Sunday, May 05, 2024

-->

पुस्तक-कथा
जात काढेर जेलमै सढाइएका गोपी शर्माको खोजी

जात काढेर जेल हालिएको एक बाहुनलाई जसरी प्रजा परिषदका नेता र कार्यकर्ताले गोपी च्यामे भन्न चाहेनन् र गोपी शर्मा भन्न पनि सकेनन्, त्यसैगरी उपन्यासमा उसलाई गोपीचा बनाइयो।

जात काढेर जेलमै सढाइएका गोपी शर्माको खोजी

जर्मन लेखक फ्रेडरिक नित्शेले भनेका छन्, “संसारमा दुई थरीका मान्छे हुन्छन्, एकथरी बुझ्न चाहने र अर्को थरी विश्वास गरेर बस्ने।“ 

हिन्दू सनातन धर्मअन्तर्गत जात व्यवस्थाको कुरा आउँदा नित्शेको यो भनाइजस्तै केही मान्छे अभ्यास गर्दै आएको परम्परामाथि पूर्ण विश्वास गर्दछन्। कोही भने संशयको डोरीले त्यसको आधारभूमितिर खोजी पस्छन्। 

यसरी खोजी पस्नेहरूको पनि मूलतः दुई उद्धेश्य हुन्छ। एकले आफ्नै विश्वासलाई बलियो हुने तर्क खोज्छ र अर्कोले विश्वासमाथिको संशय खोज्छ। अतः जात व्यवस्थाको आधार खोज्दा केही विद्वानहरू भागवत गीता र महाभारतका दुई श्लोकहरू उल्लेख गर्छन्। जहाँ भनिएको छ:

चातुर्वर्णम् मया सृष्टं गुणकर्म विभागशः।
तश्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्।।

भागवत् गीताको चौँथो अध्यायको यो तेह्रौँ श्लोकले भन्छ, "गुण र कर्मको आधारमा चार वर्ण बनाइएको हो।"

त्यस्तै, महाभारतको अर्को एक श्लोकले भन्छ, "संसारभरि एउटै वर्ण थियो, जसलाई पछि चार वर्णमा विभाजित गरियो।"

एकवर्णम् इदम पूर्वम् विश्वम् आशिद युधिष्ठिर।
कर्मक्रिया विशेषेन चतुर्वर्णम् प्रतिष्ठीतम्।।

नेपालमा प्रचलनमा रहेको जात व्यवस्थाको अन्तर्य हिन्दू सनातन धर्मग्रन्थभित्रै खोज्नेहरूले धार्मिक ग्रन्थका यिनै श्लोकहरूलाई जोडेर गुण, कर्म र जन्मसँग चार वर्णको व्याख्या गर्न सक्छन्। यसको विरोध वा समर्थन गर्ने दुवैले आफ्नो दृष्टिकोणलाई पुष्टि गर्नकै लागि यिनको खोजी गर्छन्। अर्थात् बुझ्न चाहनु वा ज्ञानको खोजी नै खास विश्वासलाई स्थापित गर्ने प्रयास हुन पुग्छ। विश्वास र परम्परामाथि मात्र होइन, ज्ञानमाथि पनि संशय गर्नुपर्छ, तर स्वतन्त्र र तथ्यपरक विश्लेषणको माध्यमबाट। 

आफू संस्कृतको विद्यार्थी नभएको हुँदा यी माथिका संस्कृत श्लोकहरूमा विश्लेषण गर्न सक्दिनँ। तथापि, यहाँ प्रसंग विशेषले उल्लेख गर्नु सान्दर्भिक भएको कारणले मात्र प्रस्तुत गरिएको हो, जुन एक प्रकारले बहसको विषयवस्तुसम्म हुनसक्छ। 

हालै मात्र मैले आफ्नो दोस्रो साहित्यिक कृति 'गोपीचा' प्रकाशन गरेँ। गोपीचा कसरी जन्मियो भन्ने बताउनुपूर्व नेपालको माटोमा गाडिएर बसेको जात व्यवस्थाका केही सन्दर्भहरू उल्लेख गर्नैपर्छ। तिनै सन्दर्भ हुन् माथिका प्रसंग।

मेरो पहिलो कथाकृति 'सुगन्धपुर'माथि प्राप्त प्रतिकृयाले उत्साहित भएर लेख्ने विषयवस्तुको खोजी गर्दैगर्दा राणाशासनको अन्तिम समयतिरका चर्चा नगरिएका एक पात्र गोपी शर्मासमेतको बारेमा लेखिएको एक लेखमा गएर मन अड्कियो। उनका बारेमा चासो बढ्दै गर्दा आफूभित्रको गोपी शर्मा पनि जागृत भएर आयो। यो जागृतिको कारण कुनै सिद्धान्तबाट निर्देशित नभैकन पनि जातीय विभेदमाथि संशयबाट गुज्रिएको स्वअनुभूति नै थियो।  

