Sunday, May 05, 2024

-->

प्रजातन्त्र ल्याउन राजालाई बम हान्ने जोगी साहः आफू गुमनाम बिते, पञ्चायतले जफत गरेको सम्पत्ति फिर्ता भएन

पञ्चायतविरुद्ध संघर्षका क्रममा जनकपुरमा राजा महेन्द्रलाई बम हान्ने टोलीमा जोगी साह पनि थिए, उनको सर्वस्वहरण भएको थियो। प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइसक्दासमेत जफत गरिएको सम्पत्ति फिर्ता भएको छैन।

प्रजातन्त्र ल्याउन राजालाई बम हान्ने जोगी साहः आफू गुमनाम बिते पञ्चायतले जफत गरेको सम्पत्ति फिर्ता भएन
स्वर्गीय जोगी साह।

काठमाडौँ- जोगी साह राज्यबाट जफत सम्पत्ति फिर्ता हुने पर्खाइमा थिए। तर, सम्पत्ति फिर्ता नपाउँदै ११ वर्षअघि ७२ वर्षको उमेरमा गुमनाम मृत्युवरण गरे। उनको परिवार अझै पनि सम्पत्ति फिर्ता हुने आशामा छ।

राजनीतिमा जोडिएको पछिल्लो पुस्ताले जोगीलाई चिन्दैन। अघिल्लो पुस्ताका धेरै नेताले समेत उनको नाम बिर्सिसकेका छन्। तर, जनकपुर बमकाण्डमा सामेल उनलाई कांग्रेसका केही पुराना नेता अझै सम्झन्छन्।

कांग्रेस धनुषा जिल्ला कार्यसमितिका पूर्वसदस्य तथा कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवका अनुसार जोगी राजा महेन्द्रलाई बम फ्याँक्ने समूहमा थिए। “उहाँ पुरानो कांग्रेसी हुनुहुन्थ्यो। राजामाथि बम फ्याँक्ने समूहमा अरविन्द ठाकुरहरूसँगै संलग्न हुनुहुन्थ्यो,” यादव भन्छन्। 

जनकपुर बमकाण्डमा समातिएका जोगीको ६१ वर्षअघि सर्वस्वहरण गरिएको थियो। उक्त बमकाण्डमा तीन जनालाई मृत्युदण्ड हुँदा जोगीलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको थियो।

जोगी १८ जर्ष जेल बसेको छोरा नरेश बताउँछन्। उनका अनुसार २०३६ सालतिर जोगी जेलबाट छुटेका थिए।

रिहा भएपछि उनी पुर्ख्यौली थलो महोत्तरीको खैरबनीबाट धनुषाको महेन्द्रनगर बसाइँ सरे। जेलमै हुँदा श्रीमतीले दोस्रो विवाह गरिन्। जेलबाट छुटेपछि उनले पनि दोस्रो विवाह गरे।

जोगी साहकी श्रीमती।

श्रीमती जनकपुरस्थित ग्रामीण विकास बैंकमा कार्यालय सहयोगी थिइन्। जोगी भने बेरोजगार थिए। आफ्नो जफत सम्पत्ति फिर्ताका लागि उनी काठमाडौँ धाइरहन्थे। बैंकको जागिरको भरमा श्रीमतीले दुई छोरा र एक छोरी हुर्काइन्। 

सरकारले सम्पत्ति फिर्ता नगर्दा र राहतसमेत नदिँदा अहिले आफूहरूको खानेमेलो नभएको छोरा नरेश बताउँछन्। केही समयअघि उनी वैदेशिक रोजगारका लागि साउदी अरब गएका छन्। उता जानुअघि उकालोसँग उनले आफूहरूलाई दुई छाक टार्न मुस्किल भइरहेको बताएका थिए।

चर्चित त्यो बमकाण्ड
राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी २०१७ पुस १ गते पञ्चायत शुरु गरेपछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत कांग्रेस नेताहरूलाई थुनामा हालियो। भारत प्रवासमा रहेका सुवर्णशमशेर जेलबाहिर हुने उच्च तहका नेता थिए। उनी कांग्रेसका कार्यवाहक सभापति भए।

