Friday, May 03, 2024

-->

वज्रधरको मूर्तिसँगै कोर्छेमी परिवारले २८ वर्षदेखि गुमाएको आत्मसम्मान यसरी फर्कियो

मूर्ति चोरीको आरोपमा प्रमाण नभेटेर प्रहरीले छाडे पनि सुनिलका बाबुछोरालाई आफ्नै समाजले कहिल्यै सफाइ दिएन। २८ वर्षसम्म असैह्य पीडाको 'पर्वत' बोकेर उभिइरहन अभिशप्त भए उनीहरू।

वज्रधरको मूर्तिसँगै कोर्छेमी परिवारले २८ वर्षदेखि गुमाएको आत्मसम्मान यसरी फर्कियो
फिर्तीपछि वज्रधरको मूर्तिलाई भव्यतापूर्वक नगर परिक्रमा गराइँदै। तस्वीर: किसन पाण्डे/उकालो

दोलखा– २०५२ जेठ १४ गते गणेश चौथीको दिन। दोलखाको प्राचीन टोल कोर्छेका सुनिल श्रेष्ठ १६ वर्षका थिए। दिउँसै साथीको घरमा गएका उनी त्यो साँझ उतै बसे। भोलिपल्ट बिहानै घर फर्किएर कोठामा के पसेका थिए, उनको मुटु चिसो र जिउ सिरिङ्ग भयो। हातगोडा लुला भए। कोठामा राखिएको आदिबुद्ध वज्रधरको मूर्ति थिएन। मूर्ति चोरी भएको अनुमान लगाउन उनलाई समय लागेन। उनको कोठाबाट मूर्ति चोरिएको खबर गाउँभरि फैलियो।  

नेवार समुदायमा गणेश चौथीको आफ्नै मान्यता छ। यस दिन कसैको केही चोरी गरे पनि बात, पाप नलाग्ने जनविश्वास छ। त्यस दिन गरिने चोरीलाई ख्यालठट्टाकै रूपमा लिइन्छ, तर कोर्छेमी परिवारको घरमा भएको त्यो चोरी कुनै ख्यालठट्टा थिएन। मूर्ति चोरी भएसँगै गाउँलेले कोर्छेमी (राजखलक) परिवारमाथि नै आशंका गरे। कोठाबाट मूर्ति हराएको दोष सुनिलको परिवारमाथि आइलाग्यो। त्यसपछिका २८ वर्षसम्म यो परिवारले मूर्ति चोरीको आरोप खेपेरै बिताउनुपर्‍यो।

सोही मूर्ति गत शुक्रबार काठमाडौँको राष्ट्रिय संग्रहालय छाउनीबाट ०६७५ नम्बरको स्कर्पियो गाडीमा चढेर कोर्छेमी परिवारको कुलायन घरलाई गन्तव्य बनाउँदै अघि बढ्यो। काठमाडौँपछि क्रमशः भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक हुँदै करिब १३५ किलोमिटर दूरी पार गरेर दोलखा पुगेको मूर्तिलाई जिल्लैपिच्छे खटिएको बेग्लाबेग्लै प्रहरी टोलीले अघि र पछि दुवैतर्फ कडा सुरक्षा पहरा दिएको थियो। पर्यटन, संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीको गाडी र कोर्छेमी परिवारका सदस्यहरूले भरिएका अन्य दुई बस पनि मूल्यवान् मूर्तिको घर फिर्तीयात्रामा सामेल थिए। 

पुनर्स्थापित वज्रधरको मूर्ति तस्वीर:किसन/उकालो

पाँच घण्टाको उक्त यात्रा कोर्छेमी परिवारको लागि जीवनकै सबैभन्दा अविस्मरणीय क्षण थियो। किनभने, कुलायन गुठीले जिम्मा लगाएको पुस्तौँपुस्ता पुरानो मूर्ति जोगाउन नसकेकोमा सिंगो वंश परिवारले अनिश्चयका साथ पीडा र पश्चात्तापको भारी बोक्नुपरेको तीन दशक बित्दै थियो। अनाहकमै खेप्नुपरेको दोषले हृदय दुखाइरहेको थियो। बिझाइरहेको गाँठो कुनै दिन फुक्ने मलिन आशामा बिताएका अँध्यारा २८ वर्षहरू जीवनकै सबैभन्दा उज्यालो दिन उपहार दिएर उनीहरूबाट बिदा हुँदै थिए।

