Friday, April 19, 2024

-->

गृहमन्त्रीलाई प्रश्न– शरणार्थी प्रकरणमा आरजु देउवा र मञ्जु खाँणविरूद्ध पक्राउ पुर्जी जारी हुन्छ?

घटनामा मुछिएका भनिएका अन्य व्यक्तिलाई पक्राउ गर्न थप प्रमाण जुटाउने प्रयास भइरहेको छ। बिनाप्रमाण हामीले कसैलाई पनि पक्राउ गर्न मिल्दैन।

गृहमन्त्रीलाई प्रश्न– शरणार्थी प्रकरणमा आरजु देउवा र मञ्जु खाँणविरूद्ध पक्राउ पुर्जी जारी हुन्छ

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानमा प्रहरीले नेपाल सरकारको बहालवाला सचिव, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार र एक पूर्वमन्त्रीका छोरा सहित ८ जनालाई नियन्त्रणमा लिइसकेको छ। ठगी तथा संगठित अपराध मुद्दा अन्तर्गत जारी अनुसन्धानका लागि प्रहरीले आइतबार अदालतबाट थप ७ दिनको समय पाएको छ।

पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका सांसद एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरज ‘फरार’ छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले पनि पैसा लिएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि यसबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। शरणार्थी बनेर अमेरिका जाने आशामा पैसा बुझाएका एक पीडितले संगठित गिरोहका सदस्यसँग गरेको कुराकानीमा राणा र खाँणलाई गरी साढे आठ करोड रुपैयाँ बुझाएको संवाद सुनिन्छ। पीडितहरूले प्रहरीलाई उजुरीसँगै बुझाएको उक्त अडियो हालै मात्र सार्वजनिक भएको हो।

योसँगै यस प्रकरणमा जोडिएका सम्भावित सबै ‘हाइ प्रोफाइल‘ व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिम्मेवारी स्वतः प्रहरीको काँधमा आएको छ। अब अनुसन्धान कसरी अघि बढ्ला? सत्ताधारी दलकै शीर्ष नेतृत्व समेत जोडिन सक्ने यस प्रकरणको अनुसन्धान शक्तिकेन्द्रको दबाबमा प्रभावित हुने त होइन? सर्वत्र उठिरहेको यसै प्रश्नको सेरोफेरोमा रहेर गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग उकालोका लागि दिपा दाहालले गरेको कुराकानीः

आफ्नै मन्त्रालयबाट शुरू भएको नक्कली शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रियामा  मन्त्रालयलाई कुनै अप्ठेरो त परेको छैन?
अप्ठेरो छ, चुनौती पनि छ। अहिलेको परिवेशबारे हामी जानकार छौँ। तथापि जतिसुकै चुनौती र अप्ठेरो भए पनि अपराधी र दोषीहरूलाई कानूनको कठघरामा ल्याउन हामी दृढ छौँ। त्यसका लागि हाम्रो संयन्त्रले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ। गम्भीर प्रकृतिको विषयमाथि अनुसन्धान गर्दा समय लाग्न सक्छ। त्यसमा धैर्य गर्नुपर्छ।

नक्कली शरणार्थी प्रकरणमा सांसद र पूर्वमन्त्रीहरू समेत मुछिएका छन्। यसरी मुछिएकाहरू कोहीलाई पक्राउ पुर्जी जारी भएको छ, कसैलाई छैन। सबैलाई पक्राउ पुर्जी किन जारी भएन?
यो विषयमाथिको अनुसन्धान प्रहरीले गरेको हो। प्रहरीले अनुसन्धानका क्रममा प्रमाणले पुष्टि गरेका व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ। उनीहरूमाथि थप अनुसन्धान शुरू भएको छ। घटनामा मुछिएका भनिएका अन्य व्यक्तिलाई पक्राउ गर्न थप प्रमाण जुटाउने प्रयास भइरहेको छ। बिनाप्रमाण हामीले कसैलाई पनि पक्राउ गर्न मिल्दैन।

पछिल्लोपटक पूर्वगृहमन्त्री र सत्तारुढ गठबन्धन दलका दुईजना सांसद पनि यो प्रकरणमा संलग्न रहेको भन्ने अडियो सार्वजनिक भएको छ। उनीहरूमाथि अनुसन्धान अघि बढाउन पक्राउ पुर्जी जारी गर्नुपर्दैन?
यो अडियोबारे मलाई जानकारी भएन। यसबारे आधिकारिक रिपोर्ट आएपछि मात्रै बोल्न सक्छु।

प्रहरीले दबाबरहित र स्वतन्त्र किसिमले यो कारबाही अघि बढाउला भन्नेमा शंका व्यक्त गर्न थालिएको छ। प्रहरीलाई निर्धक्कसँग काम गर्न दिनुहुन्छ?  
निर्धक्क भएर आफ्नो अनुसन्धानको काम अघि बढाउनुहोस् भनेर मैले प्रहरीलाई प्रष्टसँग भनेको छु। कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपर्नू भन्ने कडा आदेश मैले प्रहरीलाई दिएको छु। अनुसन्धानलाई अन्तिम गन्तव्यमा पुर्‍याउन मैले पटकपटक भनिसकेको छु। यसमा कुनै आशंका नगरे हुन्छ।

विपक्षी दलका नेताले पूर्वाग्रह साँधेर कारबाही अघि बढाएको भनिरहेका छन्। विपक्षीले त्यस्तो आशंका उठाउने अवस्था किन आयो?
मलाई दुःख छ, उहाँ (एमाले अध्यक्ष केपी शर्मा ओली)ले किन त्यस्तो अभिव्यक्ति दिनुभयो मैले बुझ्न सकिनँ। भ्रष्टाचार विरोधी अभियानमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हो। यो भ्रष्टाचार विरोधी अभियान मात्रै होइन। यो भ्रष्टाचार विरोधी कारबाही मात्रै पनि होइन। यो त नेपाली नागरिकलाई अरू देशको नागरिक बनाएर पठाउने राष्ट्रघाती काम पनि हो। यो विदेशको सामु हाम्रो शीर झुकाउने काम पनि हो। त्यसकारणले यो विषयलाई अब यत्तिकै प्रभावित पार्न या छोड्न मिल्दैन।

यो प्रकरण कहाँसम्म पुग्ने आकलन गर्नुभएको छ?
मैले अघि पनि भनिसकेँ, यस विषयमा प्रहरीले अन्तिमसम्म अनुसन्धान गर्नेछ। प्रहरीले एउटा निष्कर्ष निकाल्ने छ। त्यसलाई स्वीकार गर्दै थप कानुनी प्रक्रिया अगाडि बढाइनेछ। यसमा कसैले पनि शंका नगरे हुन्छ।

आरजु देउवा र मञ्जु खाँणविरूद्ध पक्राउ पुर्जी जारी हुन्छ?
म व्यक्तिको नाम लिन चाहन्नँ। प्रमाणका आधारमा जोसुकै दोषी देखिए पनि हामी त्यसका विरूद्ध उत्रिने छौं। तर, कुनै व्यक्ति लक्षित अनुसन्धान होइन यो।


सम्बन्धित सामग्री