स्थलगतः सुनसरी–१
परम्परागत रूपमा ‘कम्युनिस्टको गढ’ मानिने धरानको मेयरमा २०७६ सालको उपनिर्वाचनमा कांग्रेस र २०७९ को निर्वाचनमा स्वतन्त्रले जितेर गढ भत्काइसकेका छन्। अबको चुनावमा ‘स्वतन्त्र मेयर’ले संसद्तिर फड्को मार्लान्?
धरान– पूर्वको शहर धरान उपमहानगरपालिका–१९ मा धनकुटे रोड छ। गत बुधबार बिहान १० बजेतिर त्यहाँ पुग्दा माइकिङ भइरहेको थियो। माइकबाट सुनिन्थ्यो– चुनाव चिह्न माटोमा भोट दिनुहोला।
त्यहाँ भेला भएकाहरू चुनावी प्रचारमा जाने तयारी गर्दै थिए। त्यो भीडमा हर्कराज राई (हर्क साम्पाङ) पनि थिए। साम्पाङ श्रम संस्कृति पार्टीका संस्थापक अध्यक्ष हुन्। साम्पाङ २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए। अहिले मेयरबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्।
त्यो दिन उनी चुनावी प्रचारको कार्यक्रमका लागि मोरङको उर्लाबारी जाने तयारीमा थिए। अन्य कार्यकर्ता मोरङकै कानेपोखरी र सुनसरीको रामधुनी नगरपालिकामा हुने कार्यक्रममा जान लागेका थिए। रामधुनीका वडा नं. ६ र ७ पनि सुनसरी–१ मा पर्छन्। प्रचारमा जाने सबैलाई अबिरको टीका लगाइदिएर साम्पाङ हिँडे।
साम्पाङको यो दैनिकी बुधबारको मात्रै होइन। चुनाव घोषणा भएदेखि नै उनी प्रचारमा सक्रिय छन्। माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता भइसकेपछि त उनी प्रचारप्रसारका कार्यक्रममा झनै व्यस्त छन्। उनको सक्रियताले सुनसरी–१ का मतदातालाई चुनाव आएको अनुभूति भइरहेको छ। तर अन्य दलले बिहीबारसम्म पनि चुनावी प्रचार थालेका छैनन्।
श्रम संस्कृतिका स्थानीय कार्यकर्ता नवीन विश्वकर्मा पार्टीले प्रचारप्रसारलाई तीव्रता दिएको बताउँछन्। ई–रिक्सा चलाउने विश्वकर्मा धरान बनाउने अभियानअन्तर्गत नै अबको निर्वाचनमा जित हासिल गर्न प्रचारमा तीव्रता दिइएको बताउँछन्।
ओरालो लाग्दो लोकप्रियता
२०७९ सालको स्थानीय तह निर्वाचनअघि अभियन्ताका रूपमा क्रियाशील साम्पाङले धरानमा खानेपानीको समस्यालाई मुद्दा बनाएका थिए। यही मुद्दाका कारण उनले स्वतन्त्र उम्मेदवारी दिएर एमाले, कांग्रेस, तत्कालीन माओवादी केन्द्र जस्ता ठूला दलका उम्मेदवारलाई पराजित गरेर मेयर बने।
तर मेयर निर्वाचित भएपछि मतदाताको आवाज नसुनी एकल रूपमा अघि बढेको आरोप लाग्यो। जसकारण उनलाई समर्थन गरेकाहरू नै असन्तुष्ट हुँदै गए। यद्यपि उनी रोकिएनन्, पार्टीहरूको विरोध गरेर मेयर बनेका उनी नयाँ पार्टी खोलेर अञ्जुलीमा रहेको माटो चिह्नसहित प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन्।
धरान–१९ स्थित धनकुटे रोडमा उनको पार्टीको सचिवालय छ। त्यही नजिकै व्यवसाय गर्ने एक व्यवसायीले निर्वाचित भएको तीन वर्षसम्म कहिले पनि व्यवसायीसँग अन्तरक्रिया नगरेको र स्टन्ट मात्र गरेको आरोप लगाए। उनले भने, “मेयरको चुनाव जित्नुअघि र जितिसकेपछि उहाँको कार्यशैलीमा धेरै फरक भयो। यहाँको विकासको योजना र अजेन्डा के हो भन्ने नै अहिलेसम्म स्पष्ट देखिएन।”

