Friday, May 03, 2024

-->

किसानलाई सधैँ सिँचाइकै पिरलो, आकाशे पानीका भरमा खेती

बागलुङमा खेती हुँदै आएको ३० हजार ५२३ हेक्टर जमिनमध्ये छ हजार १४८ हेक्टरमा मात्र सिँचाइको सहज पहुँच पुगेको छ।

किसानलाई सधैँ सिँचाइकै पिरलो आकाशे पानीका भरमा खेती  

ढोरपाटन– समथर भूभागदेखि उच्च पहाडसम्म फैलिएको बागलुङका धेरै ठाउँमा सहज सिँचाइको पहुँच छैन। सिँचाइको व्यवस्था नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन्।

तल्लो भेगमा सिँचाइको थोरै मात्रामा सुविधा भए पनि माथिल्लो क्षेत्रमा भने आकाशे पानीकै भरमा खेतीपाती गर्नुपर्ने अवस्था रहेको तमानखोला गाउँपालिकाका कृषक तुलबहादुर विकले बताए। अप्ठ्यारो भौगोलिक बनावटका कारण माथिल्लो क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न सकिने अवस्था छैन।

सिँचाइको सुविधा नहुँदा अहिले पनि बागलुङवासी खाद्यान्नमा परनिर्भर छन्। जिल्लाको उच्च क्षेत्रमा आलु, सिमी, जौ र फापर तथा तल्लो क्षेत्रमा धान, गहुँ, मकै, कोदो, तरकारी र फलफूल उत्पादन हुने गरेको छ। बागलुङको १० वटा पालिकामध्ये कुनैमा पनि सिँचाइको पूर्ण सुविधा छैन।

जसले गर्दा आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ। बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार ५२३ हेक्टरमा मात्रै खेती हुँदै आएको छ। यसमध्ये छ हजार १४८ हेक्टरमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार ७७५ हेक्टर छ। पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाझिँदै गएका छन्।

गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै विकले सुनाए। “भएको यही पाखोबारी हो, सिँचाइ गर्ने व्यवस्था भए खेतीपाती पनि राम्रो हुने थियो,” उनले भने, “वर्षभरि बारीमा दुःख गर्‍यो। नपुगेर बजारबाट चामल, पीठो ल्याएर खानुपर्छ। ठाउँ मात्रै भएर मात्रै नहुने रहेछ।” निसीखोलाका वीरप्रसाद उपाध्यायले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताए।

खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला पानीको पिरलो हुने उनको भनाइ छ। धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको छ। “यो ठाउँलाई मान्छेले यस क्षेत्रको अन्न भण्डारका रूपमा लिने गर्थे। उतिबेला सिँचाइको समस्या थिएन,” उनी भन्छन्, “अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ। पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए। सिँचाइ व्यवस्थित नहुँदा उत्पादन बढाउन समस्या भयो।”

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर १३७ वटा योजना परेका छन्। केन्द्र सरकारले सात करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भागमात्रै समथर भूभाग भएको हुँदा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले बताए। 


सम्बन्धित सामग्री