सतुंगलस्थित कुनै बेला बल्खु खोला बगेको ठाउँ अहिले सिप्रदी ट्रेडिङको व्यापारिक कम्पाउन्ड कसरी बन्यो? खोलाको करिब साढे २ रोपनी जग्गा सिप्रदीले आफ्नो कम्पाउन्डमा बिलीन गराएको कथाः
काठमाडौँ– कलंकी–थानकोट सडकखण्डको चन्द्रागिरी–१४, नयाँ नैकापमा पश्चिमबाट पूर्वतर्फ घुमाउरो भएर बग्ने बल्खु खोला छेउमा व्यापारिक भवन, गोदाम र पर्खालभित्र घेरिएको पक्की प्रांगण छ। बिक्रीका लागि आयात गरिएका, ग्राहकले मर्मत तथा परीक्षणका लागि छाडेका र त्यहाँ कार्यरत कर्मचारीहरूका सवारी साधन लहरै राखिएका देखिन्छन्। यो सिप्रदी ट्रेडिङ प्रालिले ओगटेको कम्पाउन्ड हो। भारतको स्थापित ब्रान्ड टाटा मोटर्स लिमिटेडको नेपालका लागि एक मात्र वितरक हो सिप्रदी।
सिप्रदी ट्रेडिङको प्रांगणमा पस्नका लागि खोलामा पक्की पुल छ। पुल कट्नेबित्तिकैको आधुनिक ‘ब्यारियर’मा सुरक्षा गार्डहरू बसेर मानिस र सवारी साधनको सुरक्षा अनुगमन गरिरहेका हुन्छन्। नापी विभागको २०२२ सालको सर्वे नक्साअनुसार बल्खु खोला साबिकमा यिनै संरचना र व्यावसायिक गतिविधि सञ्चालित ठाउँबाट बगेको थियो।
अंग्रेजी अक्षर ‘यू’ आकारमा बगेको खोलाले अहिलेको सिप्रदी प्रांगणमा साबिक दुईतिरको निश्चित भाग ओगटेको नक्सा देखिन्छ। पुरानो नापीको फिल्ड बुकमा पनि ‘खोला’ भनेरै लेखिएको छ। अहिले भने त्यहाँनिर खोलाको बनावट नक्साभन्दा निकै भिन्न छ। खोलालाई साबिक ठाउँबाट सारेपछि खाली हुन पुगेको जग्गा सिप्रदीले ओगटेको यहाँ प्रष्टै देखिन्छ।
देशका प्रमुखमध्येको एक ‘अटोमोबाइल’को कारोबार गर्ने व्यापारिक कम्पनी हो सिप्रदी। साबिक नयाँ नैकाप–२ को नक्सा र फिल्ड बुकमा कित्ता नम्बर २ उल्लिखित खोलाको जग्गाको करिब एक हजार ३०० वर्गमिटर क्षेत्र सिप्रदीले आफ्नो प्रांगणमा बिलिन गराएको छ। यो भनेको करिब साढे २ रोपनी जग्गा हो।
नक्साअनुसार घुमाउरो हुँदै दायाँ र बायाँ गरी दुई ठाउँमा परेको साबिकको बल्खु खोलाकै जग्गामा पर्नेगरी सिप्रदीले त्यहाँ कार्यालय, गोदाम र पार्किङ जस्ता संरचना निर्माण गरेको छ। साबिकको मार्गबाट सारिएको बल्खुखोला अहिले सिप्रदीको पूर्वतर्फ मूल गेटको अगाडि पर्नेगरी सिधै दक्षिणबाट उत्तर बगेको छ।

२०२२ फागुन २० मा अधिकृत श्यामविनोद ज्ञवाली, निरीक्षक मदनकृष्ण न्यौपाने र अमिन केशरप्रकाश खरेलको सर्वे टोलीले पूरा गरेको नापनक्सामा देखिएको खोलाको स्वरूप २०६१ मा पछिल्लो सर्वे हुँदासम्म फेरिसकिएको थियो। २०५० सालपछि सिप्रदीले त्यहाँ जग्गा किन्ने क्रम बढाएको स्थानीय सम्झिन्छन्। ठूलो व्यापारिक घराना आउन थालेको विषयले उतिबेला स्थानीयमाझ चर्चा र चासो पैदा गरेको उनीहरू बताउँछन्।
