महुवन (पर्सा)– छोरा वा छोरीको कक्षा १२ सम्मको पढाइ पूरा गराउन अभिभावकले औसतमा कति लगानी गर्नुपर्ला? पर्साको महुवन गाउँमा रहेको दलित बस्तीमा जन्मिएका मनोज रामको कथा बेग्लै छ। उनलाई त्यति पढाउँदा बुवा र आमाले आफैँलाई खर्चिनु परेको कथा सुनाउँदा मनोजका आँखा रसाए, आवाज भारी भए अनि गलाबाट एक्कासि घिक्का छुट्यो।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–५ मा पर्ने दलितबस्ती महुवन गाउँको दक्षिणी किनारमा अवस्थित छ। यहाँका ३२ वर्षीय मनोज राम अहिले सिंगो गाउँपालिकावासीका ‘मनोज सर’ भएका छन्। उनी पेशाले शिक्षक हुन्, तर शिक्षक भएर मात्र ‘सर’ कहलिएका भने होइनन्। समाजले उनलाई दिएको मानको पछाडि एउटा अथक संघर्ष छ। अलग–अलग दलित बस्तीका बालबालिकाको लागि उनको अगुवाइमा सञ्चालन भएका निःशुल्क ट्युसन कक्षामा अहिले ५४० विद्यार्थीले पढ्न पाएका छन्। गाउँभरिका बालबालिकालाई अशिक्षाको अध्यारोबाट शिक्षाको उज्यालोतर्फ डोर्याउने मनोजले आफैँ भने कहल्यिै ट्युसन पढ्न पाएनन्।
‘ट्युसन’ कक्षा किन?
मनोज अहिले पर्सा जिल्लाको पकहा मैनपुरस्थित रामचन्द्र भगत माध्यमिक विद्यालयमा निमावि तहको गणित/विज्ञान शिक्षकका रूपमा कार्यरत छन्। विद्यालयमा हुने पढाइले मात्र नपुग्ने कारण विद्यार्थीलाई शिक्षकले गृहकार्य दिने गरेको भन्दै उनले ट्युसनको महत्व बुझाउन खोजे। विद्यालयबाट घर फर्केपछि दुई–तीन घण्टा बसेर गृहकार्य मात्रै राम्रोसँग गर्दा पनि पढाइलेखाइ राम्रो हुने सल्लाह उनी विद्यार्थीलाई दिन्छन्। गृहकार्य र अतिरिक्त अभ्यासका लागि गाउँघरमा ट्युसन कक्षा चलाउँदा आमाबुवा शिक्षित नभएका विद्यार्थीलाई सघाउ पुग्ने सोँचले उनलाई घचघच्यायो।
माध्यमिक तहको विद्यार्थी छँदा मनोजका साथीहरू ट्युसन पढ्थे, तर मनोजले त्यो सुविधा पाएनन्। “त्यसबेला गाउँका तीन ठाउँमा ट्युसन कक्षा चलेका थिए। त्यहाँ पढ्न नगएको होइन, तर १०–१५ दिन पढेपछि जब ट्युसन शुल्क तिर्ने कुरा आउँथ्यो तब मैले कक्षा नै छोड्नु पर्थ्यो,” निःशुल्क ट्युसन कक्षा चलाउनुपर्ने आवश्यकता किन महसुस भयो भन्ने प्रश्नमा उनी खुले, “खासमा मैले ट्युसन पढ्न पाइनँ। नत्र म जहेन्दार विद्यार्थीमा गनिन्थेँ। एसएलसीपछि हेल्थ असिस्टेन्ट पढ्नका लागि चितवन गएर इन्ट्रान्स दिएर पनि असफल भएँ। मलाई लाग्छ, अलिकति ट्युसन पाएको भए मेरो ज्ञानको जग बलियो हुन्थ्यो र त्यो परीक्षा पास गर्न कठिन हुँदैनथ्यो।”
