Thursday, January 16, 2025

-->

फूलमालाले नछोप्ने लज्जा!

जिल्ला कार्यसमितिले जारी गरेको सूचनामा परराष्ट्रमन्त्री देउवाको स्वागतमा ‘डडेलधुरा बसपार्कमा फूलमाला लिएर उपस्थित हुनु’ भन्ने निर्देशनले कांग्रेस अझै सिमसिमराजाकै पालामा रहेछ भन्ने खुल्न आयो।

फूलमालाले नछोप्ने लज्जा

‘नेपाल अराजकताको डिलमा छ’ भन्दै प्राध्यापक पीताम्बर शर्माले कात्तिक पहिलो साता पत्रकार सुधीर शर्मासँग गरेको बातचित अझै चर्चामा छ, अलिक निराशाजनक भाष्यमा। 

लगत्तै निराशा चिर्नेगरी उदाहरणहरू आउन शुरू भइहाले मञ्चबाट। मीनबहादुर जग्गा प्रकरणदेखि गिरीबन्धुको नीतिगत निर्णय खेलाँचीसम्मका आफ्नो सेरोफेरोको ‘धुवाँ धुलो’ बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली प्रवचक बनेर उत्रिहाले, ‘तपाईंका घरगाउँमा पक्की सडक गएको छ, सञ्चार–स्वास्थ्य–शिक्षाका सुविधा घरआँगनमा पुगेको छ! के यो परिवर्तन होइन? आशा होइन? सपना होइन?’

पक्राउ पुर्जी जारी भएरै पनि ढाकछोप गरिँदै गरेको बाल संगठन प्रकरणको ‘नाता’ बिर्सेर उपप्रधानमन्त्री प्रकाशमान सिंहको आत्मरति सुनियो, ‘सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइगएको छैन।’

बसाल्न नसकेको पालो, पद्धति र प्रक्रिया भुल्दै युवापुस्ताका प्रतिनिधि, स्वास्थ्यमन्त्री प्रदीप पौडेल भन्छन्, ‘सरकारी अस्पतालमा शल्यक्रियाका लागि ३ महिनाभन्दा पछि पालो परे मेरो फोन नम्बर ९८५१***** मा फोन गर्नुहोला।’

आफू मतदातामाझ गएर चुनाव जितेको अनुभव शून्य रहँदारहँदै पनि परराष्ट्रमन्त्री आरजु राणा देउवा कति सजिलै भन्दै छिन्, ‘हाम्रो म्यान्डेट लोकतन्त्र बचाउने छँदैछ तर अहिले हुने गरेको होडबाजीको राजनीति सामाजिक सञ्जालमा हेर्दा ऊजस्तो राजनीति गर्ने नेता अरू छैन कि जस्तो देखिन्छ। तर मतदानमा भोट पाउँदैन, वडामै हार्छ। यस्तो किसिमको हावा राजनीतिभन्दा पर रहनुपर्छ।’

यति सुनेपछि मनमा अनेक तरंग उब्जिए। ‘जीहजुरी’ युगदेखि आजैसम्मका अनेक प्रकरण आइरहे। कुन तागत र दम्भले हाम्रा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म  यस्ता तर्क गरिरहेछन् भन्ने लाग्यो। फेरि उनै पीताम्बर शर्मालाई उद्धृत गरौँ, ‘राजतन्त्र गए पनि सामन्तवाद यथावत् छ। अहिलेका पार्टीका नेता सबै फ्युडल–लट हुन्। ओलीलाई हेर्नुहोस्, प्रचण्डजी र देउवाजीलाई हेर्नुहोस्। मैले त सबैलाई जमिनदार देख्छु। तलको मान्छेलाई कार्यकर्ता भन्ने, तिनको हैकम तलकाले मान्नुपर्ने। बर्खिलाप जानेलाई कारबाही गर्ने, त्यही त हो। दिमाग र सोचमा क्रान्ति आएन क्या!’

