Monday, May 06, 2024

-->

रुख कटानभन्दा झनै विनाशकारी डढेलो

काटेको घाउ सजिलै निको हुन्छ, तर पोलेको घाउ निको हुन धेरै समय लाग्छ। उसैगरी रुख काट्नुभन्दा धेरै गुणा हानिकारक हुन्छ जंगलको डढेलो।

रुख कटानभन्दा झनै विनाशकारी डढेलो

पोखरा महानगरपालिका–१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि 'मेरो रुख म आफैँ काट्छु' अभियान चलाउने घोषणा गरेको चर्चा नसेलाउँदै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष शिवकुमार कार्कीले त्यस्तै आशयको सूचना जारी गर्दै स्थानीयलाई आफ्नो निजी बारीमा रहेका रुख र झाडी हटाउन आह्वान गरे। 

यी समाचार सार्वजनिक भएपछि कैयौँले यसमा आपत्ति जनाए त कतिले निजी वनका झाडी र रुख कटान बाँदर नियन्त्रणमा विकल्प हुनसक्ने कु(तर्क) गरे। यसै मेलोमा मिडियामा समेत बाँदर तथा वन्यजन्तु नियन्त्रणबारे केही हदसम्म बहस सिर्जना भए, तर रुख काट्नुभन्दा धेरै गुणा जंगल र पर्यावरणलाई सखाप पारिरहेको डढेलोबारे बिरलै कसैले चासो दिएका छन्, जबकि वर्षौंयता हामी डढेलो झेल्न विवश छौँ।  

जसरी काटेको घाउ सजिलै निको हुन्छ, तर पोलेको घाउको निको हुन धेरै समय लाग्छ। आगोको घाउ बढी पीडादायक पनि हुन्छ र त्यसबाट नमेटिने खाटो बस्छ। उसैगरी रुख काट्नुभन्दा धेरै गुणा हानिकारक हुन्छ जंगलको डढेलो।

प्रत्येक वर्ष सुख्खा मौसम शुरू भएपछि नेपालका वनजंगलमा जताततै डढेलो देखिन्छ। पहाडतिर डढेलोले पहाडहरू काला देखिन्छन् त तराईमा डढेलोले जलेका रुखहरू ओइलाइरहेका भेटिन्छन्। यसरी डढेलोका कारण सामुदायिक र निजी वन बर्सेनि डढाइँदै छन्। त्यसको क्षतिबारे सायदै कसैले रेकर्ड राखेको छ। निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रबाहेक हिउँदमा डढेलो नलाग्ने वन सायदै होलान्। निकुञ्जहरूमा पनि डढेलो नलाग्ने होइन, त्यहाँ सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा अन्यत्रभन्दा बढी तदारुकता अपनाउँछन्। 

डढेलोबारे लेखिएका समाचार पढ्दा भने ताजुब लाग्छ। मिडियामा लेखिन्छ या वाचन गरिन्छ– फलानो जंगलमा आगलागी। अधिकांश आगलागीमा व्यक्तिको संलग्नता हुन्छ, तर समाचार सुन्दा यस्तो लाग्छ, आगलागी स्वयं घटित हो, जसरी पहिरो या भूकम्प जान्छ। समाचार पनि यसरी अज्ञानतावश 'बनमारामैत्री' हुन पुग्छ। दुःखको कुरा, पर्यावरण र वन–वनस्पति सखाप पार्ने डढेलोको मुद्दा कहिल्यै ‘भाइरल’ हुँदैन। न यस विषयमा स्थानीय तह तात्छन्, न प्रशासन र प्रहरी। वन कार्यालयले समेत यसमा चासो दिएको बिरलै प्रकाशमा आउँछ। न कुनै अनुसन्धान, न कुनै 'बाह्र भाइ' मिडियाको खोज अनुसन्धान! युट्युबर र टिकटकरहरूले यस विषयमा चर्काचर्की प्रश्न गर्दै क्यामरा सोझ्याउने त कुरै भएन!

