खरानी र खण्डहरमा पनि आशा देखिरहेकाहरू

आगजनीबाट खण्डहर बनेका सर्वोच्च अदालत, सिंहदरबार, स्वास्थ्य मन्त्रालयलगायतमा बुधबार बिहान पुग्दा कर्मचारीहरू आशा जीवितै राखेर जलेका कागजात बटुल्दै थिए। प्रहरी त खण्डहरभित्रै बास बनाउन जुटिसकेका थिए।

काठमाडौँ– मंगलबार आन्दोलनकारीले आगजनी गरेपछि दनदनी बलेको सर्वोच्च अदालतमा बुधबार बिहानसम्म पनि आगो निभेको थिएन। रामशाहपथस्थित मुलुकको सर्वोच्च न्यायालयका इजलासदेखि कार्यालयसमेत रहेका कोठाहरूबाट धुवाँको बाक्लो गन्ध आइरहेकै थियो। जलेर असरल्ल भएर माथिल्लो भागमा झुन्डिएका तार, पर्खालबाट खसिरहेका टुक्रा, भुइँभरि छरिएका खरानीले नै न्यायपालिका कतिविघ्न विनाशको साक्षी बन्नुपर्यो कथा बोलिरहेका थिए।

त्यही ठाउँमा एक व्यक्ति एउटा हातले पाइप समातेका, त्यसबाट पानी फ्याँक्दै भित्रभित्रै सल्किइरहेको आगो निभाउने अन्तिम प्रयास गरिरहेका थिए। उनको त्यो प्रयास आगो निभाउने मात्र थिएन। बरु सर्वोच्च न्यायालयमा रहेका न्यायका केही प्रमाण जोगाउन सकिन्छ कि भन्ने अन्तिम संघर्ष पनि थियो।

सर्वोच्च अदालतमा जलेर कोइला जस्तै बनेको गेट पन्छाउँदै बुधबार बिहान भित्र पस्दा देखिएको यो दृष्य असाध्यै असहज थियो। अदालत भवनका पर्खालहरू पहिले जस्ता थिएनन्। जलेका कागजातको गन्ध उस्तै। कतै जलेका फाइलहरू खरानीको थुप्रोमा परिणत भइसकेका थिए। केही चाहिँ आधा जलेको अवस्थामा थिए। केही केही कागज चाहिँ भुइँभरि लत्पतिएका थिए।

null

त्यही खरानी र हिलो झैँ बनेको त्यसको थुप्रोबीच अदालतका केही कर्मचारी अनवरत प्रयासमा जुटेका थिए। त्यो प्रयास थियो– केही फाइल सद्दे अवस्थामै फेला पारेर जोगाउन पो सकिहालिन्छ कि भन्ने। त्यसरी फेलापरेका जल्न बाँकी फाइलहरू टक्टकाउँदै भन्दै थिए, “केही बाँकी होला।” 
त्यही क्रममा एक कर्मचारीले भने, “मुद्दा नम्बर मात्र चिनियो भने पनि धेरै पो काम लाग्छ।”

यही आशामा जलेका, आधा जलेका र नजलेका सबै फाइल टक्टकाइरहेका उनीहरूलाई तिनै फाइलबाट आइरहेको तातो रापले भने निकै कठिनाइ बनायो। कसैले पिउन साथमा लिएर आएको मिनरल वाटर खन्याएर पनि आगो निभाउने प्रयास गर्दै थिए। कोही भने आधा जलेका फाइलका पानाहरू सावधानीपूर्वक जम्मा गरिरहेका थिए।

“आगोले ९० प्रतिशतभन्दा बढी फाइल खरानी बनाइसकेको छ। तर अझै पनि केही प्रमाण बाँकी छन् कि भन्ने विश्वासले हामी काम गरिरहेका छौँ,” त्यो दृष्य हेरेर आँखा रसाएका एक कर्मचारीले भने, “२५ हजार भन्दा धेरै मुद्दाका फाइल नष्ट भइसकेका छन्। यसले पीडितदेखि वकिल र न्यायाधीशसम्म सबैलाई असर पार्नेछ।”

