री स्टार, हिमालयन शेर्पा, न्यूरोड टिम (एनआरटी), संकटा, फ्रेन्ड्स, जावलाखेल युथ, सातदोबाटो युथ, एफसी खुमलटार, चर्च ब्वाइज युनियन र तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीको एपीएफ गरी १४ क्लब छन्।

यीमध्ये खुमलटार र चर्च ब्वाइज ‘बी’ डिभिजनको विजेता र उपविजेताको रूपमा यसै सिजन ‘ए’ डिभिजनमा बढुवा भएका हुन्। ‘बी’ डिभिजनमा अघिल्लो सिजन ‘सी’बाट उक्लिएका झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडसहित १४ क्लब छन्। यसबाहेक रानीपोखरी कर्नर टिम (आरसीटी), बाँसबारी, श्री भगवती, सरस्वती युथ, मध्यपुर युथ एसोसिएसन, ब्वाइज युनाइटेड, वीरगन्ज युनाइटेड, श्री कुमारी, टुसाल युथ, नयाँ बस्ती युथ, बिग्रेट ब्वाइज र च्यासल युथ ‘बी’ डिभिजनमा छन्। बिग्रेट र च्यासल गत सिजन ‘ए’ डिभिजनबाट रेलिगेसनमा परेका हुन्।

यस्तै, ‘सी’ डिभिजनमा बागमती युथ, गोल बजार युथ, झम्सिखेल युथ, खलबारी युथ, महावीर युथ, मनहरा युनाइटेड युथ, पुलचोक स्पोट्र्स, रानीबारी स्पोट्र्स, आरसी ३२ फुटबल एकेडेमी, सामाजिक युथ, समाज कल्याण खेलकुद केन्द्र, सानेपा फुटबल, स्पोर्ट्स एकेडेमी साँगा र स्वयम्भु गरी १४ क्लब छन्। यीमध्ये बागमती युथ र गोलबजार यसै सिजन ‘सी’ डिभिजन छनोट खेलेर लिगमा उक्लिएका हुन्। सामाजिक र झम्सिखेल ‘बी’ डिभिजनबाट रेलिगेसनमा परेका हुन्।

यसअघि ओसीस क्लब र वीरगन्ज युथ एकेडेमी ‘सी’ डिभिजन लिगको रेलिगेसनमा परेका थिए। यी क्लब फेरि ‘सी’ डिभिजन छनोट खेलेर तेस्रो श्रेणीको लिगमा स्थान बनाउने प्रयासमा छन्।

कस्तो हुन्छ लिगको पिरामिड संरचना?
फिफा वरीयतामा माथि रहेका अधिकांश देशमा फुटबल पिरामिडको धेरै तह हुन्छ। इङ्लिस प्रिमियर लिग (ईपीएल)मा यस्तो पिरामिडका ११ तह छन्। तीमध्ये ईपीएल शीर्ष डिभिजनको लिग हो। यसमा २० क्लब छन्। दोस्रोमा च्याम्पियनसिप, तेस्रोमा लिग वान र चौथोमा लिग टू छन्। यिनीहरूमा २४/२४ टोली छन्।

ईपीएलमा तल्लो क्रमका तीन टोली च्याम्पियनसिपमा घटुवा हुन्छन्। च्याम्पियनसिप र लिग वानबाट शीर्ष तीनमा रहने टोली पदानुक्रमितअनुसार माथिल्लो श्रेणीमा बढुवा हुन्छन्। च्याम्पियनसिपको अंक तालिकाको पुछारमा रहने तीन टोली लिग वानमा घटुवा हुन्छन््। लिग वानको पुछारमा रहने चार टोली लिग टूमा घटुवा हुन्छन्। लिग टू को शीर्ष चार क्लब लिग वानमा बढुवा हुन्छन्। पुछारका दुई टोली पाँचौँ तहको नेशनल लिगमा झर्छन्। 

पाँचौ तहको नेशनल लिगपछि नर्थ र साउथ (क्षेत्रीय) लिग छन्। यी दुई लिगबाट २/२ क्लब बढुवा हुन्छन््। यस्तै, २३ क्लब रहेको नेशनल लिगबाट भने दुई क्लब लिग टू मा पुग्छन् र तीन क्लब घटुवा भएर नर्थ र साउथ जोनमा पुग्छन्। नर्थमा २२ क्लब र साउथमा २१ क्लब छन्।

