Saturday, May 04, 2024

-->

विश्वकप छनोटमा उजागर कमजोरीः लाइनबाट भड्किए बलर, तीव्र गतिमा अत्तालिए ब्याटर

आईसीसी वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका पाकिस्तान र भारतसँग आगामी एशिया कपमा खेल्न लागेको नेपालको स्तर जिम्बावेमा उजागर भएको छ। नेपाललाई ठूलो अन्तरमा हराएको वेस्ट इन्डिज अहिले १०औँ वरीयतामा छ।

विश्वकप छनोटमा उजागर कमजोरीः लाइनबाट भड्किए बलर तीव्र गतिमा अत्तालिए ब्याटर
तस्वीर सौजन्य: आईसीसी

काठमाडौँ- क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले असार ७ गते वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो। नेपालले खेलेकामध्ये वेस्ट इन्डिज अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‍ (आईसीसी) एक दिवसीय वरीयतामा सबैभन्दा माथि रहेको देश हो। अहिले वेस्ट इन्डिज वरीयताको १०औँ स्थानमा छ।

समूह 'ए'मा रहेको नेपालले त्यसअघि असार ३ गते प्रतियोगिताको पहिलो खेल अर्को टेस्ट राष्ट्र जिम्बावेसँग खेलेको थियो। जिम्बावे आईसीसीको वरीयतामा ११औँ स्थानमा छ। नेपालको समूहमा रहेका यी दुवै उच्च वरीयता टोलीसँग नेपाल पराजित भयो।

यस प्रतियोगिताको समूह 'बी'मा रहेको श्रीलंका सबैभन्दा उच्च वरीयताको टोली हो। आईसीसी वरीयतामा श्रीलंका आठौँ स्थानमा छ। नेपाल 'सुपर सिक्स'मा पुग्दा श्रीलंकासँग पनि खेल्ने मौका थियो। जिम्बावे भ्रमणमा जानुअघि नेपालको लक्ष्य पनि सुपर सिक्समा पुग्ने नै थियो। 

तर, समूह चरणमा वेस्ट इन्डिज र जिम्बावेसँग पराजित नेपाल निर्णायक खेलमा नेदरल्यान्डसँग पनि पराजित भएपछि सुपर सिक्समा पुग्न सकेन। नेपालले अमेरिकालाई मात्र पराजित गर्न सक्यो।

यो प्रतियोगिता खेल्न जानुअघि नेपाली टोलीको मनोबल उच्च थियो। लिग-२ का पछिल्ला १२ मध्ये ११ मा जित हासिल गरेको थियो। त्यस्तै, एसीसी प्रिमियर कपमा अपराजित रहँदै उपाधि जितेको थियो। जिम्बावे जानुअघि कप्तान रोहितकुमार पौडेल घरेलु टोली, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्समध्ये दुई देशलाई पराजित गरेर लक्ष्य भेट्टउने बताएका थिए।

अमेरिका र नेदरल्यान्ड्सभन्दा नेपाली टोली वरीयतामा माथि छ। आगामी एशिया कपमा वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका पाकिस्तान र भारतसँग खेल्न लागेको नेपालको स्तर यो प्रतियोगिताले छर्लंग बनाएको नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री बताउँछन्। एशिया कपमा नेपाल रहेकै समूहमा भारत र पाकिस्तानसमेत छन्।

“नेपालको खेलमा क्रमगत रूपले त सुधार देखिएको छ। तर, त्यहाँ पुग्न जुन स्तर हुनुपर्ने त्यो भएन। अन्तर्राष्ट्रिय प्रतियोगितामा गएपछि स्टेप वान, ‘टू’ र ‘थ्री’मा के गर्ने भन्ने पूर्वतयारी हुनुपर्ने थियो, त्यो देखिएन,” क्षेत्री भन्छन्, “अन्तर्राष्ट्रिय खेलाडीलाई बढी एक्सपोजर चाहिन्छ। यूएई, सिंगापुर, मलेसिया र पपुवा न्यू गिनीसँग खेलेर हुँदैन। आफ्नो वरीयताभन्दा माथिका जिम्बावे, श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेलेर तयारी गर्नुपर्ने थियो।”

जिम्बावे जानुअघि नेपालले दक्षिण अफ्रिकामा दुई अभ्यास खेल खेलेको थियो। पहिलो अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रोमा लिग-२ का पछिल्ला दुवै खेलमा जित हासिल गरेको स्कट्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। 

