Thursday, May 09, 2024

-->

उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन

चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिवि इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्यसहित सात जनाको समूहले आक्रमण गरेको थियो।

उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिलाउन माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गरेको छ।

विश्वविद्यालयलाई हिंसारहित बनाउन र चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाहीको दयरामा ल्याउन माग गर्दै मंगलबार अदालत परिसरमा भेला भएर प्रदर्शन गरेका हुन्।

घटनामा संलग्नलाई मन्त्रीपरिषद्‌ बैठकले नै उन्मुक्ति दिने निर्णय गरेकाले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ। प्रदर्शनकारीले ‘प्रेम चलाउनेलाई न्याय दे’, ‘कानूनी राज्य कायम गर्’लगायत नारा लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए।  केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिभुवन विश्वविद्यालय इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्य कार्यकर्ता योगेन्द्र रावललगायत सात जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणबाट चलाउनेको घाँटी, कम्मर, मुख, खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको थियो।

उनी उपचारका लागि एक महिना अस्पताल भर्ना भएका थिए भने लामो समय बैसाखीको सहारामा हिँडेका थिए। घटनापछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कुटपिटमा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो।

तर, उनीहरूलाई जिल्ला अदालतले सामान्य धरौटी लिएर छाडेको थियो। उक्त मुद्दाको अन्तिम सुनुवाइ असार ५ गते तोकिएकोमा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

 


सम्बन्धित सामग्री