भोजपुर– गाउँघरका हटियामा पुग्नु भोजपुरकी ७२ वर्षीया शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाट बजारमा बदाम बेच्न जान्छिन्।
बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको शिवमायाले बताइन्। ४५ वर्षअघि बदामको व्यापार थालेकी उनी अहिले पनि उत्तिकै उत्साहका साथ व्यापार गरिरहेकी छन्।
“आफूले सकेको काम गर्नुपर्छ,” उनले भनिन्, “धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ। गाउँ–गाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु।”
अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर बदाम खरिद गर्ने उनले सुनाइन्। किसानले उत्पादन गरेको बदाम प्रतिपाथी ३०० रुपैयाँमा खरिद गर्छिन् र भुटेर प्रतिकिलो ३५० रुपैयाँमा बिक्री गर्छिन्। “बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउँदै आएकी छु। दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ,” उनले भनिन्।
किसानबाट एक वर्षमा चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन्। भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर बदाम बेच्दै आएकी छन्। वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुन्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन्।
विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको अनुभव छ। “विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो,” उनले भनिन्, “अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ। सरकारले बदाम खेती प्रवर्द्धन गर्नुपर्छ।”
गाउँका अधिकांशले बदाम खेती छाड्दै गएको अरुण गाउँपालिका–६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए। पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिँदै गएको उनको भनाइ छ। “बदामखेती व्यावसायिक बन्न सकेको छैन,” उनले भने, “म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु। सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन।”
जिल्लाका बगर क्षेत्रमा बदाम खेतीका लागि उपयुक्त रहेको उनले बताए।