Sunday, May 12, 2024

-->

शिक्षकको प्रोत्साहन र अपेक्षाले विद्यार्थीमा पार्ने प्रभाव

विद्यार्थीको कमजोर नतिजाका कारक तत्त्व अनेकन् हुन सक्छन् र त्यसमा पारिवारिक अवस्था पनि एक हो। तर त्यसो हुँदैमा विद्यार्थीलाई सहयोग गर्नै सकिँदैन भन्ने सोच शिक्षकहरूले लिनु हुँदैन।

शिक्षकको प्रोत्साहन र अपेक्षाले विद्यार्थीमा पार्ने प्रभाव

नोबेल पुरस्कार विजेता अभिजित बनर्जी तथा इस्थर डफ्लोले लेखेको पुस्तक ‘पुअर इकोनोमिक्स’मा अभिजित बनर्जीको विद्यालयको पहिलो दुई कक्षाको उपलब्धि र शिक्षकको प्रतिक्रियाबारे उनका एक शिक्षकले यसो भनेका छन्, “कक्षा एकमा आफ्नो गृहकार्यहरू गर्न ढिलो हुँदा अभिजित कक्षाका विद्यार्थीमध्ये सबैभन्दा तेज भएका कारण या सोही कारण उनलाई अल्छी लागेकाले गृहकार्य नगरेको हुनसक्ने विश्वास शिक्षकले लिएका थिए। नतिजा स्वरूप उनलाई माथिल्लो कक्षामा चढाइयो र त्यहाँ पनि उनी तत्कालै गृहकार्यमा ढिला देखिए। स्थिति यस्तोसमेत आयो कि निज शिक्षकले आफूभन्दा माथिका शिक्षकहरूले कक्षा चढाउने निर्णयबारे प्रश्न गर्लान् भनी उनको गृहकार्य नै लुकाइदिए।” लेखकद्वय अगाडि भन्छन्, "यदि, ती विद्यार्थी अभिजितजस्तो दुई जना प्राज्ञिकहरूको छोरा नभएर कुनै फ्याक्ट्रीमा काम गर्ने बाबुआमाका छोरा भएको भए उनलाई तत्कालै अतिरिक्त कक्षामा पठाइन्थ्यो वा विद्यालय छोड्न भनिन्थ्यो।"

पिग्मेलियन र गोलेम प्रभाव
‘पिग्मेलियन’ प्रभाव भनेको उच्च अपेक्षाले कुनै क्षेत्रमा सुधारपूर्ण नतिजा हासिल गर्ने मनोवैज्ञानिक अवस्था हो। यसको नाम ग्रीक मिथकका मूर्तिकार पिग्मेलियनको कथाबाट आउँछ। उनले एउटी महिलाको मूर्ति बनाएका थिए र त्यसप्रति धेरै मुग्ध भए। मूर्तिप्रतिको प्रेमले पिग्मेलियनमा मानिसलाई माया गर्न नसक्ने अवस्था आयो। उनले त्यसपछि माया र प्रेमकी देवी एफ्रोडाइटको आराधना गरे। देवीलाई पिग्मेलियनप्रति दया जाग्यो र पिग्मेलियनले बनाएको निर्जीव मूर्तिलाई जीवित व्यक्ति बनाइदिइन्। त्यसपछि पिग्मेलियन तथा मूर्तिबाट मानव जीवन पाएकी स्त्रीबीच विवाह भयो।

माथि उद्धृत गरिएको अभिजितको पहिलो कक्षामा शिक्षकहरूले उनीमाथि राखेको धेरै अपेक्षाले उनीमाथि कति सकारात्मक प्रभाव पर्‍यो, त्यसबारे उल्लेख गरिएको नभए पनि उनी नोबेल पुरस्कार विजेता बन्ने बाटोमा अगाडि बढ्दा त्यसले नराम्रो भने गरेन भन्ने आशय राखिएको छ। 

यसको विपरीत कम अपेक्षा राख्दा तल्लोस्तरको नतिजा हासिल हुन्छ र त्यस अवस्थालाई ‘गोलेम’ प्रभाव भनिन्छ। यी दुवै प्रभावहरूको उदाहरण मैले चिनेका एक जना साथीले बताएको अनुभवबाट पेस गर्छु। मेरो साथी ‘क’ र उनको साथी ‘ख’ले कुनै स्कुलमा एसएलसी सकेपछि प्लस टुमा अर्थशास्त्र ऐच्छिक लिएर पढे। ‘क’प्रति शिक्षकहरूको अपेक्षा कम सकारात्मक थियो भने ‘ख’प्रति बढी। स्कुलमा पढुन्जेल जहिले पनि ‘क’ले ‘ख’भन्दा तल्लो तहको नतिजा हासिल गर्थे।

