Sunday, April 28, 2024

-->

बिटल्स, आबी रोड मिम र नेपाल मिथक

काठमाडौँको महत्त्वपूर्णस्थल ठमेलस्थित प्रसिद्ध काठमाडौँ गेस्ट हाउसभित्र 'बिटल्स करिडोर' नामको भित्री बाटो थियो। गेस्ट हाउसको पुरानो खण्डमा रहेको त्यो करिडोर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो।

बिटल्स आबी रोड मिम र नेपाल मिथक

अघिल्लो महिना एक्कासि कालजयी सांगीतिक समूह बिटल्स चर्चामा आयो। त्यसको कारण हो, बिटल्सको 'आबी रोड मिम' व्यापक नेपालीकरण हुने क्रममा थियो। उक्त समूहका चार सदस्य कहिले न्युरोड गेटअगाडिबाट बाटो काटिरहेका देखिए, कहिले कुनै थकाली भान्साघरअगाडि हिँडिरहेका भेटिए। 

उक्त मिम पुनरुत्थान भइरहेको मेसोमा केहीले एउटा रमाइलो प्रश्न उठाए- के बिटल्स वा उक्त समूहबाट कोही नेपाल आएका थिए? सामाजिक सन्जालमा चर्चा भएझैँ हृषिकेशबाट जर्ज ह्यारिसन काठमाडौँ आएका थिए? हिप्पी-ट्रेलको 'टर्मिनल' मानिने नेपालको राजधानी काठमाडौँ आएर बसेका थिए?   

यी प्रश्नको उत्तर दिनुअगाडि हामी एकछिन बिटल्सको इतिहास र मावनशास्त्रबारे चर्चा गर्नेछौँ, जसको शुरूआत हुनेछ नेपाली पत्रकारितामा चर्चित 'को हुन् फलानो?' मेथोडोलोजीबाट।  

को हुन् बिटल्स?
तपाईंमध्ये धेरैलाई बिटल्स को हुन् भन्ने सामान्यदेखि अधिकतम ज्ञान अवश्य छ। सन् १९६० को दशकमा गठन भएको उक्त समूह विभिन्न पुस्ता हुँदै आजसम्म पनि उत्तिकै चर्चामा छ। जोन लेनन, पल मक्कार्ट्नी, जर्ज ह्यारिसन र रिङ्गो स्टार सम्मिलित उक्त समूहबाट अहिले मक्कार्ट्नी र स्टार मात्र जीवित छन्।  

बिटल्सको पहिचान इतिहासकै सर्वाधिक सफल संगीतकारमध्ये एक हुनुमा सीमित छैन। विश्व वैचारिक हिसाबले आधुनिक समयको शिखरबाट उत्तरआधुनिकतर्फ लाग्दै गर्दा बिटल्स पप-कल्चरको पर्याय हुन पुगेको थियो। 

त्यतिबेला उक्त ब्यान्डले पप-संगीतको दायरा फराकिलो पार्दै यो विधालाई रुपान्तरित गरेको थियो, जसपश्चात विश्वभर 'रक एन्ड रोल' क्रान्तिको शुरूआत भएको थियो। उनीहरूको नवीन गीत लेखन शैली र मनमोहक धूनप्रति रातारात लाखौं श्रोताहरू आकर्षित भएका थिए। यसका साथै चल्तीका सांगीतिक समूहभन्दा फरक र विशिष्ट शैलीले ब्यान्डको 'युनिक सेलिङ पोइन्ट'का रूपमा काम गर्यो। 

बिटल्सले शुरू गरेको यो नवीनताले आजसम्म पनि उनीहरूलाई उत्तिकै सान्दर्भिक बनाइराखेको छ। यसका साथै उनीहरूको 'जादूयी' सामूहिक आकर्षण कुनै पुस्ता, क्षेत्र, वर्गमा सीमित नभएर विश्वभरि फैलिएको छ। उनीहरूको गीत समय र स्थान निरपेक्ष हुन्थे- प्रेम, शान्ति र स्व-खोजीबारे रचिएका गीत संसारभर रुचाइएका छन्। 'लेट इट बी, एस्टर्डे' र 'हे जुड' जस्ता गीत उदाहरण मात्र हुन्।           

