सिद्धार्थनगर नगरपालिका–६ को बालउद्यान सञ्चालनको जिम्मा लिएको कम्पनीले त्यहाँ होटल र महेन्द्र सभागृह भाडामा लिएको कम्पनीले ‘पार्टी प्यालेस’ चलाइरहँदा पनि अनुगमन तथा कारबाही हुन सकेको छैन।
भैरहवा– सिद्धार्थनगर नगरपालिका–६ महावीर पथमा बालउद्यान सञ्चालनका लागि भैरहवाका व्यापारी हरि थापाको कम्पनी शुभओम इन्भेस्टमेन्ट कम्पनीले तीन बिघा जग्गा भाडामा लिएको थियो। तर उक्त कम्पनीले त्यहाँ सम्झौता विपरीत होटल पौवा सञ्चालन गरिरहेको छ। थापाको समूहले ४९ प्रतिशत शेयर लिएर होटल पौवा सञ्चालनका लागि उक्त जग्गा दिएको हो।
नगरपालिका र थापा अध्यक्ष रहेको शुभओम इन्भेस्टमेन्ट कम्पनीबीच २०७१ सालमा सार्वजनिक निजी साझेदारी अन्तर्गत उक्त जग्गाको भाडा सम्झौता भएको थियो। बालउद्यान सञ्चालनका लागि सम्झौता भए पनि अहिले २० कोठाभन्दा बढीको होटल चलिरहेको छ।
त्यसैगरी, चन्दा उठाएर भैरहवामा निर्माण गरिएको महेन्द्र सभागृह सञ्चालनका लागि नगरपालिकाले भैरहवाको पटवा टेन्ट हाउसलाई भाडामा दिएको छ। सम्झौतामा सभागृहमा नगरबासीलाई सुलभ र सहज सेवा प्रदान गर्ने भनिए पनि उक्त सभागृहलाई टेन्ट हाउसले गोदामघर बनाएको छ। सभागृह पछाडिको जग्गामा झन्डै ५ करोड लगानीमा अर्को भवन बनाएर पार्टी प्यालेस सञ्चालन गरिएको छ।
महेन्द्र सभागृह २०४६ सालदेखि सञ्चालनमा आएको हो। सार्वजनिक निजी साझेदारी अन्तर्गत सभागृह र त्योसँगै रहेको करिब दुई बिघा १४ कठ्ठा जग्गालाई नगरपालिकाले २०७० सालमा २० वर्षको सम्झौता गरी पटवा टेन्ट हाउसलाई भाडामा दिएको हो।
यो पनि- भैरहवामा चन्दा उठाएर बनाइएको विशाल सभागृह गोदामघरमा परिणत
एउटा काम गर्ने सम्झौता गरेर नगरपालिकासँग जग्गा भाडामा लिएका कम्पनीहरूले फरक काम गरे पनि सिद्धार्थनगर नगरपालिकाले कारबाहीको दायरामा ल्याउन सकेको छैन। बरु नगरपालिकाका जनप्रतिनिधि सम्झौता विपरीतका काममा अनुगमन नगरी आँखा चिम्लिरहेका छन्।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ जग्गा भाडामा लिएर व्यवसाय गरिरहेका कम्पनी तथा फर्महरूले सम्झौता विपरीतका काम गरेको विषय उठे पनि कारबाहीको दायरामा ल्याउन नसकिएको स्वीकार गर्छन्। “सबैभन्दा ठूलो समस्या कोरोनापछि यहाँ व्यापार व्यवसाय छैन।कसैले अहिले तपाईंहरू (कारबाही) नचलाउनुस् मानिसहरू भोकै मरिरहेका छन् भन्छन्। कसैले पहिला काम भइरहेको थिएन भन्छन्, जग्गामा पैसा लगाएका छन् छाडिदिनुस् भन्ने पनि छन्। मानिसका फरक फरक धारणा छन्,” उनी भन्छन्।
बाल उद्यान न मर्मत न निर्माण
सिद्धार्थनगर नगरपालिका–६ महावीर पथको बालउद्यान शुभओम इन्भेस्टमेन्ट कम्पनीलाई भाडामा दिँदा उक्त उद्यान मर्मत तथा सुधारका लागि उक्त कम्पनीले १ करोड ३५ लाख खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ। सम्झौता अनुसार बालउद्यान परिसर पर्खालले घेर्न १३ लाख, चिल्ड्रेन पार्क निर्माण गर्न ७ लाख, चमेनागृह तथा रेस्टुरेन्टमा ८ लाख, वयस्कका लागि पौडीपोखरी बनाउन १५ लाख र बालबालिकाका लागि बनाउन ८ लाख खर्चनुपर्ने हुन्छ।
त्यसैगरी, ‘चाइल्ड केयर सेन्टर’का लागि १० लाख, सेमिनार हल बनाउन १२ लाख, ‘फिसिङ’ क्षेत्र निर्माणमा १७ लाख, पानी फोहरा निर्माणमा ३ लाख, डेकोरेसनमा १० लाख, शौचालय र स्नानघर बनाउन ५ लाख खर्च गर्नुपर्ने पनि सम्भौतामा उल्लेख छ। सम्झौताअनुसार एसीयुक्त तीन कोठा निर्माणमा १२ लाख, जेनेरेटरका लागि ३ लाख र अन्य मर्मतमा १० लाख खर्च गर्नुपर्ने हुन्छ। तर यी कुनै पनि काम भएको छैन।
यो पनि- भैरहवाको सार्वजनिक जग्गामा व्यापारीको बलमिचाइँः सम्झौता बालउद्यानको, सञ्चालन होटल
तर सम्झौताविपरीत उल्टै होटल चलाउँदा पनि नगरपालिकाले छुट दिएको छ। “भाडा सम्झौता जुन हो, त्यसअनुसार काम गरेका छैनन्। पूर्णरूपमा फरक र आफ्नै ढंगले काम गरेका छन्,” नगरप्रमुख खाँ भन्छन्, “हामीले अस्ति नगरका बौद्धिक व्यक्ति, जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीसँग बैठक बसेर कुरा पनि गर्यौँ। उक्त बैठकमा सम्झौता अनुसार गर्नुपर्नेमा जोड दिइएको छ।”
जग्गा भाडामा लिएर व्यवसाय गरेका कम्पनीहरूलाई बोलाएर भदौभित्र सम्झौता उल्लंघनको विषयमा स्पस्टीकरण लिने खाँ बताउँछन्। सम्झौता कार्यान्यन नगरे दोस्रो पक्षलाई कारबाहीको दायरमा ल्याउने उनको भनाइ छ।
“हामी पहिला उहाँहरूलाई सोध्छौँ– किन सम्झौता अनुसार काम गर्नुभएको छैन? यही (भदौ) महिनामा उनीहरूलाई बोलाउछौँ। बदनामी कमाउने हामी भयौँ सम्झौताअनुसार गर्नुस् भन्छौँ। सम्झौताविपरीत काम गर्नुहुन्न भने दण्ड जरिबाना गर्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
