‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली

विश्व विख्यात कम्पनीको ‘प्रमोसन’देखि अनलाइन जागिरको लोभ देखाएर पैसा हाल्न लगाउने र एपमा फिर्ता हुन ठिक्क पारिएको आम्दानी देखाएर नेपालीको बैंक खाताबाट ‘डिजिटल डकैती’ भइरहेको छ।

काठमाडौँ– क्यानडाको टोरन्टोमा मुख्य कार्यालय रहेको बटरफिल्ड एन्ड रविन्सन विश्व विख्यात ट्राभल कम्पनीमध्येमा पर्छ। असोज ३० गते एकजना प्रतिष्ठित नेपाली व्यवसायीलाई टेलिग्राममा यही कम्पनीबाट म्यासेज आयो। क्लिक गरेर भित्र छिर्दा लेखिएको थियो, “यी कम्पनी र राखिएका सामानहरूको प्रमोट (राम्रो रिभ्यु) गरौँ, अनि पैसा कमाऔँ।”

त्यहाँ ‘प्रमोसन’का विभिन्न प्याकेज राखिएका थिए। चल्तीको संस्थाबाट आएको सन्देश उनले पत्याए। शुरूमा १० हजार रूपैयाँको प्रमोसन प्याकेज किनेर परीक्षण गरे। एक घण्टामै त्यसको कमिसन थपेर पैसा खुत्रुक्क खातामा झर्‍यो। त्यसपछि ५० हजार रूपैयाँको अर्को प्याकेज प्रस्ताव आयो। उनले त्यो पैसा पनि हालिदिए।

कमिसनसहित फिर्ता हुने रकम ७० हजार रूपैयाँ देखिइयो। उनलाई थप लगानीका लागि प्रोत्साहन आइरह्यो। “प्याकेज किन्न सहमत भएपछि उताबाट विभिन्न बैंकका क्यूआर कोड पठाइन्थ्यो, यताबाट म पैसा हालेको हाल्यै गर्थें,” नाम बताउन नचाहने ती व्यवासायी भन्छन्, “तर जसरी शुरूको प्याकेजमा तुरून्त कमिसनसहित पैसा फिर्ता गरिएको थियो, त्यसपछि सुको आएन। कमिसनसहित कति फिर्ता हुनेछ भन्ने हिसाबकिताब चाहिँ देखाइन्थ्यो।”

लगानी गरेको रकम फिर्ता नआएपछि ती व्यवसायीले भाञ्जालाई खबर गरे। जति बेला उनको २ करोड ४० लाख रूपैयाँ निख्रिइसकेको थियो। कम्पनीको वार्षिकोत्सवको उपलक्ष्यमा प्रिमियम प्याकेज परेको र थप ८० लाख रूपैयाँ जम्मा गरेपछि यसअघि फिर्ता हुन बाँकीसहित ५ करोड रूपैयाँ निकाल्न मिल्ने जानकारी देखाइयो। उनीहरूले रकम हाल्न भने आनाकानी गरे।

त्यही बेला हेटौँडा घर बताउने एकजना आफूले यस्तै प्याकेज परेपछि भनेको रकम जम्मा गरिदिँदा डेढ करोड रूपैयाँ फिर्ता भएको प्रमाणसहित प्रस्तुत भए। त्यहाँ लगानी गर्नेहरूबीच छलफल चलाउने छुट्टै एप हुन्छ, जहाँ समान समस्या देखाइन्छ र पैसा जम्मा गरेपछि समाधान भएको उदाहरण पेश गरिन्छ।

“मैले त हेटौँडाको साथीलाई स्क्यामिङ होला, अब पुलिसमा जान्छु भनेको थिएँ,” नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत रहेका ती व्यवसायीका भाञ्जा भन्छन्, “त्यस्तो लफडातिर नलाग्नू, मेरो पैसा त यी यसरी फिर्ता आयो भनेर देखायो। दोधारमा थियौँ, पैसा आउँछ भने हालौँ न त भन्ने सल्लाह भयो।”