बाँदरलगायत जनावर र पक्षी जंगलमा नअडिई हाम्रो खेतीबाली, बगैँचा र घरतिर मोडिनुका पछाडि जंगलका पोथ्रामा लाग्ने फलको विनाशको के कति हात छ? फल मात्रै नभई बाँदरले प्रशस्त पातहरू पनि खान्छन्। डढेलोमा बुट्यान र तिनका पालुवा पनि सखाप हुने हुँदा आगलागीमा अग्ला रुखभन्दा धेरै साना पोथ्रा र बुट्यानमा क्षति पुग्छ। त्यसबाट पक्कै बाँदर र अन्य जंगली जीवको खाना कम हुन जाला। 

हाम्रा जंगलमा साल र सल्लोजस्ता ठूला आकारका रुख बढी देखिन्छन्। यी रुखले जंगली जनावरलाई आहाराको खासै आपूर्ति गर्दैनन्। एउटा चिलाउनेको बोटले भन्दा फलदायक अर्को कुनै वनस्पतिले बढी आहारा दिन सक्छ। त्यस कारण पनि जंगलमा एकै खालका रुख बिरुवाभन्दा हरेक खालका बिरुवा हुनुपर्छ, हुर्काइनुपर्छ। यसले पारिस्थितिक पद्धति र पर्यावरण मजबुत गराउन पनि पक्कै भूमिका खेल्नेछ।

डढेलोका कारण वनका पातपतिंगर र कुहिएका रुखबिरुवासमेत नास हुन्छन्, जसका कारण उपभोगमा ल्याउन सकिने ऊर्जा अकारण खेर जान्छ। डढेलोले वातावरणीय असर त निम्त्याउँछ नै, डढेलो लागेको क्षेत्रको हावाको तापक्रम बढ्न गई न्यून चापीय क्षेत्रको निर्माण हुन्छ। यसले हावाहुरीको सम्भावना बढाउँछ। डढेलोबाट उत्सर्जन हुने कार्बन डाइअक्साईडजस्ता हरितगृह ग्यासले सूर्यको प्रकाश सोसेर राख्छन्, जुन विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको एक हिस्सा हो। विकसित देशहरू अत्यधिक नाफाका लागि औद्योगिक उत्पादन गरेर जलवायु परिवर्तनमा भरमार योगदान गरिरहेका छन्, हामीचाहिँ डढेलो लगाएर उल्टै बिनसित्तिको विपत्ति र घाटा निम्त्याइरहेका छौँ। 

बिना उद्यम र फाइदाको डढेलो लगाउनुको साटो हरिया रुखबिरुवाबाहेक मरे/सुकेर जाने बायोमास (खर,सुकेका झिक्रा, पत्कर आदि) भट्टीमा बालेर बाष्प इन्जिन चलाई विद्युत् ऊर्जा उत्पादन गर्न सकिन्छ। यसरी बायोमास जेनेरेटर सञ्चालन गर्न सक्दा आयातित र अनविकरणीय ऊर्जाको भारलाई समेत कम गर्छ। खरानी पनि काम लाग्छ। जैविक वस्तुलाई कुहाएर बायोग्यास निकाली कम्प्रेसरले सिलिन्डरमा भर्न पनि सकिन्छ, जसबाट गाडी चलाउनसमेत सकिन्छ। 

तर यसका लागि लगानी र प्रविधि चाहिन्छ। बायोमासबाट विद्युत् उत्पादन गर्दा वन र बोटबिरुवाको अधिक दोहन हुनसक्ने कुरामा पनि प्रशस्त सतर्कता आवश्यक छ। यसो गर्दा जैविक ऊर्जाको जलन र यसबाट उत्सर्जन हुने हरित ग्यासको मात्रालाई सीमाभित्र राख्नैपर्छ। आखिर हाम्रा चुल्हामा बल्ने दाउराले पनि सूर्यको किरण सोसेर वायुमण्डल तताउने कार्बनको उत्सर्जन गरिराखेकै हुन्छन्।

खर र पत्करलाई कुहाएर जैविक मल बनाउन सकिन्छ। वनस्पतिबाट जैविक विषादी पनि बनाउन सकिन्छ, जसले मानव स्वास्थ्यमा एकदमै कम असर गर्छ। यसो गर्न सके रासायनिक मल र विषादीको प्रयोग घटाउँछ। तर अहिले जंगलका पातपतिंगर, झ्यास र डढेलोको खरानी बर्सातको भेलमा बगेर खेर गइरहेको छ।  