पछि आफैँ जान्ने–बुझ्ने भएपछि उनले महुवनस्थित प्राथमिक विद्यालयमा नियमित कक्षाको मात्र भर पर्दा सिकाइ कमजोर भई बालबालिकाले बीचमै पढाइ छाड्ने समस्या देखे। शैक्षिक सत्रको शुरूमा करिब २५० विद्यार्थी भर्ना हुने, तर पछि ७०–८० जना पनि विद्यालयमा नभेटिने अवस्था थियो। खासमा विद्यालयबाट फर्केपछि घरमा बसेर गृहकार्य गर्ने र किताबकापी खोलेर सिकाइ सुधारको प्रयास गर्ने चलन बालबालिकामा थिएन।
दलित बालबालिका मात्र पढ्ने त्यस विद्यालयमा अहिले बीचमै पढाइ छोड्ने समस्या धेरै हदसम्म समाधान भएको स्थानीय समाजिक कार्यकर्ता दीपेन्द्र साह बताउँछन्। उनका अनुसार त्यहाँका विद्यार्थीमा नियमित उपस्थित हुने, पढाइमा चासो राख्ने र पठनपाठनमा उत्सुक हुने बानीमा निकै प्रगति देखिएको छ। निःशुल्क ट्युसन कक्षाले दलित बालबालिकामा पठन संस्कृति बसाल्न मद्दत गरेको साहले बताए। उनका अनुसार त्यहाँ भर्ना भएकामध्ये ७० देखि ७५ प्रतिशतसम्म विद्यार्थी हाल विद्यालयमा नियमित हुन थालेका छन्। ट्युसनमा आउने विद्यार्थीले विद्यालय नछोड्ने गरेको उनी बताउँछन्।
मनोजले आफ्नो गाउँका बालबालिकाको लागि २०७६ सालमा ट्युसन पढाउन शुरू गरे। पछि महुवनजस्तै दलित बस्ती भएका अरू तीन ठाउँमा पनि उनी नेतृत्वको अभियानले ट्युसन कक्षा चलाउन थाल्यो। अहिले ती सबै कक्षाहरूमा भरिभराउ भएर दलित बालिबालिकाले पढिरहेका छन्।
खरको मुठासँग साटेर शुरू भएको मनोजको पढाइ
मनोजका बुवा जंगबहादुर महरा र आमा मैनादेवी कृषि मजदुर थिए। संयुक्त परिवारमा बस्ने उनीहरू अरूको खेत खलिहानमा मिहिनेत गरेर ल्याउने बनियारी (ज्याला) बाट मुस्किलले बिहान–बेलुकाको छाक टार्थे। पहिले जन्मिएका दुई छोरीलाई पढाउन नसकेको पीडाबोध कम गर्न छोरा मनोजलाई पढाउने आमाको प्रवल इच्छा थियो।
पर्साकै जगरनाथपुर गाउँबाट बिहे गरेर आएकी उनले पढेकाहरूले मात्र गैरदलित समाजमा ठाउँ पाउने गरेको देखेकी थिइन्। श्रीमान्लाई पनि छोरो पढाउनुपर्छ भनेर प्रेरित गर्ने उनै थिइन्। मनोजलाई कक्षा १ मा भर्ना गर्दा मैनाको मनमा खुशीको सीमा थिएन।
गाउँघरमा फुसको छानो बनाउन खर चाहिन्छ। छानो टिकाइराख्न प्रत्येक वर्ष खर फेर्नु पनि पर्छ। साहुको जमिनमा खर काटेर बोझा (मुठा) बनाई घरमा पुर्याइदिएपछि ज्यालाबापत आठ भागको एक भाग श्रमिकले पाउने चलन छ। आफ्नो् फुसको घरको छानो फेर्न मनोजकी आमा मैनादेवीले कडा परिश्रम गरेर खरको जोहो गरेकी थिइन्।
उता, विद्यालयमा पनि माथिल्ला कक्षा पक्की संरचनामा सञ्चालन हुन्थ्यो भने प्राथमिक कक्षाहरूका लागि फुसले छाएका कक्षाकोठा थिए। एक दिन मैनादेवी मनोजलाई लिएर विद्यालय गइन् र उनलाई भर्ना लिइदिन प्रधानाध्यापकसँग आग्रह गरिन्।
