Sunday, May 05, 2024

-->

आईटी इन्जिनियरको जात्रा देखाउने यात्रा

लाखौँको कमाइ छोडेर भक्तपुर ठिमीका आईटी इन्जिनियर श्याम जात्रा कभर गर्न नेपालमण्डल डुलिरहन्छन्।

आईटी इन्जिनियरको जात्रा देखाउने यात्रा
श्याम था जो जात्राको कभर गर्न नेपालमण्डल घुमिरहन्छन्। तस्वीर : किसन पाण्डे/उकालो

काठमाडौँ– भक्तपुर ठिमी, बोडेका श्यामकुमार था (श्रेष्ठ) २०६७ सालमा मोबाइल एप बनाउने तालिमको सिलसिलामा भारतको नोइडा पुगेका थिए। नोइडामा उनको बसाइँ तीन महिनाको थियो। त्यो समय दसैँ आसपासको थियो। त्यति बेला उनको घरबस्तीमा नीलबराहीको नाच हुन्थ्यो। श्यामलाई बच्चैदेखि हेर्दै हुर्किएको नाच पहिलोपटक हेर्न नपाउँदा न्यास्रो लाग्यो।

नेपालमा त्यस्तै २०६५ सालबाट फेसबुक चलाउन शुरू भएको थियो। सोही समय उनको एक बहिनीले नाचका तस्वीर फेसबुकमा राखिन्। श्याम सम्झन्छन्, “तस्वीरमा मेरो घर ठ्याक्कै पछाडि देखेँ। त्यसले म हुरुक्कै भएँ।”

एक दशकअघिको सोही सम्झना र न्यास्रोलाई हाल उनले फरक आयाम दिएका छन्। दशकअघि आफूले देख्न नपाएको जात्रा हाल देशविदेशमा रहेका आफ्ना दाजुभाइलाई फेसबुक लाइभमार्फत देखाउँछन्। यो उनको वर्षभरकै काम हो। यद्यपि, यसबापत अर्थोपार्जन भने हुँदैन। “जात्रा हेर्दाको रमाइलो र अरूलाई देखाउन पाउँदा हुने खुशी नै काफी छ,” उनी भन्छन्।

प्रविधि र जात्रालाई जोडेँ’
२०७६ सालको कात्तिकको कुरा हो। जतिबेला आममानिसहरूमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग व्यापक भइसकेको थियो। फेसबुकले थपेका लाइभ फिचरको उपयोग गर्दै ‘हाम्रो जात्रा’ नामक फेसबुक पेजले ‘नेपालमण्डल’मा हुने जात्रा तथा नाच देखाउन थाल्यो। त्यो फेसबुक पेजलाई देशविदेशका करिब ८८ हजार मानिसले पछ्याएका छन्। हाम्रो जात्रा पेजका संस्थापक हुन्, उनै श्याम था।

“नेपालको डिजिटल युग २०५७ सालदेखि नै शुरू भएको हो। प्राविधिकसँगै हाम्रो दैनिकी सजिलो पार्ने ‘हाम्रो पात्रो’, ‘हाम्रो बजार’ जस्तो एप्सले अपनत्व ग्रहण गर्दै दैनिकीलाई सहज पार्दै थियो,” उनी भन्छन्, “मलाई पनि यस्तै नाम जुराउनु थियो। यसकारण मैले पनि ‘हाम्रो जात्रा’ भनेर पेजको नाम राखेँ।”

शुरूमा श्यामले आफ्नै प्रोफाइलबाट जात्राहरूको लाइभ गर्न गर्थे। त्यसबेला ‘द नेवारर्स’, ‘मध्यपुर ठिमी कला संस्कृति’ लगायतको पेजहरू देखेपछि भने उनले पनि पेज शुरू गर्न योजना बनाए। अनि शुरू भयो, ‘हाम्रो जात्रा’ फेसबुक पेज। 

तस्वीर : किसन/उकालो

आईटी इन्जिनियरको जात्रा मोह
‘हाम्रो जात्रा’ पेज सञ्चालन गर्नुअघि उनी आईटी क्षेत्रमा ‘सफ्टवेयर प्रोगामिङ’ गर्थे। उनी मोबाइलका लागि एप्स बनाउँथे। उनले नोकिया मोबाइल फोनको जार फाइल हुँदै एन्ड्रोइडमा ट्राफिक जामको जानकारी दिने एप्स बनाइसकेका थिए। यसबीच उनको ६ वर्षको अवधि प्रविधिमा बितिसकेको थियो। त्यसपछि उनी एप्पलको आईओएस डेभलपरको रूपमा काम गर्न थाले।

केही वर्षपछि उनले आफ्नै कम्पनी खोलेर आफूभन्दा जुनियरलाई रोजगारी दिन थाले। उनी आफैँ विदेशमा रहेको कम्पनीका लागि काम गरिरहेका थिए। यतिबेला मासिक कमाइ एक लाख रुपैयाँ रहेको उनी बताउँछन्।

