एसियन गेम्स छनोटमा नेपाली पुरुष क्रिकेट टोलीले आज मलेसियासँग खेल्ने

सिंगापुरमा हुने समूह ‘ए’ को खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे शुरू हुनेछ।

एसियन गेम्स छनोटमा नेपाली पुरुष क्रिकेट टोलीले आज मलेसियासँग खेल्ने
नेपाल क्रिकेट संघ

काठमाडौँ– नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज मलेसियासँग खेल्दैछ।

सिंगापुरमा हुने समूह ‘ए’ को खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे शुरू हुनेछ। दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रँदैछन्।

नेपालले पहिलो खेलमा चीनमाथि २२१ रनको फराकिलो जित निकालेको थियो। नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो। जवाफमा चीन १९.२ ओभरमा ९२ रनमा समेटिएको थियो।

मलेसियाले पनि आफ्नो पहिलो खेलमा चीनलाई ९ विकेटले पराजित गरेको थियो। चीनले दिएको लक्ष्य मलेसियाले ७.५ ओभरमै एक विकेट गुमाएर पूरा गरेको थियो।

एक–एक खेलबाट २ अंक जोडेका नेपाल र मलेसियामध्ये नेपाल उत्कृष्ट नेट रनरेटका आधारमा समूहको शीर्षस्थानमा छ। आजको खेल जित्ने टोली समूह विजेता बन्ने भएकाले पनि आजको खेल महत्वपूर्ण मानिएको छ।