Monday, April 29, 2024

-->

ए डिभिजन लिग : आर्मीको तेस्रो जित

आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे। जावलाखेलका सुनिल खड्काको गोल सान्त्वना रह्यो।

ए डिभिजन लिग  आर्मीको तेस्रो जित

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ।

एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा अंक तालिकामा दोस्रो स्थानमा रहेको जावलाखेल युवा क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै आर्मीले तेस्रो जित हात पारेको हो। 

आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे। जावलाखेलका सुनिल खड्काको गोल सान्त्वना रह्यो।

खेलको १६औँ मिनेटमा आर्मीका लागि जिलेस्पीले गोल गरेका थिए। यस्तै, ५५औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। आर्मीका लागि नवयुगले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।

६२औँ मिनेटमा जावलाखेलका सुनिलले गोल गर्दै खेल २-१ मा ल्याए। तर, ८०औँ मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई ३-१ गोल अन्तरको जित दिलाए।

जितसँगै आर्मीले ८ खेलबाट १२ अंक जोडेको छ। ३ जित, ३ बराबरी र २ खेलमा हार बेहोरेको आर्मी छैटौँ स्थानमा छ। जावलाखेल समान खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा यथावत् रहेको छ।

जावलाखेलको जारी लिगमा यो दोस्रो हार हो। जावलाखेलले ४ जित र २ बराबरी खेलेको छ।


सम्बन्धित सामग्री