Wednesday, July 24, 2024

-->

मनसुनलाई विपद् होइन सहकालको रूपमा बुझौँ

मनसुनलाई चुनौती र प्रकोपको जोखिम मान्दा प्राकृतिक उपहारप्रति नकारात्मक भाव पैदा हुन्छ। यसलाई प्राकृतिक स्रोतको पुनर्भरण गर्ने प्राकृतिक प्रणाली भनेर बुझ्दा जलवायु परिवर्तनका असर कम गर्न मद्दत पुग्छ।

मनसुनलाई विपद् होइन सहकालको रूपमा बुझौँ

आजभोलि मनसुनको चर्चा प्राय: प्रकोप र विपद्सँग जोडेर हुने गर्छ। मनसुन शुरू हुनु अघिपछि सञ्चारमाध्यममा दोहोरिएका हेडलाइनले यही संकेत गर्छ। जलवायु, पानी र प्रकोप क्षेत्रमा संलग्न सञ्चारमाध्यम र एजेन्सीहरूले प्रायः पहिरो र बाढीजस्ता द्रुत घटनाबाट हुने क्षतिहरूलाई उद्धृत गर्दै मनसुनलाई 'विपद्को मौसम' भनी चित्रण गर्छन्। तर मनसुनमा हुने अधिकांश हानिनोक्सानीका घटना गैर-मनसुनका आठ महिनामा गरिएका अनुचित कार्यहरूको परिणाम हुन्। बास्तवमा गलत नीति र अभ्यासको शृंखलाद्वारा विपद्का घटनाहरूको बीउ गैर-मनसुन महिनाहरूमा रोपिन्छ।

मनसुन आफैँमा सुकेका र सुक्न लागेका पानीका मूल बिउँताउने, डढेलोले पिल्सिएका वन, वनस्पति र वन्यजन्तुलाई नयाँ जीवन दिने र करोडौँ कृषकको प्रार्थना साकार बनाउने प्रणाली हो। यो यथार्थलाई अतित देखि नै महसुस गरेर मनसुनको आगमनलाई 'सहकाल' अर्थात् शुभ समयको उदय मानेर उत्सव मनाउने चलन बसेको हो। रोपाईजात्रा, मछिन्द्रनाथको रथ तान्ने र भोटो देखाउने जात्रा मनसुनको आगमनसँग जोडिएका चाडपर्व हुन्।

मध्य जेठदेखि मध्य असोजसम्मका चार महिनामा पर्ने पानी नै नेपाललगायत दक्षिण एशियाली सभ्यताको मूल आधार हो। वर्षभरि हुने कुल वर्षामध्ये करिब ८० दिनमा ८० प्रतिशतभन्दा बढी वर्षा हुन्छ। त्यसैले यो अवधि वर्षाको समय हो। सारमा, मनसुनलाई समस्या, चुनौती, प्रकोप वा विपद्को जोखिमसँग जोडेर हेर्दा प्राकृतिक उपहारप्रति नकारात्मक भाव पैदा हुन्छ। यो त निख्रिएका प्राकृतिक स्रोतको पुनर्भरण गर्ने प्राकृतिक प्रणाली हो। यसरी बुझ्दा सकारात्मक भाव पैदा हुनुका साथै जलवायु परिवर्तनबाट परेका असर कम गर्न मद्दत पुग्छ।

दक्षिण एशियामा मनसुन आगमनको उत्सव मनाउनुको अर्थ गर्मी र सुक्खा मौसमबाट छुटकारा पाउनु मात्र होइन, यसले सम्पूर्ण जीवन प्रणालीलाई पुनर्स्थापन, पोषण र सबलीकरण गर्छ। सृष्टी नै खडा गर्ने गरी काम गर्छ जसको आधार अन्न र फल उत्पादनका लागि उपयुक्त आर्द्रता हो। यसले अग्ला पहाडदेखि तराईसम्मको पर्यावरण र समृद्ध जैविक विविधतामा प्राण भर्दछ अनि विकास र समृद्धिको नयाँ ढाँचामा जीव-जगत् हुर्कन र बढ्न थाल्छन्। 

