Monday, May 06, 2024

-->

प्रभावहीन द्रुत बस सेवा, उत्साहित यात्रु बने निराश

सरकारले सरोकारवालासँग समन्वय नगरी हतारमा सस्तो लोकप्रियताका लागि मात्रै शुरू गरिएकाले यो सेवा भद्रगोल भएको यात्रुको गुनासो छ। २५ वटाबाट शुभारम्भ गरिएको सेवामा आबद्ध बसको संख्या घटेर १२ मा झरेको छ।

प्रभावहीन द्रुत बस सेवा उत्साहित यात्रु बने निराश 

काठमाडौँ– द्रुत बस सेवा सञ्चालन गर्न काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनियाकसम्मको सडकमा पोतिएको रातो रङ दुई महिना नबित्दै फिक्का हुँदै गएको छ। ठाउँ–ठाउँमा रङ खुलिइएको छ। संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि द्रुत बस चलाउन सडक विभागले यो सडकमा ‘डेडिकेटेड लेन’ छुटाएर ठाउँ–ठाउँमा रातो रङ पोतेको थियो। अन्तर्राष्ट्रिय बस र्‍यापिड ट्रान्जिट (बीआरटी) लेनका आधारमा योजना बनाएर लेन निर्माण गरिएको सरकारको दाबी थियो। तर, जसरी सडकमा पोतिएको रङ फिक्का हुँदै छ त्यसैगरी द्रुत सेवाअन्तर्गत सञ्चालित बस भेटाउन पनि यात्रुलाई मुस्किल पर्न थालेको छ।

सरकारले सरोकारवाला निकायसँग आवश्यक समन्वय नगरी हतारमा सस्तो लोकप्रियताका लागि मात्रै शुरू गरिएकाले यो सेवा भद्रगोल हुन पुगेको यात्रुको गुनासो छ। २५ वटा बसबाट शुभारम्भ गरिएको सेवामा आबद्ध बसको संख्या घटेर १२ वटामा झरेको छ। यो सेवा बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म चल्ने सरकारी दाबी भए तापनि यात्रुले बस भेटाउन कठिन हुने गरेको बताएका छन्। 

आवश्यक परेको बेला द्रुत बस सेवा लिन नपाउँदा यसअघि उत्साहित यात्रुहरू अहिले निराश हुन थालेका छन्। काम र पढाइको सिलसिलामा सूर्यविनायकबाट रत्नपार्कसम्मको रुटमा दैनिक आवतजावत गर्नुपर्ने यात्रुहरूको जीवन पहिलेजस्तै कष्टकर बनेको छ। आ–आफ्नो गन्तव्यमा पुग्न र घर फर्कन उनीहरूलाई फेरि बसमा दुई घण्टाको यात्रा गर्नुपर्ने बाध्यता आइपरेको छ। 

काडाँघारीका ३६ वर्षीय विजय श्रेष्ठ पुतलीसडकस्थित एउटा कन्सल्टेन्सीमा पढाउँछन्। उनी बिहान १० बजेभित्र कार्यस्थलमा पुगिसक्नुपर्छ। द्रुत बस सेवाको भद्रगोल अवस्थापछि समयमै कार्यालय पुग्न फेरि एक घण्टाअगावै घरबाट निस्कनु परिरहेको उनले सुनाए।

“द्रुत बस चलेको थाहा पाएदेखि बस स्टपमा गएर त्यही बस चढ्थेँ। सजिलो भइरहेको थियो। समयमै अफिस र घर पुगेको थिएँ,” उनले भने, “फेरि पहिलेजस्तै घरबाट चाँडै निस्किने तर ढिलो पुग्ने भइयो। कति त योजना नै नल्याउनु, ल्याइसकेपछि त्यसलाई निरन्तर रूपमा अघि बढाएको भए हुन्थ्यो।”

ठिमीका ५२ वर्षीय मधुसुदन ढकालको पुस्तक पसल छ। उनी आफ्नो पसलका लागि न्युरोडबाट सामान किन्न प्रायः भक्तपुरदेखि रत्नपार्कसम्मको रुटमै यात्रा गर्छन्। दीर्घकालीन भनिएको योजना बीचमा आएर भद्रगोल हुँदा उनलाई पनि दुःख लागेको छ।

“हाम्रो राज्यमा जे काम पनि दुई दिनका लागि मात्रै हुन्छ। यो काम जसले गरे पनि राम्रो थियो। यही रुटमा यात्रा गर्नेहरूलाई धेरै सहज हुन्थ्यो। तर अहिले बीचमा आएर दीर्घकालीन भनेर शुरू गरिसकेको काम लथालिङ हुँदा दुःख लागेको छ,” उनले भने। 