कतिपयको तर्क हुने गर्छ–आगो लगाएपछि वन सफा हुन्छ, झ्यासले अल्झाउन्न। घाँस पलाउँछ। यदि कसैलाई वन र पाखो सफा नै राख्न मन भए पातपतिंगर र झ्यास सोहोरेर ल्याउनुस् र जैविक मल बनाए भइहाल्यो। बारीमा छापो हालेर अदुवा, पिँडालुलगायत खेती गर्न पनि सकिन्छ। छापोको प्रयोजन अन्य खेतीमा पनि हुन्छ नै। होइन भने पातपतिंगर जंगलमै रहन दिऊँ। समय आएपछि ती आफैँ गल्छन्। पातपतिंगर गल्दै जाँदा त्यो आफैँ मल बन्छ र जंगलका बिरुवालाई पुनः मल लाग्छ। 

खेतीपातीमा अनुभव भएकालाई याद हुन सक्छ, बारीमा एक थुप्रो झ्यास पोलेको ठाउँमा एक सिजनसम्म कुनै झार उम्रन्नन्। त्यस्ता ठाउँमा एक बोट गन्धेझार पनि धेरैपछि मात्र उम्रन्छ। आगो लागेको ठाउँमा सबै वनस्पति र झारको बीउ डढ्ने भएकाले यसो भएको हो। जंगलमा पनि त्यही हुने हो। डढेलो लागेको ठाउँमा बिउ/बियाँबाट नयाँ बिरुवा उम्रन पाउँदैनन्। यसरी वनजंगलको नियमित वृद्धिमा डढेलोले असर पार्छ।

किसानले निजी जग्गाको दुई चार रुख काटेर घरगोठ बनाउँदैमा जंगल उत्पातै सखाप नभई हाल्ला। तर रुख काटेर निकासी गर्ने, तर नयाँ बिरुवा हुर्काउन छाडियो भने समस्या चर्कन्छ। निजी जमिनको रुख काट्दै गर्दा कृषिभूमिभन्दा परको सार्वजनिक जमिनमा बोटबिरुवा हुर्काउने अभियानबारे कसैले अभियानहरू चलाएको पनि सुनिएको छैन। तर रुख काट्ने अभियान नै चलाउँदा भने त्यसले सार्वजनिक रूपमा गलत सन्देश जान्छ। कतिपय किसानले आफ्नो बाली वरपर रुख बुट्यान भएकै कारण बाँदर आएको गलत निचोड निकाल्न सक्छन्। तर जंगलमा खानेकुरा सकिएकै जोखिम मोलेर बाँदर बस्तीतिर छिरेका हुन्।

खेतीयोग्य जमिन वरपर होचा, बुट्यानजन्य बिरुवा लगाउने र खेतीबाट परको जमिन–जंगलमा अग्ला र ठूला रुख रोपी हुर्काएर समस्याको समाधान खोज्न सकिन्छ। तर यसमा कति र कुन हदसम्म भन्नेबारे पर्याप्त सतर्कता अपनाउनु पर्ने हुन्छ। नयाँ रुख रोप्दा जंगलको छ्यासमिसे र रैथाने बोटबिरुवाको अस्तित्वलाई यथेष्ट मात्रामा जोगाउनै पर्छ।

वन पैदावारको प्रयोग गर्दै गर्दा थप रुख र बन पनि सँगसँगै हुर्काउँदै जानु अत्यावश्यक हुन्छ। प्रयोग र संरक्षणबिच मनासिब तालमेल हुनैपर्छ। जलवायु परिवर्तनको यो चुनौतीपूर्ण क्षणमा यथासम्भव कार्बन उत्सर्जन नगरौँ। गर्नै पर्दा सीमाभित्र गरौँ। तर जंगलका जंगल डढाएर शून्य उपलब्धिको लागि कार्बन उत्सर्जन नगरौँ।


सम्बन्धित सामग्री