बालगृहका बालिकाहरूको सहयोगार्थ लन्डन–पेरिस साइकल यात्रा

धुलिखेलस्थित बालगृहका बालिकाहरूको सहयोगार्थ नेपाल साइकल क्लब यूकेले आगामी जुन ५ देखि लन्डन–पेरिस परोपकारी साइकल यात्रा आयोजना गर्ने भएको छ।

काठमाडौँ– बेलायतमा रहेका नेपाली साइकलयात्रीहरूले नेपालका बालगृहमा रहेका बालिकाहरूको सहयोगार्थ लन्डनदेखि पेरिससम्म 'परोपकारी साइकल यात्रा' गर्ने भएका छन्। आगामी जुन ५ देखि साइकलयात्रा शुरू हुने आयोजक नेपाल साइकल क्लब यूकेले जनाएको छ।

क्लबका अनुसार हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहका २३ जना बालिकाहरूको सहयोगार्थ ६ हजार पाउन्ड (करिब साढे ९ लाख नेपाली रुपैयाँ) संकलन गर्ने लक्ष्यसहित यो साइकल यात्रा गर्न लागिएको हो।

यस क्रममा साइकलयात्रीहरूले लन्डनदेखि फ्रान्सको राजधानी पेरिससम्मको ३५० किलोमिटर दूरी तीन दिनमा पार गर्नेछन्। कठिन भूगोल, प्रतिकूल मौसम र शारीरिक थकानका बाबजुद बालिकाहरूको उज्ज्वल भविष्यका लागि यो यात्रा तय गर्न लागिएको राइडरहरूले बताएका छन्। "हामी कुनै अन्तिम रेखा (फिनिस लाइन) का लागि मात्र दौडिरहेका छैनौँ; हामी ती २३ जना बालिकाको जीवन बदल्ने प्रयत्नका लागि साइकल यात्रा गर्दै छौँ, जसलाई हामीले सायद कहिल्यै भेटेका छैनौँ," क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सन् २०१४ देखि धुलिखेलमा सञ्चालित बालगृहमा हाल ६ देखि १७ वर्ष उमेरसमूहका २३ जना बालिकाहरू आश्रित छन्। बालश्रम, सडक जीवन र मानव बेचबिखनको जोखिमबाट उद्धार गरिएका यी बालिकाहरूलाई बालगृहले सुरक्षित वातावरण दिँदै आएको छ। सङ्कलित रकमबाट बालिकाहरूका लागि पोषिलो खाना, पूर्णकालीन शिक्षा, स्वास्थ्य उपचार, मानसिक परामर्श तथा सङ्गीत, कला र खेलकुद जस्ता अतिरिक्त क्रियाकलापको व्यवस्थापन गरिने क्लबले जनाएको छ।

यात्रामा रवि रिमाल, जलेन्द्र ताम्राकार, सुलभ पन्त, शिव सैन्जु, ह्यारी गुरुङ, कौस्तुभ पौड्याल, समिर प्याकुरेल, आमोद प्रधान, हरिहर उपाध्याय, नारायण अधिकारी, अनमोल राणा, सुधीर बाजिमय, लछुमन गुरुङ, निक टी, सचिन श्रेष्ठ, प्रगति ओझा, प्रसिद्ध प्रधान र सुधीर श्रेष्ठ गरी १८ जना साइकलयात्रीहरू सहभागी हुँदैछन्।

क्लबले संसारभर रहेका नेपाली तथा दाताहरूलाई यस अभियानमा आर्थिक सहयोग गर्न अपिल गरेको छ। आयोजकका अनुसार ५ पाउन्डले एक बालिकाको एक दिनको खाना र ५० पाउन्डले एक महिनाको विद्यालय शिक्षा सम्भव हुने भएकाले आफ्नो क्षमताअनुसार सहयोग गर्न सकिनेछ। दाताहरूले अनलाइनमार्फत सहयोग रकम पठाउनुका साथै साइकलयात्रीहरूको यात्रालाई 'लाइभ ट्र्याक'समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ।