Saturday, April 27, 2024

-->

थाक्सिन सिनावात्राको राजनीतिक यात्राः सत्ताबाट निर्वासनमा, स्वदेश फर्किएपछि जेल

सिनावात्रा चढेको जहाज अवतरण हुनासाथ भिडले नाचगान गरेर उत्सव मनाएको थियो। समर्थकहरू ठूलो स्वरमा संगीतमा झुमेका थिए। कोही ‘प्रधानमन्त्रीलाई स्वागत छ’ भन्दै नारा लगाइरहेका थिए।

थाक्सिन सिनावात्राको राजनीतिक यात्राः सत्ताबाट निर्वासनमा स्वदेश फर्किएपछि जेल

थाइल्यान्डमा ठूला व्यापारीका रूपमा चिनिने थाक्सिन सिनावात्रा राजनीति शुरू गरेको छोटो अवधिमा नै सत्ताको नेतृत्वमा पुगेका थिए। उनी सन् २००१ देखि २००६ सम्म त्यहाँको प्रधानमन्त्री भए। तर त्यसलगत्तै उनी स्वनिर्वासनमा जान बाध्य भए। १५ वर्षसम्म देशबाहिर रहेर मंगलबार स्वदेश फर्किएका ७४ वर्षीय सिनावात्रालाई जेल हालिएको छ।

लामो समय यूएई र त्यसपछि सिंगापुर बसेर उनी निजी विमानमार्फत मंगलबार बिहान ९ बजे बैंककको डोन मुआङ विमानस्थल उत्रिएका थिए। आफ्नो आगमनमा थाक्सिनले थाई राजालाई सम्मान गरे। त्यसको लगत्तै प्रहरीले उनलाई पक्राउ गरेर सर्वोच्च अदालतमा पुर्‍याएको थियो, जहाँ उनीमाथि शक्तिको दुरुपयोग र अन्य धेरै आपराधिक गतिविधिहरूको अभियोग लगाइएको थियो। तर ती अभियोगलाई थाक्सिनले राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन्।

सर्वोच्च अदालतको बयानपछि उनलाई बैंककको जेलमा लगिएको छ। अदालतको निर्णअनुसार उनले त्यहाँ आठ वर्ष जेल सजाय भोग्नेछन्।

सिनावात्रा थाई रक थाई पार्टीका संस्थापक हुन् । उनी त्यही पार्टीबाट सन् २००१ मा सत्तामा आएका थिए। उनले ग्रामीण भेगका जनताको आवाज बोकेर चुनाव लडेका थिए। पूर्ण कार्यकाल सत्ता चलाउने उनी थाइल्यान्डका पहिलो निर्वाचित प्रधानमन्त्री पनि हुन्।

सिनावात्रा सन् २००६ मा पुनः प्रधानमन्त्री निर्वाचित भएका थिए। तर सेप्टेम्बर २००६ मा संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्न न्यूयोर्क पुगेको बेला बैंककमा सेनाले सत्ता कब्जा गरेको थियो। 

त्यसपछि, सैनिक नेतृत्वले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोप सिनवात्रामाथि लगाएको थियो। देशको मुस्लिम बाहुल्य दक्षिणी प्रान्तमा हिंसात्मक द्वन्द्व गराएको, हजारौँको ज्यान लिने लागूऔषध कारोबारीविरुद्धको संघर्षमा गम्भीर मानवअधिकार उल्लंघन गरेको आरोप उनीमाथि लगाइएको छ। सैनिक नेतृत्वले उनलाई सत्ताको दुरुपयोग गरेको आरोप पनि लगाएको छ। उनी सन् २००८ मा निर्वासनमा गएका थिए।

सन् २००६ को सैन्य ‘कू’पछि थाइल्यान्डको राजनीतिमा धेरै उथलपुथल भए। उक्त वर्ष सिनवात्रा बेलायत पुगेका थिए। तर २००७ को अन्त्यमा भएको सैन्य ‘कू’पछि भएको चुनाव उनका सहयोगीले जितेका थिए। त्यसको केही समयपछि नै उनी स्वदेश फर्किए।

तर सिनावात्रा र उनको परिवारले भ्रष्टाचारको आरोपको सामना गर्नुपरेको थियो।

सैनिक समर्थित संविधानबाट सशक्त बनाइएको अदालतले उनीविरुद्धको मुद्दा अघि बढाएको थियो। पहिला उनकी श्रीमती पोतजमान र त्यसपछि सिनावात्रा स्वयंलाई भ्रष्टाचारमा दोषी ठहर गरेर जेल सजाय सुनाइएको थियो। उनी सन् २००८ अगष्टमा भेएको बेइजिङ ओलम्पिकपछि बैंकक नफर्की सिधै लण्डन गए र त्यसपछि दुबई पुगे।

सिनावात्रा र श्रीमती पोतजमानको सम्बन्धविच्छेद भएपछि पोतजमानको सजायलाई निलम्बन गरिएको थियो। उनी भने बैंककमा नै बसिरहेकी छन्।

उनको थाई रक थाई पार्टीलाई अदालतले सन् २००७ मा विघटन गरिदिएको थियो। त्यसपछि उनले पिपल्स पावर पार्टी गठन गरेका थिए। चुनावमा धाँधली गरेको आरोपमा यो पार्टी गठन गरेको तीन महिनामा नै त्यहाँको अदालतले विघटन गरिदिएको थियो। त्यसपछि उनकी बहिनी यिङलक सिनावात्राले फेउ थाई पार्टी खोलिन्। उक्त पार्टीले सन् २०११ मा भारी बहुमत ल्याएको थियो। तर उनलाई अदालतले अयोग्य ठहर्‍याएको थियो। त्यसपछि उनी पनि निर्वासनमा छिन्।