त्यसबेला के संवाद भयो मनोजलाई थाहा छैन। भोलिपल्ट आमाले एक बोझा खर विद्यालयमा पुर्याइन्। पछिपछि गएका मनोजको नाम एक कक्षाको रजिष्टरमा चढ्यो। त्यसपछि उनी लगातार विद्यालय जान थाले। हरेक बिहान स्कुल पठाउन उतिबेला आमाले गर्ने गरेको जोडबलको धमिलो स्मृति उनको मानसपटलमा अझै अंकित छ।
त्यतिबेला पाठ्यपुस्तक निःशुल्क पाइँदैनथ्यो। कक्षा उक्लिँदै गएपछि कापीकिताब किन्ने खर्च पनि बढ्दै गयो। फुसको सानो घरभित्र बस्ने मनोजको परिवारमा बच्चालाई विद्यालय पठाउन प्रत्येक दिन बेलैमा खुवाउनुपर्ने दबाव पनि थपिएको थियो।
मनोजका अनुसार बुवाले मात्र होइन, उनकी आमाले पनि अविराम परिश्रम गर्थिन्। गाउँमा जस्तोसुकै कामको अवसर पाउनासाथ उनी गरिहाल्थिन्, खेत खलिहानको कामदेखि रस्सी (डोरी) बनाएर बजारमा बेच्नेसम्म। उनका बुवा जंगबहादुर बाली लगाउने र भित्र्याउने सिजनमा खेतमा मजदुरी गर्थे। तराईका अरू जिल्लामाभन्दा पहिला चितवनतिर धान काट्न शुरू हुन्थ्यो। कृषि मजदुरीका लागि गाउँबाट जाने समूहमा मिसिएर उनी चितवन पुग्थे। लगनको समय बिहेवारीको बाजा बजाउने समूहमा मिसिएर ढोलतासा वा झुनझुना बजाउने काम पनि गर्न भ्याउँथे।
खेतीपातीको सिजन नहुँदा भने उनी भारतको दिल्लीदेखि मुम्बईसम्म मजदुरी गरेर पैसा ल्याउँथे। बाबुको त्यस्तो मिहिनेतकै कारण मनोज सरासर विद्यालय गइरहन पाएका थिए। अभ्यासका लागि गाइड, नमूना प्रश्नका किताब, अभ्यास पुस्तक (प्राक्टिस बुक) जस्ता सामग्रीको प्रचलन थियो। पढ्नका लागि त्यस्ता सामग्री, ट्युसन र राम्रो पहिरन भने उनको विद्यार्थी जीवनभर अधुरो सपनामै सीमित रह्यो।
‘ग्रामर’को त्यो एक थान किताब
आठ कक्षातिर पुग्दा साथीहरूले अंग्रेजी ब्याकरण (ग्रामर)को किताब किनेर पढ्न थालेका थिए। मधेशको गाउँका विद्यार्थीले मातृभाषाभन्दा फरक नेपालीमा पढ्न सिक्नुपर्ने हुन्छ। नेपाली दोस्रो भाषा भएकाले त्यसैको आधारमा अंग्रेजी सिक्नु जटिल काम हुन्थ्यो।
‘ग्रामर’को किताब भएका साथीहरूले अंग्रेजीमा राम्रो गर्न थालेका थिए। उनीहरू विद्यालय जाँदा–आउँदा बाटोमा ग्रामरका कुराहरू झिक्थे। अरू बेला कुराकानीमा भाग लिने मनोज ग्रामरको प्रसंग निस्किँदा मौन रहन्थे। पढेर फर्काउने वाचासहित एक पटक उनले एक जना साथीको ग्रामर किताब मागेका थिए।