“२०५८ सालतिर त्यहाँ संरचनाहरू बन्न शुरू भयो। त्यसबेला तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन शुरू भइसकेको थियो। दरबारसँग नजिक रहेको मानिने व्यापारिक संस्था सिप्रदी शक्तिशाली थियो,” बल्खु खोलाको पूर्वतर्फ सिप्रदीको सँधियार रहेका स्नेह सायमीले भने, “खोलालाई सारेर निर्माणका कामहरू अगाडि बढाएको बेला मसहितका केहीले आवाज उठायौँ, तर सुनुवाइ भएन।”
सँधियार भएकाले खोला संरक्षणका लागि भन्दा पनि आफ्नो स्वार्थमा बोलेको हो कि भन्ने आरोप लाग्न सक्ने देखेर आफूले अभियानै बनाएर लाग्न नसकेको उनको भनाइ छ।
२०२२ सालको नापी अनुसारको सतुंगल–८ (ख) २ को नक्सा भिडाउँदा पनि अहिले सिप्रदी ट्रेडिङ भएको ठाउँमा बल्खु खोला बगेको देखिन्छ। उतिबेला सर्वेबाट कायम नक्साअनुसार नै २०५८ सम्म त्यहाँ खोलाको स्वरूप रहेको स्थानीय बताउँछन्।
उक्त ठाउँमा अर्धवृत्ताकार हुँदै घुमाउरो भएर बल्खु खोला बगेको सिप्रदी ट्रेडिङ भन्दा पश्चिम पर्ने बाइछापका पुराना बासिन्दा कृष्ण थापा सम्झिन्छन्। बल्खुको वारी (पूर्व–दक्षिणतिर) सतुंगल र पारि (पश्चिम–उत्तरतिर) नैकाप गाउँपञ्चायत थियो। नैकापतिर अर्धवृत्ताकार भन्दा बढी घुमाउरो हुँदै बल्खु खोला बगेको देखिएको २०२२ को नक्साको सँकेतसँग उनको भनाइ मिल्छ।
“मलाई एकदम याद छ, पहिला खोला त्यहाँ पश्चिमतिर गोलो घेरा हालेर बगेको थियो, त्यहाँको पानी खाइन्थ्यो, मैले पनि खाएको छु,” थापाले भने, “कसरी सारियो थाहा भएन, तर खोलाको पुरानो धार भएको ठाउँमा अहिले त सिप्रदीको भवन छ।”
सिप्रदीको संरचना बनिसकेपछि २०६१ माघ १७ गते नापी विभागको टोली पुगेर बनाएको नक्सामा त्यहाँको अवस्थिति फेरबदल भएको भेटिएको छ। २०६१ को नक्सामा पहिलेको अर्धवृत्ताकार स्वरूप मेटिएर बल्खुखोला सतुंगलतिर सरेको देखिएको छ। तर नापीकै नक्सा कसरी र किन फेरियो भन्ने खुल्दैन। सिप्रदीले त्यहाँ संरचनाहरू बनाउदै गर्दा स्थानीय अगुवा र निर्वाचित जनप्रतिनिधिहरूले खोला जोगाउन चासो नदेखाएको स्थानीय बासिन्दा बताउँछन्।

“के–के खेलकुद भयो मलाई थाहा भएन, तर त्यतिबेलाका व्यक्ति जो थिए उनीहरू सिप्रदीको पक्षमा ढल्किए,” अर्का एक स्थानीयले भने, “अनेक पटक त्यो ठाउँमै भेला र छलफल पनि भए जसमा सिप्रदीको स्वार्थमा खोलाको बहाव सारियो भन्नेमा सबै एकमत थिए।”
उनका अनुसार स्थानीय राजनीतिक दलका नेताहरू यस प्रकरणबारे जानकार रहे पनि उनीहरू सबै मौन छन्।
सिप्रदीले आफ्ना संरचनाहरू बनाउन शुरू गरेको बेलाका तत्कालीन गाविस अध्यक्ष कृष्ण महर्जन यस विषयमा खोजीनिति गर्न आवश्यक नरहेको बताउँछन्। “पत्रकारले किन यस्तो खोजीनिति गरेको? कसैको नदुखेको टाउको किन दुखाउने?” उनी आक्रोशित सुनिए, “कमाउने दाउ हो। कहाँ छ? के छ? त्यो खोजीनिति गर्ने, चाहिने नचाहिने दुःख दिने यस्तै हो! अहिले बनाएको हो सिप्रदी? सिधै गएर सिप्रदीलाई सोध्नुस् न किन बनाएको भनेर?”
