बालेनलाई प्रधानमन्त्री बन्नबाट रोक्दै छन् रवि?

प्रतिकात्मक रूपले भन्ने हो भने रास्वपारूपी घरमा बालेनले डेरा लिएका हुन्। पार्टी रविको, चुनाव चिन्ह रविको, नीति रविको, नेतृत्व रविको तर प्रधानमन्त्री पद बालेनको।

चुनावअघि बालेन र ओली जसले जिते पनि मुलुकका लागि प्रत्युत्पादक हुनेछ भनेको थिएँ। कामना गर्छु–बालेनको विजय मुलुकको जितमा परिणत होस्। मेरो प्रक्षेपण गलत साबित भए असाध्यै खुसी हुनेछु। बालेन सफल प्रधानमन्त्री बनुन्।

यही बीचमा रवि बालेनलाई प्रधानमन्त्री बनाउन चाहँदैनन् भन्ने आशयका खबर बाहिरिएका छन्। रविले नचाहे बालेन प्रधानमन्त्री बन्न नसक्ने सत्य हो। तर रवि बालेनलाई रोक्न खोज्दै छन् भन्ने खबर रविलाई कमजोर देखाउने उद्देश्यले अभिप्रेरित छन्। रविले नचाहँदा नचाहँदै पनि बालेन प्रधानमन्त्री बनेको अर्थाउन खोजिएको छ। के रवि बालेनलाई प्रधानमन्त्री बनाउन चाहँदैनन्? यो प्रश्नको उत्तर खोज्न रविको राजनीतिक विगतलाई विश्लेषण गर्नुपर्ने हुन्छ।

देउवा-प्रचण्डबीच सहमति थियो: ०७९ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री हुने, त्यसपछि देउवा प्रधानमन्त्री बन्ने। चुनावपछि देउवाले आफैँ प्रधानमन्त्री बन्ने दाउ लगाए। उता प्रचण्डलाई रोक्नु, प्रधानमन्त्री आफैँ बन्नु भनी देउवालाई उक्साइरहेका थिए ओली। साँझ ५ बजेभित्र प्रचण्ड प्रधानमन्त्री सिफारिस नभए देउवा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्थे। देउवालाई मात्र ३ घण्टा कटाउनु थियो। यता, यही बेला ओलीले प्रचण्डलाई बालकोट डाके। ओली-प्रचण्डको मिलन असम्भव ठानिएको थियो। तर, ओलीकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुने भए। उनीहरूलाई साथ दिन भए रविले, देउवा जिल्लिए। 

रविको राजनीतिक विरासत बुझ्न राजनीतिको यो बिन्दुमा एक छिन उभिनु पर्ने हुन्छ। अन्यथा कुरो बुझिँदैन। ओलीको धुर्त्याईं र प्रचण्डको यूटर्नबाट पाहाझैँ पछारिए देउवा । वचनमा आफू नै अडिन नसकेको महसुस गरेका देउवाले केही समयको अन्तरालमा प्रचण्डलाई ओलीबाट अलग गर्न सफल भए। प्रचण्डपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भयो । तर देउवा-प्रचण्डको यसपालिको पिरती पनि खासै जमेन । प्रचण्ड-ओली फेरि मिले । अब भने देउवा बदला लिन सुरिए। उनले रविलाई प्रस्ताव गरे–काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुहोस्। २१ सिटको दल, दल खोलेको पनि डेढ वर्ष मात्र भएको छ, तर पनि राजनीतिको सर्वोच्च कार्यकारी पद हाताहाती झ्याप्पै आफ्नै पोल्टामा। पटक पटक प्रधानमन्त्री भइसकेका देउवा-ओली-प्रचण्ड सोही पदका लागि स्विङ भइरहेको बेला थियो। तर, रवि प्रधानमन्त्री बन्न तयार भएनन्। उनले देउवालाई भने, "मैले बालकोटमा वचन दिइसकेँ, अहिलेलाई सरी-भविष्यमा सहकार्य गरौँला।"

रवि वचनमा अडिग हुँदैनथे भने ३ वर्ष अघि नै प्रधानमन्त्री भइसक्थे। 

रवि वचनमा अडिग हुँदैनथे भने चार वर्ष अघि नै प्रधानमन्त्री भइसक्थे। उतिखेर प्रधानमन्त्री भएको भए शायदै मुद्दा मामिलामा पर्थे। यो कुरा मैले भनेको होइन। ओली-प्रचण्डले संसदमा सार्वजनिक रूपमा बोलेको कुरा हो। रविले पटक पटक दाबी गरेको तर देउवाले खण्डन नगरेको तथ्य हो। रवि राजनीतिक वचनमा पक्का हुन् भन्ने जनाउन प्रधानमन्त्रीको पद इन्कार गरेको सो सन्दर्भ स्मरणीय छ। यति बेला रविसँग दुई तिहाइ जनसमर्थन एकातिर छ, अर्कोतिर उनले गरेको लिखित वाचा छ। मलाई लाग्दैन–उनी वाचा विपरीत बालेन इतरको विकल्पमा जानेछन्। 