पिरामिडको सातौँ तहमा भने नर्दन प्रिमियर लिग (प्रिमियर डिभिजन), साउथन लिग (सेन्ट्रल डिभिजन),  साउथन लिग (साउथ डिभिजन) र इस्तमियन लिग (नर्थको प्रिमियर डिभिजन) खेल्ने गर्छन्। त्यसपछि आठौँ तहमा आठ, नवौँ तहमा १६, १०औँ तहमा १७ र ११ तहमा ५० क्लबहरूले प्रमोसन र रेलिगेसनका लागि प्रतिस्पर्धा गर्छन्। 

पाँचौदेखि ११औँ तहसम्मका प्रतियोगिता नन–लिग फुटबल हुन्। यद्यपि, तल्लो डिभिजनमा रहने टोली अंक तालिकामा शीर्ष स्थानमा रहेर बढुवा हुने प्रयास गर्छन्। पुछारमा रहने टोली तल्लो डिभिजनमा घटुवा हुन्छन्। यसरी इङ्ल्यान्डमा फुटबल लिगको पिरामिड बनेको छ।

नेपालमा पाँच तहको पिरामिड, तर जहिल्यै भत्किन्छ
इङ्ल्यान्डमा जस्तो नेपालमा ११औँ तहसम्मको मजबुत फुटबल पिरामिड छैन। यहाँ मुख्यतयः पाँच तह छन्। पहिलो तह मानिने राष्ट्रिय लिगलाई एन्फाले निरन्तरता दिन सकेको छैन। यस्तै महिलाको पहिलो तह मानिने ‘राष्ट्रिय महिला लिग’ पनि गराउन सकेको छैन। यता, क्षेत्रीय प्रतियोगिता मानिने जिल्ला लिग त आक्कलझुक्कल हुन्छन्।

यो पिरामिड बलियो भयो भने क्लबहरूलाई लगानी बढाउन र खर्च गरेर राम्रो टोली बनाउन उत्साहित गराउँछ। यसले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने भए पनि एन्फाले लिग संरचना नै नबुझेको सरस्वती क्लबका अध्यक्ष पराजुली बताउँछन्।

“एन्फा विधानअनुसार लिग पिरामिड शैलीमै हुनैपर्छ। अहिले गर्दिनँ र २०८१ सालमा एकैपटक गर्छु भनेर एन्फाले छुट पाउँदैन। यसो भयो भने यस वर्ष ‘ए’ बाट घटुवा हुने दुईवटा ‘बी’ मा पुग्छन्। त्यहाँ १४ बाट बढेर १६ क्लब हुन्छन्,” उनी भन्छन्, “अझ ‘बी’ नभएर ‘सी’ डिभिजन मात्रै भयो भने त्यसबाट आउने २ क्लब पनि थपिएर ‘बी’ मा १८ क्लब हुन्छन्। यता, ‘ए’ मा भने १४ बाट घटेर १२ क्लब हुन्छ। अनि त पिरामिड नै भत्कियो नि।”

‘ए’ डिभिजनमा १२ क्लब भए अर्को वर्ष रेलिगेसनबिनाको लिग गराउनुपर्ने र यसो हुँदा विकृति आउने उनको भनाइ छ। रेलिगेसनबिनाको लिग रोमाञ्चक नहुने र क्लबहरूले जित्नका लागि पैसा खर्च गरेर बलियो टिम पनि नबनाउने उनी बताउँछन्। 

“विश्वमा केही यस्ता लिग पनि छन्।, जसमा प्रमोसन र रेलिगेसन हुँदैन। तर, ती हाम्रोभन्दा नितान्त फरक लिग हुन्। यस्ता लिग फ्रेन्चाइज शैलीका हुन्छन्। प्रत्येक टोलीले टिम बनाउन मोटो रकम खर्चिन्छन्। यसको शैली नै फरक हुन्छ,” पराजुली भन्छन्।