अनि कात्तिक १३ गते मामा–भाञ्जाले सहमतिमै ८० लाख रूपैयाँ जम्मा गरिदिए। “एक घण्टाभित्र कमिसनसहित जम्मै पैसा फिर्ता आउँछ भनेको तर आएन,” उनी भन्छन्, “बरू थप ९७ लाख रूपैयाँ हालेमा १० करोड रूपैयाँ फिर्ता हुने नयाँ प्याकेज परेको भन्दै म्यासेज गरिरहेका छन्।”

उनले पछिल्लोचोटि मागिएको रकम हालेनन्। त्यसपछि कम्पनीको तर्फबाट भन्दै ३८ हजार रूपैयाँ फिर्ता पठाइयो। “९७ लाख रूपैयाँ जम्मा गरिदिन्छ कि भनेर विश्वास दिलाउन यस्तो गरिएको हामीले बुझ्यौँ,” ती व्यवसायी भन्छन्।

यति बुझ्दासम्म १५ दिनको अवधिमा उनको खाताबाट ‘स्क्यामर’ समूहले ३ करोड २० लाख रूपैयाँ फुत्काइसकेको थियो। उनी अहिले नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँ प्रहरी परिसरमा उजुरी लिएर पुगेका छन्।

डिजिटल दुनियाँमा ‘इन्भेस्टमेन्ट स्किम’का नाममा ठगिएका एक्ला पात्र होइनन् यी व्यवसायी। उजुरी लिएर प्रहरी कार्यालय पुग्नेमध्ये सबैभन्दा बढी रकम ठगिएका चाहिँ उनी नै हुन्। टेलिग्राम, इन्स्टाग्राम, टिकटक, वाट्सएपलगायत सामाजिक सञ्जालमा ‘इन्भेस्टमेन्ट स्किम’का सूचना पठाएर वा लिंक पोष्ट गरेर ठगीको जालो फिँजाइन्छ।

विश्वका चर्चित कम्पनीका नामबाट यस्ता सन्देश आउँछन्। करिब एक दर्जन कम्पनीको नाम भजाएर सन्देश पठाइने गरिएको प्रहरीको भनाइ छ। प्रायः आईकिआ, बटरफिल्ड एन्ड रविन्सन, एसएमसी, ट्राभलोसिटी, टेमु, मोदानीलगायत कम्पनीबाट अनलाइन जब, घरै बसीबसी पैसा कमाउने जस्ता प्रलोभन देखाएर म्यासेज पठाइन्छ।

शुरूमा कमिसन, नाफा अनेक नाममा पैसा थपेर फिर्ता पठाउँदै पल्काइने र लगानी रकम बढ्दै गएपछि अन्य विभिन्न स्किम परेको भन्दै थप लगानी गर्न लगाइने साइबर ब्युरोका प्रवक्ता एसपी दीपक अवस्थी बताउँछन्। उनी भन्छन्, “फिर्ता हुने सावाँ, कमिसनको हिसाब देखाइन्छ, तर फिर्ता गरिँदैन। खासमा त्यो अनलाइन इन्भेस्टमेन्ट स्क्याम हो। विख्यात कम्पनीका नाममा गरिएका सबै क्रियाकलाप फेक हुन्।”

‘मास फ्रड’
युट्युबमा अपलोड गरिएको ‘एसएमसी एप इन नेपाल’ नामको भिडियो छ, जहाँ अनलाइन लगानीका विभिन्न स्किम देखाइन्छ। केवान, केटु, केथ्री जस्ता तहगत स्किम भिडियोमा हेर्न सकिन्छ। हरेक तहमा दैनिक, मासिक र वार्षिक आम्दानी गर्न सकिने भन्दै तरिका पनि सिकाइएको छ।

भिडियोको तल लिंक छ। यो लिंकलाई टेलिग्राम, फेसबुक, इन्स्टालगायत सामाजिक सञ्जालमा ‘स्पोन्सर’ विज्ञापन पनि गरिएको छ। लिंकभित्र जाँदा भिडियोमा भनेकै स्किम देखाइएको छ। यही एपलाई पत्याउँदा अहिले करिब ६०० नेपालीको रकम धुतिएको साइबर ब्युरोका प्रवक्ता एसपी अवस्थी बताउँछन्।