सुवर्णशमशेरले २०१७ माघ १२ देखि १४ गतेसम्म भारतको पटनामा विशेष सम्मेलन बोलाए। यो सम्मेलनले पुस १ को शाही कदम फिर्ता लिनुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने र विघटित संसद् पुनःस्थापना गर्नुपर्ने माग गरेको थियो। माग पूरा नभए सशस्त्र आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो।

यहीबेला राष्ट्रवादी गोरखा परिषद्का भरत शमशेरलगायत नेता नेपाली कांग्रेस प्रवेश गरेका थिए। भरतशमशेर तुरुन्तै सशस्त्र संघर्ष गरिहाल्ने पक्षमा थिए। पटना सम्मेलनले कार्यवाहक सभापति सुवर्णशमशेरलाई सशस्त्र संघर्ष घोषणा गर्नसक्ने अधिकार दिएको थियो। सुवर्णशमशेरले २०१८ कात्तिक २६ गते सशस्त्र आन्दोलनको घोषणा गरे।

राजा महेन्द्र २०१८ माघ ९ गते जनकपुरस्थित जानकी मन्दिर पुगेका थिए। त्यहीबेला कांग्रेस कार्यकर्ताले उनीमाथि बम प्रहार गरे। बम प्रहार गर्नेहरूमध्ये दुर्गानन्द झा, अरविन्द ठाकुर र दलसिंह थापा मगरलाई धेरैले सम्झन्छन्। तर, बमकाण्डमा महोत्तरी खैरबनीका २२ वर्षीय जोगी साह पनि संलग्न भएको केही कांग्रेस नेतालाई मात्र थाहा छ।

कांग्रेस धनुषाका पूर्वसदस्य तथा कमला नगरपालिकाका मेयर विश्वेश्वर यादव राज्यले जोगीलाई हिरासतमा लिएर सम्पत्ति पनि जफत गरेको बताउँछन्। “उहाँको सर्वश्वहरण भएकोमा कुनै शंकै छैन। हाम्रै कार्यसमितिले कांग्रेस केन्द्रीय समितिलाई गृह मन्त्रालयमार्फत क्षतिपूर्ति दिलाउन पहल गरिदिन आग्रह गरेको हो। यो कुरा अहिलेका अधिकांश नेताहरूलाई थाहा छैन,” यादव भन्छन्।

त्यतिबेला राजामाथि बम हानेको आरोपमा ५९ जना पक्राउ परेका थिए। ५९ जनालाई पक्राउ गर्दासम्म पनि दुर्गानन्द झाबारे प्रहरीले सुइँको पाएको थिएन। तर, निर्दोष मानिसलाई कुटपिट गरी यातना दिएको खबरपछि उनी भारतको जयनगरबाट रेल चढी गिरफ्तारी दिन जनकपुर आएका थिए। उनी धनुषाको परवाहा रेल स्टेसन आइपुगेपछि पक्राउ परेका थिए।

पक्राउ परेकै अर्को दिन हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो। झालाई तत्कालीन विशेष अदालतले २०१९ भदौ १९ गते मृत्युदण्ड दिने फैसला सुनाएको थियो। सर्वोच्च अदालतले २०१९ फागुन २० गते विशेषकै फैसला सदर गरेको थियो। २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानेर उनलाई मृत्युदण्ड दिइएको थियो।

तर जोगीविरूद्ध कुनै सुनुवाइ नगरी थुनामा राखिएको थियो। धनुषा कांग्रेसका पूर्वसभापति महेशशंकर गिरीका अनुसार जोगीलाई केन्द्रीय कारागारमा थुनिएको थियो। “बहुदलीय व्यवस्थाको माग राखेर आन्दोलन गर्ने क्रममा पक्राउ गरेर मलाई पनि केन्द्रीय कारागारमा नै थुनिएको थियो। त्यसबेला उहाँ त्यहीँ हुनुहुन्थ्यो,” गिरी भन्छन्, “म उहाँसँगै एक महिना जेलमा बसेको थिएँ। उहाँ कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूसँग हुनुहुन्थ्यो।”

