Friday, May 10, 2024

-->

अस्पतालमा आँखा पाकेका बिरामीको अझै भीड, चिकित्सकको सल्लाहबिना औषधि चलाउँदा झनै समस्या

चिकित्सकको परामर्शबिना औषधि प्रयोग गर्दा आँखा पाक्ने संक्रमण झनै बढेपछि अस्पताल पुग्नेहरू बढेका छन्। यसरी औषधि चलाउँदा आँखालाई दीर्घकालीन असर पुग्ने चिकित्सकको भनाइ छ।

अस्पतालमा आँखा पाकेका बिरामीको अझै भीड चिकित्सकको सल्लाहबिना औषधि चलाउँदा झनै समस्या

काठमाडौँ– त्रिपुरेश्वरकी सीता घिमिरे (४४) केही दिनअघि आँखा पाक्ने रोगबाट पीडित भइन्। उनी तत्कालै आँखा जाँच गर्न गइनन्। निको हुने आशामा घरै बसिन्। बरू, यो बीचमा उनले मेडिकलबाट ल्याएर औषधि प्रयोग गरिन्। 

तर औषधि प्रयोग गरेको पाँच/सात दिनसम्म पनि निको भएन। अनि, त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल पुगिन्।

सीतालाई आँखाको संक्रमण हुनुअघि उनकी छोरीलाई पनि भएको थियो। छोरीले घरनजिककै पसलबाट औषधि ल्याएर प्रयोग गरेकी थिइन्। छोरीलाई निको भएको कारण आफूले पनि त्यसै गरेको सीता बताउँछिन्। 

“मेरी छोरीको आँखा पाकेको थियो। छोरीबाटै मलाई पनि सर्‍यो,” उनले भनिन्, “घरमै उपचार गरेर निको होला भन्ने ठानेकी थिएँ, तर भएन।” 

आँखा पाक्दा आफूखुशी औषधि प्रयोग गर्दा झन् समस्या बल्झिँदै गएको उनको अनुभव छ।

त्यस्तै, वीर अस्पतालको आँखा रोग विभागको ओपीडीमा उपचारका क्रममा भेटिएका हिमाल सुवेदी (५५) पनि आफूखुशी औषधि प्रयोग गर्दा समस्या थपिएको सुनाउँछन्। उनले पनि आँखा पाकेलगत्तै अस्पताल नगई आफूखुशी औषधि प्रयोग गरेका थिए। छ/सात दिनसम्म मेडिकलबाट ल्याएको औषधि प्रयोग गरे। तर झन् समस्या भएपछि अस्पताल आएको उनी बताउँछन्।

“आँखा पाकेपछि शुरूमा नजिकैको मेडिकल गएँ। त्यहाँ दिएको औषधि हालेपछि आँखा झन् रातो भयो। बिझाउन थाल्यो। आँखा बिग्रने डर भएपछि उपचारका लागि अस्पताल नै आएको हुँ,” उनले भने।

सुवेदी र घिमिरेजस्तै समस्या भोग्ने धेरै बिरामी काठमाडौँमा आँखा जाँच हुने अस्पतालमा भेटिने गरेका छन्। नेपाल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलका अनुसार यो अस्पतालमा मात्रै दैनिक १०० जना आँखा पाकेको समस्या लिएर आउने गरेका छन्। 

उता, वीर अस्पतालमा पनि आँखाको संक्रमण भएका बिरामीको चाप छ। अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. रोशनी अग्रवालका अनुसार वीरमा दैनिक २५ देखि ३० जना बिरामी यो समस्या लिएर आउने गरेका छन्।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र ललितपुरको पाटन अस्पतालमा पनि उस्तै दृश्य देख्न सकिन्छ। पाटन अस्पतालका नेत्ररोग विशेषज्ञ मुकेशकुमार झा आँखा पाकेका बिरामी अहिले पनि आइरहेकाले अस्पतालले भिन्दै टिकट काउन्टरको व्यवस्था गरेको बताउँछन्। आँखा पाक्ने समस्या चाँडै अर्को व्यक्तिमा सर्ने भएकाले उपचारलाई तीव्रता दिन अस्पतालमा भिन्दै टिकट काउन्टरको व्यवस्था गरिएको उनको भनाइ छ। यहाँ दैनिक १० देखि १२ जना बिरामी आउने गरेका छन्।

'स्टेरोइड ड्रप'हरू प्रयोग नगर्न चिकित्सकको सुझाव 
आँखा पाक्ने समस्या बढेसँगै बिरामी अस्पताल पुगेर परामर्श तथा उपचार गर्नुको सट्टा मेडिकलबाट आफूखुशी औषधि ल्याएर प्रयोग गर्दा जटिलता थपिने चिकित्सकहरू बताउँछन्। अधिकांश औषधि पसलले बिनाचिकित्सकीय परामर्श ‘स्टेरोइड ड्रप’ दिन्छन्। यी औषधिले उल्टै आँखालाई हानि पुर्‍याउने त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका डा. इन्दुप्रसाद ढुंगेल बताउँछन्।

