Monday, April 29, 2024

-->

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको भोलिपल्टै बढ्यो सार्वजनिक गाडीको भाडा

यातायात व्यवस्था विभागले स्वचालित रूपमा बढाएको भाडादर दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको भोलिपल्टै बढ्यो सार्वजनिक गाडीको भाडा

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक गाडीको भाडा बढेको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो।

यात्रुवाहक गाडीको भाडा ४.७० प्रतिशतले बढेको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक गाडीको भाडा ६.८३ प्रतिशतले बढेको विभागले जनाएको छ।

विभागका अनुसार बढेको भाडा बुधबारदेखि नै लागू भएको छ। तर यो भाडादर दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने छ।

विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा बढाइएको हो। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो।


सम्बन्धित सामग्री