उतिबेला घरबाट सुटुक्क चोरी भएको मूर्ति कसरी र कुन बाटो कहाँकहाँ हुँदै कुन ठाउँ पुगेर आयो त्यो परिवारका कसैलाई पनि थाहा थिएन। तर, टोलबाट हराएको मूर्ति प्रहरी सुरक्षासहित गाउँ फर्कंदा उनीहरूको जीवनबाट हराएको इज्जत र आत्मसम्मान त्यो भव्य ‘सावाँब्याज’सहित फर्किंदै थियो। 

तीन दाजुभाइ र दुई बहिनीसहितको सुनिल श्रेष्ठको परिवार दोलखाका प्राचीन राजा इन्द्रदेव सिंह मल्लका वंशसन्तान हुन्। राजकीय कुलका उनीहरू मध्यमवर्गीय परिवारका छन्। सानो छँदा सुनिलका पिताले चरीकोटमा सञ्चालन गरेको होटल नै आम्दानीको स्रोत थियो। “त्यो बेला मूर्ति चोरीको घटना बढिरहेको थियो। बुबाले घरमा रहेको मूर्तिलाई के गर्ने भनेर कुलका दाजुभाइसँग सल्लाह गरिरहनुभएको थियो,” उनी सम्झन्छन्, “त्यस समय कुलायनका दाजुभाइले खासै सावधानी अपनाएनन्। सुरक्षित ठानेर हाम्रै घरमा राखिएको वज्रधरको मूर्ति आशंका गरिएझैँ एकाएक चोरियो।”

मूर्तिसँगै हराएको सामाजिक प्रतिष्ठा
गाउँमा राजकीय परिवारको मान्यता पाइरहेको कोर्छेमी परिवारले मूर्ति हराएसँगै ‘चोर’को आरोप खेप्नुपर्‍यो। यो मामला आरोपमा मात्र सीमित भएन। मूर्ति हराएलगत्तै उनीहरूविरुद्ध चरीकोट प्रहरी चौकीमा उजुरी पर्‍यो। सुनिल र उनका बुबालाई प्रहरीले हिरासतमा लिएर केरकार गरेको उनलाई याद छ।

“त्यसबेला म र मेरो बुबालाई तीन–चार दिनसम्म चरीकोटको प्रहरी चौकीमा थुनिएको थियो। सोधपुछ गर्ने नाममा प्रहरीले हामीलाई यातना पनि दियो,” सुनिल सम्झन्छन्, “हामीलाई दोषी देखाउने कुनै पनि प्रमाण नपाएपछि मात्र छाडिदियो।”

सुनिलका अनुसार, मूर्ति चोरी भएपछि उनको परिवारलाई समाजले हेर्ने नजर परिवर्तन भयो। त्यसले उनी र उनको परिवारको मनमा कहिल्यै नमेटिने घाउ लागेको छ। मूर्ति चोरीको आरोपमा प्रमाण नभेटेर प्रहरीले छाडे पनि सुनिलका बाबुछोरालाई आफ्नै समाजले कहिल्यै सफाइ दिएन। पीडाको पर्वत बोकेर उभिइरहन अभिशप्त भए उनीहरू। 

“हामीलाई सामाजिक र सांस्कृतिक रूपमा अवहेलना गरियो। दोलखामा दसैंलगत्तै खड्ग जात्रा हुन्छ। मूर्ति चोरी भएसँगै ती जात्रामा हामीलाई समावेश गराउन छाडियो,” सुनिल भन्छन्, “यो कुराले मेरो बुबाको मानसिक सन्तुलन खलबलियो। परिवारको लागि त्यो निकै सकसपूर्ण समय रह्यो।” 

पूरै गाउँछिमेक एउटा परिवारमाथि खनिँदा मानसिक र नैतिक रूपमा निकै कमजोर भएको अनुभव सुनिल र उनको परिवारसँग छ। “गाउँमा कोही पनि हाम्रो पक्षमा थिएन। सोही कारण हामीले मूर्ति खोजीका लागि उजुरी दिने आँट र स्थान नै देखेनौँ। तर, मनमा आशा भने मर्न दिएनौँ। एक न एक दिन त फर्कन्छ होला भन्ने लाग्थ्यो। मूर्ति भेटियोस् भनेर दोलखा भीमसेनलाई सधैँ प्रार्थना गर्थ्यो,” उनले भने।