‘वडालाई चासो छैन, तपाईंहरूले किन चासो लिनुपर्यो’ भन्दै उनले प्रतिप्रश्न उठाए, “उसले यत्तिकै बनाउँछ त्यत्रो पैसा खर्च गरेर?” तत्कालीन जननिर्वाचित प्रतिनिधिको रूपमा बोल्न आग्रह गरेपछि उनी खुले, “त्यो बेला आफ्नो जग्गामा खोला–नदी सार्न पाइने रहेछ। सिप्रदीले आफ्नै जग्गामा खोला सारेको हो।”
सिप्रदीले खानेपानी समितिको ट्यांकी स्थापना गर्न चार लाख नगद सहयोग गरेर टोललाई ‘गुन लगाइदिएको’ पनि पूर्वगाविस अध्यक्ष महर्जनले बताए।
२०५४ जेठमा भएको स्थानीय निकायको निर्वाचनअगाडि नैकाप गाविसका अध्यक्ष रहेका जुजुभाइ श्रेष्ठले त्यस ठाउँमा खोला अलि पश्चिम घुम्दै बगेको स्वीकारे। “चारैतिर सिप्रदीको जग्गाको बीचतिर खोला बगिरहेको थियो, अहिले खोला बगिरहेको ठाउँमा उसले आफ्नो जग्गा दिएर खोला सारेको हुनपर्ने हो,” उनले भने, “धेरै किचकिच भएको थियो। खोला पारी (पूर्व) का जग्गाधनीहरूसँग सहमति गरेर मिलाएको जस्तो लाग्छ।”
निजी जग्गा दिएर खोलाको जग्गा सिप्रदीले लिएको दाबी पत्याउने हो भने पनि साबिकमा खोलाले चर्चेको कूल क्षेत्रफलको तुलनामा अहिले खोला बगेको ठाउँ करिब साढे २ रोपनी कम छ। पुरानो नक्सामा देख्न सकिने खोलाको साबिक जग्गा सिप्रदीले उपयोग गरिरहेको छ।
नजिकै रहेको बस्ती बाइछापका पुराना बासिन्दा मुकुन्द कार्कीका अनुसार पहिला बल्खुखोला पश्चिमतर्फ (अहिले सिप्रदी ट्रेडिङले ओगटेको ठाउँ) र फराकिलो बगरसहित बगेको थियो। “२०१८ सालमा ठूलो बाढीपछि कायम भएको खोलालाई २०२२ सालको नापीको सर्वेले नक्सामा समेटेको हो,” उनले भने, “नक्सामा कायम भएको खोला जहाँ थियो त्यो ठाउँ अहिले सिप्रदी ट्रेडिङभित्र पर्छ। त्यसलाई उनीहरूले कसरी मिलाए त्यतिबेलाका जनप्रतिनिधि र कर्मचारीले बताउलान्। पहिले खोलाको चौडाइ धेरै थियो, अहिले त गल्छी बनाए।”

कलंकीस्थित नापी कार्यालयले अहिले सिप्रदी ट्रेडिङ भएको ठाउँमा पहिले बल्खु खोलाको सार्वजनिक जग्गा रहेको तथ्य नक्सा र फिल्ड बुकबाट देखिएको पुष्टि गरेको छ। सिप्रदीको संरचना भएको ठाउँमा बल्खु खोला भए/नभएको यकिन गरिदिन कार्यालयका प्रमुख नापी अधिकृत केशवराज लेखकलाई उकालोले आग्रह गरेको थियो। नापी अधिकृतसहितका कर्मचारीहरूले पुरानो नक्सा र फिल्ड बुक अध्ययन गरेर अहिले सिप्रदीको संरचना भएको ठाउँका कित्ताहरूको बीचमा बल्खु खोलाको कित्ता रहेको र नयाँ नक्सामा त्यो पूर्वतिर किनारमा सरेको देखिएको जानकारी दिए।