“पाठ्यपुस्तकमा दिएको ग्रामरलाई त्यस किताबले विस्तारसँग बुझाइदिएको पाएँ। सरहरूले पढाएको पाठ त्यता अभ्यास गर्न पाउँदा अंग्रेजी सिकाइमा बल मिल्न थाल्यो,” मनोजले सुनाए, “करिब १० दिनपछि साथीले त्यो किताब फिर्ता लिएर आउनू भनेको थियो। तर मलाई साह्रै तनाव भयो, किताब फर्काइदिएपछि मैले के पढ्ने? मनले मानेन। अर्को दिन विद्यालय जाँदा किताब लगिनँ। साथीले सोध्दा ‘हरायो’ भनेर मुखबाट निस्कियो।”
त्यही कारण साथीसँग सम्बन्ध बिग्रिएपछि आफूले ढाँटेको कुराले उनलाई पिरोल्यो। त्योभन्दा बढी उनलाई ढाट्नुपर्ने आफ्नो पारिवारिक बाध्यताले झन् बढी पीडा भयो। सम्पन्न परिवारका ती साथीले पछि अर्को ग्रामर किताब किनेको उनले थाहा पाए। त्योसँगै बिग्रिएको सम्बन्ध सुध्रियो। मनोजको मनमा त्यो एक थान किताब भने करिब डेढ दशकपछि पनि बेलाबेलामा भारी भएर आउँछ।
‘१५ दिन तेली भएँ’
२०६४ सालमा एसएलसी नजिकिँदै जाँदा अरू विद्यार्थीजस्तै मनोज पनि कस्सिएर पढाइतिर लागे। बुवा दिल्ली हिडेंँ, उनको एसएलसीका बेला चाहिने खर्चका लागि पैसा कमाउन। घरबाट करिब ६ किलोमिटर टाढाको पोखरियामा परीक्षा केन्द्र परेको थियो। परीक्षा नसकिँदासम्म त्यहाँ डेरा गरेर बस्नुपर्ने भयो। उनका सहपाठीहरूमध्ये कति आफन्तकहाँ र कोही डेरा लिएर बस्न थाले।
दलित भएकै कारण मनोजले डेरा पाएनन्। उनका एक जना मिल्ने साथी तेली जातिका थिए। उनले पनि डेरा लिइसकेका थिए। मनोजको समस्या साथीलाई थाहा थियो। उनले भने, “ल मैले चिनेका घरधनीकोमा तिमीलाई डेरा खोजिदिएको छु। तर एउटा शर्त छ, मैले तेली भनेर चिनाएको छु, त्यहाँ गएर आफ्नो थर साह बताउनू।”
यसो गर्न मनोजको मनले मानेको थिएन। तर अरू उपाय पनि थिएन। एसएलसी परीक्षा शुरू हुनु अगािडदेखि नसकिएसम्म करिब १५ दिन उनी पोखरियामा तेली बनेर बसे। अरू सबै दुःख संघर्ष एकातिर राख्दा पनि जात लुकाएर बस्नु परेको त्यो घटनाले दिने पीडा अर्कोतिर उत्तिकै भारी हुन्छ उनलाई। त्यति गरेर परीक्षा दिएका मनोजले द्वितीय श्रेणीमा एसएलसी पास गरेर परिवारलाई आपार खुशी दिएर पुस्तौँदेखिको अशिक्षाको पीडामाथि मलहम पनि लगाए।
अनवरत संघर्ष
गाउँसमाजमा छुवाछुतको भावना जीवित रहे पनि पढेलेखेका र जानेबुझेकाहरूले उनीसँगको सरसंगत बार्दैनन्। आत्मसम्मानको यो परिवर्तनलाई उनी शिक्षाको बलमा हासिल गरेको सानो उपलब्धि ठान्छन्। यसै कारणले दलित समाजमा शिक्षाको उज्यालो छर्ने जिम्मेवारीलाई आफूले पहिलो प्राथमिकतामा राखेको मनोज बताउँछन् ।
