Sunday, April 28, 2024

-->

गत वर्षमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिँदा अध्ययनका लागि बाहिरियो १ खर्ब ४२ करोड

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै विदेशी विनिमय सञ्चिति ३ खर्ब २३ अर्ब ५६ रुपैयाँले बढेको छ। ११ महिना ७ दिनको वस्तु आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकको भनाइ छ।

गत वर्षमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिँदा अध्ययनका लागि बाहिरियो १ खर्ब ४२ करोड

काठमाडौँ– गत आर्थिक वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत पुगेको छ। सरकारले बजेटमार्फत गत आर्थिक वर्षमा मूल्यवृद्धि ( मुद्रास्फीति) ७ प्रतिशतमा सीमित राख्ने घोषणा गरेको थियो।

यद्यपि, राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनले मूल्यवृद्धि झन्डै ८ प्रतिशतको हाराहारीमा पुगेको देखाएको हो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षभरि १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको छ। जुन त्यसअघिको आर्थिक वर्षको तुलनामा २ खर्ब १३ अर्बले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिएको थियो। गत वर्ष वार्षिक औसतमा १ खर्बको दरले रेमिट्यान्स भित्रिएको छ।

वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै रेमिट्यान्स पनि बढेको हो। गत आर्थिक वर्ष वैदेशिक रोजगारीका लागि ४ लाख ९७ हजार ७०४ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

रेमिट्यान्स रकममा भएको वृद्धिसँगै गत आर्थिक वर्ष २०७९/८० मा मात्रै विदेशी विनिमय सञ्चिति ३ खर्ब २३ अर्ब ५६ रुपैयाँले बढेको छ। गत असार मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको हो।

यो गत २०७९ असारको तुलनामा २६.६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड थियो। अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड पुगेका छ। यसले ११ महिना ७ दिनको वस्तु आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ।

रेमिट्यान्समा भएको वृद्धि र आयातमा कमी आउँदा भुक्तानी सन्तुलन (मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम) पनि बढ्दै गएको छ। गत असारसम्म मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ। आर्थिक वर्ष २०७८/७९ को  शुरूदेखि नै ऋणात्मक रहेको भुक्तानी सन्तुलन सरकारले विभिन्न वस्तुहरूको आयत प्रतिबन्ध र आयातका लागि अनिवार्य नगद मार्जिनको व्यवस्था गरेपछि गत आर्थिक वर्ष २०७९/८० को असोजबाट भने सुधार देखिन थालेको हो।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चालु खाता घाटा ६ खर्ब २३ अर्ब ३८ करोड रहेकोमा गत वर्षसम्म आइपुग्दा ७२ अर्ब १६ करोड छ। निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो। चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ।

रेमिट्यान्ससँगै आम्दानीका अन्य स्रोतहरूमा पनि क्रमिक रूपमा वृद्धि हुँदै गएको छ। गत वर्ष पर्यटकबाट मात्रै ६१ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ९० प्रतिशतले बढी हो। २०७८/७९ मा यस्तो आय ३२ अर्ब ४५ करोड थियो।

गत वर्ष पर्यटक आगमन संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा ८ लाख ६२ हजार ९९२ जनाले नेपाल भ्रमण गरेका छन्। त्यसअघिको अघिल्लो वर्षमा ३ लाख ७४ हजार १ सय ४७ जना पर्यटक नेपाल आएका थिए।

यस्तै, गत आर्थिक वर्ष १ खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ नेपालीले विभिन्न मुलुकको भ्रमणमा खर्चिएका छन्। यसमध्ये उच्च शिक्षा अध्ययनका लागि मात्र १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ। जबकि, त्यसअघिको आर्थिक वर्षमा ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो।

गत वर्ष आयातमा १६.१ प्रतिशतले गिरावट आएर १६ खर्ब ११ अर्ब ७७ करोडमा सीमित भएको छ। सो अवधिमा २१.४ प्रतिशतले कमी आई मुलुकबाट कुल १ खर्ब ५७ अर्ब १४ करोड वस्तु तथा सामग्री निर्यात भयो।


सम्बन्धित सामग्री