Friday, May 03, 2024

-->

डेंगीको ‘हटस्पट’ धरान, जेठ दोस्रो सातायता आठ संक्रमितको मृत्यु

धरान उपमहानगरपालिकामा डेंगी संक्रमण उच्च दरमा वृद्धि हुँदै गएको छ भने जेठ दोस्रो सातायता आठ संक्रमितले ज्यान गुमाएका छन्।

डेंगीको ‘हटस्पट’ धरान जेठ दोस्रो सातायता आठ संक्रमितको मृत्यु

काठमाडौँ– सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमण उच्च दरमा वृद्धि हुँदै गएको छ भने जेठ दोस्रो सातायता आठ जनाले ज्यान गुमाएका छन्।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार कुल ३ हजार ९८१ जनाको परीक्षण भएकोमा २ हजार ३९३ जनामा डेंगी संक्रमण देखिएको छ। “धरानमा डेंगी संक्रमण दर ५९ प्रतिशत रहेको छ,” जनस्वास्थ्य अधिकृत मेहताले उकालोसँग भने।

उक्त संक्रमण दरलाई तोड्न नसकिने डेंगी संक्रमणको ‘आउट ब्रेक’को संकेत भन्छन् सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन। “यसको मतलब जसरी गत वर्ष काठमाडौँमा घरैपिच्छे डेंगी संक्रमित थिए, सोहीअनुरूपको संक्रमण फैलन लागेको भनेर बुझ्न सकिन्छ,” डा. पुन भन्छन्, “यसले धरानमा अनब्रेकएबल रूपमा डेंगी संक्रमण फैलन सक्ने संकेत गर्छ।” 

जनस्वास्थ्य अधिकृत मेहताका अनुसार धरानमा चार वर्षअघि सन् २०१९ मा डेंगीको ‘आउट ब्रेक’ भएको थियो। धरान अहिले फेरि डेंगी संक्रमणको ‘हटस्पट’ बन्ने लागेको छ। जेठ दोस्रो हप्तादेखि शुरू भएको डेंगी संक्रमण पछिल्ला दिनमा आक्रामक रूपमा वृद्धि भइरहेको उनी बताउँछन्।

चार वर्षअघि धरानमा फैलिएको डेंगी संक्रमणले काठमाडौँसम्म प्रभाव पारेको डा. शेरबहादुर पुन सम्झन्छन्। पुनका अनुसार तथ्यांक विश्लेषक गर्ने हो भने पनि विश्वभरकै टेन्डमा ३–४ वर्षको अन्तरालमा डेंगी संक्रमण आक्रमण हुने गरेको छ।

“जुन गतिमा सन् २०१९ धरानमा फैलिएको थियो, त्यसले उक्त समयकै सबैभन्दा उच्च संक्रमण गराएको थियो,” उनले भने, “गएको साल काठमाडौँले उक्त नियति भोग्यो। यसपटक फेरि डेंगी संक्रमणको इतिहास धरानमा दोहोरिने देखिन्छ।”

हाल धरान उपमहानगरको वडा ११, १६ ,१५ र १८ मा संक्रमण संख्या बढी रहेको छ। यसपटक काठमाडौँ डेंगी संक्रमण हुने जिल्लामध्ये पाँचौँ स्थानमा छ।

कसरी फैलियो डेंगी?
धरानमा फैलिएको डेंगीको प्रमुख कारण जमेर रहेको पानीलाई मान्छन् अधिकृत मेहता। “धरानमा पानीको समस्या छ। दैनिक रूपमा पानी आउँदैन। सोही कारण धेरै जसोले पानी भाँडामा संकलन गरेर राख्ने गर्छन्,” जनस्वास्थ्य अधिकृत मेहता भन्छन्, “जसले गर्दा सफा पानीमा एडिस जातिको लामखुट्टेलाई अण्डा पार्न सहज हुन्छ।”

उनका अनुसार लामखुट्टेको वृद्धि भइरहँदा घर आँगनको सरसफाइमा पनि ध्यान पुग्न सकेको छैन। सुँगुरका खोरहरू पनि घर छेउछाउमै छन्। सुँगुरलाई पानी खुवाउनका लागि बनाइएका सिमेन्टका भाडाहरू पनि पानी जमेर रहेको हुन्छ। व्यक्तिगत सरसफाइ र सतर्क नहुँदा डेंगी संक्रमण नियन्त्रण गर्न कठिन भएको उनको भनाइ छ। 

अहिले उपमहानगरले डेंगी संक्रमण न्यूनीकरणका लागि ‘सर्च एन्ड डिस्ट्रोइ’ अभियान अघि बढिरहेको अधिकृत मेहता बताए। यसका लागि विभिन्न टोलमा संघसंस्था, स्वास्थ्यकर्मी, विद्यार्थीहरू मिलेर लार्भा र लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने काम गरिरहेका छन्। सोमबारबाट उपमहानगरले आफैँले पनि शिविर स्थापना गरेर थप परीक्षण गर्ने भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अन्य अस्पतालमा डेंगीका बिरामीको चाप बढिरहेको उनी बताउँछन्। बिरामीहरू आत्तिएर पनि पटक–पटक परीक्षण गर्न आउने गरेको उनको भनाइ छ। 

जटिल डेंगी र सेरोटाइप
सरुवा रोगविज्ञ डा.  पुन डेंगीको सेरोटाइप अध्ययनले डेंगी संक्रमणको अवस्था कति जटिल छ भन्ने थाहा पाउन सहज हुने बताउँछन्। विगतमा ‍संक्रमण गराएको डेंगीको सेरोटाइपभन्दा अहिलेको फरक भयो भने त्यसले जटिलता निम्त्याउन सक्ने डा. पुनको भनाइ छ।

“काठमाडौँमा सन् २०२२ मा, सेरोटाइप ३ र १ हाबी थियो भने, सन् २०१९ मा धरानमा सेरोटाइप २ थियो जुन काठमाडौँसम्मै फैलिएको थियो। सोही कारण पनि दुवै वर्ष डेंगीको असर बढी देखियो,” उनले भने “त्यसले डेंगी नियन्त्रणको अभियानसँगै डेंगीको सेरोटाइप पहिचानमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”

सेरोटाइपको अध्ययनले सर्वसाधारणलाई सतर्क बनाउन र चिकित्सकलाई उपचार गर्न सहज हुनुका साथै अस्पतालमा शय्या व्यवस्थापन र डेंगी नियन्त्रणका योजनामा बनाउन मद्दत पुग्ने डा. पुन बताउँछन्।


सम्बन्धित सामग्री