शुरूमा बालक्लबमा सहभागी भएका मनोजलाई सामाजिक मुद्दाहरूप्रति चाख जाग्यो। पछि पढाइ सँगसँगै समाजिक संस्थाहरूसँग मिलेर उनी दलित बस्तीमा सरसफाइ, सचेतना र बालबालिकाको विद्यालय भर्ना अभियान लगायतका काममा सक्रिय हुन थाले।
उनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्र संकायमा प्रवीणता प्रमाणपत्र तह (आईएड) उत्तीर्ण गरे। त्यतिबेलासम्म पाँच कट्ठा पुस्तैनी जग्गा साहुको बन्धकीमा परिसकेको थियो। आईएडपछि मनोजले संघसंस्थामा सानातिना कामहरू गर्न थालेका थिए। तर पढाइको लागि खर्च जुटाउँदा खेत नै बन्धकीमा परेकाले खानेकुराको समस्या थियो।
२०६९ सालको कुरा हो, मनोजका बुवा जंगबहादुर खेतमा मजदुरी गर्न चितवनको रामपुर गए। काम गर्दागर्दै एक दिन खेतमै ढलेका उनलाई गाउँलेहरूले तत्काल भरतपुर अस्पताल पुर्याए, तर उनलाई बचाउने प्रयास सफल भएन। उनकै पढाइका लागि बाबुले आफ्नो सम्पूर्ण जीवन खर्चिएको त्यस दिन मनोजलाई संसार रित्तिएझैँ लाग्यो।
बुवा बितेपछि उनको उच्च अध्ययनको यात्रा पनि विथोलियो। गुजाराका लागि गैरसरकारी संस्थाहरूमा गरिरहेका सानातिना कामलाई भने उनले निरन्तरता दिएका थिए। पतिवियोगको शोकमा डुबेकी आमासँग साबिकको जोशजाँगर बाँकी रहेन। उनी पनि बिरामी परिन्। छाती दुख्न र सास फेर्दा कठिन हुन थाल्यो। डाक्टरले उनलाई दमरोग लागेको पहिचान गरे।
बिरामी आमाको सल्लाहमा मनोजले २०७० सालमा बिहे गरे। तराईको कठोर गर्मी र कठ्यांग्रिँदो चिसो मौसमको पर्वाह नगरी मैनादेवीले छोरा पढाउन गरेको मिहिनेतले उनको शरीर गलाएको थियो। आमाको उपचारको लागि मनोजले ऋण लिए। तर बिहे गरेको एक वर्षपछि २०७१ सालमा औषधीउपचार चलिरहेका बेला आमाले पनि मनोजलाई संसारमा सधैँका लागि छाडिन्।
दलित र विपन्न भएकै कारण आईएडसम्मको पढाइको मूल्य बुवा र आमाको सासमा चुक्ता गर्नुपरेका कारण आफ्नो उपलब्धिलाई समुदायको लाभमा रूपान्तरित गर्ने दृढ धोको मनोजमा छ। दरिलो अठोटकै फलस्वरूप २०७२ सालमा उनी शिक्षक सेवा आयोगको परीक्षा पास गरेर निमावि तहको स्थायी शिक्षक बने। त्यसपछि ठाकुरराम बहुमुखी क्याम्पसबाट नै स्नातक (बीएड) सम्मको पढाइ पनि पूरा गरे। सँगसँगै बस्ती–बस्तीमा शैक्षिक जागरण ल्याउने आफ्नो सामाजिक सेवाको उद्देश्यमा पनि लागिरहे
दिनभर विद्यालयमा पढाउने मनोज बिहानबेलुकाको समय सेवाभावका साथ ट्युसन कक्षाहरूमा व्यस्त हुन्छन्। बचेको सयम समाजको आवश्यकताअनुसार अन्य सहायता र समन्वयमा बित्छ। जिल्लामा दलितका सवालहरू मुखर गर्ने परिचित नामको रूपमा ‘मनोज सर’ स्थापित भइसकेका छन्।
कहाँ कहाँ छन् ट्युसन कक्षा?
