काठमाडौँ– गुल्मीको इश्मा गाउँपालिका–२ मा शनिबार भएको आगलागीमा १३ घर र २५ गोठ जले। त्यही दिन अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको आगलागीमा २० घरगोठ जले। दुवै ठाउँमा लागेको आगोको प्रकृति एउटै थियो।
गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो बतासले बस्तीमा ल्याउँदा घर र गोठमा आगलागी भएको इश्मा गाउँपालिका–२ का वडाध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए। “वनमा बीचबीचमा अग्निरेखाहरू छन्। सडकले पनि अग्निरेखाको काम गरेका छन्,” आचार्य भन्छन्, “तर हावाहुरीले आगो नियन्त्रण गर्न नै सम्भव नहुँदो रहेछ। हिजो आगलागी भएको क्षेत्रमा यो सिजन सधैँ आगो लाग्छ तर बस्तीमा आउँदैन थियो। हावाले गर्दा आगोको मुस्लो गाउँ पस्यो।”
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मात्र देशभर ७८ ठाउँमा आगालागीका घटना भए। अहिलेसम्म प्राप्त भएको विवरणअनुसार ती आगलागीमा ७७ वटा संरचना नष्ट भएका छन्। १२० पशुचौपाय मरेका छन् भने करिब १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा सात जना घाइते भएका छन्।
देशभर शनिबार भएका आगलागीका घटनामध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा छन्। लुम्बिनीमा ४६ ठाउँमा आगलागी हुँदा ७१ वटा घर र गोठ जलेका छन्। आगोमा जलेर ११८ पशुचौपाया मरेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार मात्र १३ ठाउँमा आगलागीमा ८३ घरगोठ जल्नुका साथै ७५ पशुचौपाया मरेका छन्।
किन बढे आगलागीका घटना?
गएको वैशाख १ यता एक हप्तामा आगालागीमा परेर देशभर पाँच जनाले ज्यान गुमाए भने २१ जना घाइते छन्। तीमध्ये धेरै घटना लुम्बिनी र गण्डकी प्रदेशमा भएका छन्। जबकि चैतमा पानी पर्नुअघि आगलागीका धेरै घटना पूर्वीनेपालमा भएका थिए।
गुल्मीको इश्मा–२ का वडाध्यक्ष आचार्य लामो समयदेखि वर्षा नहुँदा आगलागीका घटना बढेको बताउँछन्। “पहिला हिउँदे वर्षाले हरियाली हुन्थ्यो, आगलागी कम हुन्थ्यो। असोजयता वर्षा नै भएको छैन। माटो बल्ने अवस्था भयो,” उनी भन्छन्, “मानिसहरूले अन्धविश्वासका कारण पनि जंगलमा आगो लगाउँछन्, अनि हावाले गाउँसम्म ल्याउँछ।”
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बिहानैदेखि घाम लाग्दा पृथ्वीको सतहमा रहेको वायु माथि जाने र खाली भएको ठाउँमा चिसो वायु आउने प्रक्रियाले हावा चल्छ। “तराईमा अहिले तातो हावा चलेको छ, यो दिल्ली राजस्थानतर्फबाट आएको हो। पहाडको सन्दर्भमा स्थानीय वायुको प्रभावले पनि हावा चलेको हुन सक्छ,” उनी भन्छन्।
अर्घाखाँची र गुल्मीसहित लुम्बिनी प्रदेशमा असोजदेखि पानी परेको छैन। अर्घाखाँचीको पाणिनिका गणेश पोखरेल पहाडमा पनि तराईमा जस्तै गर्मीको महसुस भएको बताउँछन् । “माटो पनि आगोले बल्छ जस्तो भइसक्यो, हरियाली केही छैन। उराठ छ। रुख बिरुवा सुके। झरेर सुकेका पात मात्र छन्,” उनी भन्छन्।
बसाइँसराइले झाडीसँगै जोखिम बढ्यो
पहाड र तराईलाई जोड्न चुरे क्षेत्र तथा मानव वस्तीबाट टाढा रहेको महाभारतमा जानाजान डढेलो लगाइन्छ। वनबाट काठदाउरा ल्याउन र वन्यजन्तुको सिकार गर्न डढेलो लगाउने प्रचलन छ। तर यसअघि डढेलो कमै मात्र बस्तीसम्म पुथ्यो।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुख्खा बढ्नु र मानिसहरूको बसाइसराइँ हुनु आगलागी र क्षतिको प्रमुख कारण भएको बताउँछन्। उनका अनुसार बस्तीमा मान्छे हुँदा अन्न फल्ने बारीले पनि अग्निरेखाको काम गर्थे। बाँझो रहेका बारीमा अहिले झाडी मात्र छन्।