“फर्मासिस्टको महत्त्वपूर्ण काम भनेको डाक्टरले तोकेबमोजिम बिरामीलाई औषधि दिनु हो। तर, कतिपय फर्मासिस्टले आँखा पाकेको रोगका बिरामीलाई लापरबाहीपूर्वक स्टेरोइड ड्रप दिने गरेका छन्,” डा. ढुंगेलले भने। 

स्टेरोइड ड्रपले संक्रमणलाई झनै बिगारी दीर्घकालीन असर पुर्‍याउन सक्ने उनको भनाइ छ। आँखा पाक्ने समस्या देखिए विलम्ब नगरी अस्पताल पुगेर चिकित्सकीय परामर्श लिनुपर्ने उनको सुझाव छ। स्टेरोइड ड्रप आफैँमा गलत औषधि नभए पनि लापरबाहीपूर्ण तरिकाले प्रयोग गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ।

पाटन अस्पतालका नेत्ररोग विशेषज्ञ मुकेशकुमार झा पनि आँखा पाकेका बिरामीलाई औषधि पसलले बिनापरामर्श स्टेरोइड ड्रप दिने गरेको र यसले बिरामीमा थप समस्या उत्पन्न गराउने बताउँछन्। “चिकित्सकको सल्लाहबिना फार्मेसीले औषधि दिनु हुन्न। धेरैजसो स्टेरोइडको नामको अन्त्यमा सोलोन लेखिएको हुन्छ। यसमा सचेत हुन आवश्यक छ,” उनले भने। 

उनका अनुसार आँखा पाक्ने समस्याको निदानका लागि दिइने अधिकांश औषधिहरू एन्टिबायोटिक, एन्टिइन्फ्लेमेटरी, आर्टिफिसियल टियर ड्रप, प्यारासिटामोल, जुके मलम आदि बिरामीको अवस्था परीक्षण गरेर मात्रै दिइन्छ। आँखा पाक्ने समस्याबाट छिटो राहत पाउनका लागि औषधिको प्रयोगसँगै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। “औषधि प्रयोगका साथसाथै संक्रमित आँखाको फोहोर हटाउन दिनमा २–३ पटक सामान्य पानीले आँखा सफा गर्नाले फाइदा हुन्छ,” उनले भने। 

कसरी सर्छ आँखा पाक्ने रोग, लक्षण के हुन्?
नेत्ररोग विशेषज्ञ डा. ढुंगेल आँखा पाक्ने समस्या गत असारबाटै देखिन थालेको बताउँछन्। “धेरै पानी पर्न थालेपछि आँखा पाक्ने समस्या जताततै देखिएको थियो। यसपटक पहिलेभन्दा धेरै मानिसको आँखा पाकिरहेको छ,” उनले भने, “यसपटक धेरै मानिसको आँखा पाक्नुको निश्चित कारण थाहा छैन। तर यो भाइरल इन्फेक्सन हो। व्यक्तिगत सरसफाइको अभावमा एक मानिसबाट अर्को मानिसमा छिटो सर्छ।” 

वीर अस्पतालका डा. अग्रवालले आँखा पाक्ने समस्या पहिलेदेखि नै देखिएको संक्रमण भएको बताइन्। उनले भनिन्, “यो ब्याक्टेरिया, भाइरस या एलर्जीले गर्दा हुन्छ र लक्षण भिन्दाभिन्दै हुन्छ। आँखा पाक्ने समस्या भाइरल इन्फेक्सनका कारणले भएको देखिन्छ। त्यसैले यो रोग संक्रमितबाट सामान्य व्यक्तिमा चाँडै नै सर्छ।” 
उनका अनुसार संक्रमण हुँदा आँखा रातो भई बिझाउने, आँसु आउने, ब्याक्टेरियल इन्फेक्सनमा भन्दा कम चिप्रा आउने र घाममा हिँड्न गाह्रो हुने लक्षण देखिन्छ। 

कसरी बच्ने?
नेपाल आँखा अस्पतालका अनुसार आँखा पाक्ने रोगको संक्रमणबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरूलाई प्रयोग गर्न नदिने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने आँखा छोइसकेपछि साबुनले मिचीमिची हात धुने गर्नुपर्छ। त्यस्तै, प्रशस्त मात्रामा पानी र पोसिलो खाना खाने, बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने चिकित्सकहरूको सुझाव छ। 

बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने, आफूले प्रयोग गरेको सिरानीको खोल तन्ना हरेक‌ दिन सफा गर्ने गर्नुपर्छ। त्यस्तै, आँखा पाक्ने संक्रमण देखिए सामाजिक दूरी कायम गर्दा पनि यसलाई न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन्।


सम्बन्धित सामग्री