चोरी आरोपका बचेखुचेका बाछिटा बितेका वर्षहरूमा पनि बर्सिन आइपुगेको उनी सम्झन्छन्, “हामीले काठमाडौँमा घर बनायौँ। बहिनीहरू आफ्नै योजना र क्षमताले विदेश (अस्ट्रेलिया) गएर बसेका छन्। तर, हामीले गरेका हरेक प्रगतिमा मूर्ति चोरीको कमाइको अंश देख्ने गाउँलेले सधैँ घृणाभावले हेर्थे।”

सामाजिक अविश्वासदेखि आर्थिक भारसम्म
२०७४ भदौ २० गते इन्द्रजात्राको दिन दोलखाका सामाजिक अभियन्ता अनिल श्रेष्ठले दोलखाबाट हराएका मूर्तिहरूको फोटो फेसबुकमा पोस्ट गरेका थिए। त्यसलाई दोलखाकै अर्का स्थानीय बालकृष्ण श्रेष्ठले संस्मरण लेखका रूपमा एक अनलाइनमा प्रकाशित गरे। नेपालबाट हराएका मूर्तिको खोजीमा लागिरहेको फेसबुक समूह ‘लस्ट आर्टस् अफ नेपाल’ले सोही सूचनाका आधारमा मूर्तिको पहिचान थाल्यो। समूहको फेसबुक पेज र अनिल श्रेष्ठबीचको समन्वयमा खोजी कार्य अघि बढ्यो।

उक्त समूहले दोलखाबाट हराएको वज्रधरको मूर्ति २०७९ भदौ ३१ गते बेलायतको लन्डनस्थित रोशी एन्ड रोशी संग्रहालयमा भेटिएको तस्वीर फेसबुक पेजमै सार्वजनिक गर्‍यो। त्यसै दिनको कान्तिपुर दैनिकमा प्रकाशित ‘दोलखाबाट हराएको सम्पदा बेलायत र अमेरिकामा’ शीर्षकको समाचारले कोर्छेमी परिवारकी अनिशा श्रेष्ठको ध्यान तान्यो। अस्ट्रेलियामा रहेकी उनले मूर्ति फिर्ता ल्याउने पहल थालिन्। 

त्यसै क्रममा संयुक्त अधिराज्य बेलायतको युनिभर्सिटी अफ ग्लासग्लो क्रिमिनोलोजीमा कार्यरत डा. एमलिन स्मिथसँग उनले समन्वय गरिन्। आफ्नो घरबाट हराएको मूर्ति भए पनि त्यसमाथि दाबी गर्ने प्रमाण उनीसँग थिएन। त्यसपछि परिवारै एकजुट भएर प्रमाण संकलनमा लागे। 

नेपालमा सुनिल र अनिल श्रेष्ठ पुरातत्त्व विभाग गए। तर त्यहाँबाट खास समन्वय भएन। यसबीच मूर्तिको प्रमाण संकलनको काम केही सुस्त गतिमा अघि बढ्यो।

संयोगवश लन्डनको रोशी एन्ड रोशी संग्रहालयले २०७९ असोज ३० गते हङकङमा सोही मूर्तिको प्रदर्शनी गर्‍यो। दोलखाबाट हङकङ गई बसोबास गरिरहेका भेषमणि श्रेष्ठ र श्यामकुमार श्रेष्ठलाई उक्त प्रदर्शनी हेरेर हराएको वज्रधरको मूर्ति त्यही हो वा होइन यकिन गर्न र फोटो/भिडिओ पठाउन कोर्छेमी परिवारले अनुरोध गर्‍यो। 

अवलोकनपछि हङकङबाट मूर्तिको फोटो र भिडिओ आएलगत्तै नेपालमै उपलब्ध हराउनुअघिका फोटोसँगै राखेर सुनिल र अनिल श्रेष्ठले २०७९ चैत ३० गते काठमाडौँमा डा. एमलिन स्मिथसँग भेट गरी प्रमाण पेश गरे।

