गठबन्धनले गडबड : नेता उत्साहित, कार्यकर्ता आक्रोशित

‘चुनाव जित्न’ गरिएको गठबन्धनले नेताहरू उत्साहित बनिरहँदा कर्णालीका कार्यकर्ता पंक्तिमा भने तीव्र असन्तुष्टि छ। आक्रोशित कार्यकर्ता बरू भोट नहाल्ने, तर गठबन्धनका उम्मेदवारलाई भोट नदिने बताउँछन्।

कालिकोट– कर्णाली प्रदेशको विकटमध्ये एक तिलागुफा नगरपालिका। कात्तिक अन्तिम साता त्यहाँ पुग्दा अन्यत्रजस्तै चुनावी माहोलले छोपिसकेको थियो। त्यहाँ भेटिएका धेरैजसो मतदाता कुनै न कुनै पार्टीप्रति झुकाव राख्दा रहेछन्। तर, गठबन्धन र तालमेलले उनीहरूलाई निराश बनाएको रहेछ। त्यहीकारण उनीहरूले आफ्नो विचार नमिल्ने र गाउँको विकास नगर्ने पार्टीका उम्मेदवारलाई मत नदिने निर्णय गरेको सुनाए। चुनावी जित हारभन्दा पनि आफ्नो विचार र राजनीतिक आस्था महत्त्वपूर्ण भएको बताए।  

तिलागुफा नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय कृष्णप्रसाद न्यौपानेले यसपटक चुनावलाई लिएर रत्तीभर उत्साहित नभएको बताए। त्यसको कारण विचार, सिद्धान्त नमिले पनि चुनाव जित्न गठबन्धन गरेर दलहरूले जिल्लामा आफूखुशी उम्मेदवार पठाउनु, गाउँमा पठाइएका उम्मेदवारले यसअघि आफूले वाचा गरेअनुसार विकास निर्माणमा ध्यान नदिनु र विगतमा आफैँले गरेको बाचा बिर्सनु रहेको उनले बताए। 

आफूलाई कांग्रेसको कार्यकर्ता भनेर चिनाउने न्यौपानेले द्वन्द्वकालदेखि नै जिल्लामा कांग्रेस र माओवादीबीच टकराब रहेकाले गठबन्धन बनाएर चुनावमा जानु नै गलत भएको बताए। “मलाई चुनावको केही तातो लागेको छैन। पहिले आपसमा काटमार गर्नेहरूले यसपटक गठबन्धन गरेर गाउँमा साझा उम्मेदवार पठाए। यी उम्मेदवारको अनुहार पनि नयाँ छैन”, उनले भने, “यसअघिको चुनावमा उनीहरूले जितेर गएपछि हाम्रो दुःख कम गर्न केही गरेनन्। अब पनि उनीहरूलाई कसरी मत दिने?” 

तिलागुफाकै ५१ वर्षीय गोविन्द उपाध्याय पनि कांग्रेस कार्यकर्ता रहेछन्। यसपटक माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ। जिल्लाको एक मात्र प्रतिनिधि सभा क्षेत्रमा माओवादीका महेन्द्रबहादुर शाही उम्मेदवार छन्। तर, उपाध्यायले शाहीलाई मत नहाल्ने निर्णय गरिसकेका रहेछन्। “म रूखको छहारीलाई विश्वास गर्छु। मेरा बाबुबाजेले यसैमा गर्व गरे। त्यसैले समानुपातिकतर्फको मत रूखमै हाल्छु। प्रत्यक्षतर्फ शाहीलाई मत हाल्दिनँ। बरू, स्वतन्त्रलाई मत दिन्छु”, उनले भने, “हामी कसैका दास होइनौँ। आफ्नो कर्म गरेर खाइएको छ, कसैले पाल्न पनि परेको छैन। किन तिनका कुरा मान्ने?”