भक्तपुर बालकोटकी २१ वर्षीया प्रतिभा गौतम स्नातक तहमा पढ्छिन्। उनी पुतलीसडकस्थित कलेज पुग्नका लागि बसमा यात्रा गर्छिन्। उनको कक्षा बिहान १० बजे शुरू भएर दिउँसो तीन बजे सकिन्छ। घरबाट चाँडै निस्किँदा पनि कलेज ढिलो पुग्ने उनी द्रुत बस सेवालाई प्रभावकारी रूपमा सञ्चालन नगरेको देख्दा खिन्न छिन्। द्रुत बस सेवा निरन्तर रूपमा चलाउँदा सहज हुने उनको भनाइ छ।

“द्रुत बस सेवाले गर्दा मलगायत धेरै यात्रुलाई सजिलो भएको थियो। कलेज र घर समयमा पुगिन्थ्यो। जनतालाई सजिलो हुने सुविधा यसरी बीचमा भद्रगोल भएपछि नराम्रो लागेको छ,” उनले भनिन्। 

द्रुत बस सेवामा सञ्चालित बस घटेर यात्रुले सास्ती खेपिरहेका बेला सरकारी अधिकारी भने जनतालाई सहज होस् भनेर शुरू गरिएको सेवा नरोकिने दाबी गर्छन्। यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले चाडपर्वमा राजधानीबाहिर जाने यात्रुको संख्या बढी भएकाले बस त्यता प्रयोग गरिएको दाबी गर्दै द्रुत बस सेवा नरोकिएको बताए।   

“दशैँका लागि आ–आफ्नो गाउँ फर्कने मानिसहरू धेरै थिए। उनीहरूलाई गन्तव्यमा पठाउन बसहरू प्रयोग गरियो। त्यसका कारण बस केही कम भयो होला। तर द्रुत बस सेवा रोकिएको भने होइन,” उनले भने,

द्रुत बस सेवालाई प्रभावकारी बनाउन यातायात व्यवसायीसँग छलफल भइरहेको जिकिर गर्दै उनले आगामी दिनमा सेवालाई सुधार गर्दै लैजाने योजना रहेको सुनाए। “आगामी दिनमा यस प्रकारको समस्या नदोहोरियोस् भन्नका लागि हामीले यातायात व्यवसायी संघसंगठनसँग बैठक गरिरहेका छौँ,” उनले भने, “शुरू गरिएको हरेक काममा सधैँ चुनौतीहरू हुन्छन्। हामी त्यसलाई समाधान गरेर भविष्यमा सेवाहरू सुधार गर्न सक्दो प्रयास गर्नेछौँ।”

द्रुत बस सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निकै मिहिनेत गरिएको उनको दाबी छ। आवश्यक सुधारसहित सुविधाहरू थप्दै लामो समयसम्म सेवा कार्यान्वयनमा लैजाने योजना रहेको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अहिले द्रुत सेवाका लागि सञ्चालित बसको संख्या घटेको स्वीकार गरे। चाडपर्वका बेला बसहरू अन्त्र गएका कारणले बसको संख्या घटेको उनको भनाइ छ। तिहारपछि सेवा प्रवाह प्रभावकारी बनाइने बताएका उनले पूर्वाधारण व्यवस्थित नहुँदा सेवा प्रवाहमा केही समस्या भएको बताए। “पूर्वाधारको व्यवस्थापन विभागले गर्छ। सेवालाई प्रभावकारी बनाउने अभ्यासमै लागेका छौँ,” उनले भने।

जनतालाई सहजताका लागि ल्याइएको द्रुत बस सेवालाई निरन्तर रूपमा सञ्चालन गर्न सरोकारवाला सबैले ध्यान दिनुपर्ने यात्रुहरू बताउँछन्। आगामी दिनमा द्रुत बस सेवा प्रभावकारी हुन्छ या बन्द हुन्छ हेर्न बाँकी रहेको भन्दै पेप्सिकोलाकी सबिना दाहालले जनताका लागि सहजताका लागि ल्याएइका कार्यक्रम प्रभावकारी बनाउन जिम्मेवार निकायले ध्यान दिनुपर्ने बताउँछिन्।

जमलस्थित डेन्टल क्लिनिकमा काम गर्ने उनी ढाड दुख्ने समस्याका कारण स्कुटर चलाउन नसक्ने भएकाले दैनिक बसमा नै यात्रा गर्नुपर्ने बाध्यतामा छिन्। लामो बाटो र ट्राफिक जामका कारण समयमै कार्यस्थल पुग्न उनी जहिले एक घण्टाभन्दा बढी यात्रा गर्नुपर्छ। द्रुत बस सेवा शुरू हुँदा उनलाई कार्यालय पुग्न केही सहज बनेको थियो।

“द्रुत बस सेवा काम वा पढाइका सिलसिलामा टाढाबाट यात्रा गर्नुपर्ने सबैका लागि यो अत्यन्तै खुशीको खबर थियो,” उनले भनिन्, “तर अहिले यो सेवामा पर्याप्त बसहरू नभएर योजना राम्ररी सञ्चालन हुन नसकेकोमा दुःख लागेको छ।”


सम्बन्धित सामग्री