Wednesday, May 08, 2024

-->

खेलाडी र प्रशिक्षकलाई दिइएको विश्वकपको टिकट लिएर एन्फा पदाधिकारी विदेश सयरमा

​​​​​​​विश्वकपमा पुग्न नसकेका राष्ट्रका खेलाडी र प्रशिक्षकलाई खेल हेर्न फिफाले सबै देशका फुटबल संघलाई सीमित टिकट दिन्छ। महिला विश्वकपको लागि यसपटक दिइएको २३० टिकट एन्फा पदाधिकारीले भागबन्डा गरेका छन्।

खेलाडी र प्रशिक्षकलाई दिइएको विश्वकपको टिकट लिएर एन्फा पदाधिकारी विदेश सयरमा

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) चरम आर्थिक संकटमा छ। चैतदेखि हुनुपर्ने ‘बी’ डिभिजन लिग बजेट अभावमा रोकिएको छ। असोज ४ देखि १३ गतेसम्म साफ यू–१९ च्याम्पियनसिप आयोजना गर्नुपर्ने छ। यी प्रतियोगिता सञ्चालनको गृहकार्यमा जुट्नुपर्ने बेला एन्फाका अधिकांश पदाधिकारी अस्ट्रेलिया भ्रमणमा पुगेका छन्।

फिफा महिला विश्वकप हेर्न १५ दिनअघि एन्फा बोर्ड सदस्य टीकाराम लामा अस्ट्रेलिया पुगेका छन्। अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, उपाध्यक्ष दीपक खतिवडा र केन्द्रीय सदस्य सरिला श्रेष्ठ पनि अस्ट्रेलियामा नै छन्। महासचिव किरण राई पनि स्पेन र इंग्ल्यान्डबीचको फाइनल खेल हेर्न बुधबार प्रस्थान गरेका छन्।

विश्वकप शुरू हुनुअगाडि नै पारिवारिक भेटघाटका लागि अस्ट्रेलिया पुगेका एन्फा सहमहासचिव वसन्त अर्याल भने दुई हप्ता बढी बसेर फर्किएका छन्। यता, विश्वकप हेर्नकै लागि गएका प्रशासन प्रमुख वसन्त रिजाल र फुटबल निर्देशक सञ्जीव मिश्र दुई हप्ता बसेर स्वदेश फर्किएका छन्। उपाध्यक्ष दावा लामा एक हप्ता बसेर गत सोमबार नेपाल फर्किए। केन्द्रीय सदस्य भरत बुढथापा र महिला टिम म्यानेजर बिन्द्रा देवान दुई दिनअघि अस्ट्रेलिया पुगेका छन्। केन्द्रीय सदस्य मनीष जोशीको भिषा लागिसकेको छ। उनले स्पेन र इंग्ल्यान्डको फाइनल हेर्ने टिकट लिइसकेका छन्। उनले आफू भने पछि जाने बताए। केन्द्रीय सदस्यद्वय रवीन्द्र चन्द र भोजराज शाही शुक्रबार साँझ प्रस्थान गर्दैछन्। 

साफ यू–१९ च्याम्पियनसिप र अन्य घरेलु प्रतियोगिता सञ्चालन गर्न योजना र बजेट बनाउनुपर्ने अवस्थामा अस्ट्रेलियातिर ताँती लाग्नु दु:खद् भएको एन्फाकै पदाधिकारीको गुनासो छ। “हामीले नै छनोट गरेका टोलीका खेलाडीलाई कहाँ राख्ने भन्ने अन्योल छ। च्यासल मैदानमा बाढी पसेर स्विमिङ पुल भएको छ, त्यसमा कसरी खेलाउने भन्ने चिन्ता छ। आर्थिक समस्या छ, चैतदेखि रोकिएको ‘बी’ डिभिजनको टुंगो छैन,” एक पदाधिकारी भन्छन्, “यस्तो बेला प्रतियोगिता र वार्षिक बजेटबारे छलफल गर्नुपर्ने हो। तर पारिवारिक होलिडे मनाउनझैँ लावालस्कर लिएर अस्ट्रेलिया पुग्नु दुःखद हो।” 

एन्फाले यतिबेला आफ्नै परिसरको मैदानमा खेलाडी छनोट गरिरहेको छ। तर छनोट भएका खेलाडीलाई प्रशिक्षण दिने गुणस्तरीय मैदान छैन। प्रतियोगितामा सहभागिता जनाउने राष्ट्रका खेलाडी, व्यवस्थापक र अतिथिलाई सुविधासम्पन्न होटेलमा राख्नुपर्ने हुन्छ। त्यसको तयारी पनि गरिएको छैन।