उपाध्यायको गुनासो छ– कालिकोटबाट यसअघिको प्रदेश सभा निर्वाचनमा जितेर मुख्यमन्त्रीसमेत बनेका शाही फर्केर गाउँमा आएनन्। बाढीपहिरोले गाउँ नै सखाप हुँदासमेत नेताहरू अवस्था बुझ्नसमेत नआएको उनको गुनासो छ। 

तिलागुफा नगरपालिका साबिकका फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको छ। तर, नगरपालिकामा हुनुपर्ने सामान्य सेवा–सुविधासमेत उपलब्ध छैन। सडक कच्ची छन्। खानेपानीको समस्या छ। बिजुली नियमित छैन। स्वास्थ्य सेवाको अवस्था पनि त्यत्तिकै दयनीय छ। 

तिलागुफा वडा नम्बर ३ का नीराजन हमाललाई पनि कांग्रेसले अरूसँग गठबन्धन गरेको मन परेको रहेनछ। गठबन्धनको निर्णयले कांग्रेसलाई यसपटक निकै क्षति हुने उनको आकलन छ। “हाम्रो कालिकोटलाई नेताहरूले मागी खाने भाँडो मात्रै बनाए। त्यसमाथि यसपटक हाम्रै पार्टीले माओवादी र अन्य दलसँग तालमेल गरेर गल्ती गरेको छ। यसले कांग्रेसलाई राम्रो गर्नेछैन”, हमाल भन्छन्।

हमालले कालिकोटमा आधारभूत सेवासुविधा पाउन पनि कठिन भएपछि आफ्ना बालबच्चालाई काठमाडौँमा डेरा लिएर पढाइरहेको बताए। आफू भने कालिकोटकै खेतबारीमा पसिना बगाइरहेका छन्। उनी कांग्रेसनिकट तरुण दलको नगर समिति अध्यक्ष हुन्। तर, गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने बताउँछन्। “मैले कांग्रेसको विचार र सिद्धान्त बोकेको छु। अन्य दलका उम्मेदवारलाई भोट दिएर कांग्रेसको विचार र सिद्धान्त मार्न सक्दिनँ। बरू भोट नहाली फर्कने योजना बनाएको छु”, हमालले भने। 

गत असोज १९ देखि निरन्तरको वर्षाका कारण उनको गाउँमा ठुलै पहिरो गयो। तिलागुफा वडा नम्बर ४ का वडाध्यक्षसहित ४ जनाको ज्यान गयो भने १६ जना बेपत्ता भए। ४ जना घाइते भए। १७० परिवार विस्थापित भए तर, पीडितको समस्या बुझ्न जिल्लाका नेताहरू नपुगेको उनको गुनासो छ। हमाल भन्छन्, “हामी संकटमा पर्दा नेता चाहिने हो। तर संकट एक्लै टार्नुपर्ने अवस्था आउँछ भने किन चाहियो नेता।” 

११ वडा रहेको यो नगरपालिकामा कांग्रेसको प्रभाव बलियो मानिन्छ। कालीकोटबासीका लागि तिलागुफा अन्य क्षेत्रको तुलनामा सुगम पनि हो। तर, विकासको अवस्था जर्जर छ। गत स्थानीय तह निर्वाचनमा तिलागुफा नगरपालिका प्रमुखमा कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका थिए।

 कालिकोटको खाँडाचक्र नगरपालिका साबिक कर्णाली अञ्चलको प्रवेशद्वार मानिन्थ्यो। यसमा साबिकको मान्म, पाँखा, दाँहा गाविस तथा वदलाकोट गाविसको १,२,३ र भर्ता गाविसको ८ नम्बर वडा समेटिएका छन्। मुगु पुग्ने एक मात्र सडक यही नगरपालिका हुँदै जान्छ। तर, विकासका दृष्टिले यो नगरपालिका झन् पछाडि छ। खाँडाचक्र वडा नम्बर १ की पूर्णाकुमारी महतरा (३१) ले भनिन्, “हाम्रा छिमेकी औषधि नपाएरै मरिरहेका छन्, तर नेताहरूलाई पार्टी फेर्न र साँठगाँठ गर्न ठिक्क छ। उनीहरूले आफ्नै लागि मात्र हेर्ने, हामीले तिनलाई किन भोट हाल्ने? म यसपालि भोट हाल्दिनँ।”

उनले यसअघि माओवादीलाई भोट हालेकी थिइन्। यसपटक माओवादीले कांग्रेससँग गठबन्धन गरेपछि उनी माओवादीसँग रुष्ट छिन्। उनले स्वतन्त्र उम्मेदवारलाई भोट दिने संकेत गरिन्। 

स्थानीय तह निर्वाचनमा खाँडाचक्र नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट कमलबहादुर शाही निर्वाचित भएका थिए। त्यो नतिजाले पनि महतरालाई स्वतन्त्र उम्मेदवारप्रति आकर्षित बनाएको छ। 