सन् २०१९ को निर्वाचनमा पनि फेउ पार्टीले अन्य दलको तुलनामा धेरै सिट जितेको थियो। तर सरकार गठन गर्न दिइएको थिएन। अहिले फेउ पार्टीको नेतृत्वमा सिनावात्राकी छोरी पाइतोङतार्न सिनावात्रा पनि छिन्। उनी अबको मन्त्रिमण्डलमा समावेश हुने विश्वास गरिएको छ।

फेरि देखियो ‘रेड सर्ट’को अस्तित्व
सिनावात्रा स्वदेश फर्किँदा उनको स्वागतको लागि विमानस्थलको भीआईपी कक्षमा हजारौँ ‘रेड सर्ट’ लगाएका समर्थक भेला भएका थिए। सन् २००६ को कूपछि सिनावात्रा सरकारको बचाउ गर्न स्थापित आन्दोलनको नाम हो ‘रेड सर्ट’। यो आन्दोलन थाक्सिनको स्वदेश फिर्तीसँगै पुनःजागृत भएको छ।

सिनावात्रा चढेको जहाज अवतरण हुनासाथ त्यो भिडले नाचगान गरेर उत्सव मनाएको थियो। समर्थकहरू ठूलो स्वरमा संगीतमा झुमेका थिए। कसैले ‘थाक्सिन सिनावात्रालाई स्वागत छ’ लेखेको प्लाकार्ड बोकेका थिए। कोही ‘प्रधानमन्त्रीलाई स्वागत छ’ भन्दै नाराबाजी गरिरहेका थिए। धेरैका लागि यो भावनात्मक क्षण थियो। 

सिनावात्रा प्रधानमन्त्री हुँदा सुधारका धेरै काम भएका थिए। उनले स्वास्थ्य नीतिमार्फत ग्रामीण क्षेत्रका एक करोड थाईहरूले निःशुल्क स्वास्थ्य सुविधा दिएका थिए। गाउँका स्वास्थ्य क्लिनिक र ‘स्टार्टअप फन्ड’लाई पनि सहयोग मिलेको थियो।

“उनले हाम्रो जीवनस्तर सहज बनाउन सधैँ राम्रो काम गरे,” ६३ वर्षीय अंकना नाट्टाकिटको भनाइ उधृत गर्दै अलजजिराले लेखेको छ, “हाम्रो लागि अरू कुनै पनि प्रधानमन्त्रीले यति राम्रो काम गरेको थिएन। उनी हामीजस्ता भुईंमान्छेका प्रधानमन्त्री हुन्।”

सिनावात्रा समर्थक नयाँ प्रधानमन्त्री
थाइल्यान्डमा गएको मे १४ मा नयाँ निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनमा प्रगतिशील मूव फरवार्ड पार्टीले सबैभन्दा धेरै सिट जितेको छ। उक्त पार्टीले १५२ सिट जितेको छ। फेउ थाईले १४१ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। यसलाई सिनावात्राको समर्थन छ। सत्ताको नेतृत्व गरिरहेका प्रयुत चानओचाको युनाइटेड थाई पार्टीले ३६ सिट मात्र जितेको छ। यो पार्टीलाई सेनाको समर्थन छ।

थाइल्यान्डको तल्लो सदन ५०० र माथिल्लो सदन २५० सदस्यीय छ। माथिल्लो सदनमा सेनाले नियुक्त गरेका सदस्य हुन्छन्। तल्लो सदनमा ४०० जना प्रत्यक्ष र १०० जना पार्टीले दिएको सूचीको आधारमा निर्वाचित हुन्छन्। प्रधानमन्त्री हुन दुवै सदनबाट बहुमत ल्याउनुपर्छ।

माथिल्लो सदनमा सेनाद्वारा नियुक्त सांसदले समर्थन गर्न अस्वीकार गरेपछि सबैभन्दा ठूलो प्रगतिशील मूव फरवार्ड पार्टी सरकार गठन गर्न असमर्थ भएको थियो। त्यसपछि फेउ थाईले सेनाको समर्थनमा रहेका दलहरूको सहयोगमा सरकार गठनको तयारी गरेको छ।

फेउ थाई पार्टीका श्रेथा थाविजिन नयाँ प्रधानमन्त्री बनेका छन्। घरजग्गा व्यवसायी श्रेथालाई ४८२ सांसदले मत दिएर प्रधानमन्त्री चुनेका छन्। थाक्सिन सिनावात्रा समर्थित पार्टीकै नेता सेना समर्थित पार्टीहरूसँगको गठजोडमा प्रधानमन्त्री बनेका कारण उनले अब लामो समय जेल बस्नु नपर्ने अपेक्षा गरिएको छ। उनलाई अदालतले भने आठ वर्षको जेल सजाय तोकेको छ।

यता सेना समर्थित निर्वतामान सरकारका उपप्रधानमन्त्री विसानु क्रेएनगामले सिनावात्राले माफीको अनुरोध गर्नसक्ने र आफ्नो उमेरका कारण विशेष उपचार पाउन सक्ने बताएका छन्। 

तर कतिपय रेड सर्टहरूले सैन्य समर्थित पार्टीसँग गठबन्धन गर्ने फेउ थाई पार्टीको निर्णय रुचाएका छैनन्। “फेउ थाइबाट जुनसुकै व्यक्ति प्रधानमन्त्री चुनिए पनि म खुशी हुन्छु,” विमानस्थलको टर्मिनलमा जम्मा भएको भिडसँगै सिनावात्रालाई पर्खिरहेका २९ वर्षीय चवल्वित पराचाईको भनाइलाई विभिन्न सञ्चारमाध्यमले उधृत गर्दै लेखेका छन्।

- एजेन्सीहरूको सहयोगमा


सम्बन्धित सामग्री