सर्वोच्चको मुख्य भवन मात्र होइन, एनेक्स भवन, अभिलेख शाखा र नजिरहरू प्रकाशन गर्ने कानून पत्रिका प्रकाशन विभागसमेत जलेर नष्ट भएका छन्। प्रदर्शनकारीले अदालतको सूचना प्रविधि (आईटी) कक्ष नै जलाइदिएका कारण हेटौँडामा रहेको डेटा सेन्टरमा रहेको ब्याकअपसमेत हराएको छ। अहिले अदालतको वेबसाइट बन्द भएको छ। “अब हामीसँग विकल्प छैन। तर हामी अझै पनि सोचिरहेका छौँ, केही त बाँकी होला,” अर्का कर्मचारीले धेरै निराशाबीच थोरै आशा सुनाए।

null

सर्वोच्चका न्यायाधीशहरूले महिनौँ मिहिनेत गरेर तयार पारेका फैसला र तिनका पूर्णपाठसमेत कम्प्युटरसहित खरानी बनेका छन्। कतिपय मुद्दाका फाइल त प्रदर्शनकारीले नै लिएर गएका छन्।

अदालत परिसरमा जहाँ अरु बेला कानूनव्यवसायी, न्यायको आशामा आएका पीडितदेखि मुद्दाका प्रतिवादी, न्यायाधीश र कर्मचारीहरूको भीडभाड हुन्थ्यो, बुधबार बिहान कार्यालय समयमा त्यो ठाउँ पुरै सुनसान थियो। गेटभन्दा बाहिर, सडकमा चाहिँ खरानीको थुप्रो, जलेका गाडीहरूको अवशेष, र केही थाकेका तर हार नमानेका मानिस मात्र थिए।

त्यहाँ काठमाडौँ महानगरपालिकाका सरसफाइकर्मी र केही स्वयंसेवक भग्नावशेष हटाइरहेका थिए। अरु केही युवा काँधमा बोरा बोकेर खरानी बटुल्दै थिए। उनीहरूको अनुहारमा थकानसँगै थोरै आशा झल्किइरहेको थियो। “यो शहर फेरि उठ्छ भन्ने विश्वासले हामी आफ्नो ड्युटीमा खटिसकेका छौँ,” एक सरसफाइकर्मीले सुनाइन्।

सर्वोच्च अदालतको छेवैमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि मंगलबार आगजनीको चपेटामा पर्यो जहाँ बुधबार पनि आगो बलिरहेकै थियो। मन्त्रालय परिसरमा रहेका थुप्रै गाडीदेखि मन्त्रालयभित्र रहेका लगभग सबैजसो कागजात जलेर नष्ट भएका छन्।

त्यो दृष्यले गहभरि आँसु बनाएका कर्मचारी खरानी र खण्डहर खोतलिरहेका भेटिए। उनीहरूमध्ये केही भन्दै थिए, “केही त बचेको होला कि?” तर बाहिरिँदा हात खालि थियो।

“केही न केही काम लाग्ने कागजात भेटिएला भन्नेमा हामी अझैँ आशावादी छौँ। तर अहिलेसम्म आगो बलिरहेकाले आशा पूरा नहोला कि जस्तो पनि लागिरहेको छ,” मन्त्रालय परिसरमा भेटिएका एक कर्मचारीले भने।

null

स्वास्थ्य मन्त्रालयबाट अनामनगरतर्फ लाग्दा सडकमा सरकारी गाडीहरू जलाइएका देखिन्थे। नजिकै रहेको सिंहदरबारभित्रका अन्य मन्त्रालय र कार्यालयहरू पनि उस्तै अवस्थामा थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ऐतिहासिक भवन चिहाइरहेका कर्मचारीदेखि गृह मन्त्रालयसम्मका कर्मचारी भित्र पस्ने आँट गर्न सकिरहेका थिएनन्। कतिपय कर्मचारीले भने आशा मारिसकेका पनि थिएनन्।