“आफ्नै कम्पनी भएपछि समय पाउन थालेँ। फुर्सदमा वरपर चलेका जात्रालाई फेसबुकमा लाइभ गर्थेँ,” श्याम सम्झन्छन्, “शुरूमा आफ्नै क्षेत्रमा भएको सांस्कृतिक कार्यक्रम लाइभ गर्न थालेँ।”

त्यतिबेला उनलाई आफ्नै ठाउँको जात्रा उत्कृष्ट हो जस्तो लाग्थ्यो तर, अहिले सबै जात्राको आफ्नै सौन्दर्य हुने उनलाई बोध भएको छ।

श्याम बिस्तारै ठिमीबाट भक्तपुर हुँदै जात्रा कभरेजका लागि काठमाडौँ पुग्न थाले। यस क्रममा उनको भेट संस्कृति अभियन्ता आलोकसिद्धि तुलाधर, नारायण महर्जन लगायतका सांस्कृतिक चेत भएको जमातसँग भयो। उनी आलोकसिद्धिलाई आफ्नो गुरु नै मान्छन्।  विभिन्न स्थानमा हुने जात्रा, पर्व, नाचको महत्त्वलाई उजागर गर्दै हिँड्ने जमातले उनलाई आफ्नो संस्कृतिप्रतिको लगावलाई चेतनासँग जोड्यो। पत्रकार राकेश डंगोल उनको अर्को प्रेरणाको स्रोत बने।

“मसँग न जात्रा, पर्वको सांस्कृतिक ज्ञान थियो, न फोटोग्राफी तथा भिडियोग्राफीको। केवल थियो त ज्ञानगुनले जानेको प्रविधिको प्रयोग र बच्चादेखिको आफ्नो वरपरको चाडपर्वमा घुलमिल भएको रौनक,” उनी भन्छन्।  

श्यामले २०७६ को दसैँताका अफिस छाडे। “केले मलाई ड्राइभ गर्‍यो हेक्का छैन। सानैदेखि आफ्नो कला संस्कृतिप्रति लगाव भने थियो। सायद त्यसैले मलाई यता डोहोर्‍यायो,” उनी भन्छन्।

जात्रा देखाउन भोक न प्यास
जात्रा कभर गर्नका लागि उनी विभिन्न स्थान पुगेका छन्। पाटनमा हुने कात्तिक नाचमा नरसिंह निस्कने दिन मानिसको घुइँचो हुन्छ। उनी लाइभ गर्न साँझ ४ बजेदेखि गएर आफ्नो ठाउँ ओगट्ने गर्थे। “राति ८ बजे देखाइने नाचका लागि ४ बजेदेखि पानीसमेत नपिई पर्खेर बस्थेँ,” उनी भन्छन्।

त्यहाँ मिडिया, फोटोग्राफरदेखि आममानिसको पनि लाइभ कभर गर्ने तँछाडमछाड हुन्छ। साँझ ४ बजेदेखि बिहानको ४ बजेसम्म एकै स्थानमा बसेर नाचको लाइभ कभर पनि उनले गरे। “अहिले जात्रालाई महत्त्व दिएर खिच्ने प्रचलन बढेको छ। त्यो सुन्दर पक्ष हो,”

तस्वीर सौज्यन्य : श्याम था

कोरोनामा जात्रा कभरेज
उनलाई कोरोनाको समयमा गरेको जात्राको कभरेज सबैभन्दा रोमाञ्चक लाग्छ। २०७६ सालको चैतदेखि शुरू भएको लकडाउन भदौमा सकिएको थियो। त्यो समयमा नेपालमण्डलमा बिस्का, रातो मत्स्येन्द्रनाथ, त्रिशूलदेखि धेरै जात्रा देखाइन्छ। यद्यपि, सुरक्षाका कारण यी जात्रा औपचारिकतामा मात्र सीमित भए। आममानिसले यी जात्रा प्रत्यक्ष हेर्न पाएनन्। त्यति बेला श्याम एक हप्ता मात्र घरमा बसेका थिए। ती जात्रा उनले आफ्नो पेजमार्फत लाइभ देखाएका थिए। आफ्नो पेजबाट मानिसहरूलाई जात्रा देखाउन सकेकोमा उनलाई गर्व छ। 

रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुर महानगरीय प्रहरीले ‘स्कटिङ’ गरेर नख्खु खोलाको पुलसम्म पुर्‍याएको उनी सम्झन्छन्। “एकै जात्राको दुई फरक माहौल। पुलपारि मत्स्येन्द्रनाथको रथलाई फुल स्कटिङका साथ लगाएको थियो भने, पुलवारि बुंगमतिबासी स्वागत गर्न तम्तयार थिए,” उनी भन्छन्।

त्यस्तै, मालीगाउँबाट मैतीदेवीसम्म पञ्चकुमारी खटलाई मानिसले नभई गाडीमा लगेर पनि जात्रा सम्पन्न गरेको उनले देखे। त्यो आफ्नै लागि पनि अनौठो दृश्य भएको श्याम बताउँछन्।