साम्पाङको रुखो बोली र समन्वय नगर्ने शैलीले पनि स्थानीय रुष्ट भएको उदाहरण दिलकुमार केसी पनि हुन्। उनी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै व्यवसाय गर्छन्। “उहाँ मेहनत गर्नुपर्छ भन्ने मानिस हो। स्थानीय तहमा गरेको बाचाअनुसार केही हदसम्म पानीको समस्या समाधान पनि गर्नुभयो,” उनी भन्छन्, “तर बोलीमा छुद्र स्वभाव, प्याच्च बोल्ने बानीले उहाँको लोकप्रियतामा कमी आएको छ। उहाँलाई आलोचना मन पर्दैन, प्रशंसा मात्रै चाहिन्छ।”
घरमै सिलाइकटाइको काम गर्ने बुद्धचोककी सीता गुरुङ पनि निवर्तमान मेयरको कार्यशैलीबाट असन्तुष्ट छिन्। “उनी मेयरको चुनाव लड्दा हामी सबैले भोट दिएर जितायौँ, त्यसपछि उनको कार्यशैली नै फेरियो। अहिले त झन् आफ्नो जाति (राई) बाहेक केही कुरा गर्दैनन्,” गुरुङ भन्छिन्, “नेता हुने मानिस त सबैको सर्वप्रिय हुनुपर्ने हो। उहाँमा त्यो देखिएन। बोलीबचन नै रुखो।”
साम्पाङसँग प्रष्ट दृष्टिकोण नभएको गुरुङको भनाइ छ। आफ्नो श्रीमान् पहिला समर्थक भए पनि कार्यशैली राम्रो नभएपछि समर्थन गर्न छाडेको उनले बताइन्। “उहाँले पानीको समस्या समस्या समाधान गर्छु भन्नुभयो, तर हामीले अहिले पनि पानी किनेर खानुपर्छ,” उनले भनिन्, “यो समस्या लिएर टोलका दिदीबहिनी मेयरको कार्यालयमा पुग्दा उल्टै श्रम गरेको छ की छैन भन्दै नराम्रो व्यवहार गरियो। नेता त सबैको हुनुपर्छ होला नि!”
उनी युवा पुस्तालाई जिताउनुपर्ने पक्षमा छिन्। जातीय समुदाय हेर्ने भन्दा पनि समग्र देशको विकासको एजेन्डा बोक्ने नयाँ पार्टीलाई आफ्नो समर्थन रहेको उनको भनाइ छ।

सुनसरी क्षेत्र नं. १ मै पर्ने बराह नगरपालिका–३ का रुद्र दाहाल पनि संघीय संसद्का लागि चुनावमा होमिँदै गर्दा राईको लोकप्रियता घटिसकेको बताउँछन्। “धरानलाई व्यवस्थित शहर बनाउन ध्यान भएन। सबैथोक म हो, मैले भनेपछि मान्नुपर्छ भन्ने अहं छ। सामाजिक सञ्जाललाई चाहिने भन्दा नचाहिने काममा बढी प्रयोग गरे। जे पनि बोल्ने र लेख्ने बानीले मानिसले उनको हैसियत बुझिसके,” उनी भन्छन्, “अहिले पनि उनीसँग ठोस योजना र मुद्दा छैनन्। केवल जातीय समुदायको कुरा गरेर मात्र चुनाव जित्न सकिन्छ भन्ने सोच छ।”
श्रम संस्कृति पार्टीका स्थानीय नेता विश्वकर्मा भने साढेतीन वर्षमा धरानमा गरेको विकास देखेर अरूले साम्पाङको विरोध गरेको बताउँछन्। “भ्रष्टाचार नियन्त्रण र सुशासन दिनका लागि उहाँसँग भिजन छ। विकास गर्ने हुटहुटी छ। तर केहीले उहाँको कार्यशैलीलाई लिएर विरोध गर्छन्,” उनले भने।

परिवर्तन चाहने मतदाता पनि छन्
धरान उपमहानगर–१५ का पूर्णबहादुर खड्का ठेलामा फूल बेच्छन्। जसले जिते पनि आफ्नो दुःख कसैले नदेख्ने भन्दै उनले अरूभन्दा साम्पाङ नै योग्य भएको बताए। धरानमा पानीको समस्या समाधान गर्नेदेखि थुप्रै काम गरेकाले उनले केही गर्छन् भन्ने आफूलाई विश्वास लागेको उनले बताए।
“जोसुकै पार्टी आए पनि उस्तै लाग्न थालिसक्यो। अब भोट हाल्दा सोचेर हाल्नुपर्ला। पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट हाल्ने सोचेको छु। भोट माग्दा सबै थोक गर्छु भन्छन्, जितेर गइसकेपछि कसैलाई हेर्दैनन्। आफू मात्र कमाउन तिर लाग्छन्,” खड्काले भने।
धरानमा अटो रिक्सा चलाउने पुष्पा लिम्बू अबको निर्वाचनमा परिवर्तनका लागि युवालाई भोट दिनुपर्ने बताउँछिन्। साम्पाङले धरानको विकासका लागि काम गर्न सक्ने विश्वास भएको पनि उनले बताइन्। “पुराना पार्टीलाई हेरिसकिम्। अब नयाँलाई एकपटक अवसर दिनुपर्छ भन्ने हो,” उनले भनिन्, “हर्कले यहाँको समस्या बुझ्नुभएको छ। सजिलै भेट्न सकिन्छ। अरूलाई भेट्न सकिन्न।”

