Friday, April 19, 2024

-->

सर्लाही ४ : दुई गठबन्धनलाई पछि पार्दै स्वतन्त्रबीच नै प्रतिस्पर्धा!

सर्लाही–४ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान कांग्रेस सांसद् अमरेशकुमार सिंह र माओवादी नेता शिवपुजन रायकी छोरी मधुमालाबीच मुख्य प्रतिस्पर्धा हुने स्थिति बनेको छ।

सर्लाही ४  दुई गठबन्धनलाई पछि पार्दै स्वतन्त्रबीच नै प्रतिस्पर्धा
नागेन्द्र, राकेश, अमरेश र मधुमाला।

गोडैता (सर्लाही)– मधेशका अन्य क्षेत्रमा जस्तै सर्लाही–४ मा पनि सत्ता र विपक्षी गठबन्धनका उम्मेदवार मैदानमा छन्। तर, चुनावी रौनक भने भिन्न छ। गठबन्धनका दुई उम्मेदवारको भन्दा बढी चर्चा दुई स्वतन्त्र उम्मेदवारको छ।

प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नगेन्द्रकुमार राय यादव र विपक्षी गठबन्धनबाट एमालेको समर्थनमा जसपाका राकेश मिश्र उम्मेदवार छन्। तर, यी उम्मेदवारभन्दा बढी चर्चा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह र मधुमालाकुमारी यादवको भइरहेको छ।

सिंह कांग्रेसका निवर्तमान सांसद् हुन् । २०७४ सालमा वाम गठबन्धन भएर कांग्रेस देशका १६५ निर्वाचन क्षेत्रमध्ये २३ वटामा खुम्चिँदा जित्नेमध्येका एक सिंह पनि थिए। यसपटक कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन्।

सिंहलाई अर्की स्वतन्त्र उम्मेदवार मधुमालाले चुनौती दिइरहेको स्थानीय बताउँछन्। उनी २०६४ सालमा नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य भएका शिवपुजन राय यादवकी छोरी हुन्। गठबन्धनका उम्मेदवारलाई यी दुई उम्मेदवारले पछि पार्ने संभावना रहेको कौडेना–६ का पूर्ववडाध्यक्ष किशोरी रायले बताए।

“कुनै पनि गठबन्धनको उम्मेदवारको पक्षमा यहाँ माहोल छैन। स्वतन्त्र भए पनि अमरेश काफी मजबुत छन्। विकास गर्ने नेताको छवि बनाएका उनलाई पार्टीले यसपालि टिकट नदिएर अन्याय गरेको मानिसहरूको बुझाइ छ”, सिंहको प्रचारमा हिँडिरहेका कांग्रेस कार्यकर्ता राय भन्छन्, “उनको प्रतिस्पर्धामा पनि स्वतन्त्र उम्मेदवार मधुमाला देखिएकी छन्। मधुमालाका बाबु शिवजपुजनको राजनीतिक प्रभावले काम गरिरहेको छ।” 

सिंहले गएको प्रतिनिधिसभाको कार्यकालमा सडक स्तरोन्नति गरेको, विद्यालयहरूमा भौतिक निर्माण र पढाइको स्तरमा सुधार गरेको, स्वास्थ्य, सुरक्षा, सिँचाइलगायतमा विकास गरेको भन्दै उनको समर्थकले प्रचार गरिरहेका छन्। संसदीय क्षेत्र विकास कोषबाहेक पनि विकास बजेट ल्याएको सिंहका समर्थकमध्येका एक सन्तोष सिंहले दाबी गरे।

अमरेशले पनि उकालोसँग आफू र मधुमालाबीच नै प्रतिस्पर्धा रहेको बताए। “मेरो प्रतिस्पर्धा मधुमालाको रूपमा शिवपुजनसँगै हो। गठबन्धन त कागजी मात्र हुन्”, उनले भने, “यसपटक कांग्रेस पार्टीमा बोल्न सक्ने जति सबैको टिकट काटिएको छ, यसको जवाफ सर्लाही–४ का जनताले मतमार्फत दिनेछन्।” 