“सार्वजनिक जग्गा व्यक्तिको नाममा जाँदैन, कसैले चाहेर लैजान सक्ने पनि होइन। अनधिकृत तवरबाट भोगचलन गरेको छ भने त्यो निजी भयो भन्ने हुँदैन,” प्रमुख नापी अधिकृत लेखकले भने, “कुनै दिन उहाँहरू हालसाबिक गराउन आएमा त्यसबेला स्वतः नक्सा भिडाइन्छ र खोलाको जग्गालाई खोलै भनेर छुट्टयाइने छ। नापीपछि कित्ता कायम हुने प्रक्रिया अहिले पूरा भइसकेको छैन।”
पर्खाल लगाउँदैमा वा संरचना बनाउँदैमा खोलाको जग्गा कसैले आफ्नो बनाउन नसक्ने उनले बताए। यसरी कुनै व्यक्ति वा संस्थाले अतिक्रमण गरेको जग्गा भने नाप जाँच ऐन, २०१९ को दफा ५(ग) अनुसार सरकारी वा सार्वजनिक जग्गा जे हो त्यसै अनुसार दर्ता हुने उनले प्रस्ट्याए।
“अतिक्रमण गरी भोग गरेको जग्गा दर्ता गर्ने: साबिकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी अतिक्रमण गरी भोग गरेको भए पनि नापजाँच गर्दा त्यस्तो जग्गा सरकारी वा सार्वजनिक जग्गाको रूपमा दर्ता गर्नुपर्नेछ,” ऐनको उक्त दफाले भनेको छ। केही वर्षअगाडि सिप्रदीका प्रतिनिधि हालसाबिक गराउन आएको बेला त्यहाँ खोलाको सरकारी जग्गा परेको देखिएपछि प्रक्रिया नबढाई फर्केको नापी कार्यालयका पुराना कर्मचारीले बताए।
अहिले चन्द्रगिरी–१४ का वडाध्यक्ष रहेका राजभाइ महर्जनले उक्त ठाउँमा खोलाको जग्गा सिप्रदीको प्रांगणमा परेको र उक्त विवाद नापी कार्यालय र मालपोत कार्यालयबाट सम्बोधन हुन बाँकी रहेको जानकारी दिए।
सिप्रदी ट्रेडिङ प्रालि नेपालमा प्रयोग भएकामध्ये उल्लेख्य संख्याका गाडीहरूको आयात गर्ने व्यापारिक कम्पनी हो। काठमाडौँको थापाथलीमा मुख्यालय रहेको सिप्रदीको कारोबार वार्षिक ३५० मिलियन अर्थात् तीन करोड ५० लाख अमेरिकी डलर नाघेको घोषणा उसले गरेको छ। अटोमोटिभ, लुब्रिकेन्ट, वित्तीय सेवा र उपकरण व्यवसाय क्षेत्रमा सक्रिय सो कम्पनीले यस क्षेत्रमा राम्रो प्रगति गरिरहेको उसको आधिकारिक वेबसाइटमा उल्लेख छ।
विशेषरूपमा भारतको स्थापित ब्रान्ड टाटा मोटर्स लिमिटेडको नेपालका लागि एक मात्र वितरकको रूपमा यो कम्पनी चिनिन्छ। उकालोले सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठसँग सम्पर्क गरेको थियो। टेलिफोनमा सम्पर्क गर्दा उनले लिखित मेसेज पठाउन भने। नयाँ नैकापमा बल्खु खोलाको जग्गा अतिक्रमणको विषयमा जिज्ञासा राखेपछि जवाफ दिएनन्। त्यसपछि सम्पर्कमा पनि आएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