धरान–१७ का चन्द्रबहादुर खड्का मनमोहन अधिकारीको पालादेखि नै आफूले एमालेमा भोट हालेको बताउँछन्। तर अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनको मत छ। “भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरेर देश विकास गर्नुपर्ने आजको आवश्यकता हो। त्यसका लागि नयाँ पुस्ता अघि बढेको छ,” उनी भन्छन्, “यसपटक युवा पुस्तालाई नै सहयोग गर्छु।”
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपास मकै पोलेर बेच्दै आएकी विष्णुमाया श्रेष्ठ भने कसैसँग पनि सन्तुष्ट छैनन्। चुनाव आयो भनेर खुशी हुनुपर्ने केही नभएको भन्दै उनले निराशा पोखिन्।
“हाम्रो लागि कसैले केही गरिदिने होइन। भोट हालेर जितायो, त्यसपछि कसैले केही मतलब राख्दैन,” उनले भनिन्, “कांग्रेस, एमाले, माओवादी सबैलाई भोट हालेकै हुँ। अब यस पटक नयाँलाई दिएर हेर्नुपर्छ भन्ने लागेको छ। तर उनीहरू पनि जितेर पहिलेकै पार्टी जस्तै बन्ने त होला।”

धरानको विगत
धरान कम्युनिस्टको गढका रूपमा चिनिन्छ। संसदीय चुनावमा २०४८ सालदेखि सुनसरी क्षेत्र नं. १ रहेको धरानमा अधिकांश चुनावमा एमालेले जित हासिल गर्दै आइरहेको छ। यहाँबाट २०४८ सालमा मनमोहन अधिकारी, २०५१ मा लीला श्रेष्ठ (सुब्बा), २०५६ मा कुन्ता शर्मा विजयी भए। उनीहरू सबै एमालेका थिए।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन एकीकृत नेकपा माओवादीका किरणकुमार राई र २०७० मा एमालेका कृष्णकुमार राईले चुनाव जिते। नयाँ संविधान आएपछि यो क्षेत्रमा धरान उपमहानगरका २० वटै वडा, बराह नगरपालिकाको १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ वडा यो क्षेत्रमा पर्छन्।
त्यसपछि २०७४ सालको स्थानीय तह निर्वाचनअन्तर्गत धरानको प्रमुखमा एमालेका तारा सुब्बा र उपप्रमुखमा एमालेकै मञ्जु भण्डारी विजयी भए। तारा सुब्बाको निधनपछि २०७६ मा भएको उपनिर्वाचनमा भने कांग्रेसका तिलक राई विजयी भए। उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका हर्क साम्पाङले भने ४२२ मत मात्र ल्याएका थिए।

२०७४ सालको संसदीय निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट एमालेका जयकुमार राईले चुनाव जिते। उनले ४४ हजार ५२८ मत ल्याउँदा दोस्रो हुने संघीय समाजवादी फोरम नेपालका अशोक राईले २२ हजार १२३ मत ल्याएका थिए। २०७९ मा एमालेसँगको गठबन्धनबाट जसपाका अशोक राईले १७ हजार ५९ मत पाएर विजयी हुँदा दोस्रो हुने रास्वपाकी गोमा तामाङले १६ हजार ६०६ मत ल्याएकी थिइन्।
२०७९ को स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ २० हजार ८२१ मत पाएर विजयी भए। मेयरका एमाले उम्मेदवार मञ्जु भण्डारी सुवेदी र कांग्रेसका किशोर राईलाई उनले पराजित गरे।

बराह नगरपालिका–३ का स्थानीय रुद्र दाहाल धरानमा स्थानीय तहदेखि संसदीय निर्वाचनमा राजनीतिक दलहरूले जातीय बाहुल्यता हेरेर राई र लिम्बू समुदायकै उम्मेदवारलाई टिकटमा प्राथमिकता दिने गरेको बताउँछन्। “२०७९ सालको निर्वाचनमा ठूला दलले राम्रा उम्मेदवार उठाउन सकेनन्। उनीहरूबीच अन्तरकलह पनि थियो,” उनी भन्छन्, “त्यसको फाइदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लिए। उनले कुनै राजनीतिक मुद्दा उठाएर जितेका होइनन्। राई समुदायको भोटलाई आफूतिर ल्याएर सरप्राइज जित निकालेका हुन्।”
दाहालका अनुसार, सुनसरी क्षेत्र नं. १ को पनि धरान उपमहानगरमा धेरै बसोबास राई र लिम्बू समुदायको हुँदा ती समुदायको मतलाई निर्णायक मानिन्छ। फागुन २१ गते हुने निर्वाचनमा सुनसरी–१ मा दल र स्वतन्त्र गरेर २६ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। यहाँ कांग्रेसबाट सुजेन्द्र गोले तामाङ, एमालेबाट टीकाराम लिम्बू, नेपाली कम्युनिस्ट पार्टीबाट मनोज (सूर्यबहादुर) भट्टराई र रास्वपाबाट गोमा तामाङ (सरिन) उम्मेदवार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