खाँडाचक्रमा अरू धेरैजनाको मनस्थिति यस्तै देखियो। निर्वाचनलाई लिएर उत्साह कम बरु पार्टीका नेताहरूलाई लिएर आक्रोश ज्यादा रहेछ यहाँ। जौँ छर्न बारी खन्दै गरेका ५९ वर्षीय पुन्य महतले त नेताहरूको कार्यशैलीबारे बोल्दाबोल्दै आँसु खसाले। उनले भने, “हामीले सबै नेताको व्यवहार हेरिसक्यौँ। आफू झन् धनी बने, हामीलाई झन् गरिब बनाए। गर्दागर्दा विचारशून्य पार्टी बनाउँदै हिँडेका छन्।” चुनावी गठबन्धनबाट रुष्ट देखिएका महतले थपे, “कांग्रेस मेरो थियो। तर, गठबन्धन गरेपछि मेरो रहेन। मैले अहिलेसम्म हालेको मत खेर गए झैँ लागेको छ। यसपालि त हाल्दा पनि हाल्दिनँ।” 

रास्कोट नगरपालिका साबिकको स्यूना, सिपखाना र फुकोट गाविसलाई मिलाएर बनेको छ। यो नगरपालिकामा एक हजार ७७५ घरधुरी छन्। प्रस्तावित जमुनाहा–हिल्सा अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिएको यो नगरपालिका पनि विकासमा धेरै पछाडि छ। फुकोट कर्णाली हाइड्रोपावर बन्ने भनिएपछि यहाँका बासिन्दा उत्साहित पनि बने। तर, त्यो कहिले बन्छ अनिश्चित छ। यहाँका मतदातामा विकासमा पछि परेको पिरलोसँगै चुनावले बनाइएको गठबन्धनप्रति झनै बढी गुनासो छ। 

 

माओवादीलाई भोट दिँदै आएका रास्कोट–२ का ४४ वर्षीय दीपक सुनुवारले यसपटक कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्। तर, उनले स्वतन्त्र उम्मेदवारलाई मत दिने संकेत गरे। चुनाव आउन केही दिनमात्र बाँकी रहँदासमेत आफू अनिर्णित हुनुमा उनले पनि त्यही कारण बताए– ‘माओवादी–कांग्रेस गठबन्धन मन परेन।’ 

कालिकोटका अन्य भेगमा पुग्दा पनि कांग्रेस र माओवादीका कार्यकर्तामा यस्तै असन्तुष्टि व्याप्त रहेको भेटियो। 

आक्रोश बढाउने अविकास र अव्यवस्था
सुर्खेत–जुम्ला सडकले कालिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडेपनि यहाँका पहाडहरूभन्दा अग्ला छन् कालिकोटवासीका समस्या र पीडा। अभावको त कुरा गरिसाध्य छैन। सन् २०१४ मा प्रकाशित मानव विकास सूचकांकमा पुछारका पाँच जिल्लामा कालिकोट पनि परेको थियो। त्यसमा कुनै सुधार आएको महशुस कालिकोटवासीले गरेका छैनन्। 

कालिकोटमा औसत आयु राष्ट्रिय औसतभन्दा निकै कम, ६४ वर्ष छ। शिक्षा र स्वास्थ्यमा पनि त्यस्तै छ। बालविवाहको अवस्था भयावह छ। कर्णाली प्रदेश सरकारले महिला स्वास्थ्य कमजोर पार्ने कारकमा बालविवाहलाई लिँदै यसको अन्त्यका लागि भनेर कर्णालीका दुर्गम जिल्लामा पनि कार्यक्रम चलाएको दाबी गरेको छ। तर, कालिकोटमा त्यसको प्रभाव भेटिन्न। महिलाको विवाह गर्ने औसत उमेर २० वर्ष छ। स्वास्थ्य पूर्वाधारको अभावमा ५० प्रतिशतभन्दा बढीले घरमै बच्चा जन्माउँछन्। जबकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा बच्चा जन्माउनेक्रम बढेकाले देशैभर मातृमत्युदर घटेको तथ्याङ्क प्रस्तुत गरिरहेको छ। 