⁎⁎⁎
स्वाभाविक छ, अनेक तरतिबका भरमा पनि भारत भ्रमणको साइत नजुर्दा, ‘जता अनुकूल हुन्छ, त्यतै जाने हो’ भनेर गफ दिए पनि प्रधानमन्त्री ओलीका लागि आसन्न चीन भ्रमण त्यति सहज देखिन्न। चीनका कागजी वाचा हेर्दा मात्रै पनि चीनले दिने भनिएको अर्बौं अनुदान नेपाललाई दिन बाँकी छ।

कस्तो स्थिति छ भने, प्रधानमन्त्री ओलीको आसन्न (मंसिर १७–२१)को जनमत र जनभार जताउन पनि अहिले कांग्रेस–एमाले संयन्त्र बनेको छ। (यो पढ्नुहोस्: प्रधानमन्त्रीको चीन भ्रमण: ऋणलाई अनुदानमा बदल्ने ‘नजिर बसाल्न’ तयार होला बेइजिङ?)

विडम्बना कस्तो छ भने, यस्तो सरकारी तहको विशिष्ट भ्रमणको तयारी तथा आकलनबारे स्वयं परराष्ट्र मन्त्रालय जानकार हुनुपर्नेमा कूटनीतिक निकायका अधिकारीहरू पूरै ‘बेखबर’ छन्। परराष्ट्र प्रवक्तादेखि चीन शाखा हेर्ने सहसचिव र उपसचिव ‘तैँ चुप मैँ चुप’ स्थितिमा छन्। ‘हो र? हामीलाई हाइ–कमान्डबाट जानकारी आएकै छैन’, परराष्ट्रमा चीन शाखाका एक अधिकारी भन्छन्। 

कतिसम्म लत्रिएको अवस्था छ भने पार्टीगत संयन्त्रभन्दा अघि बढेर परराष्ट्रका कर्मचारी कहीँकतै केही बोल्न सक्ने अवस्थामा छैनन्। चीन भन्नासाथै बीआरआई कि पोखरा एयरपोर्ट, चुच्चे रेल कि नाथुला नाकाको चर्को मनोदशामाझ अधिकांश कर्मचारी रुमल्लिएका छन्।  

समाजशास्त्री बिहारीकृष्ण श्रेष्ठदेखि कृष्ण खनालसम्मको विवेकमा यो मनोदशा ‘स्वविवेक र आत्मनिर्णयको असंगत अवस्था र अविवेकी क्षण’ हो। कतिसम्म भने, गत आइतबार कार्यालय खुल्नासाथ परराष्ट्र मन्त्रालय पुग्दा त्यहाँका सम्बद्ध विभागीय कर्मचारी ‘प्रधानमन्त्री चीनअघि भारत जाने’ भन्ने मनोसंवादयुक्त समाचारको रौँ चिरा गर्न व्यस्त थिए। प्रधानमन्त्री चीन जाँदै छन् भन्ने सूचनाको सम्प्रेषण आइतबारसम्म पनि परराष्ट्रको सम्बद्ध शाखामा नहुनु त्यसको कारण थियो। 

⁎⁎⁎

यही माहौलमाझ आइतबार गृहदेखि परराष्ट्र मन्त्रालयसम्म परराष्ट्रमन्त्री आरजु राणा देउवासम्बन्धी एउटा समाचार चर्चामा रह्यो।

परराष्ट्रमन्त्री गृहजिल्ला डडेलधुरा जाने भएपछि (कात्तिक ३०) जिल्ला कार्यसमितिले जारी गरेको सूचनामा उहाँको स्वागतमा ‘डडेलधुरा बसपार्कमा फूलमाला लिएर उपस्थित हुनु’ भन्ने निर्देशनले कांग्रेस अझै सिमसिमराजाकै पालामा रहेछ भन्ने खुल्न आयो। कांग्रेस जिल्ला कार्यसमितिका अध्यक्ष भीमबहादुर साउदको निर्देशनमा बसपार्कमा मुस्किलले ५० जना कार्यकर्ता फूलमालासहित भेला भए।  

