Sunday, April 28, 2024

-->

को हुन् सार्वजनिक रूपमै डीएसपीलाई ज्यान मार्ने धम्की दिएका प्रदेशसभा सदस्य, होला त कारबाही?

प्रदेशसभा सदस्य हाङगामले जिल्लाका डीएसपी राजन लिम्बूलाई सार्वजनिक कार्यक्रममै ज्यान मार्ने धम्की दिएका हुन्। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ।

को हुन् सार्वजनिक रूपमै डीएसपीलाई ज्यान मार्ने धम्की दिएका प्रदेशसभा सदस्य होला त कारबाही

काठमाडौँ– गत बुधबार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा दिउँसै खुकुरी प्रहार भएपछि नेपाली कांग्रेसले चर्को विरोध गर्‍यो। खुकुरी प्रहार गर्ने व्यक्तिको पछाडि को–को संलग्न छन् भन्नेबारे खोजी तथा कारबाही गर्नुपर्ने माग कांग्रेसको थियो।  

पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले पनि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै घटनाको अनुसन्धान हुनुपर्ने माग राखे। उनले गृहमन्त्रीलाई लक्षित गर्दै काठमाडौँमा एक्लै हिँड्न मिल्ने/नमिल्नेबारे प्रश्नसमेत गरे। “कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो?” थापाले प्रश्न गरे, “संविधानसभाको सदस्य भएको व्यक्ति काठमाडौँमै सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन?”

आफ्ना सहमहामन्त्रीमाथि खुकुरी प्रहार भएको घटनाको चर्को विरोध गरिरहेको सत्ता साझेदार कांग्रेसले शुक्रबार ताप्लेजुङमा प्रदेशसभा सदस्य खगेनसिङ हाङगामले प्रहरी अधिकारीको ज्यान मार्ने सार्वजनिक धम्की दिँदा पनि मुख खोलेको छैन। बरु कांग्रेस केन्द्रीय कार्यालय र ताप्लेजुङ जिल्ला कार्यसमितिले घटनामा प्रहरीको दोष रहेको भन्दै कारबाहीको माग राखे।  

“घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेशसभाका सदस्य खगेनसिङ हाङगामलाई बर्दी र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यवहार गर्नुका साथै उहाँको निवासमा ढुंगामुढासमेत प्रहार गरेका छन्,” कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

जनताको सेवक जनप्रतिनिधिलाई सुरक्षा दिनुको अलावा निवासमै गएर गुण्डागर्दी शैलीमा आक्रमण गर्नु गराउनु प्रहरी प्रशासनको नियोजित र गैरजिम्मेवार कार्य भएको कांग्रेसको आरोप छ। “मेलामा सर्वसाधारण व्यक्तिलाई सुरक्षा दिनु प्रहरी प्रशासनको कर्तव्य हो। यसबाट विमुख भएर प्रहरीले देखाएको अमर्यादित क्रियाकलाप खेदजनक छ। उक्त घटनाको छानबिन गरी संलग्न दोषी प्रहरीलाई निलम्बन गर्नुका साथै कडाभन्दा कडा कारबाही गर्न सरकारसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ,” कांग्रेसले भनेको छ। 

प्रदेशसभा सदस्य हाङगामले जिल्ला प्रहरी कार्यालयकै नेतृत्व सम्हालिरहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई सार्वजनिक कार्यक्रममै ज्यान मार्ने धम्की दिएका हुन्। शुक्रबार सदरमुकाममा आयोजित विरोध प्रदर्शन कार्यक्रमपछि कोणसभालाई सम्बोधन गर्ने क्रममा उनी उत्तेजित शैलीमा डीएसपीमाथि खनिएका देखिन्थे। 

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफ्ना प्रदेशसभा सदस्यको अभिव्यक्ति गलत भएको भन्दै त्यो परिस्थिति सिर्जना गर्न भने प्रहरी नै जिम्मेवार रहेको प्रतिक्रिया दिए। “प्रहरीले शुरूमा घटनालाई उत्तेजित बनायो। सिभिलमा गएका प्रहरीले गुण्डागर्दीको जस्तो व्यवहार गरे। त्यसपछि त्यो परिस्थिति उत्पन्न भएको हो,” उनले भने, “यसमा प्रहरी प्रशासन जिम्मेवार हुनुपर्छ। अब घटनालाई आग्रह–पूर्वाग्रहले हेर्नुभन्दा पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरी प्रशासन सतर्क र सजग भएर सुझबुझपूर्वक अघि बढ्नुपर्छ।”