त्यसपछि शुरू भयो उसलाई खोज्ने हुटहुटी। 

केही लेखक र अध्येताहरूलाई भेटिसक्दा, फोनवार्ता गरिसक्दा र केही सन्दर्भग्रन्थ पढिसक्दा पनि गोपीलाई अक्षरमा उतार्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको थिएन। जातीय विद्रोहलाई उत्पीडितहरूको आँखाबाट धेरै हेरियो र लेखियो, तर यसलाई समाजले 'उच्च जात' भनेकाहरू नै विद्रोही बनिदिँदा त्यसको अन्तर्य के होला भन्ने दृष्टिकोणबाट कम लेखिएका छन् जस्तो लाग्यो।

नपलाइसकेको आत्मविश्वास र विषयगत दृष्टिकोणबाट हेर्ने सोच बढेपछि मात्र किबोर्डमा औंला चल्न थाले ठकठक ठकठक। यसैबीचमा भद्र बन्दीगृहदेखि केन्द्रीय कारागारसम्म, इन्द्रचोक, क्षेत्रपाटी, सोह्रखुट्टे, यटखा, नरदेवीका विभिन्न गल्लीसम्म, तथ्यको सम्भावित स्रोत मानिएका विद्वानहरूको घर आँगनसम्म ओहोरोदोहोरो चल्यो।

कथालाई विषयप्रधान बनाउँदा यसले समेट्ने पाटो जातीय विद्रोहको प्रेमकहानी मात्र हुनसक्थ्यो, तर गोपी शर्मा तत्कालीन परिदृश्यमा राज्यविरुद्धको अपराधमा नै सामेल पात्र थिए। आफैँमाथि भएको दमनलाई बुझिसकेपछि नागरिक अधिकारको साक्षी हुने प्रयासमा आफ्नै बलिदानी दिएको पात्र थियो। इतिहास जित्नेहरूको घोडा हो भनिन्छ, तर गोपी प्राण दिएर पनि जितेको पात्र थियो। उसलाई साबुद बनाउँदै गर्दा हिजो उसका भूमिकामाथि मूल्यांकन नगरिदिएर, नलेखिदिएर, खोजी नगरिदिएर भएको क्षतिको परिपूरण कसले गर्ने हो भन्ने लाग्यो। जनताको अधिकार स्थापित गर्न उसले खेलेको भूमिकाको लागि गोपीलाई नै स्थापित गर्नु जरुरी थियो। यसैले गर्दा चरित्रप्रधान कथा लेखिने भयो।

तत्कालीन समाजमा हुर्किएको एक बाहुन भनिएको मान्छे कथित तल्लो र पानी नचल्ने भनिएको जातप्रतिको आकर्षण साधारण प्रेमको मार्गबाट मात्र दौडिन सक्दैन। यसका लागि चरित्र निर्माण र विकास आफैँमा जटिल विषय थियो। न्यून जानकारीबीच आख्यानीकरण गर्नुपर्ने थुप्रै पाटो थियो।  प्रेमले डोर्याएर व्यक्तिलाई राजनीतिक विद्रोहका लागि पनि तयार पार्नु थियो। सकस भयो, तथापि गोपी शर्माले मूर्तरूप लियो। जात काढेर जेल हालिएको एक बाहुनलाई जसरी प्रजा परिषदका नेता र कार्यकर्ताले गोपी च्यामे भन्न चाहेनन् र गोपी शर्मा भन्न पनि सकेनन्, त्यसैगरी यहाँ उसलाई गोपीचा बनाइयो। 

काठमाडौँको काँठमा जन्मे हुर्केको हुँदा आफ्नो परिवेशको भलिभाँती थाहा थियो। नेवार र गैरनेवार सम्बन्धबारे थाहा थियो। दलित भनिएका समुदायले भोगेको दलन थाहा थियो। कृषि प्रणाली र जनजीवन थाहा थियो। यसैलाई पुष्टि गर्न 'त्यस बखतको नेपाल', 'नेपालको कुरा'लगायत थुप्रै पुस्तक, अनलाइन सामग्री, फोटोहरूले सहयोग गरे। एक जना किसानले घरदेखि खेतसम्म र खेतदेखि घरसम्मको यात्रा अनेकौँपटक तय गरेजस्तै पाण्डुलिपि र सन्दर्भ सामग्रीबीचको अहोरोदोहोरो चलिरह्यो र तयार भयो गोपीचा। हालसम्म पुष्टि भएका तथ्यहरूलाई तोडमोड नगरी आख्यानीकरण गर्ने प्रयास यसमा गरिएको छ।

तयार भैसकेको पुस्तकमाथिको संशय मेटाउने प्रयास पनि भयो। पात्रहरूले बोल्ने भाषामा पुरानो झलक त आवश्यक थियो, तर लवजमा स्पष्ट थिएँ। आज पनि सोही समयको सेरोफेरो जन्मिएकाहरूसँगै घिस्सिएर हुर्किएको हुँदा लेखाइ र बोलाइको भेदमा प्रष्ट थिएँ र छु।

