Tuesday, May 14, 2024

-->

दण्डहीनताले भयको छायामा पर्दैछन् विश्वविद्यालयहरू

राजनीतिक संगठनको नाममा सक्रिय आपराधिक समूहको उद्दण्डताले संरक्षण पाउँदा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमै प्राध्यापक र कर्मचारीमाथि आक्रमणका घटना रोकिएका छैनन्।

दण्डहीनताले भयको छायामा पर्दैछन् विश्वविद्यालयहरू
उपप्राध्यापक प्रेम चलाउने र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल।

काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई सोमबार सत्ता साझेदार दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले कालोमोसो दले। ज्ञान र चेतनाको थलोमा विद्यार्थीको नाममा उद्दण्ड गतिविधि भएको भन्दै सोही संगठनको केन्द्रीय समितिसहित सबैतिरबाट यस घटनाको निन्दा भइरहेको छ।

यसअघि २०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका समाजशास्त्र विभाग उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघ, त्रिभुवन विश्वविद्यालय इकाई समितिका अध्यक्ष हरि आचार्यको समूहले आक्रमण गरी सख्त घाइते बनाएको थियो। 

विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकमाथि विद्यार्थीबाट आक्रमण हुने घटना नयाँ होइन। शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा रहेका विश्वविद्यालयमा आक्रमणका घटनाले अध्यापन गर्ने प्राध्यापकहरू आफ्ना विद्यार्थीबाटै असुरक्षित देखिएका छन्। 

नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत् तिमिल्सेना विश्वविद्यालयमा प्राध्यापकहरू भय र आतंकको अवस्थामा प्राध्यापन गर्न बाध्य हुनुपरेको बताउँछन्। “विश्वविद्यालयमा विभिन्न नाममा प्राध्यापकमाथि हुने आक्रमणका कारण सधैँभरि हामीले डरमा पढाउनु परेको छ,” उनी भन्छन्, “कमजोर मनोविज्ञान र त्रासमा अध्यापन गर्दा शैक्षिक गुणस्तरमा समेत असर पर्छ।” 

विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापक र पदाधिकारी कतिसम्म डर र त्रासमा काम गरिरहेका छन् भन्ने बुझ्न एक वर्षअघिको एउटा घटना सम्झिए पुग्छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले २०७९ भदौ १२ मा विश्वविद्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। त्यसबेला चलाउनेमाथि आक्रमण गर्ने हरि आचार्यको समूह प्रवेश गरेर कार्यक्रम नै बिथोल्ने प्रयास गरेको थियो। त्यसपछि प्रहरीको सुरक्षा घेराभित्र पत्रकार सम्मेलन गर्नुपर्‍यो। 

“विभिन्न निकायमा शिक्षक, कर्मचारी, कुटिएका छन्। शिक्षक कर्मचारीमा त्रास व्याप्त छ। काम गर्ने वातावरण नै छैन,” प्रहरीको घेरामा गरिएको पत्रकार सम्मेलनमा बाँस्कोटाले भनेका थिए। विश्वविद्यालयमा गरिने तालाबन्दी, कुटपिटजस्ता घटनाले शैक्षिक क्यालेन्डर नै बिथोलिएको र त्यसका कारण विद्यार्थीहरू विदेश पलायन हुने घटना बढेको उपकुलपति बाँस्कोटा बताउँछन्। 

विश्वविद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूमाथि पनि आक्रमणका घटना हुने गरेका छन्। २०७६ मंसिर ९ मा त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपाने आफ्नै विद्यार्थीबाट कुटिएका थिए। सीटीईभीटीको सम्बन्धन महाशाखाका तत्कालीन प्रमुख जीवनारायण काफ्ले, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा. जगदीश अग्रवाल पनि विगतमा दुर्व्यवहारको शिकार भएका थिए। 

सत्तारुढ दल कांग्रेसनिकट नेविसंघका अध्यक्ष दुजाङ शेर्पा भने विश्वविद्यालयमा अराजक गतिविधि गर्ने जुनसुकै विद्यार्थी संगठनको नेता–कार्यकर्ता भए पनि कानूनी कठघरामा ल्याउनुपर्ने बताउँछन्। “हिजो पूर्वाञ्चल विश्वविद्यालयमा जुन घटना भयो, त्यो निन्दनीय छ। हाम्रै कार्यकर्ता भए पनि कानूनअनुसार कारबाही गर्नुपर्छ भनेर हामीले भनेका छौँ,” उनी भन्छन्, “हामीले छानबिनका लागि छुट्टै कमिटी पनि बनाएका छौँ। संलग्नहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सहयोग गर्छौं।” 

विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी तथा कर्मचारी नियुक्ति गर्दा समस्या आएकाले यस्तो परम्परा अन्त्य गर्नुपर्ने शेर्पा बताउँछन्। “हामीले प्रधानमन्त्रीलाई भेटेर पनि राजनीतिक भागबन्डाको आधारमा गरिने नियुक्ति अन्त्य गर्न भनेका छौँ,” उनी भन्छन्। 

दण्डहीनताको परिणाम 
विश्वविद्यालयमा कानूनविपरीत अराजक गतिविधि गर्ने र आक्रमण गर्नेलाई सरकारमा सहभागी दलहरूले नै राजनीतिक सम्बन्धका आधारमा संरक्षण गर्दा अपराधका घटना बढ्दै गएको विद्यार्थी संगठनका नेताहरू बताउँछन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट अनेरास्ववियूका अध्यक्ष समिक बडाल विगतमा विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीलाई आक्रमण गर्नेहरूलाई कानूनी कठघरामा नल्याउँदा घटना दोहोरिएको बताउँछन्। “गल्ती गर्नेलाई कानूनको कठघरमा ल्याउनेबित्तिकै कसैले प्राध्यापक र कर्मचारी कुट्ने साहस गर्न सक्दैन,” उनी भन्छन्, “कारबाही नगर्दा आपराधिक समूहको मनोबल झन् उच्च भयो।” 

हुन पनि २०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने हरि आचार्य, योगेन्द्र रावलसहितका सात जना काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। आक्रमणबाट घाइते भएका उपप्राध्यापक चलाउनेले अहिलेसम्म न्याय नपाएको र त्यसका लागि लडिरहेको बताएका छन्।

“मार्ने उद्देश्यले ममाथि आक्रमण गर्नेहरू धरौटीमा छुटेपछि नेविसंघले अदालत परिसरमै फूलमालाले स्वागत गर्‍यो। पेसेवरहरूलाई फूलमाला लगाइयो। मलाई आक्रमण गर्नेहरू पेसेवर नै थिए। त्यसपछि उनीहरूलाई कसैले छुन सकेन, त्यसैको आडमा उनीहरूले ३४२ दिनसम्म विश्वविद्यालय बन्द गराए,” चलाउने भन्छन्।

त्यो घटनापछि कर्मचारी र प्राध्यापकमा भय र असुरक्षाको वातावरण झन् व्याप्त भएको उनी बताउँछन्।


सम्बन्धित सामग्री