द बिटल्सको सामूहिक र व्यक्तिगत प्रभाव सांगीतिक र पप-कल्चरको सीमा पार गर्दै युरोप तथा अमेरिकाको राजनीतिसम्म फैलिएको थियो। सन् १९६० को दशकमा उक्त समूह 'कल्चरल फ्युएलिङ'का साथै सामाजिक परिवर्तनको 'पायनियर' पनि मानिन्थे।

आबी रोड मिम र बिटल्सको नेपाल कनेक्सन
सन् २०१० को दशकमा  क्रिएटिभ मिडियाका उपभोक्ताले बिटल्सका चार सदस्यले लन्डनको आबी रोड पार गर्दै गरेको तस्वीर 'रिमिक्स' गर्न थालेपछि 'क्रसवक मिम' पनि भनिने ट्रेन्ड शुरू भएको थियो। यो तस्वीर पहिलोपटक सन् १९६९ मा रिलिज भएको बिटल्सको 'आबी रोड' एल्बमको कभरका रूपमा प्रयोग भएको थियो।

यी शुरूआती मिमहरूमा हास्य पैदा गर्न ब्यान्डका सदस्यलाई अरू रोचक कुराहरूले प्रतिस्थापित गरिन्थे। हालका सन्दर्भमा एबसट्र्याक्ट ह्युमर (अमूर्त हास्य)का लागि तस्वीरमा बिटलहरूलाई यथावत राखी मूल पृष्ठभूमिलाई सन्दर्भविहीन स्थानले प्रतिस्थापन गर्ने चलन चलेको छ।

यो मिमको फर्म्याटले धेरैलाई पप-कल्चरको सन्दर्भ व्यक्त गर्दै आफ्नो रचनात्मकता क्षमता प्रदर्शन गर्ने मञ्च तैयार गरिदियो, जुन कारण यो स्वरूप इन्टरनेटको विभिन्न स्पेक्ट्रममा अधिकभन्दा अधिक लोकप्रिय बनायो। मूल तस्वीरको सरल पृष्ठभूमिका कारण पनि एउटै तस्वीरबाट सयौँ रचनात्मक विचार र सम्भावनाले ठाउँ पाएका छन्।

आबी रोड मिमका कैयौँ रमाइला उदाहरण छन्- जस्तो, तस्वीरमा देखिएका बिटल्सको ठाउँमा लोकप्रिय फिल्म, टीभी शो या भिडियो गेमका पात्रहरूलाई सम्पादन गरेर राखिदिने। यस्तै, केही तस्वीरमा मक्कार्ट्नी, लेनन, ह्यरिसन र स्टार 'द सिम्पसन्स' या 'स्टार वार्स'का चर्चित पात्रद्वारा प्रतिस्थापित भएका थिए। यो मिमको अर्को स्वरूपमा आबी रोडको पृष्ठभूमिमा अन्य स्थान, जस्तो न्यूयोर्कको टाइम्स स्क्वायर या पाटन दरबार स्क्वायर, सम्पादन गरेर हालिएका थिए।  

बिटल्सले न्यूरोड गेटअगाडि बाटो काटिरहेको दुर्लभ तर 'रिलेटेबल' मिम एक्कासि देख्दा नेपाली इन्टरनेट प्रयोगकर्ता निकै प्रफुल्लित भएका थिए। विशेषगरी सन् १९७०-८० को दशकतिर हुर्किएका हाम्रा आमाबुवाका लागि यो निकै रमाइलो र 'नोस्टाल्जिक' थियो। 'ग्लोबल कल्चर'को छाप परेको यो पुस्ताको मनोरन्जनका साधन सीमित थिए। उनीहरूसँग रेडियो र टेप रेकर्डहरू थिए। बिटल्सको प्रभाव नेपाललगायत विश्वका विभिन्न देशमा थियो नै, त्यतिबेलाको चालचलनमा मात्र होइन राजनीतिक चेतमा पनि गहिरो असर परेको थियो।            