“हिजो हामी ज्यान जोगाउन मात्र भागेका थियौँ, आज यो मुलुकको सम्पत्ति जोगाउन सक्दो प्रयास गर्दैछौँ,” प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने। 
बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत, विशेष अदालत र नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पनि उस्तै दृश्य देखियो। त्यहाँ लगाइएको आगो ननिभे पनि कर्मचारीहरू त्यसमै पसेर फाइल खोजिरहेका थिए। कोही खरानी टकटकाउँदै कागजका टुक्रा टिपिरहेका थिए। उनीहरूको अनुहारमा पीडा मात्र होइन, यतिविघ्न प्रतिकुलतामा देखिने जिम्मेवारीबोध पनि प्रष्ट झल्किइरहेको थियो। 

भग्नावशेषभित्रै बास खोजिरहेका प्रहरी
प्रदर्शनकारीले मंगलबार देशभरका प्रहरी कार्यालयहरूमा समेत तोडफोड आगजनी गरे। त्यो आगजनीमा प्रहरी कार्यालयसँगै प्रहरीका सवारीसाधन, फर्निचर, कम्प्युटरलगायत कुनै उपकरण र सामग्री बचेनन्। कतिसम्म भने, उनीहरू सुत्ने आवास गृहसमेत जलेर खरानी बने। 
यो अवस्थामा धेरै प्रहरीले मंगलबार सेनाका ब्यारेक वा होटलमा रात बिताउने बाध्यता आयो।

बुधबार बिहान दरबारमार्गस्थित प्रहरी बृत्त पुग्दाको दृष्य झन् दारुण थियो। भत्केको पर्खाल, खसेका भवनका छत र चकनाचुर सिसाको थुप्रोबीच प्रहरीहरू आफूलाई सुत्ने ठाउँको जोहो गर्न जुटिरहेका थिए। कोही रक्ताम्य हातले झ्यालका सिसा हटाइरहेका थिए। कोही भुइँमा म्याट ओछ्याइरहेका थिए।

null

“हिजो हामीले सेनाको ब्यारेकमा रात बितायौँ। आज भने आफ्नै कार्यालयमा, जस्तोसुकै अवस्थामा भए पनि बस्ने भनेर लागेका छौँ,” तिनैमध्येका एक प्रहरीले भने। 
३३८ जनाको दरबन्दी रहेको रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालय आगजनीको अर्को साक्षी हो। त्यहाँको ‘मेट्रो कन्ट्रोल रुम’देखि आवास गृहसम्म सबै खरानी बनेका छन्। “एकसरो लुगा पनि बचेन। ज्यान जोगाउन पर्खालबाट भाग्दा दुई जना साथीले खुट्टा नै गुमाए,” त्यहाँका एक प्रहरीले टिल्पिलाएका आँसु पुछ्दै भने, “अब रोएर बस्दैनौँ। हामी फेरि उठ्नेछौँ।”

सिंहदरबार नजिकैको उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना), विभिन्न ट्राफिक प्रहरी प्रभागदेखि अन्य सरकारी निकायसम्मका संरचनाहरू पनि जलेका छन्। कतै अझै आगो निभेको छैन, कतै अब धुवाँ मात्र बाँकी छ। तर कर्मचारी र सुरक्षाकर्मीको चेहरामा रहेको पीडालाई जिम्मेवारी र बाध्यताले थिचिसकेको देखिन्छ। 
“जता हेर्यो त्यतै आँसु आउँछ, तर चुप लागेर बस्ने अवस्थामा छैनौँ,” बग्गीखानाका एक प्रहरीले भने।

सिंहदरबारको मुल गेटअघिको सडक सफा गर्दै गरेका एक युवाले यो केवल भवन र सम्पत्तिको विनाश मात्र नभइ मुलुकको संस्थागत स्मृति, नागरिकको भरोसा र न्यायप्राप्तिको आधारमा लागेको गहिरो घाउ भएको निष्कर्ष निकाले। उनले भने, “त्यही खरानी र आँसुबीच हाम्रो आशा पनि उठ्दै छ नि।”