२०७६ सालमा महुवनमा मनोजले थालेको निःशुल्क ट्युसन कक्षामा शुरूमा २०/२५ विद्यार्थी मात्र थिए। अहिले त्यहाँ १८० जनाले पढिरहेका छन्। पछि २०७७ मा ‘पिस फर दलित फाउन्डेसन, नेपाल’ नामको संस्था गठन गरेर यस कामलाई उनले अभियानकै रूपमा अझ व्यापक बनाउँदै लगे।
पर्सौनी गाउँपालिका–३ कौवावनमा रहेको अर्को कक्षामा ८० जना र त्यसनजिकै रहेको कटैया टोलमा सञ्चालित तेस्रो निःशुल्क ट्युसन कक्षामा १४० जना बालबालिका पढ्छन्। त्यस्तै, वीरगन्ज महानगरपालिका–१९ केहुनियामा चलिरहेको कक्षामा निःशुल्क ट्युसन पढ्ने बालबालिकाको संख्या १४० छ। यसरी मनोजको अगुवाइमा पर्साका चार स्थानमा दलित तथा अति विपन्न बालबालिकाको लागि सञ्चालित निःशुल्क ‘ट्युसन’ कक्षामा करिब ५४० बालबालिकाले पढ्न पाएका छन्।
मनोजले निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेका ठाउँहरू अरू दलित बस्तीसरह नै छन् जहाँका औसत मानिसहरू निरक्षर छन्। उनी यस्ता बस्तीका बालबालिकाले निःशुल्क शिक्षा पाउने कुरालाई संसार चिन्ने अवसरको रूपमा लिन्छन् ।
“शिक्षाको महत्व मैले बुझेको छु। शिक्षित मानिसले अवसर मात्र पाउँदैन, आफ्नो महत्व के हो बुझ्छ, अधिकार के हो बुझ्छ र जिम्मेवारीहरू पनि बुझ्छ,” मनोजले भने, “शिक्षाको अभावमा एउटा व्यक्ति ‘मानिस’का रूपमा पाउनुपर्ने र बुझ्नुपर्ने धेरै कुराबाट बञ्चित हुन्छ।” दलित भएकै कारण समाजमा हुने आर्थिक–समाजिक–कानूनी विभेद, उपेक्षा र अप्रिय व्यवहारका विरुद्ध उभिनका लागि पहिले आफैँ जागरुक हुनुपर्ने उनको धारणा छ। यसको लागि पहिलो शर्त नै शिक्षा हो भन्ने उनी ठान्छन्।
‘ट्युसन सेन्टर’मा पढाउने स्वयंसेवक शिक्षकलाई मनोजले विभिन्न सहयोगीहरूबाट संकलित चन्दाको स्रोतबाट जुटाएर महिनाको ६ हजार रुपैयाँ प्रोत्साहनस्वरूप दिँदै आएका छन्। उनी स्वयं चाहिँ यो काममा कुनै लाभ नलिई खटिने गरेका छन्। विद्यार्थी संख्या बढी भएका केन्द्रमा ट्युसन कक्षा बिहान र बेलुका साढे दुई घण्टाका दरले दैनिक दुई ‘सिफ्ट’मा चल्छ। दुवै सिफ्टमा सबै विद्यार्थी आएर कापीकिताब खोलेर लेखपढ गर्छन्। स्वयंसेवक शिक्षकले बिहान कापी हेर्न र सिकाउन नभ्याएका विद्यार्थीलाई बेलुका समय दिन्छन्। यसरी सबैले सिक्ने अवसर पाउने गरी समय व्यवस्थापन गरिएको छ।
प्रत्येक ट्युसन कक्षा एक मात्र स्वयंसेवक शिक्षकले धानेका छन्। कक्षा मिल्ने विद्यार्थीहरूलाई एक ठाउँमा बसाउने र उनीहरूको जिज्ञासा सामूहिक रूपमा समाधान गर्ने सिकाइ विधि अपनाइएको छ। विद्यार्थीले आवश्यकताअनुसार व्यक्तिगत रूपमा पनि शिक्षकसँग प्रश्न सोध्न सक्ने व्यवस्था मिलाइएको छ। समुदायमा पठनपाठनको संस्कार स्थापित गर्नकै लागि यस्ता ट्युसन सेन्टरहरू सञ्चालन गरिएको मनोजले बताए। शिक्षामा दलित बालबालिकाको पहुँच बढाउन, उनीहरूलाई विद्यालयमा टिकाउन र गुणस्तरीय शिक्षाका लागि जिज्ञासु बनाउन यसले मद्दत मिलिरहेको उनको बुझाइ छ।
