Monday, May 06, 2024

-->

साताकाे विश्व: गाजामा मानवीय कहर, बीआरआई सम्मेलन र भारतमा समलिंगी विवाहले पाएन मान्यता

यो हप्ताभरि पनि विश्वको ध्यान हमास–इजरायल युद्धले नै तान्यो। तर त्यहीबीच चीनमा बीआरआई सम्मेलन भएको छ। क्यानडालाई अमेरिका र बेलायतले साथ दिँदै भारतमाथि भियना कन्भेन्सन उल्लंघनको आरोप लगाएका छन्।

साताकाे विश्व गाजामा मानवीय कहर बीआरआई सम्मेलन र भारतमा समलिंगी विवाहले पाएन मान्यता

गएको अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि अकस्मात जल, थल र हवाई हमला गरेपश्चात उक्त क्षेत्र द्वन्दको चपेटामा परेको छ। दश नेपाली लगायत १४०० भन्दा बढीको ज्यान लिने गरी भएको हमासको आक्रमणपछि इजरायलको जवाफी कारबाही शुरू भयो। इजरायलले गाजामा निरन्तर गरिरहेको हवाइ आक्रमणमा अहिलेसम्म ५००० भन्दा बढीको मृत्‍यु भइसकेको बताइएको छ।

गत मंगलबार गाजापट्टिस्थित अल अहली अस्पतालमा रकेट आक्रमण भएपछि इजरायल–प्यालेस्टायन द्वन्द्वको विभत्स स्वरूप अगाडि आएको छ। उक्त हिंसामा ५०० भन्दा बढीको मृत्‍यु भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्यालेस्टिनी नागरिकहरूले इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थल बनाएका थिए भने त्यहाँ हजारौंँ उपचाररत पनि थिए। 

उक्त आक्रमणको विश्वभर निन्दा भएको छ। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, रेडक्रस लगायत विभिन्न देशले उक्त घटनाको विरोध गरेका हुन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणको बदलामा इजरायलले प्यालेस्टिनीहरूलाई ‘सामूहिक सजाय’ दिन नमिल्ने बताएका छन्।

हमासद्वारा बन्दी बनाइएका दुई अमेरिकी नागरिक रिहा
गाजामा हमासद्वारा बन्दी बनाइएका दुई अमेरिकी नागरिक (एक महिला र उनकी छोरी) रिहा भएका छन्। अपहरण भएको लगभग दुई हप्तापछि उनिहरू शुक्रबार मुक्त भएका हुन्। जूडिथ रैनन र उनकी छोरी नताली र्‍याननलाई अक्टोबर ७ को हमलाका बेला गाजा सीमा नजिकै पर्ने किबुत्जबाट अपहरण गरिएको थियो। उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा इजरायली डिफेन्स फोर्सेसका अधिकारीहरू समक्ष बुझाइएको थियो।

गाजामा मानवीय सहायताका लागि सुरक्षा परिषद‍्को प्रस्तावमा अमेरिकाको भिटो
अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद‍्मा द्वन्दग्रस्त गाजापट्टिमा मानवीय 'करिडोर' अनुमतिका लागि इजरायलसमक्ष गरेको प्रस्ताव रोक्नका निम्ति आफ्नो निषेधाधिकार (भिटो)को प्रयोग गरेको छ। उक्त प्रस्तावमा इजरायलले उत्तरी गाजाका बासिन्दालाई आफ्नो ठाउँँ छोडेर दक्षिणतिर जान दिएको आदेशलाई फिर्ता लिनुपर्ने सुझाव पेश गरिएको थियो। सुरक्षा परिषद‍्का १५ मध्ये १२ सदस्यले उक्त प्रस्तावको समर्थन गरेका थिए। 

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिंडा थोमस ग्रीनफील्डले इजरायलको आत्मरक्षा अधिकारबारे उल्लेख नगरि ब्राजिलका कूटनीतिज्ञले चलाखीपूर्ण ढंगले लेखेको प्रस्ताव मान्य नहुनेु बताउँदै भिटो गरेकी थिइन्। यद्यपी, जी–७ का दुई सदस्य जापान र फ्रान्सले उक्त प्रस्तावको समर्थन गरेका थिए। 

भारतको उच्च अदालतले गर्‍यो समलिंगी विवाहलाई मान्यता दिन अस्वीकार
भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ। अदालतले मंगलबार सुनाएको उक्त फैसलामा 'एलजीबीटीक्यूआई' सम्बन्धलाई स्वीकार्न र उक्त समुदायलाई भेदभावबाट संरक्षण गर्नु देशको कर्तव्य भएको उल्लेख भने गरेको छ।

उक्त फैसलामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले विवाहमा कानून निर्धारण गर्नु संसद् र राज्य विधानसभाहरूको क्षेत्राधिकार हो भनेका छन्। सोही फैसलामा भारतको संविधानले विद्यमान कानूनअन्तर्गत समलिंगी जोडीहरूलाई विवाह गर्ने मौलिक अधिकारको प्रत्याभूति नगरेको भनिएको छ।

समलिंगी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानूनलाई सर्वोच्चले खारेज गरेपश्चात नरेन्द्र मोदीको बीजेपी सरकारले समलिंगी साझेदारीलाई कानूनी पहिचान दिने संहिता बनाउने कदमको विरोध गर्दै आएको छ।

रिपब्लिकन जिम जोर्डनले गुमाए सभामुख पदको उम्मेदवारी
अमेरिकि प्रतिनिधिसभाको सभामुखको दौडबाट ओहायोका चौथो क्षेत्रबाट विधायक चुनिएका जिम जोर्डन अन्तत: बाहिरिएका छन्। प्रतिनिधिसभामा लगातार तीन 'हाउस-फ्लोर' भोटमा फराकिलो हार बेहोर्नु परेपछि रिपब्लिकन दलले जोर्डनलाई सभामुख पदका लागि पार्टी उम्मेदवारको पदबाट हटाएको हो। शुक्रबार पनि सदनमा बहुमत हासिल गर्न असमर्थ भएपछि उनका रिपब्लिकन सहकर्मीहरूले गुप्त मतदानका माध्यमबाट जोर्डनलाई किनारा लगाएका हुन्। यसले 'ग्र्यान्ड ओल्ड पार्टी'भित्रको आन्तरिक विभाजनलाई थप सतहमा ल्याइदिएको छ। दुई हप्ताअघि एक अभूतपूर्व भोटिङका माध्यमबाट केभिन मक्कार्थीलाई पदमुक्त गरेदेखि अमेरिकी तल्लो सदन विना सभामुख चलिरहेको छ।

क्यानडालाई अमेरिका र बेलायतको साथ, भारतमाथि भियना कन्भेन्सन उल्लंघनको आरोप
अमेरिका र बेलायतले भारतको ४१ क्यानेडियन कूटनीतिज्ञमाथिको कारबाही एकतर्फी भएको र भियना कन्भेन्सनले कूटनीतिक मामिलाका लागि बनाएको नियमविपरीत भएको भन्दै क्यानडाको साथ दिएका छन्। क्यानेडाले अक्टोबर १९मा आफ्नो ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाउने घोषणा गरेको थियो। क्यानडेली विदेशमन्त्री मेलानी जोलीले २१ जनाबाहेक अरुको कूटनीतिक विशेषाधिकार हटाउने भारतको धम्की कूटनीतिक सम्बन्धबारे भियना कन्भेन्सनसहित अन्तर्राष्ट्रिय कानूनको विपरीत भएको आरोप लगाएकी थिइन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तान समर्थक क्यानडेली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाएदेखि दुई देशबीचको सम्बन्ध थप चिसिएको छ।  

बीआरआई: सीको ८ बुँदे कार्ययोजना
हाल बेइजिङमा चीनलाई बाँकी एशिया र युरोपतिर जोड्ने महत्वाकांक्षासहित शुरू भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)सँग सम्बन्धित सम्मेलन भइरहेको छ। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनफिङले उक्त परियोजना विस्तार र वृहत कार्यान्वयनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन्।

पहिलो बुँदा: युरोप र एशियामा ढुवानीका लागि करिडोर
दोस्रो बुँदा: अधिक स्वतन्त्र व्यापार तथा लगानी सम्झौता सहितको सिल्क रोड विद्युतीय वाणिज्य क्षेत्र बनाउने
तेस्रो बुँदा: चिनियाँ विकास बैंकबाट ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रतिबध्हता 
चौथो बुँदा: हरित विकास
पाँचौँ बुँदा: विज्ञान तथा यान्त्रिक बौद्धिकताको विकास
छैठौँ बुँदा: यस क्षेत्रका मानिसबीच सांस्कृतिक आदानप्रदानका साथै पर्यटकीय सहकार्य
सातौँ बुँदा: पारदर्शिता सहितको सहकार्य 
आठौँ बुँदा: बीआरआई सम्बद्ध संस्था र सचिवालय गठन 

चिनियाँ राष्ट्रपतिले सिल्क रोड पर्यटक प्रवर्द्धनका लागि पर्यटकीय गठबन्धन बनाउने बताउँदै गर्दा यान्त्रिक बौद्धिकता (एआई)को विकास र अनुसन्धानका लागि बीआरआईमा सहकार्य गर्ने मुलुकहरूमा अनुसन्धानका लागि प्रयोगशाला निर्माण गर्ने घोषणा गरेका छन्। 


सम्बन्धित सामग्री