कांग्रेसमा यस्तै महत्वाकांक्षा, स्वार्थ र अहमको टकराब आइपर्दा सन्त नेता किसुनजी र सर्वोच्च नेता गणेशमानजीले सबै कुरा त्याग गरेर पनि पार्टी जोगाएको दृष्टान्त सामुमा छँदैछ।
नियमित वा विशेष महाधिवेशन के गर्ने भनेर विवाद गर्नैबाट उन्मुक्ति पाई नसकेको नेपाली कांग्रेस वर्तमान परिस्थितिमा भने सबैभन्दा ‘गतिहीन’ देखिएको छ– पार्टीगत संगठन र संरचनागत सुधारका मामलामा गतिहीन। निर्णय क्षमताको कमजोरी र अकर्मण्यताका कारण मुख्य राष्ट्रिय दलहरूको पंक्तिमा कांग्रेस अहिले सबैभन्दा पछौटे देखा परेको छ, कार्यरूप र व्यवहारमा।
इतिहासको विरासत बोकेको नेपाली कांग्रेस कहीँ कतै हराइरहेका बेला उदीयमान पार्टीहरूको गठबन्धन र चुनावी एकता समेत बाहिर आइसकेको छ। पुराना अनुहार र पद्धतिबाट आजित–पराजित आजको पुस्ता/समाजले केही नयाँ सुधार तथा संशोधन चाहेको थियो। जेनजीको आवाज र अभियान पनि यसैमा केन्द्रित थियो। तर, यो दिशामा न कांग्रेस जान सक्यो, न एमाले वा माओवादीजस्ता स्थापित दलहरू उभिन सके। अझ भर्खरै देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धनमा समेत लक्ष्य, उद्देश्य र नीतिभन्दा पहिले पद र शक्तिको बाँडफाँड मात्रै देखा पर्न सक्यो।
त्यसमाथि पनि चुनावी जनमत र यसको गणितीय आधारमा चल्ने प्रधानमन्त्रीय कार्यभारलाई पनि अहिल्यै कागजी भागबन्डामा राखेर अर्को रमिता देखाउन लागिएको भान पर्न थालेको छ। चुनावमा वैधानिकता पाउनु, संसदीय दलको अग्राधिकार रहनु वा प्रतिनिधिसभामा पनि बहुमत हासिल गर्नु सहितका थुप्रै प्रक्रियागत पक्ष छँदै छन्। त, अहिल्यै सहमतिको बुँदामा कागजी प्रधानमन्त्रीदेखि कागजकै सभापति र सदस्यको भागबन्डा देखिन थालेको छ। नाम र प्रचलनमा नयाँपन भए पनि यो पुरानै थिति हो, पुरानै रीति हो।
आज उदाएका अथवा उदाउँदै गएका दलहरूको कार्यस्वरूप तथा उपलब्धि देखा पर्दै जाला नै। तर, कांग्रेसजस्तो हिजोको इतिहास र आजको जनभार रहेको दललाई समेत अझै शासन, सत्ता र शक्तिको दम्भ तथा लोभले ढाकिरहेको अवस्था भने सुहाउँदो जति देखिन्न, त्यत्तिकै लाजमर्दो पनि छ। यो बेला सशर्त वा घुर्की–धम्कीका रूपमै कांग्रेसका महामन्त्रीद्वयले महाधिवेशन हुन नसकेको अवस्थामा आफूहरू आसन्न निर्वाचनमा सहभागी नहुने (चुनाव नलड्ने) सम्मका घोषणा गरिसकेका छन्। वैचारिक भिन्नतासँगै फरक मतको प्रतिनिधित्व गर्ने र धेरैले आशा–भरोसाका पात्रका रूपमा उपस्थिति चाहेका यी प्रतिनिधिले पनि अहिलेको स्थितिमा सुझबुझपूर्ण निर्णय लिन नसकेका हुन् कि झैँ देखिन्छ।
जस्तो, पुस्तान्तरणको कुरामा कांग्रेसभित्र पुस्ता नै नभएजस्तो देखिएको छ। आउन चाहेको पुस्तालाई पनि जे जसरी र जुन बहानामा भए पनि थान्को लगाउने काम सुरु भएको छ, यो पार्टीपंक्ति र विचारको पतनको उपाय मात्रै हो। विशेषतः अग्रज नेतागणले आफ्नो महत्वाकांक्षा र ‘इगो’लाई पन्छाए मात्रै यो मियो पार्टीको भविष्य देखिन्छ, देशकै भलो देखिन्छ। उमेर, अनुभव र समयको माग अनुसार उदाउँदो पुस्ताको आकांक्षालाई सम्झेर अर्जुननरसिंह केसी, राजन केसी, बद्री पाण्डे वा रामनाथ अधिकारीजस्तै चुनावी प्रतिस्पर्धामा नजाने र सांगठनिक काममा लाग्न स्वविवेक राख्न सक्नुपर्छ। गाउँ गाउँसम्म रहेको संगठन, इतिहासको कार्यभार र मुलुकको विकास–परिवर्तनमा पुर्याएको योगदानको नजिरलाई हेरेर पनि कांग्रेस अझै पनि मियो पार्टी बनिरहन सक्ने आधार छ। अन्यथा, यो चेत अझै पनि नआएको अवस्थामा यत्रो पार्टीको साख र गौरव कुनै भर्खरै उदाएका दलको कित्तासरहमा मिल्न जाने निश्चित छ।