स्वतन्त्र उम्मेदवारको दाबीजस्तै स्थानीय पनि प्रतिस्पर्धामा दलहरू नभएको बताउँछन्। बलराका स्थानीय पप्पु चौधरी जनताको लहर यसपालि दुई धारमा देखिएको बताउँछन्। “अमरेश सदनमा बोल्नसक्ने नेता हुन्। केपी ओली मात्र होइन आफ्नै पार्टीका शेरबहादुर देउवाको पनि विरोध गर्न सक्छन्। यसपालि पार्टीले अन्याय गरेको भन्दै उनीतिर धेरैले सहानुभूति देखाइरहेका छन्”, चौधरी भन्छन्, “मधुमालाका बाबुको आफ्नो प्रभाव रहेकोले उनको पनि जनाधार बलियो देखिएको छ।” 

मधुमालालाई माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थन रहेको धेरैको अनुमान छ। छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएका रायकी श्रीमती मिनादेवी भने माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवारको सूचीमा छिन्। 

छोरीले जिते पनि माओवादी केन्द्रलाई नै समर्थन गर्ने राय बताउँछन्। “मेरी श्रीमती मधेशी महिलाबाट समानुपातिकको पहिलो नम्बरमै छिन्। प्रतिनिधिसभा र प्रदेशसभा दुवैको समानुपातिकमा हामीले माओवादीकै चुनाव चिह्नमा मत मागिरहेका छौँ”, रायले उकालोसँग भने, “हामी बागी होइनौँ। पार्टीको कारबाहीमा म परेको छैन।”

रायले स्थानीय तह निर्वाचनमा छोरा राजाबाबुलाई माओवादी केन्द्रकै टिकटमा रामनगर गाउँपालिकाको अध्यक्ष बनाएका छन्। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित भएका थिए। उनले महन्थ ठाकुर र अमरेशकुमार सिंहलाई पराजित गरेका थिए। उनी कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन्।

२०७४ सालको निर्वाचनमा पनि उनी माओवादी केन्द्रबाट सर्लाही–४ का उम्मेदवार थिए। उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले त्यति बेलै उनको उम्मेदवारी खारेज गरिदिएको थियो। त्यसविरुद्ध सर्वोच्चमा उनले रिट दिए पनि आयोगको निर्णय नै सदर ठहर भएको थियो।

“कानूनी रूपमा मैले चुनाव लड्न नमिल्ने भएपछि छोरीलाई ल्याएको हुँ, यो कुरा लुकेको छैन”, रायले भने, “गठबन्धनका उम्मेदवार अहिले प्रतिस्पर्धामा छैनन्। बरु स्वतन्त्र उम्मेदवार अमरेश प्रतिस्पर्धामा आउन सक्छन्।” छोरा, श्रीमती र छोरीलाई राजनीतिमा ल्याएर ‘पारिवारिक विरासत’ खडा गरेको सम्बन्धमा उनले आफूले नभई देशका ठूला नेताहरूले नै यस्तो चलन बसाएको दाबी गरे। 

बीएससी नर्सिङ पढेकी मधुमला काठमाडौँ मेडीकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिइन्। उनले करार सेवामा वीर अस्पतालमा पनि काम गरेकी थिइन्। आफू राजनीतिमा नयाँ भए पनि परिवार राजनीतिक पृष्टभूमिको हुनाले चुनावमा सहज भएको उनले बताइन्। आफूलाई युवा र महिलाको मत हुनाले युवा तथा महिलाहरुको मत पनि आकर्षित गर्ने मधुमालाले दाबी गरिन्।

जसपाबाट उम्मेदवार भएका मिश्रले विगतमा उखु किसानको आन्दोलनलाई सहयोग गरेकाले लाभ पुग्न सक्ने कृषि पेशामा संलग्न हासिम मियाँले बताए। तर, उनले किसान आन्दोलन उछालेर उद्योगीबाट लाभ  लिएको आरोप पनि छ।

कांग्रेसबाट उम्मेदवार भएका यादव २०७४ सालमा समानुपातिक सांसद् थिए। तर, जसपाका मिश्र र कांग्रेसका यादव ‘बाहिरिया’ भएकाले मुस्किलमा देखिएको बलराका स्थानीय चौधरी बताउँछन्। उनीहरू दुवै जना सर्लाही–४ का स्थानीय होइनन्। 

गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूको मतमा भने कांग्रेस अगाडि छ। सत्ता गठबन्धनमा रहेका दल कांग्रेसले २३ हजार १३१ मत पाउँदा माओवादी केन्द्रले १८ हजार ६१५, लोसपाले १४ हजार ७३१ ल्याएका थिए। विपक्षी गठबन्धनमा रहेका दल एमालेले ११ हजार ६७४ र जसपाले ६ हजार ४३३ मत पाएका छन्।


सम्बन्धित सामग्री