Friday, April 26, 2024

-->

रामसहाय यादव : शिक्षक छाडेर राजनीतिमा, मधेश मुद्दा बोकेर उपराष्ट्रपतिसम्म

२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा २०६० सालमा आउँदा रामसहाय स्थायी भए। विज्ञान र गणित विषय पढाउँथे। तर २०६४ सालमा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा आएका थिए।

रामसहाय यादव  शिक्षक छाडेर राजनीतिमा मधेश मुद्दा बोकेर उपराष्ट्रपतिसम्म

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार रामसहाय यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित उनी जसपा संसदीय दलको नेता थिए।

उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार पाए। उनले १८४ संघीय सांसद र ३२९ प्रदेश सांसदको मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी अष्टलक्ष्मी शाक्यले १०४ संघीय सांसद र १६९ प्रदेशसभा सांसदको मत पाएकी छन्। जनमत पार्टीका ममता झाले भने २३ संघीय सांसद र १५ प्रदेशसभा सांसदको मत पाइन्।

बाराको सिम्रौनगढ नगरपलिका–९ बँसवरियाका यादव अहिले कलैया उपमहानगरपालिका ५ का बासिन्दा हुन्। उनी २०४८ असार १९ देखि अस्थायी शिक्षक थिए। तर त्यसको एक वर्ष अघिदेखि नै उनी गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावनामा सक्रिय हुन थालेका थिए। सद्भावनाका विभिन्न अभियान र सभा समारोहमा सक्रिय हुन्थे।

२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा २०६० सालमा आउँदा उनी स्थायी भए। विज्ञान र गणित विषय पढाउँथे। तर स्थायी शिक्षकको रूपमा उनको यात्रा धेरै लामो भएन। 

२०५८ सालमा गजेन्द्रनारायणको मृत्युपछि उनी राजनीतिमा सक्रिय हुन थाले। सद्भावनाको कार्यवाहक अध्यक्ष भएका बद्रीप्रसाद मण्डलले पार्टीलाई विधि र पद्दतिबाहिर मनोमानी किसिमले चलाउन खोजेको भन्दै उनीविरुद्ध यादवले मोर्चाबन्दी गरे। गजेन्द्रनारायणकी श्रीमती आनन्दीदेवीको नाममा सद्भावना पार्टी आनन्दीदेवी खडा गर्नमा उनको सक्रिय भूमिका थियो।

सद्‍भावना पार्टीमा छँदै यादवले २०६० फागुनमा आफ्नै संयोजकत्वमा मधेशी जनअधिकार फोरमको बारा जिल्ला समिति गठन गरे। त्यसपछि केन्द्रीय सदस्य बने। त्यसबेलासम्म फोरम राजनीतिक दल थिएन।

उपेन्द्र यादव अध्यक्ष रहेको फोरमले २०६२/६३ को जनआन्दोलनपछि मधेशकेन्द्रित मुद्दामा विभिन्न अभियान चलाउँदा उनले नजिकबाट सहयोग गरेका थिए। २०६३ माघ ४ गतेदेखि मधेश आन्दोलन शुरू हुँदा पनि त्यसको नेतृत्वकर्ता फोरम राजनीतिक दल भइसकेको थिएन।

मधेश आन्दोलनलगत्तै उनी पूर्णकालीन राजनीतिमा आए। उनले शिक्षकबाट २०६४ फागुन २६ गते राजीनामा दिए। उनले त्यति बेलादेखि नै उपेन्द्रलाई अनवरत साथ दिँदै आएका छन्। उनलई नजिकबाट चिन्नेहरू यादव सरल व्यवहार र शान्त स्वभावका भएको बताउँछन्।

“शुरूदेखि नै राजनीतिक रूपमा उहाँ सचेत हुनुहुन्थ्यो। स्वभाव र व्यवहार भने निकै शान्त छ। रिसाएको हामीले देखेका छैनौँ। तर विचारमा रामसहायजी सधैँ क्रान्तिकारी र अधिकारमुखी रहनुभयो,” उनलाई नजिकबाट चिन्ने कलैयाका नागरिक अगुवा रवीन्द्र गिरी भन्छन्, “मधेश आन्दोलनमा उनको सक्रियता बेजोड थियो।” 

२०६४ सालको संविधानसभा चुनावअघि फोरम राजनीतिक दलका रूपमा निर्वाचन आयोगमा दर्ता भयो। २०६५ सालमा उनी पार्टीको महासचिव भए। तत्कालीन मधेशी जनअधिकार फोरम त्यस्तै नामका फोरम लोतान्त्रिक, फोरम गणतान्त्रिकलगायत पार्टीमा टुटफुट हुँदा पनि उनले उपेन्द्रको साथ दिइरहेको जसपा केन्द्रीय सदस्य फिरोज मन्सुर बताउँछन्। जसपामा पनि उनी महासचिव नै छन्।

२०५९ सालमा फोरमको संगठन निर्माणको क्रममा सप्तरीको राजविराजमा उपेन्द्रसँग आफ्नो पहिलो भेट भएको रामसहाय बताउँछन्। शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारमा वन तथा वातावरण मन्त्री भएका रामसहायले पार्टीभित्रको दबाब र विवाद मिलाउन अध्यक्ष उपेन्द्रलाई सहज हुने गरी सजिलै पद छाडेका थिए। त्यसपछि प्रदीप यादव उनको ठाउँमा मन्त्री बनेका थिए। 

२०७२ सालमा वीरगन्ज नाकामा धर्नामा बसेका रामसहाय (दोस्रो लहरमा बायाँबाट तेस्रो)।

२०७२ सालमा नयाँ संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै शुरू भएको मधेश आन्दोलनको क्रममा वीरगन्जको नाका बन्द गर्दै करिब साढे चार महिना धर्ना दिइएको थियो। नागरिक अगुवा गिरीका अनुसार नाका रोक्नेगरी चलेको धर्नामा यादव निरन्तर सहभागी थिए।

उनी पहिलो संविधानसभामा समानुपातिक सभाषद् बनेका थिए। दोस्रो संविधानसभाको बन्दसूचीमा नाम भएर पनि अवसर पाएनन्। २०७४ सालमा बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित भए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट निर्वाचित भए।

पार्टीमा वरीयतामा पहिलो नम्बरमा रहेका संघीय परिषद् अध्यक्ष अशोक राईलाई पन्छाउँदै गत पुस १३ मा यादव संसदीय दलको नेता चुनिएका थिए। पार्टी अध्यक्ष उपेन्द्रको साथ पाएकै कारण उनी पहिलो वरीयताका अध्यक्ष राईलाई रोकेर संसदीय दलको नेता भएका थिए।


सम्बन्धित सामग्री