सूर्यविनायक–धुलिखेल सडक : ठेक्काको म्याद सकियो, काम आधा मात्र

दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।

काठमाडौँ– उपत्यकाबाट पूर्व जाने अधिकांश गाडी अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक हुँदै गुड्छन्। तर सडकको दूरवस्थाका कारण दैनिक करिब सात हजार सवारी साधनका यात्रुले हैरानी खेप्नुपरिरहेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदी यो सडक भएर काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनको संख्या दैनिक सात हजार हाराहारी भएको बताउँछन्। यस्तो व्यस्त सडक विस्तार थालेको तीन वर्ष भइसकेको छ। सडक विस्तारको ठेक्का सम्झौता अवधि सकिए पनि काम आधा पनि सकिएको छैन।

यो सडक भएर पूर्वी जिल्लाहरू दोलखा, रामेछाप, सिन्धुली जाने गाडी बाक्लै गुड्छन्। अरनिको राजमार्गबाट प्रवेश गरी बीपी राजमार्ग हुँदै पूर्वी नेपाल पनि जोडिन्छ। तर सूर्यविनायक–धुलिखेल खण्डमा घाम लाग्दा धुलो र सामान्य वर्षामा हिलोले सवारी चालक तथा यात्रु हैरान छन्।

यो सडकको १५.८ किमि खण्ड ६ लेनमा विस्तार भइरहेको छ। २०७९ पुस २४ मा सडक विस्तारको काम शुरू हुँदा तीन वर्षभित्र सक्ने लक्ष्य थियो। यो सडकलाई दुई खण्डमा ठेक्का लगाइएको थियो।

साँगा–धुलिखेल ८.४ किमि सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाखमा लामा कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको छ। उक्त खण्डको ठेक्का सम्झौता मंसिर २५ गते सकिँदैछ। तर काम ५७ प्रतिशत मात्र सकिएको उक्त खण्ड हेर्ने आयोजनका इन्जिनियर विष्णुप्रसाद खनाल बताउँछन्।

यस खण्डअन्तर्गत धुलिखेल बजारमा करिब २ किमि कालोपत्रे भएको छ। बाँकी ठाउँमा अहिले पनि छेउको पर्खाल लगाउने, नाली बनाउने, सडकमा कटिङ र फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ।

इन्जिनियर खनालका अनुसार, सडक विस्तारका क्रममा बनेपा बजार खण्डमा केही विवाद भएकाले पनि काममा ढिलाइ भएको हो। बनेपा बजार क्षेत्रमा सडकको बीच भागको नापीमा विवाद छ।

nullबिजुलीका पोल, खानेपानी, ढल, घरटहरा, रुखको कटानलगायत कारण समेत काममा ढिलाइ भएको खनाल बताउँछन्। उनी भन्छन्, “मुआब्जा विवाद बाँसकुमारीमा थियो। त्यहाँ मोड सुधारका लागि करिब पाँच रोपनी जग्गा लिनुपर्ने थियो। स्थानीयसँग धेरैपटक बैठक बस्यौँ। उहाँहरूले रेट एकदमै धेरै गरेका कारण कुरा मिलेन।”

विवाद समाधान नभएकाले अहिले उक्त स्थानमा सडकको भागमा मात्रै काम अगाडि बढाइएको उनले बताए। यसबाहेक, रोशीमा आएको बाढीले निर्माणका लागि आवश्यक गिटी, बालुवालगायत कच्चा पदार्थ रोकिँदा पनि काममा ढिलाइ भएको इन्जिनियर खनालको भनाइ छ।

अर्को खण्डमा आधा पनि भएन काम
सूर्यविनायक–साँगा ७.५ किमि सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रूपैयाँमा आशिषकुमार श्रेष्ठ बन्दन भगवती कम्पनीले ठेक्का लिएको हो। सम्झौताअनुसार, २०८२ पुस २३ मा काम सम्पन्न हुनुपर्ने थियो।

तर म्याद सकिन एक महिना बाँकी हुँदा करिब ४२ प्रतिशत काम मात्रै सकिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर अञ्जु परियारले बताइन्। उनले भनिन्, “यो सडकमा धेरै समस्या थिए। कहीँ घरटहरा उठाउनुपर्ने थियो, कहीँ पहिरोको जोखिम थियो। सबै कुरा व्यवस्थापन गर्दा काममा ढिलाइ भएको हो।”