अजेन्डा र मुद्दा ठुलो हो कि पद र प्राप्ति? सबैभन्दा केन्द्रमा उभिएर बहसमा ल्याउनुपर्ने सरोकार यो मात्रै हो। तर यहाँ प्रधानमन्त्री को बन्ने, गृहमन्त्री कसलाई दिने वा आउने नतिजाको कति भाग कसलाई दिने (अंशबन्डा) को फेहरिस्त मात्रै सामु आएको छ। हिजो जे पद्धति ठिक भएन र जे–जुन विषयमा असन्तुष्टि रहेको थियो, आज त्यही कमजोरीको पुनरावृत्ति हुने क्रम देखिएको छ। कांग्रेसभित्र मात्रै होइन, सबै पुराना वा नयाँ दलमा यही रोग बल्झिएको देखिन्छ। आत्म केन्द्रित वर्चस्व र अस्तित्वको प्राथमिकता रहने हो भने हिजो र आजमा के फरक रह्यो? यस कारण यसको बदलावको थालनी कांग्रेसबाटै हुनुपर्छ, जसका लागि नाम मात्रैको ‘कार्यवाहक’ दिएर सत्ता र शक्तिको, बन्डा र वितरणको चलखेल कतै नेपथ्यमा चलिरहने हो भने निराशाको अर्को कारक र कारण यही बन्ने निश्चित छ।
आसन्न चुनावका लागि चल्ने जातीय, क्षेत्रीय, धार्मिक नाराहरूको स्थान आफ्नो ठाउँमा छँदैछ। आम मानिसका मन–मस्तिष्कमा तत्काल छोइहाल्ने नाराहरू धेरै तरह र तप्काबाट आउन सक्छ। तर अब बहकिने र बहकाउने पुरानै प्रचलनभन्दा अघि बढेर यथार्थको धरातलमा उभिएर सपना बाँड्ने सोचले मलजल पाउनुपर्छ। तत्काल सर्वसाधारणले चाहेका कुरा भनेको ठुला उपलब्धि वा योजना होइन कि बरु हिजो र आज बीचको अनुभूति सहितको परिवर्तन मात्रै हो। ‘नयाँपन’ भनेको आजका निम्ति यत्ति हो।
लोकतान्त्रिक पद्धतिमा हामीले जानेर वा नचाहेरै पनि अस्थिरताको बीज रोपिसकेका छौँ। बहुदलीय पद्धतिमा सरकार चल्नै नसक्ने वा चल्नै नदिइने र ‘हङ पार्लियामेन्ट’को स्वरूपलाई मात्रै प्रवर्द्धन गरिरहने अस्थिरता हामीसँग जड बनेर बसेको छ। अब कम्तीमा पाँच वर्षका लागि सरकार चलाउनेछौँ, यही भावनामा संसदीय गतिविधिहरू अघि बढ्नेछन् भन्ने अठोट सहमतिको पहिलो बुँदा बन्न सक्नुपर्छ। ‘हिजो हामीले सकेनौँ’ भन्ने बोध गरेर/गराएर नयाँ सोच र मनोकामनालाई अघि बढाउनै पर्ने सहमतिको अर्को बुँदा हुनैपर्छ।
इतिहास, विरासत र योगदानका आधारमा पनि मुलुकको राजनीति तथा पद्धतिलाई सम्हाल्नुपर्ने भनेको कांग्रेसले हो। यो मूल कुरा हो। तर कांग्रेस आफै सम्हालिन नसकेको देख्दा भने निराशाको अर्को चक्र सुरु भएको छ। कम्तीमा संविधानले तोकेको, विधानले बाध्य बनाएको र नियमसंगत तरिकामा नियमित अधिवेशन गर्दै कांग्रेसले आफ्नो लोकतान्त्रिक हैसियत जोगाउन सक्नुपर्ने हो। विशेष अधिवेशनका हकमा पनि केन्द्रीय समितिले निर्णय गरिदिएन भने त त्यो एउटा ‘गुटगत भेला’ मात्रै साबित हुन सक्ने स्थिति रहन्छ नै। यस कारण, पार्टी फुटेर जान सक्ने संवेदनशील घडीमा कांग्रेसलाई पुर्याउने यो कस्तो नेतृत्व हो? नयाँ समयमा उब्जिएको नयाँ शक्ति र जेनजी पुस्ताको मनोभाव अनुसार कांग्रेस अझै पनि बदलिएन र यसमा अझै पनि चेत पलाएन भने आउने दिनमा कांग्रेस पार्टी इतिहासमा मात्रै सीमित रहने सम्भावना देखिएको छ।
हिजोका दिनमा नेतृत्वमा यस्तै महत्वाकांक्षा, स्वार्थ र अहमको टकराब आइपर्दा सन्त नेता किसुनजी र सर्वोच्च नेता गणेशमानजीले जे जसरी सबै कुरा त्याग गरेर पनि पार्टी जोगाएको दृष्टान्त सामुमा छँदैछ। तर, आज आएर ‘हिजो पनि नहेर्ने वा भोली पनि नसम्झने’ जेजस्तो ढिट र एकलकाँटे राय-विचार कांग्रेसका अग्रज नेतागणले लिएका छन्— यो सिंगो पार्टी, संगठन र समाजकै निम्ति घातक छ।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