खेलाडी र प्रशिक्षकलाई दिइएको सुविधाको दुरुपयोग
विश्वकपमा पुग्न नसकेको राष्ट्रका खेलाडी र प्रशिक्षकका लागि मैदानमै पुगेर खेल हेर्न विश्व फुटबल महासंघ (फिफा)ले सहजीकरण गरिदिएको हुन्छ। फिफाले सबै देशका फुटबल संघलाई सीमित टिकट उपलब्ध गराउँदै आएको छ। यसपटक अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको महिला विश्वकपको लागि पनि यस्तो सुविधा थियो। फिफाले फाइनलका १० सहित २३० टिकट एन्फालाई उपलब्ध गराएको थियो। जसमा अस्ट्रेलियामा हुने खेलका १२५ र न्युजिल्यान्डमा हुने खेलका १०५ टिकट थिए। 

तर चार वर्षमा एकपटक आउने विश्वकपको खेल हेराउन एन्फाले खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राखेन। बरू फिफाले उपलब्ध गराएको २३० वटा टिकट अध्यक्ष नेम्वाङ र महासचिव राईले गत जेठ २० गते आपत्कालीन बैठक बोलाएर पदाधिकारीबीच भाग लगाए। अनि, आफैँ एजेन्ट बनेर अस्ट्रेलिया उडाए।

“एन्फाले एजेन्टको काम गर्नु हुँदैन थियो। कतिलाई उड्न एन्फाले नै सहयोग गर्‍यो, वसन्त रिजाल (एन्फा कर्मचारी)ले सहयोग गर्नुभयो। उपाध्यक्ष दीपक खतिवडासँग यही विषयमा कुरा नमिल्दा झगडा नै पर्‍यो,” एन्फाका ती पदाधिकारी भन्छन्।

खेलाडीलाई विश्वकपको टिकटको मापदण्ड तथा वितरणमा सम्बोधन नगरिएको भन्दै एन्फा केन्द्रीय सदस्य रूपेश अधिकारीले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए। खेल अवलोकन र प्राविधिक तथा व्यावसायिक ज्ञान, क्षमतावृद्धिलगायतको विशेष आवश्यकता महिला टोलीका खेलाडी तथा प्रशिक्षकलाई जरुरी रहेको उनको भनाइ थियो।

“कतार विश्वकप २०२२ मा पनि राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कसैलाई विश्वकपका खेल हेर्ने अवसर प्राप्त नभएको विदितै छ। यस्तो महत्त्वपूर्ण अवसरमा खेलाडी तथा प्रशिक्षकलाई नसमेट्नु दुःखद हो। त्यसैले महिला विश्वकपका खेल अवलोकनका लागि हाल राष्ट्रिय टिममा आबद्ध महिला खेलाडी, प्रशिक्षक र पूर्वमहिला राष्ट्रिय खेलाडीका लागि निश्चित कोटा निर्धारण गरिदिन माग गरेको थिएँ,” अधिकारी भन्छन्, “केन्द्रीय सदस्यका लागि निर्धारण गरिएको मेरो कोटामा रहेको ६ वटा टिकट खेल हेर्न इच्छुक महिला खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराइदिन भन्दै छाडेको थिएँ।”

उनले मात्रै होइन, पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले पनि अनावश्यक व्यक्तिलाई भन्दा खेलाडी र प्रशिक्षकलाई पठाउन भन्दै आफ्नो भागमा परेको टिकट फिर्ता दिएका थिए। “मैले टिकट लिइनँ, कसैलाई पठाइनँ पनि। हामी असम्बन्धित मान्छेले फुटबल हेरेर के गर्नु? रंगीचंगी शहर हेरेर के सिक्नु? सम्बन्धितलाई हेराउन पर्‍यो, उसले केही सिक्न पाउनुपर्‍यो भनेर मैले टिकट नै लिइनँ,” उनले भने।

जथाभाबी उपस्थितिले खस्किँदै साख
एन्फा पदाधिकारीहरू विश्वकप या कुनै प्रतियोगिता हेर्न विदेश गएको यो पहिलोपल्ट होइन। एशियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गरेका स–साना प्रतियोगिता हेर्नसमेत नछुटाइ पुग्छन्। यस्ता प्रतियोगितामा जथाभाबी उपस्थितिले नेपालको साख भने गिराउँदै गएको छ।

