Wednesday, May 08, 2024

-->

अस्ट्रेलियाको बाका नदीमा किन मरे लाखौँ माछा?

बाढी र अत्यधिक गर्मीका कारण नदीमा अक्सिजनको मात्रा घटेकाले ठूलो संख्यामा माछा मरेको अस्ट्रेलियाका अधिकारी र वैज्ञानिकहरूको भनाइ छ।

अस्ट्रेलियाको बाका नदीमा किन मरे लाखौँ माछा

अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको डार्लिङ बाका रिभर (नदी) मा लाखौँ मृत माछा तैरिरहेको दृश्यले धेरैलाई आश्चर्यमा पारेको छ। न्यु साउथ वेल्स राज्यको मेनिन्डी गाउँका बासिन्दाले नदीबाट माछाको दुर्गन्ध फैलिएको भन्दै स्थानीय प्रशासनमा खबर गरेका थिए।

स्थानीय फोटोग्राफर जिओफ लूनीले भने, “म आफ्नो स्वास्थ्यबारे निकै चिन्तित थिएँ। शहरका पम्पिङ केन्द्रहरू आउने पानी पनि त्यहीँकै हो। मरेका अनेक थरी माछा नदी तलसम्मै बगिरहेका थिए। दुर्गन्धले बस्ने नसकिने अवस्था थियो।”

त्यस क्षेत्रमा हालै आएको बाढी र अत्यधिक गर्मीका कारण नदीमा अक्सिजनको मात्रा घटेकाले ठूलो संख्यामा माछा मरेको अस्ट्रेलियाका अधिकारी र वैज्ञानिकहरूको भनाइ छ। 

स्थानीय प्रहरी र आपत्कालीन सेवा केन्द्रले यसै साता बृहत् सफाइ कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। स्थानीयलाई तत्काल सफा पानी उपलब्ध गराउन आफूहरू केन्द्रित रहेको आपत्कालीन सेवाका अधिकारी पिटर थर्टेलको भनाइ छ।

डार्लिङ बाका रिभरमा पछिल्लो केही सातायता माछा मर्ने क्रम बढेको थियो। फेब्रुअरीको अन्तिमतिर मात्रै एकै स्थानमा दशौँ हजार माछा मरेको पाइएको थियो। यस्तै, अस्ट्रेलियको दक्षिणी क्षेत्र र भिक्टोरिया राज्य नजिकै पुनकेरीमा पनि मरेका माछाहरू बगिरहेको पाइएको थियो। 

यसअघि सन् २०१८ र २०१९ मा पनि केनिन्डी क्षेत्रमा खडेरीका कारण नदीमा लाखौँ माछा मरेको पाइएको थियो।


सम्बन्धित सामग्री