Monday, May 13, 2024

-->

एक प्यालेस्टिनी किशोर, जसले मृत्युपछि पाए युट्युबमा चर्चा

कम्प्युटरप्रति उनको लगावका कारण परिवारका सदस्यले उनलाई ‘इन्जिनियर अवनी’ भन्ने गर्थे। युट्युबर बन्ने सपना बुनेका अवनी इजरायल हमास युद्धको पहिलो दिनमै मारिए।

एक प्यालेस्टिनी किशोर जसले मृत्युपछि पाए युट्युबमा चर्चा

सन् २०२२ को अगस्टमा पोस्ट गरिएको एउटा युट्युब भिडियोमा अवनी इल्डोइस निकै उत्साहित देखिन्छन्। युट्युब गेमिङ च्यानलको लागि आफ्नो लक्ष्य सबैसँग साझा गर्दै माइक्रोफोन समातेर उनी मुस्कुराउँछन्।

"...त्यसोभए अब साथीहरू, मलाई आफ्नोबारे भन्न दिनुहोस्, म गाजाबाट १२ वर्षीय प्यालेस्टिनी हुँ। यस च्यानलको उद्देश्य एक लाख, पचास लाख वा दश लाख पुग्नु हो," उनी भन्छन्।

हँसिलो त्यो किशोरको लक्ष्य थियो, चर्चित गेमिङ युट्युबर बन्ने। धेरै मानिसहरूले चिनुन् भन्ने सपना बुनेका थिए। उनले अन्तिम पटक च्यानलमा बिदाइ माग्दा एक हजारले सब्सक्राइब गरेको थियो। 

त्यसको एक वर्षपछि अवनी युद्धमा मारिए। उनका आफन्तहरूका अनुसार गत अक्टोबर ७ मा उनी इजरायली हमलामा परेका थिए। हमासले इजरायलमा आक्रमण गरेको केही घण्टामै इजरायलले गरेको प्रतिआक्रमणमा परेर उनको ज्यान गएको थियो। यस युद्धमा शुरूमै मारिने प्यालेस्टिनी बालबालिकामध्ये अवनी एक हुन्।

अवनीको भिडियोलाई अहिले दशौँ लाख मानिसले हेरेका छन्। उनको युट्युब च्यानललाई करिब १५ लाख मानिसले सब्सक्राइब गरेका छन्। 

आफ्नी काकी अलाआका नजरमा उनी मिजासिला, आत्मविश्वासी र सहयोगी केटा थिए। कम्प्युटरप्रति उनको लगावका कारण परिवारका अरु सदस्यले उनलाई ‘इन्जिनियर अवनी’ भन्ने गर्थे।

दुई दिदी र दुई भाइका साथ अवनी(दायाँ)

अहिले अवनी गाजापट्टीमा बालबालिकाको क्षतिलाई प्रतिनिधित्व गर्ने एक प्रतीकका रूपमा चिनिएका छन्। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्ध शुरू भएदेखि त्यहाँ २० हजार भन्दा बढी मानिस मारिएको बताएको छ। जसमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन्। राष्ट्रसंघीय बाल निकाय युनिसेफले यसलाई बालबालिकाका लागि 'संसारको सबैभन्दा खतरनाक ठाउँ' भनेर वर्णन गरेको छ।

अवनीको परिवार गाजाको जितोन क्षेत्र नजिकै एक तीन तले भवनमा बस्थ्यो। उनी भने आमा बुवा, उनका दुई दिदीबहिनी र दुई साना भाइहरूसँग भुइँतलामा बस्थे। अवनीका काका-काकी भवनको तेस्रो तलामा बस्थे। उनका काका मोहम्मदले भने, "दुईवटा बम भवनमै खसे, मेरी श्रीमती र म बाँच्न पाउँदा भाग्यमानी थियौँ।"

फलोअर्स र फ्यान चाहन्थे अवनी
अलाआका अनुसार उनको परिवारका १५ जना सदस्यहरू त्यस रात मारिएका थिए, जसमा अवनी पनि थिए। अवनीका बुवा कम्प्युटर इन्जिनियर थिए। अवनी आफ्ना बुवाको ल्यापटपका पाटपुर्जा खोल्थे र पुनः मिलाउँथे। कम्प्युटरमा निकै लगाव थियो उनको।

अवनी विद्यालयमा शिक्षकका पनि प्रिय थिए। उनको मृत्युपछि उनका शिक्षकले ‘चिरस्थायी मुस्कान’ भन्दै अवनीसँगको तस्वीर साझा गरेका थिए।