हाङगामको उत्तेजक अभिव्यक्ति
प्रदेशसभा सदस्य हाङगामले डीएसपी लिम्बूलाई लक्षित गर्दै भनेका थिए, “तेरो बर्दी खोल्न पनि हामी तयार छौँ। अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्? कहाँ लुक्छस्? के खान्छस्? कस्तो लुगा लाउँछस्? तेरो बाउआमा कहाँ छन्? तेरो छोराछोरी कहाँ छन्? त्यो पनि पत्ता लाएर हामी मार्छौं। पानीमुनि लुकोस् कि पानीमाथि, खबरदार! सक्छस् भने यहीँ आइज। लड्न आइज। म लुगा खोल्न तयार छु तँसँग, आइज।”

उनको थप आक्रोश थियो, “तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस? तँलाई म ३० सेकेन्ड राख्दिनँ बाँकी। याद राख्। तेरो बर्दी खोल्। मजस्तो राजनीतिक भेला गर्न आइज। तिमी राजनीतिक बहस गर्छौ कि, जनताको सेवा गर्छौ कि, देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ? वाकयुद्ध गरौँ। होइन भने मुठभेड पनि गरौँ तँ डीएसपीसँग। हेरौँला तँ डीएसपीलाई। राजनीतिक उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौँ, मृत्युसँग पनि डराउँदैनौँ।”

भएको के थियो? 
ताप्लेजुङ सदरमुकाम फुङलिङमा अहिले मेलाको मौसम चलिरहेको छ। एक महिनादेखि त्यहाँ लाखेजात्रा भइरहेको छ। गत बिहीबार पनि सदरमुकाम क्षेत्रमा मेला चलिरहेको थियो। मेलालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको थियो। डीएसपी लिम्बूका अनुसार बिहीबार बेलुकी ९ बजे मेला सकिएपछि प्रहरीले गस्ती गर्ने क्रममा विवाद भई प्रहरीमाथि नै आक्रमण भएको थियो। 

“मिनीमेला थियो। बेलुकी ९ बजे समापन भइसकेपछि प्रहरीले ड्युटी गरिरहेको थियो। राति ११ बजेतिर मिनीमेला भएको ठाउँबाट केही पर एकजना महिला र तीन–चार जना पुरुष देखेपछि प्रहरीले सोधिखोजी गर्‍यो। पछि त महिलालाई प्रहरीले दुर्व्यवहार गर्‍यो भन्ने आरोप लगाएर प्रहरीमाथि नै हातपात र दुर्व्यवहार भयो,” उनले भने, “हामीले थप मद्दत टोली पनि पठायौँ। केही सहजीकरण भएर विवाद टुंगोमा पुग्नै लागेको थियो। एक्कासि उहाँ (प्रदेशसभा सदस्य हाङगाम) आएर प्रहरीमाथि आक्रमण गर्नुभयो। उहाँको समूहसँग खुकुरी र बोतलहरू पनि थिए। हाम्रो हतियार खोस्ने प्रयास पनि भयो। पछि थप टोली परिचालन गरेर युवाहरूको समूहलाई तितरबितर बनाइसकेका थियौँ।” विवाद भएको राति हाङगामले आफूलाई फोन गरेरै उल्टै आपत्ति प्रकट गरेको डीएसपी लिम्बू बताउँछन्। 

बिहीबार राति भएको विवादको विषयलाई लिएर हाङगामको नेतृत्वमा शुक्रबार कांग्रेस कार्यकर्ताहरूले सदरमुकाम बन्द गराउने र विरोध प्रदर्शन गर्ने लगायतका क्रियाकलाप गरेका थिए। जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेर विवाद समाधानका लागि पहल भइरहँदा हाङगामको समूहले प्रदर्शन गरेर स्थितिलाई थप उत्तेजित पारेको प्रहरीको भनाइ छ। लाठीसहित प्रदर्शनमा उत्रिएको समूहले जिल्ला प्रहरी कार्यालयको गेटमा ढुंगामुढा गर्न थालेपछि हवाई फायर गर्नुपरेको प्रहरीले बतायो। त्यसपछि जिल्ला प्रशासन कार्यालयनजिकै भएको कोणसभामा प्रदेशसभा सदस्य हाङगाम प्रहरीमाथि खनिएका हुन्।  