उता जिम्बावे पुगेपछि आईसीसीकै तालिका बमोजिम खेलिएको पहिलो अभ्यास खेलमा नेपाल यूएईसँग ३ विकेटले पराजित भयो। यूएई वरीयतामा १९औँ स्थानमा छ भने, नेपाल १४औँमा। अन्तिम अभ्यास खेलमा भने नेपालले ओमानमाथि २ विकेटको जित हासिल गरेको थियो।

प्रतियोगितामा समूह ‘बी’मा रहेको ओमान टेस्ट टोली आयरल्यान्ड र यूएईलाई पराजित गर्दै सुपर सिक्समा पुग्न सफल भयो। अभ्यास खेलमा त्यही ओमानलाई पराजित गरेको नेपाल भने समूह चरणबाटै बाहिरिन बाध्य भयो। छिमेकी देश (भारत)बाट फाइदा लिन नसक्दा नेपाल अगाडि बढ्न नसकेको पूर्वकप्तान क्षेत्री बताउँछन्।

“स्किल, टेक्निङ र प्लानिङ नचाहिने होइन, तर मोर्डन क्रिकेटमा मनोवैज्ञानिक तवरले पनि तयार हुनुपर्छ। हामीले खेल्ने टोली साना थिएनन्,” उनी भन्छन्, “हामीजस्ता अन्य देशले आफूभन्दा माथिल्लो टोलीसँग अभ्यास खेल खेल्दै राम्रो अनुभव बटुले र मनोवैज्ञानिक तवरले तयार भए। तर, हामी त्यसमा नराम्ररी चुक्यौँ। छिमेकी देशसँग हातेमालो गरेर अगाडी बढ्न सकेनौँ।”

ब्याटर चल्दा बलरले गुमाए लय
ब्याटरलाई सहयोग हुने पिचमा खेलिएको जिम्बावेविरुद्धको पहिलो खेलमा नेपालले राम्रै प्रदर्शन गरेको पूर्वकप्तान क्षेत्रीको बुझाइ छ। जिम्बावेलाई नेपालले २९१ रनको लक्ष्य दिएको थियो। 

तर, नेपालको बलिङ चल्न सकेन। सोमपाल कामीले ५.३ ओभरमा १ मेडनसहित ३० र गुलशन झाले ८ ओभरमा ५६ रन खर्चिए। उनीहरूले १/१ विकेट लिए। ‘ग्लोबल आइकन’ सन्दीप लामिछाने र अनुभवी बलर करण केसी नचल्दा नेपाल ८ विकेटले पराजित भयो। 

बलर हाबी भएको दोस्रो खेलमा नेपालले अमेरिकलाई ६ विकेटले पराजित गर्दै लयमा फर्किने संकेत गर्‍यो। तर, तेस्रो खेलमा नेपाल रनका आधारमा अहिलेसम्मकै ठूलो अन्तर १०१ रनले पराजित भयो।

त्यस खेलमा विकेटकिपर आशिफ शेखले वेस्ट इन्डिजका बायाँहाते ब्याटर निकोलस पुरनलाई ३ र ५४ रनको व्यक्तिगत स्कोरमा दुईपटक ‘क्याच मिस’ गर्दै जीवनदान दिएका थिए। पुरनले ९४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ११५ रन बनाए।

वेस्ट इन्डिजका लागि कप्तान साई होपले सर्वाधिक १३२ रन बनाउँदा नेपालले ३४० रनको विशाल लक्ष्य पायो। जवाफी ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभर पूरा हुन दुई बल बाँकी छँदा २३८ रनमा समेटियो।

बलिङतर्फ जिम्बावेमा १७ वर्षीय तीव्र गतिका अलराउन्डर गुलशन झाले मात्र बलिङमा औसत प्रदर्शन गरे। उनले चार खेलमा ३२ ओभर बलिङ गर्दै ६.२१ को इकोनोमिमा १९९ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए।

करण केसीले २७.१ ओभरमा ५ विकेट लिन १६६ रन खर्चिए। ललित राजवंशीले तीन खेलमा ४ (१०६) विकेट लिए। चारै खेलमा बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ३ (१३९) विकेट लिए। तर, आशा गरिएका लेग स्पीनर सन्दीप लामिछानेले भने ३ विकेट लिन ४० ओभर बलिङ गर्दै २४५ रन खर्चिए।