१२ कक्षासरहको शिक्षा हासिल गरेपछि ‘क’ र ‘ख’ दुवै अमेरिकाको एउटा विश्वविद्यालय गए र त्यहाँ पनि उनीहरूले त्यही विषय पढे। अमेरिकामा ‘क’ र ‘ख’को बारेमा त्यहाँका प्राध्यापकहरूको पूर्वधारणा नभएकाले ‘क’ र ‘ख’ दुवैले प्राध्यापकबाट सहभागिताको आधारमा पाएको प्रेरणाले ‘ख’भन्दा राम्रो नतिजा ‘क’ले हासिल गर्न सक्यो। उक्त साथीले भनेअनुसार उसको मनोवैज्ञानिक स्थितिले गर्दा त्यो बेलासम्म  ‘ख’भन्दा राम्रो गर्न सक्छु भनेर ‘क’ लागेकै थिएन। 

तथ्यांक र मनोविज्ञानले के भन्छ?
मेरो साथी ‘क’जस्तै धेरै विद्यार्थीहरूले शिक्षकहरूबाट सकारात्मक अपेक्षा पाउँदैनन्। 'ग्लोबल स्कुल लिडर्स' नामक एक संस्थाले सन् २०२१ मा कम तथा मध्यम आय भएका केही देशहरूमा गरेको सर्वेक्षणको नतिजाअनुसार सबै विद्यार्थीहरूले सिक्न सक्छन् र यस प्रक्रियामा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा भने सबैले विश्वास गर्दैनन्।

सर्वेक्षणअनुसार स्कुलको नेतृत्वमा रहेका ७४ प्रतिशतले विद्यार्थीहरूको विद्यार्थीहरूले सिक्न सक्छन् भने। त्यस भनाइमा ४८ प्रतिशत शिक्षकहरू मात्रै सहमत छन्। विद्यालयको नेतृत्वमा रहेकाको ८० प्रतिशत तथा शिक्षकहरूको ६० प्रतिशतले मात्रै बालबालिकाको पढाइमा आफूहरूले प्रभाव पार्न सक्ने भन्दै आफ्नो क्षमतामा विश्वास व्यक्त गरेका थिए। तर बालबालिकाको पारिवारिक स्थिति चुनौतीपूर्ण हुँदा भने ३५ प्रतिशत विद्यालयका नेतृत्वकर्ता तथा १५ प्रतिशत शिक्षकहरूले मात्रै विद्यालयले अर्थपूर्ण रूपमा विद्यार्थीलाई सकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुरामा विश्वास गर्दा रहेछन्।  

शिक्षकहरूको अपेक्षाले विद्यार्थीहरूको शैक्षिक उपलब्धिहरूमा फरक पार्छ भन्नेबारे सन् १९६८ मा रोबर्ड रोजेन्थल तथा लेनोर ज्याकबसनले अर्को अध्ययन गरेका थिए। उनीहरूले प्राथमिक तहका विद्यार्थीहरूको बौद्धिक क्षमताको मापन गरेका थिए। त्यसमा उनीहरूले कक्षा शिक्षकलाई २० प्रतिशत विद्यार्थीहरू अति नै प्रतिभाशाली भनेर भनेका थिए भने त्यतिको अर्को समूहको बारेमा केही पनि नभनी उनीहरूलाई तुलनात्मक अध्ययन गर्ने कामका लागि चयन गरेका थिए। ती समूहलाई कुनै परीक्षण गरिएर चयन गरिएको थिएन र तथ्यांकीय रूपमा एक अर्काको क्षमतामा कुनै फरक थिएन। एक वर्षपछि दुवै समूहको बौद्धिक क्षमताको मापन गर्दा दुवैको उपलब्धिमा वृद्धि भयो, तर राम्रो भनिएको समूहले अर्को समूहको तुलनामा बढी नै उपलब्धि हासिल गर्‍यो। रोजन्थल तथा ज्याकबसनले उक्त फरकलाई 'पेग्मिलयन प्रभाव'को नतिजाको कारणले हो भनी उल्लेख गरेका छन्। 

मान्यताहरू स्वतः पूरा हुने भविष्यवाणी
सकारात्मक र नकारात्मक दुवै अपेक्षाले 'मान्यताहरू स्वतः पूरा हुने भविष्यवाणी' (सेल्फ फुलफिलिङ प्रोफेसी) लाई सही ठहर्‍याउँछन्। यस अवधारणाबारे समाजशास्त्री रोबर्ट के मेर्टनले सन् १९४८ मा एक आलेख लेख्दै त्यसलाई भविष्यमा सही बन्ने गलत विश्वास (फल्स बिलिफ द्याट बिकम्स ट्रु ओभरटाइम) भनी व्याख्या गरेका छन्। यसको शुरूआत भएपछि प्रतिक्रियाको एउटा चक्र बन्छ। जस्तो कि, शिक्षकको सकारात्मक अपेक्षाले गर्दा निजले आफ्ना विद्यार्थीलाई सुपरिवेक्षण गर्ने, प्रश्नहरू गर्ने, अवसरहरू प्रदान गर्नेमा पनि सकारात्मक प्रभाव पर्छ। त्यसले गर्दा उक्त विद्यार्थीले पनि आफ्नो क्षमताबारे सकारात्मक रूपले सोच्छ र तदनुरूपका गतिविधिहरू गर्छ। अन्ततः विद्यार्थीले कक्षा तथा जीवनमा पनि सकारात्मक नतिजा हासिल गर्छ। 