श्यामको आफ्नै टिम पनि छ। सँगै जात्रा कभरेजका लागि हिँड्छन्। जात्रा हुने स्थानबारे सामाजिक सञ्जालबाट जानकारी लिन्छन्। कहिलेकाहीँ जात्रा कभर गरिदिन भनेर पनि सूचना आउने उनी बताउँछन्। यसले उनलाई प्रोत्साहन दिन्छ।

शुरूआती समयमा स्यामसुङ जे सेभेन म्याक्स चलाउने उनले त्यसपछि उनले अफिसकै एक जना साथीले आई फोन फोन प्रयोग गर्न थाले जसको क्वालिटी राम्रो थियो। त्यसपछि आई फोन हुँदै हाल उनी क्यामेरासम्म पुगेका छन्। साथमा रहेको आई फोन १०, ६ ले उनी लाइभ कभरेज गर्छन् भने क्यामेराले फुटेज खिच्छन्। ती मोबाइलको ब्याट्री ‘ब्याकअप’का लागि साथमा दुइटा ‘पावर बैंक’ पनि बोकेर हिँड्छन्।

फलोर्स र उहाँहरूको माया नै कमाइ’
श्यामले नेपालमण्डलका १०–१२ नगरका करिब सयभन्दा धेरै भिन्न प्रकारका जात्रा हेरिसके। र, अरूलाई पनि देखाइ सके। नेपालमण्डलको दोलखादेखि चित्तलाङको कुन्छालसम्मका जात्रामा उनी पुगेका छन्। कुन्छालमा १२ वर्षे कात्तिक नाचका लागि जाँदा त्यहाँको स्थानीय सरकारले गरेको स्वागत, सत्कार तथा स्टेजमा दिएको सम्मान आफ्ना लागि विशेष रहेको उनी बताउँछन्।

तस्वीर सौज्यन्य : श्याम था

भक्तपुर ठिमीका आईटी इन्जिनियर नेपालमण्डलका जात्रा कभर गर्न पुग्नुको एउटै कारण हो, उनको फेसबुक पेजमा रहेका फलोअर्स। यी फलोअर्स देशदेखि विदेशसम्मका छन्। “भ्युजका हिसाबले पाटनको रातो मत्स्येन्द्रनाथको जात्रा, भक्तपुरको बिस्का जात्रा र काठमाडौँ इन्द्रजात्रा, पाँहार्‍रे जात्राको धेरै हुने गर्छ,” श्याम हाँस्दै भन्छन्, “भ्युज नआउँदा भने लाइभ बन्द गरौँ भन्ने जस्तो पनि हुन्छ।”

जात्रा कभर गर्न मिडियाहरू आए पनि पत्रिकाको कुनामा सानो फोटो र समाचार आएको देख्दा उनलाई चित्त बुझ्दैन। जात्रा हेर्दा र देखाउँदाको खुशी र हर्ष उनी तीन वर्षयता आफू र अरूलाई पनि बाँडिरहेका छन्। यद्यपि,  वर्षभर ठाउँ–ठाउँ पुगेर जात्रा लाइभ गर्दा लाग्ने खर्चको भर्पाई अरूले सोचको जस्तो सरल तरिकाले हुँदैन र उनीले जात्रा देखाएको बदलामा आर्थिक लाभ पनि पाउँदैन र पनि यसैमा रमाइरहेका छन्। 

“घरबाट निस्केको मान्छे फर्कँदा केही लिएर फर्कोस् भन्ने नै हुन्छ तर, मसँग उहाँहरू(परिवारलाई)लाई दिन खास केही पनि हुँदैन,” श्याम भन्छन्, “यति हुँदा पनि परिवारले रोकटोक गरेको छैन त्यसमै खुशी छु। आफ्नो मनखुशी गर्न पाएको छु।” व्यवसायभन्दा पनि आफ्नो कला–संस्कृतिलाई प्रवर्द्धन गर्न पाएकोमा उनी बढी खुशी छन्।

जात्रामा हुने खानपिन उनलाई जात्राको बारेमा मन नपर्ने एउटै मात्र पक्ष हो।  “त्यो पनि आजकल अझ सिल प्याकमा स्विच भएको छ। त्यो देख्दा मन पर्दैन,” उनी निराशा व्यक्त गर्छन्।

दुई/तीन वर्षीय बालबालिकादेखि ८० बर्से अजाअजी जो जात्रा हेर्न रातको १२–१ बजेसम्म बस्छन्, बाजा बज्दासाथ आफैँ झुमिन थालिन्छ तब उनी सबै पिर, दुःख बिर्सन्छन्। श्याम था हाल यसैमा मनमगन छन्। भविताभन्दा वर्तमान उनलाई प्यारो लागेको छ। उनी भन्छन्, “यो मोहको दलदलमा फसिसकियो। अब डुबेर हेरौँ भन्ने लागेको छ।  केही भएन भने ‘ब्याकअप प्लान’ त छँदैछ, आईटी।”


सम्बन्धित सामग्री