वर्षामा कहिले पहिरो झरेर त, कहिले झरीले हिलाम्मे भएर अवरुद्ध हुने दाउन्नेस्थित निर्माणाधीन सडकमा गत हप्ता शीतकै कारण १५ घण्टासम्म जाम भयो। यो सडक विस्तारमा किन भइरहेछ ढिलाइ?
काठमाडौँ— नारायणघाट-बुटवल सडकखण्डको दाउन्नेमा शीतलहरका कारण पुस १५ गते करिब १५ घण्टा गाडीहरू सडकमै फसे। शीतले बाटो हिलो भएपछि सवारीसाधन गुड्न सकेका थिएनन्। त्यसमाथि विस्तार भइरहेको सडक एकतर्फी बनाइँदा जाम बढेको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी निरीक्षक मोहन खड्का अहिले पनि शीतलहरका कारण सवारी आवतजावतमा समस्या भइरहेको बताउँछन्। उनी भन्छन्, “सडक बन्दै भएको होइन, निर्माण भइरहेका कारण सवारी पास हुन ढिला भएको हो। पश्चिम नवलपरासीमा निर्माणको काम चलिरहेको छ। एउटा दुईटा गर्दै पास गराउँदा धैरै समय लागेर जाम भएको हो।”
मुख्यगरी दाउन्ने खण्डमा वर्षा न हिउँद, सधैँ समस्या हुन्छ। कहिले पहिरो झर्छ, कहिले शीतलहर र वर्षाले हिलो हुन्छ। सडक विभागका पूर्व महानिर्देशक अर्जुनजंग थापा दाउन्नेको माटो लिसाइलो भएकाले शीत मात्र पर्दा पनि हिलो हुने बताउँछन्। उनी भन्छन्, “यो एरियामा पिच वा ग्राभेल भएन भने शीत र पानीले चिप्लिन्छ। त्यहाँ चाइनिज कन्ट्याक्टरले खन्दियो, खनेको ठाउँमा माटो लतपत भयो होला। त्यो नहटाइ चलाउँदा समस्या भएको हो।”
यो सडकमा ठेकेदारले काममा ढिलासुस्ती गरेको देखिने उनी बताउँछन्। “अन्तर्राष्ट्रिय कन्ट्याक्टर हुँदा पनि ढिला भइरहेको छ। उनीहरू हाम्रो सिस्टमलाई दोष दिन्छन्। तर उनीहरूको पनि ढिलाइ देखिन्छ,” थापा भन्छन्।
दाउन्नेमै काम बाँकी
नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्छ। यसमा करिब ७७ प्रतिशत काम भएको छ। यो खण्डको कालोपत्रे ५९ प्रतिशत सकिएको छ। दाउन्ने खण्डमा पर्ने १४ किलोमिटरमध्ये ४ किलोमिटर यही खण्डमा पर्छ।
यस खण्डको काम बाँकी रहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका आयोजना प्रमुख ईश्वरबहादुर रिजाल बताउँछन्। “दाउन्नेको ४ किलोमिटरमध्ये १३ मिटरमा ढलान सकिएको छ। बाँकी सडकमा काम भइरहेको छ। दाउन्नेमा पहिलेको डीपीआरमा कालोपत्रे नै गर्ने भन्ने थियो। तर अहिलेको कन्सल्टेन्टले पुरानो डिजाइन ठिक छैन, कालोपत्रे भन्दा ढलान प्रभावकारी हुने भनेपछि त्यसमा लाग्यौँ,” उनले भने।
४ किमिमध्ये २.२ किमिमा ढलान गर्न ठेकेदारलाई स्वीकृति दिइसकिएको छ। बाँकी १.८ किमिमा कालोपत्रेभन्दा ढलान नै गर्नुपर्ने भएकाले त्यसको अनुमति मागेर विभागमा पत्र पठाइएको रिजालले बताए। उनले भने, “कतिपय ठाउँमा कल्भर्ट बनाइरहेका छौँ। जेठ अन्तिम वा असर पहिलो हप्तासम्ममा सबै काम सकिन्छ।”
नारायणघाट–बुटवल पश्चिमखण्डका आयोजना प्र्रमुख पशुपति ज्ञवालीका अनुसार, यो खण्डको पनि दाउन्नेबाहेक अन्यत्रको काम सकिएको छ। काम गरिरहेकाले गाडी पास गर्न ढिला हुँदा जाम भएको उनी बताउँछन्। “जाम र सवारीको चापले कामै रोकिएको अवस्था छ,” उनी भन्छन्।
दाउन्नेको उकालोमा शीतले गर्दा गाडीहरू चिप्लिने भएर वर्दघाटतिरै रोक्ने गरेको ज्ञवाली बताउँछन्। उनका अनुसार, दाउन्नेमा समस्या हुनुको अर्को कारण सडक साँघुरो हुनु पनि हो।
