Monday, May 06, 2024

-->

इजरायलको हमलामा गाजाबासीको बिचल्ली, ५० हजार गर्भवती महिला सुरक्षित ठाउँ खोज्दै

संयुक्त राष्ट्रसंघका अनुसार प्रत्येक दिन डेढ सय महिला सुत्केरी भइरहेका छन्। अहिलेको याे कठिन समयमा उनीहरूलाई बच्चा जन्माउनको लागि सुरक्षित स्थान पनि छैन।

इजरायलको हमलामा गाजाबासीको बिचल्ली ५० हजार गर्भवती महिला सुरक्षित ठाउँ खोज्दै

प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध इजरायली सेनाको जवाफी कारबाहीका कारण प्यालेस्टायनको गाजा क्षेत्र खण्डहरमा परिणत भइरहेको छ। त्यहाँका सरकारी भवन, आवासीय भवन, सपिङ कम्प्लेक्स तहसनहस भएका छन्। त्यहाँका नागरिकलाई आफ्नो घर कहाँनेर थियो भनेर ठम्याउनै नसक्ने अवस्था बनेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले गाजामा ६ हजार बम प्रहार गरेको छ। यी आक्रमणबाट २२ हजार ६०० आवासीय भवन ध्वस्त भएका छन्। ९० शैक्षिक संस्था, ७० औद्योगिक क्षेत्र, १९ स्वास्थ्य संस्थामा पूर्ण क्षति पुगेको छ। 

गाजा र इजरायल दुवै क्षेत्रमा हजारौँ निर्दोष नागरिकले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्। अक्टोबर ७ देखि शुरू भएको युद्धका कारण यो पाँच दिनमा गाजातर्फ १ हजार ५३७ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने ६ हजार ६१२ जना घाइते भएका छन्। यस्तै, प्यालेस्टाइनकै वेस्ट बैंकमा कम्तिमा ४३ जनाले ज्यान गुमाएको र ७०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ।

यता इजरायलपट्टि एक हजार ३०० ले ज्यान गुमाएका छन् भने ३ हजार २०० घाइते भएका छन्। यस्तै, हमासले इजरायलबाट १५० जनालाई बन्धक बनाएर लगेको छ। 

यो युद्धमा अहिलेसम्म पाँच सय बालबालिका र साढे दुई सय भन्दा धेरै महिलाले ज्यान गुमाएका छन्। 

संयुक्त राष्ट्रसंघका अनुसार गाजा क्षेत्रका चार लाख २३ हजार नागरिक विस्थापित भइसकेका छन्। यस्तै गाजामा ५० हजार गर्भवती महिला छन्। जसमध्ये पाँच हजार ५०० महिला ८ महिनाको गर्भवती रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। प्रत्येक दिन डेढ सय महिला सुत्केरी भइरहेका छन्। 

अहिलेको यो कठिन समयमा उनीहरूलाई बच्चा जन्माउनको लागि सुरक्षित स्थान पनि छैन। आफू बसिरहेका स्थानमा बस्न सकिने अवस्था छैन। यस्तो त्रासदीपूर्ण अवस्थामा उनीहरूलाई कसरी सुत्केरी गराउने भन्ने कुरा त्यहाँको स्वास्थ्य मन्त्रालय तथा त्यस क्षेत्रमा कार्यरत मानवीय कार्यमा संलग्न संघसंस्थाको लागि चुनौती बनेको छ। 


यहीबीच इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा रहेका ११ लाख नागरिकलाई २४ घण्टाभित्र त्यहाँबाट दक्षिणी क्षेत्रमा जान भनेको छ। अहिले गाजाको उत्तरी भेगबाट प्यालेस्टिनीहरू दक्षिणी भागमा गइरहेका छन्। अब त्यस क्षेत्रमा के हुने हो, कसैलाई थाहा छैन। हमासका लडाकु त्यस क्षेत्रमा भएका कारण इजरायली सेनाले त्यहाँ नयाँ 'अपरेसन' गर्न लागेको बताइएको छ। 

संयुक्त राष्ट्रसंघले जनाएअनुसार गाजा क्षेत्रमा रहेका २० लाख नागरिक युद्धको चपेटामा परेका छन्। अहिले त्यो क्षेत्रमा १३ वटा संयुक्त राष्ट्रसंघीय एजेन्सी, २९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ३५ राष्ट्रिय गैरसरकारी संस्थालगायत विभिन्न संस्थाहरू मानवीय सहायताको लागि सक्रिय छन्। ती संस्थाको लागि अहिले २९ करोड ४० लाख अमेरिकी डलर राहत रकम आवश्यक रहेको बताइएको छ।

अहिले गाजामा नाकाबन्दी लगाइएका कारण त्यहाँ खाद्य आपूर्ति लगभग रोकिएको छ। पाँच लाख नागरिकले खाद्य समस्या झेलिरहेका छन्। प्रत्येक पाँचमध्ये ३ वटा पानीका प्लान्ट ध्वस्त भएका छन्। यस्तै अवस्था रहे चाँडै नै गाजामा भोकमरीले प्रवेश गर्ने विश्व खाद्य संगठनले चेतावनी दिएको छ।


सम्बन्धित सामग्री