मंसिर २६ गतेसम्म ब्युरोमा २३१ जनाले जाहेरी दिएका छन्। थुप्रैले जाहेरी लिएर आउने भन्दै ब्युरोमा सम्पर्क गरिरहेका छन्। जाहेरी परेकाबाट मात्रै हालसम्म ठगिएको रकम १० करोड रूपैयाँ पुगिसकेको छ। जाहेरी आउने क्रम जारी रहेकाले ठगिएको रकम दोब्बर हुने एसपी अवस्थीको अनुमान छ।

एसएमसी स्क्याममा कम्तीमा ५० हजारदेखि ७० लाख रूपैयाँसम्म डुबाउनेहरू छन्। विदेशमा बस्ने नेपालीसमेत यो स्क्याममा परेका छन्।

दुई वर्षअघि पनि अनलाइन स्क्यामरले ठूलो समूहलाई ठगी गरेको थियो। २९५ जनालाई सदस्य बनाएरै साढे ६ करोड रुपैयाँ ठगिएको थियो। एसएमसीअघि अनलाइन ठगीमा यो नै ठूलो बिगोको घटना थियो।

टासी शेर्पा नामक फेसबुक आईडी चलाउने दादिकी शेर्पालाई चेन यान फाईले फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। आफूले हङकङ बसेर अनलाइन व्यापारमा कमाएको पैसा नेपालमा अनाथालय खोलेर परोपकारमा खर्च गर्न चाहेको सुनाएपछि उनीहरूबीच वाट्सएप र टेलिग्राममा नियमित कुराकानी हुन थाल्यो।

वाट्सएप र टेलिग्राममा टिना आईडी राखेकी फाईले एक दिन दादिकीलाई टेलिग्राम मेसेजमा नेपालमा अनलाइन नेटवर्किङ कम्पनी दर्ता गर्न आग्रह गर्दै लिंक पठाइन्। क्लिक गर्दा फिफिए एप्लिकेसन डाउनलोड भयो। यस्तो व्यवसाय गैरकानूनी भएकाले नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्ने तरिका पनि फाईले नै सिकाइन्।

त्यसपछि दादिकीको नाममा फिफिए अनलाइन मिडिया प्रालि दर्ता भयो। उनैले टोखा नगरपालिकाको धापासीमा फ्ल्याट भाडामा लिइन्। दादिकी, जीवनकुमार श्रेष्ठ, ज्ञानबहादुर राई (दादिकीका श्रीमान्) फिफिए कम्पनीमा जोडिए। 

त्यसपछि फाईले नै फिफिएमा लगानी गरेको ९० मिनेटभित्र ०.४८ प्रतिशत नाफासहित फिर्ता हुने भन्दै फेसबुक, टेलिग्राम, वाट्सएप, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा विज्ञापन गरिन्। दादिकीको टिमलाई पनि त्यसमा खटाइयो। यसमा सदस्य बनेर लगानी गर्न मानिसहरूलाई भनियो। सदस्यहरूलाई विश्वास दिलाउन बेलाबेला फिफिएले सेमिनार, गोष्ठी पनि गर्थ्यो। फिफिएको कार्यालयमा कम्पनी दर्ता प्रमाणपत्र, विभिन्न तहका मेनेजर र गोष्ठीका फोटो टाँसिएका हुन्थे।

टिना (फाई)ले कार्यालय खर्च पठाउने भनेपछि दादिकीले कुमारी बैंकको आफ्नो खाता पठाएकी थिइन्। त्यसमा नेपालमा रहेका सदस्यहरूको खाताबाट पैसा आउँथ्यो। दादिकीले त्यो पैसा टिनाले भने अनुसार विभिन्न खातामा पठाउँथिन्।

प्रहरीले २०८० असोज २ गते दादिकीलाई पक्राउ गरेपछि मात्रै यो ठगीको सञ्जाल कति ठूलो रहेछ भन्ने खुलेको थियो। दादिकीसहित ७८ जनाले १८२ जनाबाट तीन करोड ७४ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसनधानबाट खुल्यो।

उनीहरूविरुद्ध अदालतमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता छ। टिनाले आफूलाई जस्तै अरू थुप्रैलाई यो स्किम पठाएर सदस्य बनाउन लगाएको पक्राउ परेपछि मात्र दादिकीले थाहा पाएको अभियोगपत्रमा उल्लेख छ। तर उनको नाममा कम्पनी नै खोलिएकाले अदालतले अरूलाई धरौटीमा छोडे पनि दादिकीलाई फैसला नहुँदासम्म थुनामा पठाएको छ।