पूर्वराष्ट्रपति डा. रामवरण यादव पनि जोगी बमकाण्डमा सामेल भएको र राजनीतिक पीडित भएको बताउँछन्। "उहाँ मलाई भेट्न पनि एक-दुई पटक आउनुभएको थियो। उहाँ बमकाण्डमा सामेल भएको व्यक्ति हो। राहतका लागि मैले पार्टीका नेतासँग भेट्न आग्रह गरेको थिएँ," यादवले भने, "तर, के कति रकम क्षतिपूर्ती पाउनुपर्ने हो र सरकारबाट के निर्णय भएको थियो, मलाई जानकारी छैन।"

प्रजातन्त्र आएको ३४ वर्षमा पनि फिर्ता भएन सम्पत्ति
प्रजातन्त्रको आन्दोलनमा लागेर सम्पत्ति जफत भएको ६१ वर्ष भइसकेको छ। ३० वर्षे पञ्चायतकाल सकिएर प्रजातन्त्रको पुनर्बहाली भएकै ३४ वर्ष भइसकेको छ। तर, प्रजातन्त्र प्राप्तिको आन्दोलनमा लागेका जोगीको परिवारले जफत सम्पत्ति फिर्ता पाएको छैन।

छोरा नरेशले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयमा दिएको निवेदन।

२०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री रहेका खुमबहादुर खड्काले मन्त्रिपरिषद्‍बाट ३० लाख ४० हजार रुपैयाँ मुआब्जा दिने निर्णय गराएको छोरा नरेश बताउँछन्। तर, अहिले गृह मन्त्रालयमा त्यसको अभिलेख नै भेटिँदैन। गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्‍बाट भएको उक्त निर्णयको अभिलेख नभेटिएको उकालोलाई जानकारी दिए। "पुरानो कुरा हो, अहिले त्यो निर्णय कहाँ भेटिन्छ र? गृह मन्त्रालय पहिलाको भवनबाट सरेको हो। भए पनि त्यही भवनमा होला, नयाँ भवनमा पाइएन," अधिकारीले भने।

जिल्ला प्रशासन कार्यालय धनुषाले गृह मन्त्रालयलाई २०६४ वैशाख २५ गते लेखेको पत्रमा उनी राजनीतिक पीडित भएको उल्लेख छ। सो पत्रका आधारमा अर्थ मन्त्रालयबाट निकासा भएर उनलाई २०६१ असार २५ गते ४० हजार रुपैयाँ राहत उपलब्ध गराइएको थियो।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले गृह मन्त्रालयमा पठाएको पत्र।

तर, नेपाली कांग्रेस केन्द्रीय कार्यालयले २०७६ साउन ३ गते गृह मन्त्रालयलाई लेखेको पत्रमा जोगी र उनका परिवारले सरकारबाट पाउनुपर्ने राहत र क्षतिपूर्ति नपाएको उल्लेख छ। "तत्कालीन सरकारले २०१८ सालको जनकपुरधामको बमकाण्डमा पक्राउ गरी १० वर्षभन्दा बढी समय जेल राख्नुको साथै सर्वश्वहरणसमेत गरेको थियो," पत्रमा भनिएको छ, "उहाँले अहिलेसम्म राजनीतिक पीडितले पाउनुपर्ने राहत, क्षतिपूर्ति एवं सुविधा नपाएकोले उहाँको छोरा नरेशकुमार साहले राजनीतिक पीडितले पाउनुपर्ने राहत, क्षतिपूर्ति एवं सुविधा पाउनका लागि सिफारिस पाउँ भनी निवेदन दिनुभएकोले सम्बन्धित कागजातसमेत संलग्न राखी आवश्यक सहयोगका लागि सिफारिससाथ अनुरोध गरिन्छ।"