चोरी हुनुअघि मूर्ति राखिएको घर जुन भूकम्पपछि जीर्णोद्धार गरिएको हो। साथमा मूर्तिको पहिलेको फोटो देखाउँदै सुनिल श्रेष्ठ।

एमलिनले उक्त प्रमाण हङकङका संकलनकर्तालाई बुझाएसँगै गत बुद्ध जयन्तीका दिन मूर्ति फिर्ता हुने आधिकारिक जानकारी आफ्नो ट्विटरमार्फत सार्वजनिक गरिन्। यो उपलब्धि कोर्छेमी परिवारले इमान, आत्मसम्मान र सामाजिक प्रतिष्ठाको लडाइँमा हात पारेको सबैभन्दा ठूलो जित थियो। यद्यपि, प्रमाण संकलन सोचेजति सहज नभएको अनिल श्रेष्ठ बताउँछन्। प्रमाण संकलनमा बितेका असोजदेखि चैतसम्मका ६ महिनाको कतिपय क्षण बिर्सनलायक रहेको उनको अनुभव छ। 

भीमेश्वर मन्दिरमा रहेको उक्त मूर्ति र मुकुटको पुरानो फोटो प्रमाणको रूपमा लिन गएका थियौँ,” अनिल भन्छन्, “तर, हामीलाई त्यहाँ पनि शंकाको नजरले हेरियो। बाँकी रहेको वज्रधरको मुकुट पनि लैजान अनेक नाटक रचेको भन्ने आरोपसमेत हामीले खेप्नुपर्‍यो।” 

फोटो लिनमै अवरोध आएपछि कोर्छेमी परिवारले वडा कार्यालयको सहयोग लिएको थियो। मूर्ति फिर्ता गराइछाड्ने अठोटका साथ २८ वर्षसम्म बोलचाल नगरेका मानिसको घरघर गएर कुराकानी गरेको सुनिल बताउँछन्। “मूर्ति त हाम्रो लागि अमूल्य थियो नै, त्यति नै मूल्य चुकाइरहनु परेको आफ्नो इज्जत पनि फिर्ता ल्याउनु थियो। त्यसकारण हामीले भोकनिद्रा बिर्सेर सबै प्रयास गर्‍यौँ।”

तस्वीर नै अकाट्य प्रमाण
दोलखाको कालिन्चोक युवा क्लब, दोलखाले ‘आँखा’ नामक मासिक पत्रिका प्रकाशन गर्दै आएको थियो। उक्त पत्रिकाको २०४७ वैशाखमा प्रकाशित १०औँ अंकको आवरण पृष्ठमा वज्रधरको मूर्तिको तस्वीर थियो जसमा फोटोको स्रोत सुनिलका पिता कृष्णकुमार श्रेष्ठ रहेको उल्लेख थियो। त्यही नै सबैभन्दा बलियो प्रमाण साबित भयो। त्यो प्रमाणलाई सघाउने २०७६ सालको ‘आँखा’ पत्रिकाको स्वर्णिम स्मारिका अंकमा प्रकाशित मूर्तिको फोटो तथा विवरण पनि थियो।

२०४७ वैशाखमा ‘आँखा’ नामक मासिक पत्रिकाको आवरणमा छापिएको 'वज्रधर'को तस्वीर जुन सुनिलका बाबुले उपलब्ध गराएका थिए।

२८ वर्षअघि मूर्ति चोरी भएपश्चात् प्रहरी चौकीमा आफैँविरुद्ध परेको उजुरी प्रमाण हुन सक्ने ठानेर सुनिलले त्यसको खोजी गरे। तर, त्यसलगत्तै चलेको एक दशक लामो हिंसात्मक द्वन्द्वमा तत्कालीन विद्रोही नेकपा (माओवादी) का छापामारहरूको निशानामा पटक पटक परेको प्रहरी कार्यालयका पुराना कागजातहरू सुरक्षित थिएनन्। 

“सिंगो परिवार मिलेर तीन–चार दिनसम्म प्रहरी कार्यालयमा खोजतलास गर्दा पनि पुरानो उजुरी नभेटिएपछि हामी दाजुभाइ मिलेर त्यसबेला मूर्ति हराएको मुचुल्का उठायौँ। त्यसैका आधारमा प्रहरीले मूर्ति हराएको ब्यहोरा प्रमाणित गरिदियो,” सुनिल भन्छन्। 