११३ जनाबाट २ करोड ५९ लाख ४३ हजार ४०० रुपैयाँ ठगेको भन्दै दादिकीसहितका व्यक्तिविरुद्ध २०८१ पुसमा पूरक अभियोग पनि दर्ता भएको छ। यसरी २९५ जनाको साढे ६ करोड रुपैयाँ ठगिएको घटना उधिने पनि यसको मूल सञ्चालक टिना (फाई) को हो भन्ने प्रहरीले ठम्याउनै सकेन। बरू दुई वर्षपछि इन्भेस्टमेन्ट स्किममा फसाएर त्योभन्दा पनि ठूलो ‘मास फ्रड’ भएको घटना प्रहरीमा दर्ता भएको छ। यद्यपि, प्रहरीले धेरै प्रगति हात लगाइसकेको छैन।

तथ्यांक लुकाउनुपर्ने बाध्यता 
गत वर्षसम्म साइबर ब्युरोले अनलाइन स्क्याममा हुने ठगीको रकम सार्वजनिक गर्थ्यो। तर नेपालीहरूको बैंक खाताबाट यति धेरै ‘डिजिटल डकैती’ हुन थाल्यो कि, त्यो रकम सार्वजनिक गर्दा नेपालको बैंकिङ प्रणाली असुरक्षित भएको सन्देश जाने भन्दै लुकाइन थालिएको छ। “डीआईजी साप (साइबर ब्युरो प्रमुख)ले अनलाइन ठगीको रकमको तथ्यांक बाहिर नदिनू भन्ने आदेश दिनुभएको छ,” ब्युरोका एक प्रहरी अधिकृत उकालोसँग भन्छन्, “मुलुकको आर्थिक प्रणालीमा नकरात्मक असर पार्ने सन्देश जाने भएकाले नदिनू भनिएको हो।”

null उपलब्ध गराएको तथ्यांकअनुसार, इन्भेस्टमेन्ट स्क्यामको नाममा मात्रै चालु आर्थिक वर्षको साढे चार महिनामा ६३२ वटा उजुरी परेका छन्। एसएमसीले गरेको मास फ्रड यो तथ्यांकमा सामेल गरिएको छैन। ठूलो घटना भएकाले ब्युरोले यसलाई छुट्टै वर्गीकरण गरेको छ। एसएमसीसहित ठगीको संख्या ८६३ हुन्छ, जुन कुल साइबर ठगीको ३३ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा इन्भेस्टमेन्ट स्क्यामबाट मात्र ४२ करोड रुपैयाँ ठगी भएको जाहेरी ब्युरोमा परेको थियो। यो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब नाघेको ब्युरो स्रोत बताउँछ। यसबाहेक, सोसल मिडिया ह्याक, बैंक तथा डिजिटल वालेटबाट बोलेको, पार्सल पठाएको, अपुताली परेको, अनलाइन मार्केटिङ, बैंक र वालेटको ओपीटी फुत्काएर पनि अनलाइन ठगी हुने गर्छ। एसएमसी र इन्भेस्टमेन्ट स्क्यामबाहेक अनलाइन ठगीका एक हजार ६८३ वटा जाहेरी छन्।

नेपाल राष्ट्र बैंकले बर्सेनि निकाल्ने ‘रणनीतिक विश्लेषण प्रतिवेदन’ हेर्दा पनि साइबर ठगीमा नेपालीहरूले गुमाइरहेको धन अचाक्ली बढिरहेको देखाउँछ। सन् २०१९/२० मा राष्ट्र बैंकबाट अनलाइन ठगीका चारवटा घटना अनुसन्धानका लागि प्रहरीलाई भनिएको थियो, जुन पछिल्लो वर्ष १५ वटा पुग्यो। २०२२/२३ मा यस्ता ठगीका ६६ घटना अनुसन्धान गर्न प्रहरीमा पठाइएको प्रतिवेदनमा उल्लेख छ।