मनोजले गरेको प्रयास अतुलनीय रहेको गाउँपालिकाका अध्यक्ष यसवन्त यादव बताउँछन्। “मनोज सर र उहाँको टीमले गरिरहेको कामको जति सराहना गरे पनि कम हुन्छ। वास्तवमा हामीले स्थानीय तहबाट गर्नुपर्ने काम उहाँहरूले गरिदिनुभएको छ,” अध्यक्ष यादवले भने, “हामीले हेर्न नसकेको क्षेत्रमा उहाँको प्रयासले राम्रो भइरहेको छ। किनभने दलित समुदायका बालबालिकामा भर्ना भएर बीचैमा विद्यालय छाड्ने (ड्रप–आउट) समस्या धेरै कम भएको छ।” मनोजले ट्युसन पढाइदिने काम गरेको भन्दा पनि आफ्नो प्रयासले एकखाले शैक्षिक जागरण अभियान चलाएको अर्थमा बुझ्नु पर्ने गाउँपालिका अध्यक्ष यादवको भनाइ छ।
मनोज स्वयंले यसका के कस्ता उपलब्धि देखेका छन् त? “आफू र आफ्नो समाजको उत्थानको लागि शिक्षित मान्छेले मात्र बोल्न सक्छ। किनभने उसलाई नियम, तरिका र कानूनको ज्ञान हुन्छ,” उनले भने, “दलित समुदायका लागि त अझ शिक्षा नै मुक्तिको मार्ग हो। किनभने आफूमाथिको अन्यायलाई चिन्न सक्ने पनि शिक्षाले नै बनाउँछ।” जागिर पाउनको लागि मात्र नभई व्यक्ति र समाजको उत्थान एवं अधिकार तथा राजनीतिक भागिदारीका लागि समुदायलाई शैक्षिक चेतना जरुरी रहेकोमा केही हदसम्म भए पनि त्यो अभाव पूरा गर्न सकेकोमा सन्तुष्टि मिलेको उनी बताउँछन्।
मनोजको अगुवाइमा भइरहेको यस कर्मले सामाजिक स्वीकृतिसँगै आत्मसम्मान र प्रतिष्ठा पनि आर्जन गरेको छ। तीन वर्षअघि नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले मनोजलाई ५० हजार नगदसहितको ‘धिममाया स्मृति पुरस्कार’बाट पुरस्कृत गरेको थियो। एक आदर्श शिक्षकसँगै मधेश प्रदेशका सामाजिक अभियान्ताको रूपमा पनि चिनिएका मनोज प्रदेशका आठै जिल्लामा दलित समुदायको सशक्तीकरण र सामाजिक न्यायको पक्षमा सक्रिय छन्।
आर्थिक स्रोतको कमीले भने उनलाई निरन्तर सताइरहेको छ। उनले चलाएका निःशुल्क ट्युसन केन्द्रहरू कसैले जन्मदिन मनाउने क्रममा गर्ने धेरथोर आर्थिक सहयोग तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिको स्वेच्छिक योगदानमा निर्भर छ। तर अभावको चिन्तामा नअलमलिने मनोज अविचलित सुनिन्छन्, “दलितमाथिका अनेकौँ विभेद अन्त्य गर्न यस्ता थुप्रै प्रयासहरू अनवरत रूपमा हुनुपर्छ। यस अभियानमा सहयोग गर्ने र सदासयता राख्ने उदार मानिसहरू बढिरहेका छन्। दलितहरू आफैँ पनि उठ्नु र जाग्नु पर्छ। उज्यालो भविष्य सम्भव छ।”