तर, त्यतिले मात्र पुग्दैनथ्यो। ठोस प्रमाण नजुटेसम्म मूर्ति आउँछ भन्न नसकिने भनाइ डा. एमलिनबाट आयो। यसले उनी झन् निराश भए। 

प्रमाण जुटीनसकेको अवस्थामा २०७९ चैत ३० गते डा. एमलिनसँग कोर्छेमी परिवारको दोस्रो भेट हुनेवाला थियो। भेटको अघिल्लो साँझ अनिल श्रेष्ठ आफ्नो दराजमा रहेको एउटा पुस्तक निकाल्दै थिए। त्यसैबाट एउटा पुरानो फोटो फुत्त भुइँमा खस्यो। फोटो पल्टाएर हेर्दा उनको खुशीको सीमा रहेन। किनभने सुनिलकी आमा नानीकुमारीले समाइरहेको वज्रधरको मूर्तिकै फोटो थियो त्यो। अब उनीसँग हराएको वज्रधरको मूर्ति फिर्ता ल्याउन कसैले नकार्नै नसक्ने अकाट्य प्रमाण हातैमा भयो। 

अनिलको दराजमा भेटिएको सुनिलकी आमा नानीकुमारीले समातिरहेको हराउनु अघिको 'वज्रधर'को तस्वीर जुन अकाट्य प्रमाण बन्यो। 

डा. एमलिनले सुनिलबाट पाएको त्यही फोटोलाई प्रमाणका रूपमा हङकङमा रहेका मूर्ति संकलनकर्तासमक्ष राखिन्। अनि मात्र वज्रधरको घरफिर्ती सुनिश्चित भयो र गत बुद्धजयन्तीको दिनदेखि त्यसको तरखर थालियो। 

“मूर्ति पहिचान र प्रमाण संकलनको तयारी एक वर्ष अघिदेखि नै भए पनि २०–२५ दिनको सेरोफेरोमा धेरै काम भए,” अनिल भन्छन्, “सबै कुराको लागि समय आउने रहेछ। नत्र त्यत्रो वर्षदेखि मसँग रहेको त्यो फोटो दराजमा छ भनेर कहिल्यै हेक्का राखेको थिइनँ। डा. एमलिनसँग भेट्ने अघिल्लो दिन अनायासै फोटो भेटिनु मेरो लागि कम आश्चर्यजनक थिएन।”

कोर्छेमी परिवारले नितान्त आफ्नै खर्चमा वज्रधरको मूर्ति फिर्ता ल्याएको हो। प्रमाण संकलनदेखि दोलखाको आफ्नो कुलायन घरमा ल्याएर मूर्ति पुनर्स्थापित गर्दासम्मका खर्चको लेखाजोखा गरिनसकेको सुनिल बताउँछन्। “खर्च भनेको यस्तै हो, हामीलाई हाम्रो सम्पत्ति, सम्पदा चाँडोभन्दा चाँडो ल्याउनु थियो। फिर्ता ल्यायौँ त्यसैमा खुशी छौँ,” उनले भने। 

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फिर्ता भएको मूर्तिको भन्सार छुट गरिदिँदा सहुलियत पुगेको सुनिल बताउँछन्।

बाल्यकालमा आफ्नो दैनिकी नै वज्रधरको मूर्ति पूजा गरेर शुरू गर्ने सुनिलकी बहिनी अनिशा झन्डै तीन दशकपछि सोही मूर्तिलाई आफ्नो घरमा स्थापना गराउन पाउँदा भावुक बनेकी थिइन्। नेपालमा दाजुभाइले प्रमाण संकलन गरिरहँदा उनी अस्ट्रेलियामा बसेर फिर्ती प्रक्रियाको आर्थिक पाटो सम्हालिरहेकी थिइन्। 

अनिशा भन्छिन्, “मैले आफ्नो ठाँउबाट गर्नसक्ने जति गरे। चाँडै अस्ट्रेलिया फर्कंदैछु। आफूले गर्न सकेको गरेँ। अब सबै जना मिलेर मूर्तिलाई सुरक्षित राखिदिनु होला, यही मेरो आग्रह छ।” 