एन्फाका तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकालमा त्यस्तै प्रकारको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) आयोजना भएको थियो। एनएसएलले अक्सनबाट खेलाडी अनुबन्ध गराएको थियो। कोरोनाकालमा पहिलोपटक आयोजना भएको लिगमा शुरूमा आठ क्लब थिए। अहिले त्यसमा लगानी गर्ने थपिएपछि १० क्लब भएका छन्। तर, यसलाई गभर्निङ गर्ने संस्था एन्फाले भने क्लबहरू घटाउन खोजेको तत्कालीन अध्यक्ष शेर्पाको आरोप छ।

यसबाट आगामी दिनमा क्लब फुटबल अझ कठिन हुने शेर्पाको भनाइ छ। एशियाली फुटबल महासंघ (एएफसी)ले क्लब लाइसेनिङ कार्यक्रम लागू गरेको छ। क्लबले यो लाइसेन्स प्राप्त गर्न आफ्नै मैदान हुनुपर्ने, एकेडेमी संचालन गरेको हुनुपर्नेलगायत धेरै शर्त पूरा गर्नुपर्छ। एन्फाले क्लबहरूलाई एएफसीका शर्त पूरा गर्न सघाउनुपर्नेमा ठीक विपरीत काम गरिरहेको उनी बताउँछन्। 

“लिगलाई एकै प्याकेजमा लिएर जानुको कुनै विकल्प छैन। एउटा लिग ब्रेक हुने बित्तिकै अरूलाई असर गर्छ। पिरामिडअनुसार जुन साइकल पूरा हुनुपर्ने हो, त्यो पूरा हुन पाउँदैन। त्यसैले यो वा त्यो बहानामा लिग रोक्नु हुँदैन। यसमा एन्फाको नेतृत्व संवेदनशील हुनुपर्छ,” उनी भन्छन्।

पिरामिड भत्काउन माहिर एन्फा
नेपाली फुटबलको लामो इतिहास बोकेको क्लब हो, आरसीटी। ६ पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको आरसीटी २०७० सालतिर ठूलो आर्थिक संकटमा पुग्यो। त्यस साल लिग खेल्न नसक्ने घोषणा गरेपछि उसलाई एन्फाले कारबाही गर्दै ‘बी’ डिभिजनमा घटुवा गर्‍यो।

त्यसको दुई वर्षपछि फुटबलमा पुनः फर्कियो। तर, सिंगल राउन्ड रोबिनको आधारमा भएको ‘बी’ डिभिजन लिगमा तेस्रो भएपछि माथिल्लो श्रेणीमा बढुवा हुन सकेन।

त्यही साल २८/२८ अंक जोड्दै च्यासल र एनआरटी ‘ए’ डिभिजनमा बढुवा भए। त्यसको तीन वर्षपछि आरसीटी दुई समूह विभाजन गरेर खेलाइएको प्रतियोगितामा विजेता बन्यो। तर, पाँच वर्षको तयारी र लगानी गरेर विजेता बन्दा पनि आरसीटी ‘ए’ डिभिजनमा उक्लिन पाएन। त्यसअघि नै एन्फाले उक्त प्रतियोगिता ‘वाम अर्प’ मात्र रहेको र बढुवा–घटुवा नहुने बताएको थियो।

त्यस वर्ष एन्फाले पिरामिड मिलाउन भन्दै ‘ए’ र ‘सी’ डिभिजन पनि रेलिगेसनबिना नै गरेको थियो। त्यसको मारमा खालिबारी क्लब पनि पर्‍यो। खालिबारी ‘सी’ डिभिजनको उपाधि विजेता भएर पनि बढुवा भएन। रेलिगेसनबिनाको लिग हुँदा फाइदा भने ‘ए’ डिभिजन क्लबहरूलाई भयो। त्यस वर्ष कुनै टोली रेलिगेसनमा परेनन्।

आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्य त्यस साल लिग जिते पनि खुसी हुन नसकेको बताउँछन्। “लिग च्याम्पियन बनेर ‘ए’ डिभिजनमा उक्लिन नपाउँदा साह्रै दुःखी भएका थियौँ। शुभचिन्तकहरू ‘लिग जितेपछि ‘ए’ डिभिजनमा पुग्यौ त?’ भनेर प्रश्न गरिरहन्थे,” उनी भन्छन्।

आरसीटीले त्यसयता लगातार ‘बी’ डिभिजन लिग खेलिरहेको छ। तर, आरसीटी अंक तालिकाको मध्यक्रमबाट माथि उक्लिन सकेको छैन।


सम्बन्धित सामग्री