गत असार ६ देखि २० सम्म भारतको बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा आयोजना भएको १४औँ संस्करणको साफ च्याम्पिनसिपमा यस्तै देखियो। उक्त प्रतियोगिताको फाइनल हेर्न एन्फा अध्यक्ष नेम्वाङ पनि पुगेका थिए। आमन्त्रित टोली कुवेतलाई ‘टाइब्रेकर’मा पराजित गर्दै आयोजक भारतले कीर्तिमानी नवौँ पटक साफको उपाधि जित्दा उनले अतिथिको भूमिका निर्वाह गरे। तर अतिथिजस्तो सम्मान भने प्राप्त गर्न सकेनन्। उनी एएफसी सदस्यसमेत हुन्। एएफसीका पदाधिकारीले उनलाई चिनाउन मानेनन्, चिन्न पनि सकेनन्। अन्य देशका फुटबल संघका पदाधिकारी पालैपालो पुरस्कार वितरणमा सहभागी भए। उनलाई कहिँकतै देखिएन। 

“पंकजजी एन्फा अध्यक्ष मात्रै होइन, एएफसी सदस्य पनि हुन् नि। फाइनल खेलमा एएफसीका पदाधिकारीले समेत वास्ता गरेनन्। उहाँलाई मैदानमा लगेर कसैले चिनाएनन्, हातसमेत मिलाएनन्,” अर्का एक पदाधिकारी भन्छन्, “यो भनेको हामीले आफ्नो वेट राख्न नसकेको हो। स–साना प्रतियोगितामा अध्यक्ष नै जानुपर्ने, महासचिव नै जानुपर्ने थिएन।” 

उनी यस्ता प्रतियोगिता टेलिभिजनमै हेर्नुपर्ने बताउँछन्। “कुनैबेला एन्फा अध्यक्ष गणेश थापा हुँदा स्वीट्जरल्यान्ड भ्रमणमा नै नगएको होइन त? विदेश भ्रमणमा अध्यक्ष नै जानुपर्छ भन्ने होइन। कोही एक जनालाई 'म जाँदिन तपाईँ जानुस्' भनेर छाड्दिए पनि त हुन्छ नि,” ती पदाधिकारी भन्छन्, “तर, आफैँ खाऔँ, आफैँ घुमौँ भन्ने सोच उहाँहरूको मगजमा छ। लाज पचाइपचाइ भए पनि जानुहुन्छ।”

एन्फा प्रवक्ता सुरेश शाह भने यस्ता प्रतियोगितामा औपचारिकता निभाउनैपर्ने बताउँछन्। फिफा र एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा अनिवार्य निमन्त्रणा आउने हुँदा बैठकबाट नै कसले सहभागिता जनाउने भन्ने टुंगो लगाउने गरेको उनी बताउँछन्। साफमा एएफसीको सदस्य भएको कारण अध्यक्ष नेम्वाङले उपस्थिति जनाएको उनको भनाइ छ। यसपटक विश्वकपमा भने टिकटमा विवाद भएको र विदेश भाग्ने परम्परा हाबी हुन थालेपछि सबै पदाधिकारीलाई टिकट नबाँडिएको उनले बताए। त्यही टिकटअन्तर्गत अध्यक्षसहित अन्य पदाधिकारी र सदस्य अस्ट्रेलिया पुगेको उनको भनाइ छ।

“एन्फाले एजेन्टको काम गर्दैन। टिकटको स्वामित्व मात्रै लिएको हो। हामीले बैठकबाट नै निर्णय गरेर छुट्टाएका थियौँ। जसको भागमा पर्‍यो उहाँहरू आफैँले प्रोसेस गरेर जानुभएको हो,” उनी भन्छन्। यद्यपि, यस विश्वकपमा महिला टोलीका पूर्वप्रशिक्षक अनन्तराज थापाबाहेक अन्य प्रशिक्षक भने छुटेको उनले स्वीकारे। 

“विश्वकप र साफमा खेलाडी र प्रशिक्षक गएका छैनन्। तर अरूअरू विन्डोमा त गएका छन् नि। जान नदिने या नपठाउने भन्ने हुँदैन। हामीमा पनि केही सिकुन् भन्ने सोच छ। त्यसैले अरूबेला पूर्वखेलाडी र प्रशिक्षकलाई समेत पठाइरहेका छौँ। यसपटक समेटिएन, आफैँ पैसा हालेर जान इच्छुक पनि देखिनु भएन,” उनले भने।


सम्बन्धित सामग्री