मुकुट पहिराएपछिको वज्रधर। तस्वीर: किसन/उकालो

मूर्ति हराएदेखि फिर्ता नहुँदासम्म आफ्नो परिवारमाथि टोलछिमेकले गरेको आशंकाका कारण दुखेको उनको परिवारको मनले मलहम पाइसकेको थियो। यसबारे जिज्ञासा राख्दा अनिशाले भनिन्, “हामी सबैको मूल्यवान् सम्पदा हाम्रो घरबाट एकाएक हराउँदा हामीमाथि अविश्वास पैदा भएको होला, यतिका वर्षपछि आँखाअगाडि मूर्ति फिर्ता पाएर सबै उत्तिकै खुशी छौँ, अब हामीलाई कसैप्रति कुनै पनि गुनासो बाँकी छैन।” 

वरिष्ठ पौभा चित्रकार लोक चित्रकारका अनुसार उक्त मूर्ति वज्रधरको हो। उनका अनुसार, वज्रधरको मूर्तिमा दाहिने हातमा वज्र र देब्रे हातमा घण्टा समाएर दुवै हात आपसमा खप्ट्याइएको हुन्छ। “वज्रधरजस्तै आकृतिको वज्रसत्वको मूर्ति भए पनि यसमा अलमलिनु जरुरी छैन,” उनी भन्छन्, “वज्रसत्वको दायाँ हातले वज्र समाएको हुन्छ भने धनु समाएको बायाँ हात काखमाथि हुन्छ।”

कलाकार राकेश अवालेले पनि उक्त मूर्ति वज्रधरकै भएको बताए। उनका अनुसार व्रजयानी परम्परामा वज्रसत्व,  व्रजधर  आदिको बेग्लैबेग्लै विशेषता हुन्छ। एउटा घण्टा र एउटा वज्र समाएर हात फट्टाएको मुद्रामा देखिने वज्रसत्व हुन्। वज्र लिएर ध्यान मुद्रामा बसेको छ भने त्यस्तो मूर्तिलाई वज्रधर भनेर बुझ्नुपर्छ। वज्रयानी बौद्ध परम्परामा वज्रधरलाई आदिबुद्ध मानिन्छ।

“बाँकी मूर्ति पनि फिर्ता आउलान्”
काठमाडौँबाट हिँडेको स्कर्पियो दोलखा भीमसेन मन्दिरको प्रवेशद्वार पाखलतीमा रोकिएको थियो। त्यहाँ पुग्दा बाजागाजा र भजनकीर्तन सहितको स्थानीय बासिन्दा स्वागतमा तम्तयार थिए। गाडीबाट निकालिएको मूर्तिलाई खटमा राखी गाईको दूधले स्नान गराएर पाखलती, दोलखा भीमसेन मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, दुङ्गल, पिङ्गल, नक्छे हुँदै नगर परिक्रमापछि कोर्छेमीको कुलायन घरसम्म पुर्‍याइएको थियो।

मूर्ति लिएर नगर परिक्रमा गर्दै स्थानीय। तस्वीर: किसन/उकालो

दोलखाकी ६८ वर्षीया ललितमाया श्रेष्ठ पनि फिर्ता आएको मूर्ति  हेर्न आएकी थिइन्। उनी भन्दै थिइन्, “यहाँबाट दाउरा हराएजसरी देउता हराएका थिए, अब त बाँकी देउता पनि फिर्ता आउँछन् होला।” ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार दोलखाका ६८ मूर्ति अझै नेपालबाहिर नै छन्। 

ललितमाया जस्तै दोलखाका अन्य स्थानीय पनि हर्षोल्लास मनाइरहेका थिए। नगर परिक्रमापछि दोलखा भीमसेन मन्दिरका महत्त्वपूर्ण सामग्री संग्रहित भण्डार गृहमा राखिएको मूर्तिलाई त्यसअघि केहीबेरका लागि पहिले हराएकै ठाउँमा लगेर विश्राम गराइएको थियो। त्यो साँझ २८ वर्षपछि आफ्नो प्राङ्गणमा फर्किएको मूर्तिलाई देखेर भावुक भएको कोर्छेमी परिवारका सदस्यहरू एक अर्कालाई अँगालो हाल्दै शिर निहुराएर धरधरी रोएका थिए। उनीहरूका लागि त्यो क्षणको आँसु नै हर्षको उत्कर्ष थियो। 


भिडियो


सम्बन्धित सामग्री