Monday, April 29, 2024

-->

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्ष दाहाल चन्द्रागिरि–२ मा खटिँदै, अरू पदाधिकारी को कहाँ?

पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताका घर–घरमा जाने लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्ष दाहाल चन्द्रागिरि–२ मा खटिँदै अरू पदाधिकारी को कहाँ

काठमाडौँ– नेकपा माओवादी केन्द्र माओवादीसँग जनता अभियानअन्तर्गत पदाधिकारीलाई जिम्मेवारी तोकेर जिल्ला–जिल्ला पठाएको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले  शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा जनतासँग माओवादीको तीन महिने अभियानको तयारी पूरा भएको बताए।

उनका अनुसार पार्टीका सबै पदाधिकारीलाई जिम्मेवारी तोकेर माओवादीले जिल्ला जिल्ला पठाइएको छ। जसअन्तर्गत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चन्द्रागिरि–२ स्थित घट्टेडाँडा पार्कमा खटिँदै छन्। 

त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा खटिने छन्। प्रवक्ता सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा खटिएका छन्।

यस्तै, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौँ, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरि–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेतमा खटिएका छन्।

सचिवमा दीनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौँ महानगरपालिका–१० मा खटाइएको छ।

उनले सम्मेलनमा पार्टीलाई राजनीतिक रूपमा पुनर्गठन गर्न आवश्यक भएको बताए। उनले कम्युनिस्ट पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताको घरघरमा जाने लागेको प्रस्ट्याए।

“कम्युनिस्ट पार्टीलाई सबल सुदृढ बनाउनका लागि यो अभियान लिएर जनताको घरघरमा जाँदै छौँ। हाम्रो पार्टीलाई वैचारिक पुनर्गठन गर्न आवश्यक छ। राजनीतिक पुनर्गठन गर्न पर्ने आवश्यकता छ। सांगठनिक पुनर्गठन गर्न पर्ने आवश्यक छ,” उनले भने, “हामीले विचारको साथसाथै विधिको पनि विकास गर्न आवश्यक छ।”

अभियानको मुख्य आशय भनेको जनतासमक्ष जाने, जनताको मन जित्ने, जनताको मागलाई थाहा पाउने र पार्टीले कठोर अनुशासन लागू गर्ने रहेको उनको भनाइ छ। 


सम्बन्धित सामग्री