डीएसपी लिम्बूले अहिलेको अवस्था भने सामान्य रहेको र विवाद समाधानका लागि समन्वय भइरहेको बताए। यो घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएर ताप्लेजुङ पठाएको कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले बताए।   

“उसले हामीलाई धम्की दियो भनेर पछि लाग्ने कुरा हुँदैन। अनुसन्धान गर्ने हो छानबिन गर्ने हो। छानबिनमा टोली गएको छ। प्रतिवेदनका आधारमा कसरी लैजाने भनेर निर्णय हुन्छ,” डीआईजी बाँस्तोलाले उकालोसँग भने, “हाम्रो मान्छेको गल्ती भए हामी कारबाही गर्छौं। नत्र गल्ती नहुँदा पनि प्रहरीलाई आक्रमण गर्ने र आक्रमणको अभिव्यक्ति दिने मानिसमाथि कारबाही हुनुपर्छ भन्नेमा दृढ छौँ।” 

के भन्छन् हाङगाम?
प्रहरीले रातिको समयमा महिलामाथि दुर्व्यवहार गरेकै कारण विवाद बढेको प्रतिक्रिया प्रदेशसभा सदस्य हाङगामले दिए। “महिलामाथि दुर्व्यवहार गरेर प्रहरीले उल्टै पिटेपछि म स्वकीय सचिवसहित त्यहाँ गएको थिएँ। मलाई नै धकेलाधकेल गरेपछि हात हालाहाल भएको हो। त्यसपछि म घर पुगिसकेपछि उल्टै सिभिलमा प्रहरी आएर घरमा ढुंगा हान्ने काम गरे,” उनले भने। त्यसपछि पार्टीका कार्यकर्तालगायतले विरोध जनाएपछि विवाद भएको उनको दाबी छ। 

“मेरो छोरी पाँच वर्षको र छोरा १४ वर्षका छन्। मलाई नै मार्न खोजेपछि मैले भाषण गर्दा केही बोलेको हुँ। उहाँहरूले गुलाब दिनुभयो भनेर त्यसको उत्तर दिएको होइन। काँडाले हान्न खोजेपछि त्यसकै उत्तर दिएको हो,” हाङगामले भने, “यसलाई धेरै अतिरञ्जित बनाउनु जरुरी छैन।” उनले प्रहरी नै आफूलाई ज्यान मार्ने उद्देश्यले राति घरमा सादा पोशाकमा आएको दाबी गरे। 

हाङगामको पृष्ठभूमि
गतवर्ष भएको प्रदेशसभा निर्वाचनमा उनी ताप्लेजुङको निर्वाचन क्षेत्र (ख) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। तरूण दलको जिल्ला अध्यक्षसमेत रहेका उनको विगत विवादित देखिन्छ। जिल्लाकै एक नेताकाअनुसार उनी पहिलेदेखि नै गुण्डागर्दीलगायतका गतिविधिमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। एमालेको पकड मानिएको क्षेत्रमा गठबन्धनको उम्मेदवार बनेर निर्वाचित भएपछि उनी थप अराजक शैलीमा उत्रिएको ती नेता बताउँछन्। 

जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उनी गुण्डागर्दी, झैझगडा गर्नेलगायतका काममा पहिलेदेखि नै संलग्न रहँदै आएका थिए। “चुनावको बेला पनि उहाँको समूहले लफडा नै गरेको थियो। अरू समयमा पनि झैझगडा र विवादमा परिरहने व्यक्ति हुन,” ती अधिकृत भन्छन्, “उनको कुनै पेशाव्यवसाय छैन। राजनीतिकै आडमा गुण्डागर्दीमा संलग्न रहँदै आएका हुन्।” पार्टीको जिल्लादेखि केन्द्रसम्म पहुँच रहेकाले हाङगामले कसैलाई नटेर्ने गरेको एक स्थानीय एक कांग्रेस नेताले बताए। 


सम्बन्धित सामग्री