Sunday, April 28, 2024

-->

संगीत मोह: जो वाद्यवादनमा भविष्य खोज्दैछन्

रामपुरमा वाद्यवादन कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीतसम्बन्धी कक्षा सञ्चालन गर्न स्थानीयको माग छ।

संगीत मोह जो वाद्यवादनमा भविष्य खोज्दैछन्

रामपुर– भनिन्छ संगीत भावना हो, मनभित्रको लय र माधुर्यता हो। त्यसैले त संगीत मन नपर्ने सायदै होलान्। यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ।

यस्तै संगीतको धुनमा डुबुल्की मारिरहेका छन्, पाल्पा रामपुरका अनुप काफ्ले। १५ वर्षीय अनुपलाई वाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ।

उनी विद्यालयबाट फर्केपछि गृहकार्य सकेर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्छन्। चार वर्षदेखि  काफ्लेको दैनिकी यसरी नै बितिरहेको छ। उनको घर अहिले वाद्यवादन सिक्ने थलो नै बनेको छ। काफ्लले आफूले जानेको सीप साथीलाई पनि सिकाउँछन्। 

“संगीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु,” काफ्लले भने, “घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु।”

गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन थालेका काफ्लेले क्रमशः सारंगी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिके। अहिले उनी गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिककार्यलगायतमा सहभागी भई वाद्यवादन गर्छन्। “विद्यालय समयबाहेक साँझ–बिहान घरमा बसेर सिक्ने गरेको छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ,” उनले भने। 

भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक वाद्यवादनका सामग्री खरिद गर्ने गरेको उनले सुनाए। धार्मिक कार्यमा छ घण्टा समय वाद्यवादनमा खटिएबापत पाँच हजार रुपैयाँ लिन्छन्। भविष्यमा राम्रो संगीतकार बन्ने अनुपको लक्ष्य छ। 

रामपुरकै विष्णु पोखरेलको पनि अनुपको जस्तै संगीतमा औधी रुचि छ। घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिकेका १४ वर्षीय पोखरेललाई यतिबेला वाद्यवादनप्रति प्रेम नै बसेको छ। मादल, हार्मोनियम र गितारमा उनी राम्रो ताल सक्छन्। “सिक्न थालेपछि संगीतबिना एकछिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु,” उनले भने, “विद्यालयमा संगीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो।”

पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारंगी, बाँसुरी, गितारलगायत बाजा छन्। साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्छ। भविष्यमा बाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उनको सोच छ। पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित छन्। 

यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि संगीतमा रमाएका छन्। घरमा मादल बजाउन सिकेका उनले  आफ्ना साथीसँग यससम्बन्धी ज्ञान आर्जन गरिरहेका छन्। पढाइ नबिग्रने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेका छन्। १५ वर्षीय घिमिरेको खाली समय मादल, किबोर्ड र गितारका धुनमा बित्ने गरेको छ। 

इन्टरनेटलगायत विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा अध्ययन गर्छन्। अक्टोप्याड, हार्मोनियमलगायत बाजामा ताल भर्न सिकिरहेको उनले बताए। “घरमा अभिभावकले महत्त्व दिएर वाद्यवादनका सामग्री खरिदमा सहयोग गर्नुभएको छ, यसले झन् यही क्षेत्रमा केही गर्छु भन्ने उत्साह थपिएको छ, परिवारको सहयोग पाएकाले वाद्यवादन क्षेत्रमै नाम कमाउने धोको छ,” उनले बताए। 

संगीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ। मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई संगीतको धुनले भुलाइदिएको हुन्छ। रामपुरकै अन्जन काफ्ले संगीतका कारण शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउँछन्।

१२ वर्षीय काफ्ले विद्यालय समयबाहेक घरमा संगीत सिकिरहेका छन्। सानो उमेरमा पनि वाद्यवादनको क्षेत्रमा काफ्लेको सोख बढेको छ। संगीतका अलावा उनलाई चित्र कोर्न र फुटबल खेल्न औधी रुचि छ। कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले संगीत सिक्न थालेका हुन्। 

रामपुरमा वाद्यवादन कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीतसम्बन्धी कक्षा सञ्चालन गर्न स्थानीयको माग छ।


सम्बन्धित सामग्री