यो खण्डमा जगाती, नलिञ्चोक र नासिका मन्दिर आसपासका घरटहरा हटाउन समस्या भएको छ। यहाँ अझै काम अगाडि नबढेको इन्जिनियर परियार बताउँछिन्। उक्त ठाउँमा स्थानीयको माग नै धेरै भएकाले काम रोकिएको उनको भनाइ छ। यो खण्डमा सडक विस्तारले निम्त्याएको पहिरोको जोखिम पनि कायमै छ।

nullभक्तपुरको सूर्यविनायक–९, पलासेमा सडक माथिका रिसोर्ट धरापमा छन्। उक्त ठाउँका रामप्रसाद लगेजुको दार्जेलिङ रिसोर्ट, विष्णुभक्त कवाङको भञ्ज्याङ रिसोर्ट पहिरोका कारण बन्द छन्। सडक विस्तारले धराप भएर रिसोर्ट बन्द गर्नुपरेको उनीहरूको गुनासो छ।

उक्त ठाउँमा पहिरो रोकथाम गर्न आयोजनाले ढुंगाको पर्खाल लगाएको थियो। तर गत असोज १८ गते पहिरोले पर्खालै भत्काइदियो। त्यसपछि काम अगाडि बढेको छैन।

रिसोर्ट सञ्चालक लगेजु र कवाङले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्। आयोजनाले भने सडक विभागका जियो टेक्निकल इन्जिनियरलाई अध्ययन गराइरहेको सडक आयोजनाकी सिनियर डिभिजन इन्जिनियर परियारले बताइन्। “हामीले अहिले यसमा कसरी काम गर्ने भनेर अध्ययन गरिरहेका छौँ। भौगर्भिक अध्ययनपछि उक्त ठाउँमा के गर्ने भनेर थाहा हुन्छ, अनि काम बढाउछौँ,” उनले भनिन्।

अहिले उक्त खण्डमा सडकको कालोपत्रे मुनिको बेस बनाउने, साइट नाली बनाउने लगायत काम भइरहेको उनले जानकारी दिइन्। 

म्याद सकिएपछि पुलको डिजाइन परिवर्तन
यस सडकखण्डमा पर्ने पुलको छुट्टै ठेक्का लगाइएको थियो। महादेव, पुन्यमता र  जगाती खोलाका पुल बनाउन हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले ५७ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको थियो। 

२०७९ चैतमा भएको सम्झौताअनुसार पुल निर्माण २०८२ असोजमा सम्पन्न हुनुपर्ने थियो। तर अहिलेसम्म डिजाइनकै टुंगो लागेको छैन।

nullआयोजनाका इन्जिनियर विष्णु खनालका अनुसार, अहिले महादेव खोलाको पुलको काम भइरहेको छ। बाँकी दुई पुलको डिजाइन परिवर्तनको प्रक्रियामा छन्। “पुन्यमता खोलाको डिजाइन विभागमा पेस गरिएको छ। त्यहाँबाट स्वीकृत भएर आएपछि काम अगाडि बढ्छ,” उनले भने। 

भक्तपुर खण्डमा पर्ने जगाती खोलमा बन्ने पुलको काम पनि थालिएको छैन। अहिले उक्त पुलको डिजाइन भइरहेको र विभागबाट स्वीकृत भएपछि काम शुरू हुने आयोजनाकी सूचना अधिकारी परियारले बताइन्। “पुलको काममा ठेकेदारले पनि केही ढिला गरेको हो। अर्को समस्या भनेको पुल डिजाइनअनुसार स्थानीयले निर्माण गर्न दिएनन्। जसका कारण पुन्यमती खोला र जगातीको फेरि डिजाइन गर्नुपरेको हो। अब काम हुन्छ,” उनले भनिन्।

कामै शुरू नभएपछि विभागले पुल निर्माणको म्याद एक वर्ष थपिदिएको छ। गत मंसिर ७ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरेर छिटो विवाद समाधान गरी काम सम्पन्न गर्न निर्देशन दिएका थिए।