त्यतिबेला रामबहादुर थापा 'बादल' गृहमन्त्री थिए। नरेशलाई क्षतिपूर्ति दिलाउन सहयोग गरेका सामाजिक अभियन्ता सरोज रायका अनुसार तत्कालीन गृहमन्त्री थापा क्षतिपूर्तिका लागि सकारात्मक थिए। “बादल सकारात्मक नै हुनुहुन्थ्यो। उहाँ आफैँले क्षतिपूर्ति पाउनुपर्ने भन्दै पुन: गृहमा निवेदन दर्ता गर्न लगाउनुभयो,” राय भन्छन्, “उहाँ हटेसँगै हामीले पनि आश मार्‍यौँ। सरकारले यो विषय गम्भिरतापूर्वक हेर्‍यो भने नरेशको परिवारले अझै राहत पाउने अवस्था छ।”

क्षतिपूर्ती नपाउँदै जोगीको मृत्यु, छोरा साउदीमा
सरकारले घरजग्गा जफतको ४२ वर्षपछि जोगीलाई राहत स्वरूप ४० हजार रुपैयाँ दियो। त्यसको केही समयपछि उनी पक्षघातले थलिए। बाँकी रकमको ताकेता गर्न काठमाडौँ आउन सकेनन्। आर्थिक संकटले घरको अवस्था बिग्रएपछि जेठो छोरा नरेशलाई विदेश पठाउने निर्णय गरे। विदेशिएका नरेश एक महिने बिदामा घर आएको बेला २०६८ सालमा ७२ वर्षको उमेरमा जोगीको मृत्यु भयो। 

सरकारले दिने कबुल गरेको रकम जोगीले बाँचुन्जेल प्राप्त गरेनन्। उनको मृत्युपछि पनि परिवारले पाएको छैन। तर, नरेशले प्रयास भने जारी राखेका थिए।

“२०७६ वैशाख २२ गते गृह मन्त्रालयमा बाँकी रकमका लागि निवेदन दिएका थियौँ। गृह मन्त्रालयको राहत महाशाखामा निवेदन अझै अड्किरहेको छ,” नरेश भन्छन्, “पटक-पटक काठमाडौँ ओहोरदोहोर गर्ने खर्च जोहो नहुँदा अचेल जनकपुरबाटै गृहको जवाफ कुरिरहेको छु।”

नरेशले यस्तो बताउँदा उनी जनकपुरमा थिए। त्यसको केही दिनपछि उनी साउदी अरब गए। 

जेठा छोरा नरेश।

बुबाको मृत्युपछि नरेशले बाँकी रकमका लागि २०७६ जेठ ५ गते प्रधानमन्त्री कार्यालय र २०७७ साउन २६ गते राष्ट्रपति कार्यलयमा पनि निवेदन दिएका थिए। तर कतैबाट जवाफ नआएको उनले बताए।

जोगी साहका दुई छोरा र एक छोरी छन्। छोरीको विवाह भइसकेको छ। जेठो छोरा नरेश दुईपटक वैदेशिक रोजगारीमा गएर फर्किएका थिए। अहिले तस्रोपटक गएका छन्।

“दुईपटक विदेशबाट आएपछि जनकपुरमै सेल्सम्यानको जागिर खाएँ। जागिर छुटेपछि फेरि आर्थिक रूपले कमजोर बनेको छु,” विदेश जानुअघि उनले उकालोसँग भनेका थिए, “मेरा दुई छोरा छन्, तर उनीहरूलाई पढाउने पैसा भएन। घरको अवस्था ठीक छैन।”

जोगीका कान्छो छोरा पनि वैदेशिक रोजगारीमै छन्। जेठा छोरा नरेशका १८ वर्षीय जेठो छोरा जनकसमेत विदेश जाने तयारीमा छन्। काठमाडौँको पेन्टागन कलेजमा १२ कक्षामा पढ्दै गरेका उनले परीक्षा दिन पाएनन्। उनी तिनकुनेस्थित होस्टेलमा बसेर पढ्थे। तर, कलेज र होस्टलको शुल्क तिर्न नसक्दा जनकलाई परीक्षा दिनबाट बञ्चित गरिएको उनका एक साथीले बताए।

जनकले उकालोसँग भने, “कमसेकम १२ पास गर्न पाए हुन्थ्यो। अरू विकल्प नभए विदेश नै जान्छु।”


सम्बन्धित सामग्री