सोमपाल जिम्बावेसँगको पहिलो खेलमा नै घाइते भएपछि अन्य खेलमा बेन्चमा बस्न बाध्य भए। उनले जिम्बावेविरुद्ध ५.३ ओभर बलिङ गर्दै ३० रन दिँदा १ विकेट लिएका थिए। त्यसपछि उनी मैदानबाट बाहिरिए।

केही विषय ‘स्किप’ गरेर हेर्ने हो भने यसपटक समग्रमा राम्रो प्रदर्शन भएको अर्का पूर्वकप्तान उत्तम कर्माचार्य बताउँछन्। यद्यपि, फिल्डिङ र बलिङमा सुधार गर्नुपर्ने उनको बुझाइ छ। टोलीमा लामो समयदेखि एकै खेलाडीले 'बलिङ डिपार्ट'मा कब्जा जमाएको कारण यसपटक खेलमा राम्रो हुन नसकेको उनको भनाइ छ। त्यसैले एशिया कप खेल्नुअघि ‘अल्टरनेटिभ’ खेलाडीहरू खोज्नुपर्ने उनी बताउँछन्। 

“ब्याटिङ अर्डर पहिलाको भन्दा ठीक छ। तर, हामी पहिलादेखि नै बलिङमा उत्कृष्ट थियौँ। यसपटक त्यो उत्कृष्टता प्रस्तुत गर्न नसकेका हौँ कि जस्तो लाग्छ। त्यसैले एशिया कप आउनुअघि हामीले नयाँ खेलाडी खोजेर एक्सपोजर दिनुपर्ने आवश्यकता देखिन्छ,” कर्माचार्य भन्छन्।

तीव्र गति र 'सर्ट' बलमा कमजोर ब्याटिङ
जिम्बावेमा नेपाली ब्याटरलाई तीव्र गति र 'सर्ट' बलमा खेल्न मुस्किल देखिएको थियो। तीव्र गतिको बल खेल्दा प्राविधिक रूपमा कमजोर देखिएको पूर्वकप्तान क्षेत्री बताउँछन्। "ओपनर कुशल भुर्तेलले अल्जारी जोसेफको बलिङमा खेल्न खोज्नुभएको टेक्निङ खराब थिएन। फ्रन्ट फुट राम्रो थियो। तर, टाइमिङ मिलेन। बल छिटो गयो, ब्याटलाई छिटो चलाउन नसक्दा बल ब्याट र प्याडबाट गएर स्पटम ढल्यो। त्यसैले त एक्सपोजर चाहिन्छ भनिरहेका छौँ,” उनी भन्छन्।

अर्का पूर्वकप्तान कर्माचार्य नेपाली टोलीमा योजना र अनुभवको कमी प्रष्ट देखिएको बताउँछन्। टेस्ट राष्ट्रसँग खेल्नुअघि नेपालले विपक्षीको बलरको गतिदेखि रणनीतिसमेत बुझ्न नसकेको उनको तर्क छ। 

“स्पष्टरूपमा हामीसँग अनुभवको कमी देखियो। जिम्बावे र वेस्ट इन्डिजका बलर नेपाली ब्याटरविरुद्ध शुरूदेखि नै हाबी भए। पहिला उनीहरू राम्रै स्थितिमा थिए। अहिले पो लय खस्किएर तल (छनोटमा) झरेका हुन्। उनीहरूको रणनीति हामीले बुझ्नुपर्थ्यो,” कर्माचार्य भन्छन्, “उनीहरूको बल स्पिड थियो। त्यसैले हामीले खुलेर खेल्न सकेनौँ। वेस्ट इन्डिजसँगको खेलमा त कुशल भुर्तेलले बल नै देख्न सकेनन्।”

तर, जिम्बावेविरुद्ध भुर्तेलले राम्रो प्रदर्शन गरेका थिए। ९५ बलमा ९९ रन बनाएका उनले १ रन बनाउँदा जीवनदान पाएका थिए। रिचर्ड नागरावाको बलमा सिकन्दर राजाले 'फस्ट' स्लिपमा क्याच छाडेका थिए। उक्त खेलमा भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि कीर्तिमानी १७१ रनको साझेदारी गरेका थिए। शेखले ६६ रन बनाएका थिए।

अन्तिम तथा महत्वपूर्ण खेलमा भर्खरै सुपर लिगबाट लिग-२ मा झरेको नेदरल्यान्ड्स नेपालमाथि हाबी भयो। नेदरल्यान्ड्सका तीव्र गतिका बलरहरूको सर्ट बलमा नेपाली ब्याटर निरीह देखिए। ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले सर्ट बलमा विकेटकिपरलाई क्याच दिन पुगे। 

