Friday, May 10, 2024

-->

चिनियाँ पक्षले गृहमन्त्रीलाई सोध्यो– बीआरआईबाट कस्तो लाभ लिने तयारी छ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआईमा २०७० मै सम्झौता गरेकाले मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने विषयमा चीनले चासो राखेको बताए।

चिनियाँ पक्षले गृहमन्त्रीलाई सोध्यो– बीआरआईबाट कस्तो लाभ लिने तयारी छ

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमणका क्रममा चिनियाँ पक्षले महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयनका विषयमा चासो राखेको छ।

पाँचदिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्किएका गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलन नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने विषयमा चीनले चासो राखेको बताए।

“बीआरआईबाट कस्तो खालको लाभ लिन सक्ने गरी तयारी गर्नु भएको छ भनेर सोध्नु भएको थियो। त्यो विषयमा नेपाल सरकारको नीतिको बारेमा स्पष्ट पारेका छौँ,” उनले भने। नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए। सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न आग्रह गरेको उनको भनाइ थियो।

“सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ। छेन्दु–काठमाडौँको उडानलाई हप्ताको सातैदिन नियमित उडान गर्न अनुरोध गरेका छौँ। उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनु भएको छ,” उनले भने, “छेन्दु पोखरा–भैरहवा कमर्सियल उडानको निम्ति अगाडि बढ्न अनुरोध गरौँ। त्यसमा पोखरामा बढी सोचेको प्रतिक्रिया दिनुभएको छ।”

भ्रमणका क्रममा मन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा छलफल भएको थियो। उनले दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा चिनियाँ पक्षसँग सकारात्मक छलफल भएको बताए।

चीन भ्रमण फलदायी भएको दाबी गरेका मन्त्री श्रेष्ठले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन, व्यापारिक नाका खोल्न र नेपाल–चीन सिमानाकामा आवतजावत सहज बनाउन आग्रह गरिएको बताए। बुधबार चीन भ्रमणमा गएको उपप्रधानमन्त्री श्रेष्ठसहित सात सदस्यीय नेपाली टोली आइतबार नेपाल फर्किएको हो।


सम्बन्धित सामग्री