कालिकोटका बाढीपहिरोको समस्या पनि विकराल बन्दै गएको छ। यसपालिको निर्वाचनमा पनि यो समस्याको दीर्घकालीन समाधानका लागि दलहरूले ठोस अजेन्डा अगाडि सारेनन्। यसै त विकासमा पछि परेको जिल्ला, त्यसमाथि बाढीपहिरोले निर्माण गरिएका विकासका पूर्वाधार ध्वस्त बनाइरहेको छ। सडक, विद्युत्, खानेपानी, स्वास्थ्य सेवा, बेरोजगारीको समस्या उस्तै छ। तर, यसपालिको निर्वाचनमा पनि यहाँका कुनै पार्टीले यी विषयलाई अजेण्डा बनाएनन्। मतदातामा यही कुराले आक्रोश बढाएको देखिन्छ। 

नेताहरू जित्ने दाबीमै व्यस्त
यसपटक कालिकोटबाट प्रतिनिधि सभामा सत्तागठबन्धनबाट माओवादीका महेन्द्रबहादुर शाही उम्मेदवार बन्दा उनकै पार्टीबाट काशीचन्द्र बराल बागी उठेका छन्। बराल यसअघि रास्कोट नगरपालिकाको मेयर थिए। शाहीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहँदा बराल स्वतन्त्रबाट जित निकालेर जिल्लामै इतिहास रचिने दाबी गर्छन्। “मलाई पार्टीले होइन, जनताले साथ दिनु भएको छ। मलाई विश्वास छ जनताले वाचा गरेअनुसार अत्यधिक मत दिएर मलाई जिताउनुहुनेछ”, उनी भन्छन्।

स्थानीयस्तरमा भिजेका बराल २०५४ को स्थानीय निर्वाचनमा फुकोट गाविस अध्यक्षमा निर्वाचित भएका थिए। उनी सहकारी तथा शिक्षा क्षेत्रमा पनि सक्रिय छन्। उनले नेतृत्व गरेको हिमचुली कृषि सहकारी संस्थामा १४ हजार सेयर सदस्य छन्। 

नेकपा एमालेले कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा नगेन्द्र शाहीलाई अगाडि सारेको छ। सत्तागठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेको मौकामा जतिसक्दो धेरै मत आफूतिर तान्न प्रयासरत छन् नगेन्द्र। भन्छन्, “एमालेले राष्ट्रको विकासका लागि सधैँ काम गरेको छ। राष्ट्रियता बचाउन सक्रिय छ। त्यसकारण मेरो जित सुनिश्चित छ।”  

छिमेकी जिल्ला जुम्लामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले चर्चा बटुलिरहँदा कालिकोटमा प्रतिनिधि सभा सदस्यका लागि राप्रपाबाट धनबहादुर बुढा उम्मेदवार छन्। नेमकिपाबाट खड्कराज शाही उठेका छन्। स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा कालिकोटमा माओवादीको १८ हजार ३४७ मत, कांग्रेसको १२ हजार ८२०, एमालेको १२ हजार ६१३, नेकपा एकीकृत समाजवादीको तीन हजार ५०३ र राप्रपाको ५८० मत छ। यसहिसाबले सत्तागठबन्धनसँग ३४ हजार ६७० छ। अंकगणितले माओवादीका शाहीलाई बलियो देखाएपनि उनीविरुद्ध परेको बागी उम्मेदवारी र मतदातामा देखिएको असन्तुष्टिले परिणाम जे पनि हुनसक्ने देखिन्छ। २०७४ मा वामगठबन्धनबाट माओवादीका दुर्गाबहादुर रावत २१ हजार ११२ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०० मत ल्याएका थिए।  

प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनले माओवादीका दुर्गाबहादुर रावतलाई उम्मेदवार बनाएको छ भने एमालेले कुर्मराज शाहीलाई अगाडि सारेको छ। राप्रपाबाट सूर्यबहादुर शाही उम्मेदवार छन्। प्रदेश सभा ‘ख’ मा सत्तागठबन्धनबाट कांग्रेस नेता हिक्मतबहादुर विष्ट उम्मेदवार छन्। उनीविरुद्ध सत्तागठबन्धनकै नेकपा एकीकृत समाजवादीका विश्वराज बलमे उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा माओवादीबाट निष्कासित लक्ष्मणबहादुर बम पनि उम्मेदवार छन्। यहाँ एमालेले वीरेन्द्र बोगटीलाई उम्मेदवार बनाएको छ।