प्रायजसो अवनीले युट्युबरहरूका भिडियो हेर्थे। उनैलाई आफ्ना आदर्श मान्थे। अवनीकी काकीले भन्छिन्, "ऊ पनि उनीहरू जस्तै बन्न चाहन्थ्यो, आफ्ना धेरै फलोअर्स र फ्यान भएको हेर्न चाहन्थ्यो।" 

अवनीले २०२० को जुनमा आफ्नो च्यानल शुरू गरेका थिए। उनले भिडियो गेम, कार रेस आदि शेयर गर्थे। एक भिडियोमा आफ्ना काकासँग अवनीले च्यानलमा विशेष सामग्री राख्ने वाचा गर्दै भनेका थिए, "एक धमाका हुनेछ।" अर्थात् उनी आफ्नो च्यानललाई धेरै राम्रो बनाउन चाहन्थे।

प्रोग्रामरको रूपमा काम गर्ने र धेरै युट्युब च्यानलहरू चलाउन मद्दत गर्ने अवनीका टाढाका आफन्त अशरफ एल्डौस भन्छन्, "अवनीले बेलाबेला फोन गर्थे, उनले च्यानल कसरी चलाउने भनेर सल्लाह मागिरहन्थे।"

अशरफका अनुसार उनी चर्चित युटुबर बन्न चाहन्थे। त्यसैले अशरफले अवनीका बुवालाई समेत फोन गरेर उनलाई सहयोग गर्न र सोधेका प्रश्नको उत्तर दिन आग्रह गरेका थिए।

"उनको महत्वाकांक्षा मेरो प्रतिस्पर्धी वा सहकर्मी बन्ने थियो," अशरफ भन्छन्, "उनले युट्युब च्यानल सिर्जना गरे। यो त्यति ठूलो त थिएन, भ्युज पनि धेरै थिएन। हरेक स्टार्टअप शुरूमा गाह्रो हुन्छ।"

तर, अक्टोबरमा अवनीको मृत्युपछि, उनको नयाँ च्यानलले कुवेती गेमर अबोफ्लाह लगायत स्थापित युटुबरको ध्यान खिच्यो।

अहिले झन्डै ९० लाख पटक हेरिएको एउटा भिडियोमा अबोफ्लाह निकै भावुक बनेका छन्। उनले भर्खरै मात्र अवनीले सामाजिक सञ्जालमा पठाएको म्यासेज फेला पारेका छन्।

तीमध्ये एउटा म्यासेज यस्तो छ, "गाजामा प्यालेस्टाइनको जाडोसँग कुनै पनि कुराको तुलना छैन, यहाँको वातावरण अद्भुत छ। हामी सहलाब पिइरहेका छौँ, साथै भुटेको चेस्टनट पनि खाइरहेका छौँ। मलाई आशा छ तपाईं प्यालेस्टाइनमा आउनुहुनेछ। धेरै माया।"

अर्को म्यासेजमा उनले अबोफ्लाहलाई रोल मोडल भनेर सम्बोधन गरेका छन्।

भिडियोमा अबोफ्लाह रुँदै भन्छन्, "यो बच्चाको मृत्यु हुनु धेरै लज्जास्पद कुरा हो। गाजामा ज्यान गुमाउने उनीजस्तै हजारौँ बच्चा छन्, यदि भगवानले चाहानुहुन्छ भने, तिनीहरू स्वर्गका चरा बनून्।"

कम्प्युटरप्रतिको प्रेम र गेमिङका रूपमा अवनी मृत्युपछि पनि अहिले चर्चामा छन्।

अवनीले यति ठूलो प्रभाव किन पारेको होला भन्ने प्रश्नमा अबोफ्लाह भन्छन्, "फ्यानहरूले अवनीमा आफूलाई देख्छन्, हामी सबै अवनी हौँ।"

अवनीको परिवारका सबै (उनका दिदी-भाइहरू र आमाबुवा) उनीसँगै मारिए। उनका आफन्तहरू अवनीले मृत्युपछि पाएको प्रसिद्धिमा गर्व लागेको बताउँछन्।

"यो भगवानको उपहार हो कि संसारभरका धेरै मानिसहरू अवनीलाई माया गर्छन्," अवनीकी काकी अलाआ भन्छिन, "उसले आफ्नो च्यानलको बारेमा उत्साहपूर्वक कुरा गर्थ्यो अहिले स्वर्गमा धेरै खुसी छ होला।"

–बीबीसी
 


सम्बन्धित सामग्री