“बस्तीमा मान्छे धेरै हुँदा गोठमा डिँगा बाछाहरू हुन्थे। वनमा गाईबस्तु चर्थे। मानिसहरूको आवश्यकताले स्याउला सोत्तर भुईंमा खस्न पाउँदैनथ्यो। मान्छे नभएपछि वनमा पतिंगर थुप्रियो,” प्रजिअ शर्मा भन्छन्, “अहिले त बस्तीका घर नै जंगलसँग जोडिएका छन्। डढेलो लाग्यो भने एकैछिनमा घरमै आइपुग्छ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार पहाडका ३४ जिल्लाको जनसंख्या ऋणात्मक छ। अर्थात् ती जिल्लाका मानिस थातथलो छोडेर बसाइँ सरेका छन्। यसमा मध्यपहाडका खासगरी अहिले आगलागीबाट बढी प्रभावित जिल्लाहरू भोजपुर, ताप्लेजुङ, गुल्मी, अर्घाखाँची, पर्वत, बाग्लुङ, पाल्पालगायत जिल्ला पर्छन्।
काम गरेन योजनाले
फागुन–चैतमा डढेलोको प्रकोप शुरू हुनुअघि डढेलो न्यूनीकरण गर्ने उद्देश्यले डढेलो सप्ताह मनाइन्छ। डढेलो सप्ताहमा हरेक जिल्लामा र्याली, अन्तरक्रिया र छलफल हुन्छन्। तर डढेलोको प्रकोप र त्यसबाट हुने क्षति हरेक वर्ष बढ्दो छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल डढेलो न्यूनीकरणका लागि जिल्ला तथा पालिकामा बनाइएका कार्ययोजनाले काम नगरेको बताउँछन्। “स्थानीय पालिकामा कसरी डढेलो नियन्त्रण गर्ने भन्ने कार्ययोजना पनि बनाइएको हो तर ती योजनाले काम गरेनन्,” उनी भन्छन्, “जंगलको आगो बस्तीमा नआओस् भनेर फायरलाइन बनाइएको थियो। सडकले आफैँमा फायरलाइनको भूमिका खेल्थ्यो। तर हावाले आगोलाई उडाएर बस्तीसम्म ल्याइपुर्यायो।”
पहाडका गाउँमा आगो नियन्त्रणका लागि पानीको स्रोतहरू नहुँदा पनि समस्या भएको उनी बताउँछन्। “गाउँमा पानी छैन। सुख्खा मात्रै छ। युवाहरू गाउँमा छैनन्। घरमा भएका महिलाले मात्र कति गर्न सक्छन्? ठूलो समस्या भयो,” पोखरेल भन्छन् ।
बढ्न सक्छन् घटना
जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरूका अनुसार आउँदो १० दिनसम्म पानी पर्ने सम्भावना निकै कम छ। पानी नपर्दा तापक्रम अझ बढ्ने निश्चित छ। त्यसले आगलागीका घटना बढाउन सक्ने मौसमविद् वरुण पौडेल बताउँछन्।
अहिले नै तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि रेकर्ड गरिएको छ। भैरहवाको तापक्रम शनिबार ४३.६ र आइतबार ४४ डिग्री सेल्सियस थियो। अन्य जिल्लामा पनि तापक्रम उकालो लागिरहेको छ।
भारतको जल तथा मौसम विज्ञान विभागले तापक्रम वृद्धिले रेकर्ड राख्ने र ‘हिट वेभ’ बढ्ने चेतावनी जारी गरेको छ। भारतका पश्चिम बंगालसहित आठ ठाउँमा औषतभन्दा ८ डिग्री सेल्सियस तापक्रम बढी रेकर्ड गरिएको छ।
भारतको जल तथा मौसम विज्ञान विभागले अप्रिल–जुनसम्म अत्यधिक गर्मी बढ्ने चेतावनी पहिल्यै जारी गरेको थियो। बढ्दो तापक्रम र तातो हावाले भारतमा चलिरहेको चुनावलाई समेत प्रत्यक्ष असर पुग्ने जनाइएको छ।
गर्मीकै कारण मानिसहरूले आर्थिक नोक्सानी बेहोर्ने विभिन्न समाचार एजेन्सीले प्रकाशित गरेको रिपोर्टमा जनाइएको छ। समाचार एजेन्सी एपीले जर्मनस्थित एक अनुसन्धान प्रतिवेदनलाई आधार मानेर तयार गरेको समाचारअनुसार जलवायु परिवर्तनले सन् २०४९ सम्म वार्षिक ३८ ट्रिलियन डलरको आर्थिक नोक्सान पुग्नेछ।