जलवायु परिवर्तनले कृषि र पानीका स्रोतमा पारेको असरको क्षतिपूर्ति गर्ने अवसर पनि हो मनसुन। दशकौँदेखि आफ्नो पुर्खौली थलोमा रहेर खेती गरिरहेका किसानले यो यथार्थ आत्मसात गरेरै आफ्नो ज्ञानको चुपचाप उपयोग गरिरहेका हुन्छन्। उनीहरूलाई जलवायुका उग्ररूपहरूको सामना गर्न उल्लेख्य बाह्य सहयोग चाहिएको छ जसबाट आफ्नो पेसा फस्टाउने वातावरण निर्माण गर्न आवश्यक ज्ञान, सीप र प्रविधि प्राप्त गर्न सक्छन्। यो जलवायु अनुकूलनका लागि गरिने अभ्यास हो। किसानका लागि धेरै र थोरै पानीको चरम अवस्थालाई सन्तुलन मिलाउन सक्नु नै उपयुक्त समाधान, जलवायु अनुकूलन हो।

कौतुहलताबस मैले सामाजिक सञ्जालमा ‘मनसुनको आगमन भन्नाले तपाईंको मनमा कस्तो भाव आउँछ?’ भनी एक मत सर्वेक्षण गरेको थिएँ। तीनवटा विकल्पहरू दिइएको थियो: १) बाढी र पहिरो प्रकोपको मौसम, २) कृषि गतिविधिहरू तीव्र पार्ने समय, ३) आपतकालीनबाहेक यात्रा स्थगित। तिनीहरूमध्ये आधाभन्दा बढीले १ नम्बर छनोट गरे। त्यसपछि मात्र २ र ३ नम्बर छनोटमा परे। यसको अर्थ धेरैका लागि मनसुन भनेको प्रकोप र विपद्को पर्याय बनिसकेको रहेछ जबकि खेतिपातिको समय हो भनेर बुझ्ने एकतिहाइभन्दा कम। यद्यपि यो वैज्ञानिक ढाँचाले गरिएको सर्वेक्षण थिएन, यसले सामान्य धारणाको संकेत भने दिन्छ। 

मेरो विचारमा वर्षायामलाई विपद्को समय भनेर चित्रण गर्नु अनुचित मात्र होइन नैतिक रूपमा पनि गलत हो। कृषि र जल व्यवस्थापन क्षेत्रहरूमा जलवायु परिवर्तनको असरलाई मत्थर पार्ने सम्भवतः उत्तम समय नै वर्षा मौसम हो जसले पानीको तनाव र खाद्य सुरक्षाका बढ्दो चुनौतीहरूलाई पार गर्न मद्दत गर्छ। मनसुनमा नै सुधारिएको कृषि र पानी व्यवस्थापनका अभ्यासमार्फत जलवायु प्रभावहरू सन्तुलित गर्ने अवसरहरूबाट बढी फाइदा लिन सकिन्छ। युवापुस्तालाई मनसुनका यी सकारात्मक पक्षबारे सचेत गराइएन भने आमधारणा जस्तै 'मनसुनमा केही गर्न सकिँदैन, प्रकोपको समय हो' भन्ने जस्ता नकारात्मक भावना लिएर उनीहरू पलायन हुन सक्छन्।

विश्वमै दक्षिण एशिया मात्र यस्तो क्षेत्र हो जहाँ थोरै क्षेत्रफलमा करोडौँ जनसंख्या बसोबास गर्न सम्भव छ जसको मुख्य कारण यहाँको नियमित र भरपर्दो मनसुनी वर्षा हो। बास्तवमा,  यो प्रकृतिको सबैभन्दा ठूलो उपहार पनि हो।  सुक्खा हिउँद र वसन्त ऋतुमा रित्तिएका जमिन र जमिनमुनिका सबै पानीका स्रोतहरू भरिन्छन्। मनसुनकै कारण वर्षको बाँकी समयका लागि यही रीतले खाद्यान्न भण्डार भर्न पनि सम्भव भएको छ।

यो क्षेत्रमा घना जनसंख्या हुँदा उष्णकटिबंधीय धूपको चर्को गर्मीबाट मनसुनले यहाँका लाखौं बासिन्दाहरूलाई बचाउँछ। त्यसैले चाडपर्वको उत्साह झैँ सबै कुरा छाडेर खेतीपातीका लागि खेतबारीमा दौडिएका हजारौँ कृषकहरूको कृषि गतिविधिलाई समाचार सञ्चारमाध्यमहरूले पनि चित्रण गर्न सक्नु पर्छ ।

(जल तथा मौसम विश्लेषक दाहाल नेपाल पानी सदुपयोग फाउन्डेसनमा आबद्ध छन्।)


सम्बन्धित सामग्री