यसो भन्दैमा रवि महत्वाकांक्षाबिहीन छन् वा हुनुपर्छ भनिएको होइन। रविको इगोलाई उत्प्रेरित गर्नेगरी राष्ट्रिय-अन्तर्राष्ट्रिय माध्यमले समाचार बनाइरहेका छन्; मानौँ, बालेन हुन्थेनन् भने रास्वपाको अस्तित्व नै रहन्थेन! प्रतिकात्मक रूपले भन्ने हो भने रास्वपारूपी घरमा बालेनले डेरा लिएका हुन्। पार्टी रविको, चुनाव चिन्ह रविको, नीति रविको, नेतृत्व रविको तर प्रधानमन्त्री पद बालेनको। सहमति यत्ति हो। तर यतिखेर बालेन नै सब थोक हुन् भन्ने देखाउन भरमग्दुर प्रयास भइरहेको छ। बालेन भएर, बालेनकै नाम देखाएर मात्र रास्वपाको भोट आएको भाष्य बनाइँदै छ। बालेनका कारण सुनमा सुगन्ध थपिएको हो, तर रास्वपाको बेग बालेन भित्रनुभन्दा पहिल्यै सुरु भएको थियो। बालेन मात्र सब हुन्थे भने उनका स्वकीय सचिव भूपदेव शाह पराजित हुने थिएनन्। बालेनको नाममात्र काफी हुन्थ्यो भने चुनावको पूर्व सन्ध्यामा भूपदेवको घरमै पुगेर बालेनले निकटता दर्साइदिएकै थिए। यस्तो दुर्लभ अवसर रास्वपाका अन्य उम्मेदवारलाई मिलेको थिएन।

मत परिणामको रुझान हेर्दा बालेनको नाम नबिक्ने ठाउँमा पनि रास्वपाले जित हासिल गरेको छ। बालेनले जोडबल लगाएको ठाउँमा पनि रास्वपा पराजित भएको छ। बरु रविप्रति असहिष्णु देखिने पात्रहरूको अप्रत्याशित हार भएको छ। प्युठानजस्तो ठाउँमा रविका कट्टर आलोचक सूर्य थापा पराजित हुनुको अर्थ पर्गेल्नु पर्छ। 

अहिले रविलाई अण्डरमाइन गर्न खोजिएको छ। दल खोलेको ४ वर्षमै दुई तिहाइको चमत्कारिक परिणाम निकाल्न सफल रविको नेतृत्व, नीति र कौशलबारे जुन तहको मन्थन हुनु पर्थ्यो, त्यसको छेउसम्म भएको छैन। बरु बालेन फ्याक्टर भन्दै रविको च्याप्टर क्लोज गर्न खोजिएको देखिन्छ। बालेनका पूर्व सिपाही एवम् नवनिर्वाचित सांसद राजु पाण्डेले सार्वजनिक रूपमा बालेन बाहेकलाई ललकार्न थालिसकेका छन्। यसले बालेन स्वयंलाई राम्रो गर्ने छैन। हुँदाहुँदा मन्त्रिमण्डल गठनमा रविले चियाउनसमेत नहुने बहस खडा गर्न खोजिँदै छ। 

यसअघि रविले पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई बजेट लेख्न सार्वजनिक रूपमा अपिल गरेका थिए। रविले अर्थमन्त्री बनाउन चाहेका स्वर्णिमलाई बालेनले बाइपास गर्न चाहेको खबर बाहिरिँदै छ। जेसुकै कारणले स्वर्णिम अर्थमन्त्री नबने त्यसको अर्थ लाग्नेछ–बालेन रविको लेनमा हिँड्न चाहँदैनन् वा उनले नचाहे रविले केही उखाड्न सक्दैनन्। झर्रो भाषामा भन्दा घण्टीसँग दुई तिहाइ भए पनि रविको हैसियत घण्टी बजाएर मात्र बस्ने मात्र हो। यस्तो सन्देश कदापि जानु हुँदैन।

रवि कमजोर हुँदा बालेन बलियो रहने छैनन्। आजका मितिसम्म बालेनले रविका मुद्दामामिलाबारे मौनता साँधेका छन्, जबकि रवि आफूलाई प्रतिशोध भएको भन्दै जनतामाझ याचना गरिरहेका छन्। प्रधानमन्त्रीका रूपमा बालेनको भूमिका कस्तो रहन्छ भन्ने कुराले ती मुद्दामामिलाको निरूपणलाई दिशानिर्देश गर्ने देखिन्छ। ओली सरकार हुँदाताक अदालती धरौटीमा छुट्न नपाएका रवि सुशीला प्रधानमन्त्री भएपछि छुटेको टाइमलाइन पनि भुल्नु हुँदैन। अदालतका विषयमा योभन्दा बढी सपाट बोल्नु पनि हुँदैन। 

जनादेशले भन्छ–रास्वपाले मिलेरै ५ वर्ष काम गरोस् र देशको मुहार रचनात्मक हिसाबले फेरोस्। त्यसैका लागि जनताले रास्वपालाई अथाह शक्ति दिएका छन्। कस्तो शक्ति भने रास्वपा बराबरी हिसाबले ४ टुक्रा हुँदा पनि अहिलेको दोस्रो दल काँग्रेस पाँचौँ दल बन्नेछ। विपक्षीलाई बेसक्याम्पमा छाडेर रास्वपा शिखर उक्लिएको छ। रवि र बालेन मिलेरै अघि बढ्दा अगाडिका चुनौती पार लाग्नेछ। अन्यथा समयान्तरमा दुई तिहाइको ठाउँमा रास्वपाकै बहुमतको सरकार बन्नेछ। यस्तो दिशामा मुलुकलाई अग्रसर नगराउन रास्वपाले बेलैमा होसियारी अपनाउनुपर्छ। पहिलो सर्त उही हो–रवि-बालेनका 'सण्डमुसण्ड'हरूले बोलीमा संयम राख्नुपर्छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)