तर यस खाले बेथितिविरुद्ध बोल्ने अझै पनि कांग्रेसमा रहेछन्। कांग्रेस नेता गोविन्दराज पोखरेलले भने, ‘सरकार बनाऔँ, किनकि सांसद संख्याको कुरा छ। तर महासमितिमा संगठन गर्ने कार्यकर्ताको भावनाविपरीत, जोसँग वैचारिक र सांगठनिक रूपमा प्रतिस्पर्धा छ, उसैसँग वडासम्म सहकार्य गर्न संयन्त्र बनाउने? मलाई त लाज लागेर आयो। ३६ सालको बीपीको अडान सम्झनेले यो संयन्त्रमा बस्दैन।’ 

कांग्रेससँग ‘आज’ नभए पनि ‘हिजो’ त थियो। प्राध्यापक डीपी भण्डारीले आफ्नो निबन्ध ‘गरिबसँग विश्वेश्वर’मा लेखेका छन्, “गरिबसँग विश्वेश्वर एक नयाँ नारा अथवा एक नयाँ उद्घोष।...हाम्रो पञ्चायतकालीन र त्यसपछिका प्रजातान्त्रिक पुनर्स्थापनापछिका घुस्याहा, चाकरीवाज, नैतिक पतनको चरम बिन्दुमा पुगेका करोडपति, अर्बपति दयनीय भिखारीहरूभन्दा लाखौँ गुणा सम्पन्न थिए बीपी कोइराला। बीपीले भौतिक सम्पन्नता नरोजेर भौतिक विपन्नता रोजे। किनकि बीपी कुरूप परिग्रहमाथि विश्वास गर्दैनथे।” 

⁎⁎⁎

स्वभावतः आफ्नो हित र स्वार्थका हकमा जे जता ठीक हुन्छ, त्यतै भ्रमणमा जाने प्रधानमन्त्री ओलीको तर्क एकदमै जायज छ। राष्ट्र–राष्ट्रियताले ओतप्रोत पनि! तर, यथार्थ बुझ्ने हो भने यो उही 'चिसो पानीले भए नि नुहाउँला' भन्ने नै हो।

त्यस कारण पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेको ‘चाइना–कार्ड’को कथनी त्यति असंगत भने होइन। तत्कालीन चीनका लागि राजदूत डा.महेशकुमार मास्केका अनुसार सन् २०१६ मा पनि ‘चाइना–कार्ड’को उपयोग गर्न खोजिएकै हो। त्यसबेला पनि चीन जाने उद्घोष बाहिर आएपछि मात्रै २०७२ फागुनमा (भारतीय नाकाबन्दीताका) प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका बाहिरिएको थियो, एकाएक।

यस कारण नचाहिँदो भ्रम र हकदाबी नराखेकै बेस हुन्छ। भ्रम, झुट र तिलस्मी कुराले हाम्रा नेता–राजनेताको वर्चस्व थेगिन्न। यो अपरम्पार झुट र तिलस्मी सपनाबारे कवि लक्ष्मण गाम्नागेले हालै आयोजित 'सिस्नुपानी देउसीभैलो'मा भनेका छन्—
“के थाहा अर्को जुनीसम्ममा
यो पनि छुट्याउन सकिन्थ्यो कि
प्रजातन्त्रवादी हो वा सामन्त
सामन्त हो वा सर्वहारा
सर्वहारा हो वा बादशाह
जुँगा उस्तै छन्, लुगा उस्तै छन्
घरबार उस्तै छन्, दरबार उस्तै छन्।
छुट्याएर चिन्न, चिनेर भोट हाल्न पनि
यही आकाश मुन्तिर, यही धर्तीमा
फेरि जन्मिनै पर्ने भयो।”


सम्बन्धित सामग्री