कप्तान रोहितकुमार पौडेलले पनि सर्ट बललाई 'पुल' गर्दा विकेट गुमाउन पुगे। तर, कर्माचार्य नेपाली खेलाडीले सर्ट बलमा यसअघि राम्रो खेलेको र खेल्न सक्ने क्षमता पनि रहेको बताउँछन्। तीव्र गतिको बलको तयारी नगरेको कारण सर्ट बलमा चुकेको जस्तो देखिएको उनको भनाइ छ।

“स्पीडले गर्दा हामी सर्ट बलमा चुकेको हो। आशिफ, आरिफ र गुलशनले सर्ट बलमै छक्का हानेको पनि देखियो। तर, उनीहरू स्पीडमा खेल्न सकेनन्। हामीले स्पीड बलमा तयारी गरेनौँ भन्ने गुनासो सुनिन्छ। यहाँ मेसिनबाटै तयारी गर्छौं,” उनी भन्छन्, “मेसिनबाट एकनाशको हुन्छ। कहिले योर्कर, कहिले सर्ट या कहिले ओआईआर (आउट स्विङ, इन स्विङ र रिभर्स) आउँदैन। हातबाट फ्याँक्नु र मेसिनबाट फ्याँक्नुमा फरक हुँदा चुकेका हौँ।”

'कमजोरी एक्स्पोज भएको छ'
नेपाली राष्ट्रिय टोली छनोट समितिका संयोजक दीपेन्द्र चौधरी नेपाली टोलीमा धेरै सुधार गर्नुपर्ने ठाउँ रहेको बताउँछन्। तर, यो समस्या चुट्कीको भरमा समाधान गर्न नसकिने उनको तर्क छ।

अहिले २५ जनाबाट राष्ट्रिय टोलीका १६ खेलाडी छनोट गरेर पठाउनु परेको उनी गुनासो गर्छन्। टोलीमा सुधार गर्न ठूलो ‘पुल’बाट खेलाडी छनोट गर्नैपर्ने उनको भनाइ छ। “हामीले मिहिनेत नगरेका होइनौँ। बलियो टोली बनाउन सक्दो मिहिनेत गरेकै हौँ। तर, २५ जनाबाट खेलाडी छनोट गर्नुपर्‍यो। ४०/५० जनाबाट छनोट गर्न पाए पो बलियो टोली बन्थ्यो,” उनी भन्छन्। 

अहिले नेपाली टोलीलाई ब्याटिङ, बलिङ र फिल्डिङ प्रशिक्षकको आवश्यकता परेको उनको बुझाइ छ। यसका साथै राष्ट्रिय टोलीको 'ब्याकअप'का लागि ‘ए’ टिम बनाइहाल्नुपर्ने उनी बताउँछन्। तर, सबै काम नेपाल क्रिकेट संघ (क्यान)को एक्लो प्रयासले पूरा हुन नसक्ने उनको तर्क छ। 

“क्यानको प्रयासले नै यहाँसम्म पुगेका हौँ। सरकार र निजी क्षेत्रको लगानी हुनुपर्‍यो। हामी आईसीसीमा भर परेर बसिरहेका छौँ, त्यसैले सोचेअनुसार गर्न सकेका छैनौँ,” उनी भन्छन्, “अस्तिको महिला एसीसी इमर्जिङ कपमै भारतको टोली खेलाडीपिच्छै सपोर्टिङ स्टाफ लिएर सिंगापुर पुगेका थिए। हामीले त्यति गर्न सक्ने अवस्था छैन।”

यद्यपि, विश्वकप छनोट प्रतियोगिताका कारण नेपाली टोलीमा भएको कमजोरी ‘एक्सपोज’ भएको उनी बताउँछन्। “प्रतियोगिताभन्दा पाँच महिना अगाडिदेखि लगातार खेलिरहेका थियौँ। चार वटा त वामअर्प म्याच नै खेल्यौँ। हामीले आफूभन्दा तलको सँग मात्रै होइन, माथिल्लो टोलीसँग पनि खेल्यौँ। त्यसैले हामीमा भएको कमीकमजोरी एक्सपोज भएको छ, यसलाई स्वीकार गर्नुपर्छ,” चौधरी भन्छन्।


सम्बन्धित सामग्री