गोपीचा उपन्यास हो। स्वाभाविकरूपमा आख्यान लेखनमा एक किसिमको छुट रहन्छ। यो छुटको प्रयोग पर्याप्त गरिएको छ। तथापि, इतिहाससँग जोडिएको विषयवस्तु भएकोले औपन्यासिक वर्णनमा ती यथार्थ पात्र र तिनको भूमिकामाथि ऐतिहासिक दृष्टिले अन्याय हुन दिनु हुँदैन। एउटा पात्रलाई नायक बनाइरहँदा अरू नायकहरूलाई गर्तमा पार्ने काम गर्नु पनि हुँदैन। जितेकै कारणले सकारात्मक चस्माबाट हेरिएका परिघटनामाथि सत्य बोल्न/लेख्न डराउनु पनि भएन। यसमा सन्तुलन कायम गर्ने काम गर्दा कतैकतै म हराएको पनि छु। केही शब्दहरू खर्च गर्न कञ्जुस्याइँ पनि गरेको छु शायद।

कथानकताको सवालमा कतैकतै कम भएको अनुभूति पनि हुन्छ। शब्द संग्रह नबनाउँ र आवश्यकभन्दा बढी लेख्दै नलेखूँ भन्ने लाग्यो। कथाकै खासखास मूल पात्रलाई केही खण्ड थपिदिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ। फेरि आफ्नै कर्मबाट आफैँ सन्तुष्ट भए जस्तो गोपी शर्मालाई बीच बाटोमै छोडिनँ भन्नु आत्मश्लाघा पनि हुनसक्छ। 

बाहिरबाट हेर्दा गोपीचा खास राजनीतिक गतिविधिसँगको सम्बन्धको कथा हो जस्तो लाग्नसक्छ। तर जसलाई आधार बनाएर विद्रोहको ढोका खोल्न खोजियो, उसकै बारेमा पर्याप्त खोजखबरी नगरिदिने तद्तद् पक्ष यसमा सहायक पात्र मात्र हुन्। यो एक दमित पात्रको कथा हो। यस्ता कथाहरू लेखिनुपर्छ। गोपी शर्मा वा गोपी च्यामे वा गोपीचाको मात्र नभई भीमबहादुर पोडे, राममाया पोडेनीलगायतको कथा पनि लेखिनुपर्छ। समयले छोडेका यस्ता अनगिन्ती पात्रहरू, जसको योगदान र मृत्युमाथि आज विभेदर वहिष्करणको व्याख्या गरिन्छ र त्यही जगमाथि टेकेर राजनीतिक इतिवृत्तको शिखर चढिन्छ, तिनको बारेमा खोजिनुपर्छ र लेखिनुपर्छ। यही नै यस लेखन कार्यको उत्प्रेरणा पनि हो।

बिट मार्ने मेलो खोज्दै गर्दा फ्रेडरिक नित्शेको एक भनाइमा नै पुग्नु उपयुक्त लाग्यो। उनले भनाइको आशय छ, लेख्न कोही लजाउँछ भने ऊ राम्रो लेख्नसक्छ। 

गोपीचा लेखेर म पनि लजाएको छु। डराएको छु। यस कारणले होइन कि लेख्नै नपर्ने विषय लेखियो। गलत लेखियो। यो सरमको कारण हो, विषय र पात्रमाथि पूरा न्याय गर्ने सकियो वा सकिएन। इतिहासको त्यो दमित पात्र, जसले नागरिक अधिकारको लागि प्राणको आहूति दियो, उसलाई न्याय गर्न सकियो वा सकिएन। आजको समाजले गोपी शर्माको योगदानलाई चर्चामा ल्याउन सक्ने गरी लेखियो वा लेखिएन। 

यिनै कुराहरूलाई पुस्तकको भूमिकामा समेत द्रष्टाइएको छ। जहाँ लेखिएको छ, "इतिहासका केही गुमनाम पात्रहरू, जसले लोकतन्त्रको लागि ज्यानसम्म अर्पण गरे। तर कुनै ऐतिहासिक दस्तावेजमा तिनको नामसम्म लेखिएन। तिनले चालेको पाइलाको जगमा बसेर आज विभेद र वहिष्करणको चर्चा गरिन्छ, तर त्यसलाई कुनै आन्दोलनले विद्रोहको नाम दिएन। देशले सम्झेन, राजनीतिले सम्झेन, समाजले सम्झेन र तिनकै परिवारले समेत सम्झेन। घुर्मैलो अध्याँरोमा सुनेको हो कि, चिनेको हो कि, जानेको हो कि, गरेको हो कि भन्ने सादा आहानको जगमा बिलाइरहेका पात्रहरूमध्ये एक गोपी शर्मा उर्फ गोपी च्यामेको कथा हो यो।"


सम्बन्धित सामग्री