Wednesday, May 15, 2024

-->

मुगु हिमपहिरो: घटनास्थलमा पुग्न सकेन उद्धार टोली

हिमपात र कुहिरोका कारण एक हप्ता बितिसक्दासमेत सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न सकेको छैन। उद्धारमा खटिएका सुरक्षाकर्मी नै बिरामी हुन थालेको प्रहरीले जनाएको छ।

मुगु हिमपहिरो घटनास्थलमा पुग्न सकेन उद्धार टोली 
फाइल: तस्वीर

मुगु– हिमपहिरोमा परी स्थानीय बेपत्ता भएको हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकेको छैन।

बाटोमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र मौसममा सुधार नआएकाले पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्धारमा गएको टोली घटनास्थलसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मीले छापाखोलामा शिविर खडा गरेर प्रत्येक दिन घटनास्थलसम्म जान हिँडे पनि हिउँ बाक्लो जमेको र छिन–छिनमा हिउँ परिरहँदा प्रयास निरर्थक भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेश बस्नेतले बताए।

खटिएका सुरक्षाकर्मी नै एकपछि अर्को बिरामी हुन थालेको उनको भनाइ छ। “सुरक्षाकर्मी नै बिरामी पर्न थालेका छन्। बिरामी भएकालाई फर्काएर सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेका छौँ,” उनले भने, “हप्ता दिन बितिसकेकाले बेपत्तामध्ये कोही जिउँदो होलान् भन्ने आस मरिसकेको छ।”

टोलीसँगै गएका बेपत्ता भएका व्यक्तिका दुई जना आफन्त पनि घर फर्किएको डीएसपी बस्नेतले बताए। वैशाख २२ गते मुगुको कार्मारोङ–१ र २ स्थित च्याँखुलेकमा हिउँपहिरो जाँदा यार्सा टिप्न गएका जुम्ला पातारासि–२ तल्फीगाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहरा बेपत्ता भएका थिए।

सोही दिन इलाका प्रहरी चौकी मुगुबाट र २४ गते बेपत्ता भएका व्यक्तिका दुई आफन्तसहित २३ जनाको टोली सेनाको हेलिकप्टरबाट खोजीका लागि गएको थियो।

टोली घटनास्थल च्याखुलेकभन्दा चार घण्टा तल रहेको छापाखोला भन्ने स्थानमा बास बसी घटनास्थलसम्म पुग्ने प्रयास गरिरहेका छन्। 


सम्बन्धित सामग्री