Sunday, April 28, 2024

-->

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: मुख्य टनेल ४०० र रेस्क्यु टनेल ३५ मिटर खन्न बाँकी

सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग मुख्य टनेल ४०० र रेस्क्यु टनेल ३५ मिटर खन्न बाँकी

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ। 

निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनको भनाइ छ। 

मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए। सुरुङमार्गको मुख्य टनेल ४०० मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए। यस्तै, रेस्क्यु टनेल भने करिब ३५ मिटर खन्न बाँकी रहेको उनले बताए। 

केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ। एक वर्षभित्र गाडी चलाउन मिल्ने बनाउने गरी तीव्र रूपमा काम भइरहेको उनले बताए। 

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो। थपिएको समयअनुसार २०८१ साल असोजसम्म सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिने आयोजनाले जनाएको छ।


सम्बन्धित सामग्री