सन् १९६० र ७० को दशकमा 'हिप्पी-सांग्रिला' भनिने नेपालमा विदेशी पर्यटकको निकै आवागमन थियो। अपरम्परागत लवाइ-खवाइ, चाल-चलनका कारण 'हिप्पी' भनेर चिनिने पर्यटकले केही शहरी नेपालीलाई आफ्नो संस्कृति चिनाए। यही बेला नै नेपालमा बिटल्सको नाम र गीत प्रचलित हुन थालेको थियो। नेपाली पप संस्कृति अलिअलि विदेशी चलनबाट प्रभावित भइरहेको थियो- चाहे त्यो बब मार्लेका रेगे गीत होस् वा ज्याज र ब्लुज संगित होस्- यो सिलसिला बिटल्सको आगमनले जारी रह्यो।

यसै सन्दर्भमा माथि उल्लेख भएझैं मिमहरूको नेपाली 'कनेक्सन' देखिनासाथै उक्त समूहको कुनै सदस्य नेपाल आएको चर्चा फेरि शुरू भएको थियो। 

के बिटल्सका सदस्य नेपाल आएका थिए?
पर्यटकीय हिसाबले काठमाडौँको महत्त्वपूर्णस्थल ठमेलस्थित प्रसिद्ध काठमाडौँ गेस्ट हाउसभित्र 'बिटल्स करिडोर' नामको भित्री बाटो थियो। गेस्ट हाउसको पुरानो खण्डमा रहेको त्यो करिडोर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो। २०२० जुलाई १२ मा काठमाडौँ गेस्ट हाउसको फेसबुक पेजले 'क-कसलाई बिटल्स करिडोरको सम्झना छ?' भन्ने प्रश्न सोधेको थियो। साथै, सन् १९६९ को उत्तरार्धमा बिटल्स समूहका जर्ज ह्यारिसन भारतको बनारस भ्रमण गरेर नेपाल आएको र त्यस होटलमा बसेको पोस्ट गरेको थियो। 

काठमाडौँ गेस्ट हाउसका संस्थापक कर्ण शाक्यले भने त्यो धेरै पुरानो कुरा भएको र त्यसको केही प्रमाण नभएको बताएका छन्। हामीले माथि उल्लिखित फेसबुक पोस्टको कुरा गर्दा उनले जानकारी नभएको बताए। तर ह्यारिसनको त्यो बेलाका म्यानेजर आएर गेस्ट हाउसमा बसेको बताए।

शाक्यले बिटल्ससम्बन्धी यस मिथकलाई प्रमाणित वा अप्रमाणित नगरे पनि सो समूहले दशकौँअगाडिको नेपाल मात्र होइन, अहिलेको पुस्तामा पारेको छापबारे बुझ्न कुनै प्रमाण चाहिँदैन। हाम्रो समाजमा बिटल्सजस्तो कालजयी समूहको छाप स्पष्ट रूपमा युवावर्गमा स्थानान्तरित भइरहेको छ।

हामी 'जेन-जी' भनिने पुस्तासमेत बिटल्सलगायतका क्लासिक ब्यान्ड र संगीतबाट अप्रभावित रहन सकेका छैनौँ। क्लासिकल संगीतसँग हाम्रो परिचयको शुरूआत भएको थियो क्वीनको बोहेमियन र्‍याप्सोडीबाट। क्वीनले धकेलेको 'र्‍याबिट-होल' हुँदै हामी बिटल्ससम्म पुगेका थियौँ, जसको बुझाइ 'यस्टर्डे' नामक हिमेश पटेल अभिनित सिनेमा हेरेपछि थोरै स्पष्ट भयो। 

हाम्रो पुस्ताका साथीभाइमध्ये कसैलाई बिटल्सले अधिक प्रभावित गरेको छ। कसैलाई त्यो विधाले आकर्षित नै गर्दैन। कसैलाई उनीहरू अद्‍भुत लाग्छन् भने, कसैले उनीहरूको 'हाइप' नै बुझ्दैनन्। मनपरे पनि, नपरे पनि बिटल्स आजसम्म धेरै युवाहरूका लागि उत्तिकै प्रेरणादायी छन्- चाहे त्यो उनीहरूको संगीतले होस्, उनीहरू बारेको कथाले होस्, वा आबी-रोड मिमले।


सम्बन्धित सामग्री