२०८१ मंसिरमा राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले त नेपालमा अनलाइन ठगीका घटना ज्यादै डरलाग्दो गरी विस्तार भइरहेको देखाएको थियो। २०२४ जनवरीदेखि मेसम्म राष्ट्र बैंकले शंकास्पद कारोबार भएका ५०१ वटा घटनाको अध्ययन गरेको थियो। तीमध्ये ३१९ वटा साइबर ठगीसम्बन्धी थिए। 

यसको अर्थ राष्ट्र बैंकले शंकास्पद मानेको कारोबारमध्ये अनलाइन ठगीको हिस्सा अत्यधिक छ। अध्ययनले नेपालमा साइबर ठगी तीव्र गतिमा रहेको देखाएको उक्त प्रतिवेदनमा उल्लेख छ। सन् २०२५ को प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन।  

लोभले विलाप
इन्भेस्टमेन्ट स्क्याममा पठित र प्रतिष्ठित पेसामा आबद्धहरू नै छन्। जस्तो, प्युठानका ५६ वर्षीय एक शिक्षक ३६ वर्षदेखि काठमाडौँको एक निजी विद्यालयमा पढाइरहेका छन्। उनी लेखा विषयका शिक्षक हुन्। तर गत भदौ १२ गते मोबाइलमा आएको एउटा पोष्टमा क्लिक गर्दा उनको जीवनको खातापाता नै डामाडोल भएको छ।

फेसबुक पेज स्क्रोल गरिरहेका बेला उनले ‘पार्ट टाइम जब’को अवसर आएको पोष्ट देखे। पोष्ट थियो अनलाइन ट्राभल्स एजेन्सी ट्राभलोसिटीको। दशैँ नजिकै आइरहेकाले विद्यालय छुट्टी हुनेवाला थियो। छुट्टीको बेला आम्दानी हुने अवसर आएको ठानेर उनले त्यसमा क्लिक गरे। क्लिक गर्नासाथै कामबारे कुरा गर्न कम्पनीको नेपालस्थित प्रतिनिधिले टेलिग्राममा सम्पर्क गर्ने बताइयो।

केही बेरमै उनको टेलिग्राममा अघिल्लो व्यक्तिसँग भएको कुराकानी मुताबिक भन्दै अर्को सन्देश आयो। “ट्राभलोसिटीले होटलहरूको बुस्टिङ गरिदिन्छ र तपाईंले यो पेजमा होटल बुकिङ गरिदिने हो। जति बढी बुकिङ गर्‍यो, उति धेरै बोनस हामीलाई आउँछ। यो बुकिङ रेट हेरेर अरूले साँच्चै बुकिङ गर्छन्, त्यसबाट केही रकम तपाईंले पाउनुहुन्छ। तपाईंले बुकिङ मात्र गर्ने हो, पैसा हामीले तिर्ने हो,” टेलिग्राममा उनलाई भनियो।

नभन्दै केही बेरमा उक्त पेजमा आफूले बुकिङ गरेको देखियो। १५ हजार रूपैयाँ उसैले तिरिदिएको पनि देखाइयो। केहीबेरमा त्यसबापत ४ हजार बोनस आएको र उक्त रकम निकाल्न बैकिङ खाता नम्बर पठाइदिन भनियो। “बैंक खाताभन्दा डिजिटल वालेट खल्तीको खाता पठाउनु सुरक्षित हुने ठानेर त्यसै गरेँ,” उनी सुनाउँछन्, “खल्तीमा बढी रकम निकाल्न नपाइने भएकाले स्क्याम भए पनि धेरै क्षति नहोला भनेर बैंक खाता नदिएको हुँ,” उनी भन्छन्।

खल्तीमा उनलाई कमिसन रकम आयो। त्यसछि अर्को बुकिङका लागि उनैलाई १५ हजार रूपैयाँ डिपोजिट गर्न लगाइयो। उनले आम्दानी हुने रहेछ भनेर पैसा जम्मा गरे। फेरि ४ हजार रूपैयाँ नाफा भएको देखियो। तर त्यो पैसा झिक्नुअघि नै अर्को म्यासेज आयो, “बधाई छ। तपाईंलाई प्रिमियम प्याकेज परेको छ।”