नारायणघाट—बुटवल सडक दाउन्नेबाहेक सबै ठाउँमा चार लेनको हो। तर दाउन्नेको १४ किलोमिटर जति सडक भने तीन लेनको मात्रै छ। यहीँ पहिरोको जोखिम र भौगोलिक बनावट असहज छ, जसले सवारी चलाएर काम गर्नै गाह्रो हुने ज्ञवाली बताउँछन्।
कल्भर्ट र ढलानको काम भइरहेको छ। उनी भन्छन्, “यहाँ दुःखसुख दुईवटा गाडी पास हुने अवस्था छ। एउटा लेनमा ढलान गर्दा, गाडी एउटा लेनबाट मात्रै पास गर्न मिल्छ। त्यहीँ नि शीतले चलाउन नसक्दा काममा बाधा भएको हो।”
दाउन्नेको पश्चिम खण्डमा अझै दुईवटा कल्भर्ट बनाउन बाँकी रहेको पनि उनले बताए। पहिरोको जोखिम कम गर्न भने पर्खाल लगाइसकिएको छ।
ज्ञवालीका अनुसार, दाउन्नेबाहेक अन्यत्र कालोपत्रे गरिसकिएको छ। ती ठाउँमा सर्भिस लेनको काम, केही छुटपुट पुलको काम र बर्दघाट बजारमा काम बाँकी छ। समग्रमा पश्चिम खण्डको ७८ प्रतिशत काम सकिएकाले आउने असारसम्म दाउन्नेको काम सकिएपछि सबै काम सकिने उनी बताउँछन्।
‘अब म्याद थप्नुपर्दैन’
नारायणघाट—बुटवल ११३ किमिको सडकखण्ड विस्तारका लागि २०७५ सालमा ठेक्का लागेको हो। यो सडक एशियन डेभलपमेन्ट बैंक (एडीबी)को ऋण/अनुदान अन्तर्गत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
सम्झौताअनुसार, सडक विस्तार २०७९ साउन २२ गते सकिनुपर्ने थियो। तर म्यादभित्र आधा काम पनि सकिएन। त्यसपछि लगातार तीनपटक म्याद थपिइसकिएको छ। पहिलोपटक २०७९ भदौमा, दोस्रोपटक २०८० र तेस्रोपटक २०८१ साउनमा म्याद थपिएको थियो।
तेस्रोपटक थपिएको म्याद गत साउनमा सकिँदा ७० प्रतिशत काम पनि सकिएन। त्यसपछि फेरि चौथोपटक म्याद थपिएको हो। अब २०८३ साउनमा काम सम्पन्न गरिसक्नुपर्ने छ। तर अहिलेसम्म ७८ प्रतिशत मात्रै काम सकिएको छ।
ऋण/अनुदान आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकाल अब म्याद थप्नु नपर्ने बताउँछन्। “अब यही समयभित्रै काम सकिन्छ। विस्तार नसकिँदासम्म सवारीलाई वैकल्पिक बाटो प्रयोग गर्न लगाएको भए यति समस्या हुन्न थियो। तर आवतजावत नरोकी काम गर्दा काम हुनै गाह्रो छ,” उनले भने।
यो सडक विस्तार र स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको हो। कम्पनीले पूर्वी सडकखण्डको गैंडाकोट–दाउन्ने ६४.४२ किमि र पश्चिमखण्ड दाउन्ने–बुटबल ४८.५८ किमि ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्ड ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको थियो।
निर्देशक ढकालका अनुसार शुरूमा ठेकेदारले काम ढिलो गरेकाले पनि समयमै निर्माण सम्पन्न हुन नसकेको हो। त्यसबाहेक धेरै वटा कल्भर्ट र पुल बनाउनु पर्दा ढिलाइ भएको उनको दाबी छ।
नागढुंगा मुग्लिनमा पुराना पुल नभत्काइए बनाउँदा छिटो भएको, तर यो सडकमा सबै भत्काइएको ढकाल बताउँछन्। उनी भन्छन्, “दाउन्नेमा पहिले साना साना ह्युमपाइप रहेछन्। पछि त्यसले काम गरेन भनेर सबै हटाएर ११८ वटा जति कल्भर्ट बनाउनुपर्यो। त्यसमाथि करिब १५ वटा जति पुल पनि बनाउनुपर्ने थिए। सडक सुचारु राखेर बनाउने भन्ने कुरा महाभारत भयो।”
वैकल्पिक सडक प्रयोगका लािग सहजीकरण गरिए काम छिटै सक्न मद्दत पुग्ने ढकालको भनाइ छ। त्यसका लागि प्रयत्न गरिरहेको पनि उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