शिक्षकले कुनै विद्यार्थीसँग नकारात्मक अपेक्षा राख्नेबित्तिकै उनले ती विद्यार्थीलाई पर्याप्त ध्यान नदिने भए। त्यसपछि विद्यार्थीहरूले आफूलाई कमजोर ठान्ने भए। त्यो कुरा विद्यार्थीले गर्ने मिहिनेत र कामहरूमा पनि पर्ने भयो, परिवारले पनि उनीहरूबाट गर्ने अपेक्षा कमजोर हुने भयो। अन्ततः त्यसको नतिजा पनि नकारात्मक प्रभाव पार्ने भयो। यस पंक्तिकारले आफ्नो गाउँमा भएका तथा कामका लागि घुम्ने क्रममा पुगेका विद्यालयका कतिपय शिक्षकहरूले विशेषतः ‘सीमान्तकृत समुदायका बालबालिकाहरूले राम्रोसँग पढ्न सक्दैनन्’ भन्ने गलत धारणा राखेको पाइयो, ती शिक्षकहरूले त्यो धारणा आफूमा मात्रै राख्दैनन्, ‘तिमी राम्रोसँग पढ्न सक्दैनौ’ भनेर विद्यार्थीहरूलाई समेत हतोत्साहित बनाउने गरेका छन्।  

अन्य समुदायका बालबालिकाको तुलनामा ती बालबालिकाले कम उपलब्धि हासिल गरेका छन्। त्यसको लागि अन्य धेरै कारणहरू हुन सक्लान्, तर शिक्षकहरूको नकारात्मक सोचले पनि विद्यार्थीहरूको नतिजा र क्षमता विकासमा केही न केही भूमिका खेलेको छ। 

समाधान: संरचनागत तथा व्यक्तिगत पहल 
'स्वतः पूरा हुने भविष्यवाणी'को नकारात्मक दुष्चक्रमा कोही पनि पर्नु पर्दैन। यसले विद्यार्थीहरूको नतिजामा मात्रै होइन, तिनले जीवनमा हासिल गर्ने लक्ष्यहरूमा पनि फरक पर्न जान्छ। त्यसको समाधानका उपायहरू के हुन सक्लान् भनी हामी घोत्लिनुपर्छ। यस आलेखमा गरिएको सर्वेक्षणमा स्कुलको नेतृत्वकर्ताले 'विद्यार्थीले सिक्न सक्छन्' भन्ने ठानेको अवस्थामा त्यस स्कुलका ५४ प्रतिशत शिक्षकहरूले त्यसमा सहमति जनाएका थिए। तर नेतृत्वकर्ताले विद्यार्थीहरूबाट उच्च अपेक्षा नराख्दा पनि ३५ प्रतिशत शिक्षकले चाहिँ सकारात्मक अपेक्षा राख्ने रहेछन्। यस्तो स्थितिलाई सुधार गर्न विद्यालयको संरचना तथा त्यहाँ प्रयोग गरिने संरचना र संकथन (स्टक्चर र न्यारेटिभ)बाट हाल बोकिएका आस्था तथा मान्यताहरूलाई चुनौती दिनुपर्छ। त्यसका लागि वातावरण बनाउनु विद्यालयहरूको दायित्व हो। 

अर्को पक्ष, शिक्षक तथा विद्यालयको नेतृत्वकर्ताहरूलाई पिग्मेलियन तथा गोलेम प्रभावबारे पनि थाहा हुनुपर्छ। यसबारे शिक्षकलाई सेवापूर्व तथा सेवाको अवधिमा दिइने तालिमहरूमा प्रस्टसँग भन्नुपर्छ। विद्यालयका नेतृत्वकर्तालाई पनि यसबारे थाहा हुनुपर्छ र उनीहरूले त्यसका सकारात्मक पक्षहरूलाई संस्थागत गर्न पहल गर्नुपर्छ। विद्यार्थीको कमजोर नतिजाका कारक तत्त्वहरू अनेकन् हुन सक्छन् र त्यसमा विद्यार्थीको पारिवारिक अवस्था पनि एक हो। तर त्यसो हुँदैमा विद्यार्थीहरूलाई सहयोग गर्नै सकिँदैन भन्ने सोच शिक्षकहरूले लिनु हुँदैन। 

तर यो प्रक्रिया सरल मार्गमा मात्रै हिँड्छ भन्ने छैन। यसमा शिक्षक तथा विद्यार्थीहरूले सामना गर्न सक्ने चुनौतीहरू तथा चुनौती सामना गर्नेबारे पनि शिक्षकहरूलाई पूर्वजानकारी दिनुपर्छ। यसो गर्दा त्यो समस्या समाधान गर्ने बाटोमा सीमित रहन्छ, अन्य पक्षहरूतिर ध्यान मोडिएर त्यो सकारात्मक प्रक्रिया रोकिने स्थिति बन्दैन।


सम्बन्धित सामग्री