यो प्याकेज लिन फेरि ट्राभलोसिटीका व्यक्तिसँग टेलिग्राममा कुरा गर्न भनियो। त्यो प्याकेज निकाल्न थप पैसा तिर्नुपर्ने शर्त पनि राखियो। थप पैसा तिरेपछि ठूलो रकम पाइने लोभ देखाइएपछि पैसा पठाए। काठमाडौँका सोल्टी, मेरियट, अलोफ्टजस्ता चल्तीका होटल बुक गरिदिए। पोखरा, चितवनका होटल पनि उनको नाममा बुक भएको देखाइयो।

nullयसो गर्दा ट्राभलोसिटीको पेजमा होटल बुक गर्नेले पाउनुपर्ने रकम जम्मा भएको देखाइन्छ। तर निकाल्न भने प्रिमियम परेकाले थप पैसा तिरेपछि दोब्बर हुने लोभ देखाइन्छ। आफूसँग भएको पैसा सकिएपछि ती शिक्षकले नातागोता, साथीभाईसँग सरसापट लिन थाले।

१६ लाख नाफा कमाएको देखेपछि उनले रकम निकाल्न क्लिक गरे। फेरि प्रिमियम परेको भन्दै थप ३० लाख रूपैयाँ हालेमा ५० लाख फिर्ता आउने बताइयो। उनले त्यत्रो पैसा हाल्न नसक्ने भनेपछि आधा पैसा उतैबाट हालिदिने भनियो। “मलाईजस्तै समस्या परेको अर्को मानिसले कम्पनीले आधा पैसा हालिदिएपछि आधा आर्फैँ हाल्दा बाँकी जम्मै पैसा फिर्ता आएको उदाहरण दियो। मैले पत्याएँ र ऋण काढ्दै हालिरहेँ,” उनी भन्छन्।

त्यो त उनलाई विश्वस्त तुल्याउन स्क्यामरले रचेको जाल थियो। यस्तै तरिकाले १६ दिनमा उनले ७३ लाख रूपैयाँ खन्याए। आफन्तसँग घरमा बिरामी परेको बहानामा ऋण लिए। साथीभाईसँग नयाँ व्यापार गर्नुपर्‍यो भनेर पैसा मागे।

उनले यो पीडा कसैलाई सुनाउन सकेका छैनन्। श्रीमतीले उच्च रक्तचापको औषधि खाइरहेकी हुँदा आपत सुनेर केही भइहाल्छ कि भन्ने डर उनलाई छ। “एक रात त मर्ने सोच पनि आएको थियो,” उनी भन्छन्, “तर अचानक म मरेँ भने त परिवारमा झन् समस्या पर्छ भनेर मुकाबिला गर्ने विचार आयो। म ध्यान पनि गर्ने भएकाले सकारात्मक सोच आएको होला।”

भक्तपुरका २९ वर्षीय एक युवकले स्विडिस फर्निचर कम्पनी आईकिआको म्यासेज पत्याउँदा ३० लाख रूपैयाँ गुमाए। “मलाई यसरी स्क्याम हुन्छ भन्ने थाहा थियो,” नाम बताउन नमान्ने उनी भन्छन्, “तर त्यहाँ क्लिक गरेर छिरेपछि एकोहोरो बनिँदोरहेछ। मेरै गल्ती हो।”

इन्भेस्टमेन्ट स्किमबाट रातारात धनी हुने सपना पाल्दा सिरीखुरी गुमाउनेहरू घरघरमा हुने जोखिम रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेत बताउँछन्। पीडितहरू दैनिक साइबर ब्युरो, अनुसन्धान कार्यालय र काठमाडौँ परिसर पुग्छन्।

यस्तो ठगीको डरलाग्दो पक्ष के छ भने, प्रहरी अनुसन्धान बैंक खाता प्रयोग भएका व्यक्तिकै वरिपरि अल्झिन्छ। यसमध्ये अधिकांशलाई स्क्याममा आफ्नो खाता दुरूपयोग भएको समेत पत्तो हुँदैन। “यसलाई रोक्न सामाजिक जागरणकै आवश्यकता देखिन्छ,” एसएसपी थापा भन्छन्।

३ करोड २० लाख रूपैयाँ डुबाउने व्यवसायी भन्छन्, “प्रहरीका जति नै ठूला मानिस चिनेको भए पनि यो अपराधमा सामेललाई केही गर्न नसकिने रहेछ।”